पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३३
मुख्य » Chautari » नेपालका घटना, विदेशमा समाचार
ध्रुवहरि अधिकारी

नेपालका घटना, विदेशमा समाचार

काठमाडौं - ध्रुवहरि अधिकारी
प्रकाशनको मिति ०२ फेब्रुवरी २०१० १०:४५ बजे   |  ३ वटा प्रतिक्रिया

नेपालमा भएका कस्ता-कस्ता घटना संयुक्त राज्य अमेरिकामा छापिने अखबारको लागि खबर हुन सक्छन् ? टेलिभिजनले श्रव्य-दृष्य सामग्री प्रसारण गर्न चाहना राख्दा हुन् ? रेडियोले श्रोताका कानमा पुर्‍याउनु उपयुक्त ठान्दा हुन् ? यी कुराको निर्णय र निरूपण निश्चय नैं अमेरिकी सम्पादक र समाचार कक्षका निर्देशकहरुले गर्दछन् । अनि ती सम्पादक र निर्देशक चाहिं के कुराबाट निर्देशित हुन्छन् त ?  स्पष्टै छ, सञ्चारकर्मीहरू आङ्खनाआङ्खना पाठक-दर्शक-श्रोताको आवश्यकता तथा अभिरूचिबाट निर्देशित हुने गर्छन् । तर ती आवश्यकता र रुचि एकैनासका हुंदैनन्, तिनमा प्रशस्त विविधता हुन्छ । शैक्षिक स्तर र आर्थिक हैसियतले मानिसका चाहना र क्षमतालाई व्यवस्थित गरिदिन्छन् । भौगोलिक हिसाबले नजिक अथवा टाढा रहेका ठाउबारेको जनरुचि तदनुकूल तय हुनजान्छ । अफि्रकाको कुनै तटवर्ती देशमा डुंगा पल्टेर १२ जना मानिस हराएको घटना नेपालसम्म आइपुग्दा समाचारको श्रेणीबाट हटिसक्छ ।


कुरा अफ्रीका वा उत्तर अमेरिकामा सीमित छैन । एसिया, युरोप अष्ट्रेलिया र दक्षिण अमेरिका महादेशका मुलुकहरूको सन्दर्भमा पनि उनै कुरा लागू हुने हुन् । एसियाको जापानमा दैनिक डेढ करोड प्रति बिक्री हुने अखबार पनि छन् । यसले औसत जापानीको अखबार पढ्ने रुचि र त्यसलाई धान्ने क्रयशक्ति अन्यत्रको भन्दा बढी रहेको सङ्केत गर्दछ । हालैका वर्षमा इन्टरनेट प्रविधि भित्रिएपछि आमसञ्चारको क्षेत्र एकाएक झन् विस्तारित भएको छ । छापिएको अखबारको प्रति किन्ने भन्दा कम्प्युटरबाट त्यसको इन्टरनेट (वेब) संस्करण हेर्ने, पढ्ने बानी पाठकहरूमा विकसित हुंदैछ । रेडियो र टेलिभिजनबाट आउने समाचार पनि इन्टरनेट प्रविधिको पहुंचभित्र आइसकेको स्थिति छ । गोरखापत्रका पाठक नेपालमा सीमित रहेनन् । युरोप, अमेरिका जताततै भेटिन्छन् । अर्थात् पाठक-दर्शक-श्रोताबाट बन्ने प्रेक्षा समाज (अडियन्स) ठूलो भैसक्यो र त्यो संसारभरि छरिएको छ । परिवर्तन राम्रैसित दृष्टिगोचर हुन्छ ।


माथि चर्चा गरिएको घटना-विकासको झलक दिन म दुइटा प्रसङ्ग प्रस्तुत गर्दैछु - पहिलो, अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)ले विश्वभरिका आङ्खना ग्राहक रहेका रेडियो टेलिभिजन र अखबारलाई उपलब्ध गराएको नेपालसम्बन्धी एउटा समाचार, र दोस्रो, अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स'मा त्यसै अखबारको संवाददाताले लेखेर छपाएको नेपालको समसामयिक राजनीतिक परिस्थिति बारेको समीक्षात्मक समाचार विवरण ।


यी दुबै माघ १२ गते (२६ जनवरी २०१०)का पाठ्यसामग्री हुन् । दिन मंगलबार परेको थियो । पहिले एपीले आङ्खना अन्तर्राष्ट्रिय ग्राहकहरूलाई उपलब्ध गराएको नेपालसम्बन्धी समाचारः-


काठमाडौं, नेपाल । नेपालले आङ्खनो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सतर्कताको स्थितिमा राखेको कुरा सरकारी अधिकारीहरूले मंगलबार बताएका छन् । अल-कायदासित सम्पर्क भएका उग्रवादीहरूले दक्षिण एसियामा विमान अपहरणको योजना गर्दैछन् भनी भारतबाट सावधानीको सूचना आएको परिप्रेक्ष्यमा यो सावधानी अपनाइएको हो ।


संभाव्य अपहरणको सूचना पाएपछि गए सातादेखि नैं भारतले आङ्खना आन्तरिक विमानस्थलहरूलाई सजग गराएको छ ।


नेपालको गृह मन्त्रालयका प्रवक्ता मुकुन्द खनालले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र सेनाका एकाईहरूलाई सावधानीको लागि थप उपायहरू अपनाउन आदेश दिएको कुरा बताएका छन् । तर विमानस्थलका अधिकारीहरूले भने यसबारे विस्तृत कुरा गर्न चाहेनन् ।


हवाई यात्रुहरूलाई सुरक्षा जांचको लागि थप समय लाग्नसक्ने जानकारी दिइएको छ । विमानस्थलमा एक्सरे (उपकरण) सीमित संख्यामा भएको हुनाले प्रहरीले हातैले पनि सर-सामानको जांचबुझ गर्ने गरेका छन् ।


डिसेम्बर १९९९ मा काठमाडौंबाट उडेको इण्डियन एयरलाइन्सको विमानलाई इस्लामी उग्रवादीहरूले अपहरण गरी अफगानिस्तानको कन्दाहार पुर्याएको घटनापश्चात् नेपालका सरकारी कर्मचारीहरू सजग रहंदै आएका छन् ।


सन् १९९९ को विमान अपहरण काण्ड भारतले विमानचालकसहित १६७ यात्रुको ज्यान बचाउन थुनामा रहेका चारजना उग्रवादीलाई रिहा गरिदिएपछि टुंगिएको थियो ।


समाचार यत्ति हो । र यो विवरण मैंले अमेरिकी छापा 'बोस्टन हेरल्ड' (इन्टरनेट संस्करण) मा पढेको हुं । त्यहांका अरू छापा र रेडियो टेलिभिजनले यो समाचार प्रयोग गरे होलान् । अन्य महादेशका समाचार माध्यमले पनि विमान अपहरणको जोखिमसम्बन्धी यो संवाद आङ्खनो प्रेक्षा समाजलाई दिएको हुनुपर्छ ।


माथिको एपी समाचारमा गृह प्रवक्ताको पूरा नाम (जय मुकुन्द ) नआएको बाहेक अन्य प्रकारका त्रुटि, अशुद्धि देखिंदैनन् । र, टाढाटाढाका देशमा बस्ने मानिसलाई जुन हदको बेहोरा जान्ने जिज्ञासा हुनसक्छ त्यही स्तरको विवरण दिइएको छ । सन् १९९९ को घटना पृष्ठभूमिमा दिइएकोले सतर्कतासम्बन्धी समाचारको सान्दर्भिकता पुष्टि भएको छ । शङ्का छैन, यो समाचार एपीको प्रतिस्पर्द्धामा रहेका एएफपी र रोयटर्सले पनि आ-आफ्ना ग्राहक छेउ पुर्याए। भाषा, शैली भिन्दै होला तर तथ्यगत बेहोरा सम्भवतः फरक थिएनन् । चीनको सिन्ह्वा र भारतको पीटीआइका सम्प्रेषण केही लामो भएका होलान् किनभने छिमेकमै भएको हुनाले यी दुइ देशका मानिसलाई नेपालको विषय सविस्तार जान्ने इच्छा रहन्छ ।


दोस्रो विवेच्य समाचार-कथा हो न्यूयोर्क टाइम्समा प्रकाशित संविधान निर्माणको प्रयाशसम्बन्धी । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन संविधान जारी हुनु जरूरी छ र त्यसको निम्ति सेना समायोजन, व्यवस्थापनको मामिला सुल्झाउनु आवश्यक छ । संविधान निर्माणको समय-सीमा चार महीना बांकी छंदा छापिएको आलेखमा यिनै कुराहरू छन् । अमेरिकाका गम्भीर पाठकहरूलाई जानकारी दिने हिसाबले लेखिएको यस समाचारमा संवाददाता जिम् यार्डलीले माओवादी विद्रोहको पृष्ठभूमि केलाउंदै त्यसपछिका राजनीतिक घटना -विकासको विश्लेषण गरेका छन् । विद्यमान राजनीतिक अनिश्चयको परिणतिबारे व्याख्या गर्दै जेठ १४, २०६७ भित्रमा नेपालको मूल कानून बन्न सकेन भने त्यसपछि उत्पन्न हुने अस्थिरताले दक्षिण एसियाका अन्य भागमा पनि असर पार्ने आशङ्काको चर्चा गरेका छन् । समाचारमा उद्धृत व्यक्तित्वहरूमध्ये माओवादी नेता जनार्दन शर्माले आङ्खनो पार्टी जनताको सशक्तिकरणको पक्षमा रहेको तर परम्परागत सत्ता-सञ्चालकहरूले यस कार्यमा बाधा, अवरोध खडा गरिरहेका छन् भनेर दोषारोपण गरेको पाइन्छ । संविधान जारी गर्न समय नपुगे संविधान सभाको म्याद थप गर्ने प्रस्तावबारे पनि त्यस समीक्षात्मक समाचारमा उल्लेख भएको छ । अर्कोतर्फ, त्यसो गर्दा परिस्थितिले अर्को मोड लिएर अहिले आलंकारिक रहेका राष्ट्रपतिको पद पो शक्तिशाली हुनसक्ने अड्कलबाजी गर्नेहरूको कथन पनि संवाद विवरणमा परेको छ । संवाददाता यार्डलीले नेपाल आएर यहांको वस्तुस्थिति बुझिकन नैं यो समाचार-कथा लेखेको देखिन्छ ।


तर नेपालसम्बन्धी कतिपय समाचार दिल्लीमा डेरा (मुकाम) कायम गरी सिङ्गै दक्षिण एसिया क्षेत्र हेर्ने जिम्मेवारी पाएका विदेशी संवाददाताले हचुवाको भरमा लेखेको पनि भेटिन्छ । अधुरो, अपुरो समाचार विवरणहरू प्रक्षेपण गरेर जानी-नजानी भ्रामक अवस्था सिर्जना गरिदिन्छन् । कुनै-कुनै विदेशी संवाददातालाई त 'नेपाल बुझेको' भारतीय सञ्चारकर्मीले अल्मल्याएर यथार्थभन्दा परका अवास्तविक र मनगढन्ते जानकारीको भारी बोकाइदिन्छन् । कोही अलिक सजग भए भने काठमाडौंको कुनै एक व्यक्तिको नम्बर पत्ता लगाएर संक्षिप्त फोनवार्ता गरी एकाध थप सूचना र उद्धरण टिप्न भ्याउंछन् । यद्यपि त्यसले पनि समाचारलाई पूर्णाङ्ग र सन्तुलित बनाउन मद्दत गरेको हुंदैन । बेलायतको 'फाइनान्सीयल टाइम्स' अखबारमा भदौतिर (१६ अगष्ट २००९) छापिएको नेपालसम्बन्धी समाचार यस प्रसङ्गमा उदाहरण हुनसक्छ । एमी काज्मिन् नाम गरेकी संवाददाताको समाचार-कथामा नेपालमा सामाजिक असमानता व्याप्त छ र त्यो कायम रहुञ्जेल त्यस मुलुकमा दिगो शान्ति आउंदैन भन्ने सन्देश रहेछ । मोटामोटी रूपमा यो गलत अवधारणा होइन तर यस कुरालाई सिद्ध गर्न पर्याप्त आंकडा, उद्धरण दिइएको रहेनछ । युएनडीपीको 'मानव विकास प्रतिवेदन' मूल आधार रहेछ र त्यसको व्याख्याको लागि फोन-वार्ता गरिएको रहेछ त्यसै संस्थाका प्रमुख रबर्ट पाइपरसित । पाइपरले नेपालका सबै जटिल सामाजिक विशेषता बुझ्न पुग्ने समय यहां बिताइसकेका व्यक्ति नभएकोले अन्य त्यस्तै पृष्ठभूमि भएका मानिसले गर्नसक्ने गल्ती गरेका छन् । एउटा खास समुदायले नेपालमा हालीमुलहाली गरेका छन् भन्ने एकथरी मानिसको भनाइलाई नै उनले पूर्ण सत्य मानेर संवाददातालाई आङ्खनो दृष्टिकोण सुनाएका रहेछन् । अर्ध-सत्य र सर्वाङ्ग सत्य खुट्याउने प्रयत्न नैं नगरिकन गरिएको टिप्पणीयुक्त समाचार सन्तुलित हुने कुरै आएन । (पाइपरका यस्तै अपरिपक्व कथन डिसेम्बर २००९ को 'न्यु बिजनेस एज'मा पनि प्रकाशित छन् ।) एक व्यक्तिको कथनमा आधारित समाचार लेख्नुभन्दा नेपाल आएर विभिन्न दृष्टिकोण समेटेर समाचार तयार गर्नु यथार्थपरक कार्य हुन्थ्यो । आफूले लेखेको समाचार सन्तुलित नभएको अनुभव संवाददाता स्वयंलाई भएको हुनुपर्छ ।


नेपालबारेमा जानकारी दिल्ली, बैंकक, इस्लामाबाद, कोलम्बो र ढाकाबाट पनि इन्टरनेटद्वारा अखबारका 'इलेक्ट्रोनिक' संस्करण (वेबसाइट) पढेर लिन नसकिने होइन । फोन सम्पर्कबाट थप सूचना लिएर सामान्य विवरणात्मक समाचार तयार गर्न अवश्य सकिन्छ । परन्तु निष्पक्ष र सन्तुलित समाचार भएका आलेख इन्टरनेटसम्मको पहुंचको आधारमा लेख्न सकिंदैन । भनौं, इन्टरनेटको पहुंच मात्र पर्याप्त हुंदैन । स्थलगत उपस्थिति र अध्ययनको भरपर्दो विकल्प छैन । अड्को पड्को तेलको धूप भिन्दै कुरो हो ।


राजनीतिक घटना र आर्थिक विपन्नताका झलक दिने विषय आक्कल-भुक्कल चर्चामा आए तापनि नेपाल अन्तर्राष्ट्रिय समाचारको स्रोत मुख्यतः पर्वतारोहण र पदयात्राको सन्दर्भमा वर्णन हुने पर्यटन क्षेत्र भएकोले हो । सगरमाथा, अन्नपूर्ण, धौलागिरी लगायतका हिमशिखर उक्लिन जाने पर्वतारोहीहरूका सफलता विफलताका कथाहरू पश्चिमी जगतमा रोचक मानिन्छन् । नेपालको प्राकृतिक सम्पदा र यहांको जनसंख्यामा पाइने विविधता उत्तिकै आकर्षक विषय हुन्, हुन्छन् । लुम्बिनीसित गांसिएर आउने बौद्ध दर्शन, तीर्थयात्रा सम्मेलन आदि कुराहरूमा पनि विदेशका पाठकहरूको रूचि रहने गर्छ । कुमारी प्रथाको सन्दर्भ आउंदा वसन्तपुर दरबारसामु देखिने कुमारी हिन्दुहरूकी देवी हुन् तर तिनको छनोट बौद्धमार्गी परिवारबाट हुनेगर्छ भन्ने जानकारी पाउंदा विदेशी पाठकहरू सुखद् आश्चर्यमा पर्छन् । त्यसैगरी, गोर्खाली सैन्य परम्परा, वीरगाथा देश-देशावरका मानिसले रूचि लिएर पढ्ने, सुन्ने र हेर्ने कुरा हुन् । 'सार्क' सचिवालय काठमाडौंमा रहेकोले यदाकता दक्षिण एसियाका मुलुकहरूको सामूहिक गतिविधिको जानकारी नेपालबाटै बांकी विश्वले पाउंछ । भुटानी शरणार्थी विगत २० वर्षदेखि समाचारको विषय बन्दै आएका छन् भने तिब्बत र तिब्बती शरणार्थीहरु अझ ३० वर्षअघिदेखि नैं समाचार शीर्षकमा आइरहेका छन् । नेपाल चीन र भारतवीचको भूभागमा पर्ने देश भएकाले दुइ ठूला मुलुकबीच प्रतिस्पर्धाको स्थिति आउन सक्ने ठानेर यहांको राज्यव्यवस्था, बन्दोबस्तबारे पनि बांकी विश्वको ध्यान बेलाबखत आकर्षित हुने गर्दछ । माओवादी विद्रोहको चर्चालाई एक हदमा यही परि प्रे क्षमा राखेर हेर्ने, पढ्ने गरिएको पाइन्छ । शान्ति प्रकृयाको चालू चरण सन्दर्भभित्र पर्दछ ।


नेपालको कथा विदेशीलाई सुनाउने काम एउटा विशिष्ट अनुभव हो । अवसर हो । र अवसरको साथमा जिम्मेवारी आउने कुरा गांसिएको यथार्थ हो । संवाददाता पत्रकार भएको हुनाले उसले तथ्यमा आधारित कथामात्र सुनाउन पाउंछ । साहित्यकारले पाउने सिर्जनशील हुने छुट उसित हुंदैन । फूलबुट्टा भरेर कुनै वस्तु वा विषयलाई आकर्षक तुल्याउने सहुलियत पनि उसित हुंदैन । भिडाउन सकिने सूचना, विवरण, आंकडा र उद्धरण बटुलेर गांसिएको माला मात्र उसले बजारमा लैजाने हो । संवाद अर्थात् समाचार सधै सुखद मात्र हुंदैनन् । विदेशको लागि लेखे पनि स्वदेशी पाठककहां पुर्‍याउन लेखेपनि संवाददाताले आङ्खनो जिम्मेवारी बिर्सन सक्दैन । विदेशीको लागि लेख्नेले त झन् होश पुर्‍याउनुपर्ने हुन्छ किनभने समाचारमा आएका विवरण सही भए नभएको रूजु गर्ने सुविधा विदेशी पाठकसित हुंदैन । भएपनि नगन्य ।


संकलित तथ्य, आंकडा आधिकारिक निकाय वा व्यक्तिसितबाट पुष्टि गराउन सजिलो हुंदैन, समय धेरै लाग्नसक्छ । अर्कोतर्फ समाचारले ढिलो हुन मिल्दैन । ढिलो भए त्यो बासी हुन्छ । बासी खाना कसले खाइदिने ? प्रतिस्पर्धामा छिटो होऊं भनेर बेग बढाउंदा गलत सूचनाको वाहक हुन पुगिने भय । यो परस्पर विरोधी परिस्थितिमा सामञ्जस्य मिलाई काम गर्न सबैलाई गाह्रो हुन्छ । एपी, एएफपी र रोयटर्सजस्ता एजेन्सीमा कार्यरत सञ्चारकर्मी थप सकसमा पर्छन् । एउटा सानो कुरो रड्क्यो भने गल्तीको असर अनेकौ गुणाले बढ्छ । जस्तो माथि चर्चित एपीको समाचार जसमा गृह प्रवक्ताको नाम शुद्धसित भएन । संसारभरिका छापामा त्यो अशुद्धि छिर्न गयो । विषयवस्तुमै पर्ने जानकारी अथवा संवेदनशील बुंदामा तलमाथि परे के स्थिति होला !


नेपालबारेका सबै विवरणात्मक समाचार काठमाडौंमा मात्रै तयार हुने होइनन् । ती कहिले कोपेनहेगनेनबाट लेखिन्छन् त कहिले न्यूयोर्कबाट । न्यूयोर्क शहरमा राष्ट्रसंघको मुख्यालय भएको हुनाले २०६३ साल बैशाखपछिका कतिपय समाचार त्यहींबाट लेखिएका छन् । सुरक्षापरिषदको निर्णय, अन्मिन्को स्थापना र तिनका आवधिक प्रतिवेदन अनि त्यसको आधारमा नियोगका कार्यकाल थप हुने लगायतका मामिला । महासभाको अधिवेशन भएका बखत कुनै विशिष्ट नेपाली सहभागी न्यूयोर्क पुग्यो भने त्यहां तयार हुने नेपालसम्बन्धी समाचारको संख्या स्वतः थपिने गर्छ ।


यसपालि असोजमा त्यस्तै भयो । सन्दर्भ थियो- प्रधानमन्त्रीको हैसियत बोकेर माधवकुमार नेपालको आगमन । उहांले महाअधिवेशनलाई सम्बोधन गर्नुभयो र त्यो बन्यो सबैका लागि समाचार । चीनको सिन्ह्वावा र भारतको युएनआइले नेपालको भाषणलाई विशेष महत्वको ठानेछन् । छिमेकी देशबारेका चासो अनौठो पनि होइन, त्यसमाथि संक्रमणकालमा परेको देश । अन्मिन्मार्फत राष्ट्रसंघले रेखदेख गरिरहेको मुलुक । तर अनौठो कुरा बेग्लै छ ः २७ सेप्टेम्बर २००९ का दिन नेपालको भाषणमा आधारित भनेर लेखिएको र तुरून्त वितरणमा लागिएको समाचार दुबै एजेन्सीको हुबहू एकै । दुबैले प्रयोग गरेको भाषा अंग्रेजी । एक-दुइ शब्द फरक । शीर्षक आ-आफ्नै छन् तर शब्द, वाक्य र उद्धरणमा अन्तर छैन । अक्षरशः एक छन् । समाचार पढ्नेले हत्पति खुट्याउन सक्दैन, सिन्ह्वावाले युएनआइको सहयोग लिइएको हो कि युएनआइलेसिन्ह्वावाबाट 'लाभ' उठाएको हो । यस संयोगलाई सङ्केत ठान्न पनि सकिएला । सङ्केत के भने अन्य कतिपय विषयमा भारत र चीन एक आपसमा प्रतियोगी भएपनि नेपालको विषयमा ती दुइ एकमत छन् । कमसेकम राष्ट्रसंघको मञ्चमा तिनको अवधारणा एउटै हुंदो रहेछ । राम्रो गर्न खोजेपनि नेपालको विश्वछवि धमिलो गराइदिने अभिप्राय राखेपनि ।


हालैका वर्षहरुमा सिन्ह्वावाले नेपालबारे सङ्कलन र वितरण गर्दै चीनको जनतामाझ पुर्‍याएका सबै खबर निष्पक्ष रहेका छैनन् । भारतीय समाचार माध्यमहरुले जस्तै खास आग्रहका साथ समाचार विवरणहरू सम्प्रेषण गरेको देखिन थालेको छ । स्वतन्त्र प्रेस भएको लोकतन्त्र कहलिने भारतका सञ्चार माध्यम त वैदेशिक रिपोर्टिङमा विदेश मन्त्रालयको 'मार्गदर्शन' पछ्याउंछन् भने नियन्त्रित पद्धतिमा सञ्चालन हुंदैआएका चीनका समाचार माध्यम अपवाद हुने कुरै आएन । जेहोस्, नेपाललाई कतैबाट अनावश्यक सहानुभूति अथवा समर्थन चाहिने होइन, खालि नेपालका समाचार चीनका बासिन्दाहरूकहां पुग्दा तथ्यगत रूपमा पुगुन् भन्ने अपेक्षासम्म हो । तर यही काम चाहिं सिन्ह्वाले इमान्दारीका साथ गरेको पाइएन । गरेको हुंदो हो त सिन्ह्वाले वितरण गरेका नेपालसम्बन्धी कतिपय समाचार काल्पनिक लेखक (संवाददाता)को नामबाट तयार पारिने थिएन । शम्भु भुजेल, महारानी लम्साल र हालै आएर 'नक्साल हात्तीसार' भन्ने नामबाट समाचार लेखेर सिन्ह्वावाका ग्राहकहरूलाई वितरण गर्ने गरिएको छ । सिन्ह्वावाका ग्राहक चीनबाहिर पनि होलान् । जसले नेपालबारे सही समाचार पाइरहेका छैनन् । स्थितिको विश्लेषण गर्ने क्रममा म तीनबटा उदाहरण अघिसार्दैछु ः


५ जुन २००९ मा सिन्ह्वावाबाट वितरित चार्ल्स शोभराजको मुद्दासम्बन्धी 'शम्भु भुजेल'द्वारा लिखित समाचारमा नेपाल आउने पर्यटकहरू सुरक्षित छैनन् भन्ने सन्देश प्रवाहित गरिएको छ । भारतको प्रहरीलाई मद्दत पुगोस भनेर नेपालको प्रहरी र न्यायिक निकायले गरिदिंदै आएको कामबाट उल्टै नेपालकै बदनाम हुनेगरी लेखिएको समाचार वितरण गर्न सिन्ह्वावालाई के कुराले प्रेरित गर्यो होला ?


अर्को घटना छ, ४ अक्टोबर २००९ मा सम्प्रेषित सिन्ह्वावा समाचारको रूपमा । वीरेन प्रधानका नाम गरेको शिक्षकले मेरिना शाक्य नामक छात्रालाई विभत्स ढंगले हत्या गरेको समाचारकी लेखिका छिन् 'महारानी लम्साल' । महारानीले त्यस घटनालाई आधार बनाएर नेपालमा हत्या, बलात्कार जस्ता अपराध धेरै तीब्र गतिमा बढेको जानकारी सिन्ह्वावाका पाठकहरूलाई दिएकी छिन् । मानौं, यस्ता जघन्य अपराध चीन अथवा भारतमा हुदैनन् । यथार्थ के हो भने यस्तो घटना ठूलो जनसंख्या भएका देश चीन र भारतमा झन् बढी छ,  हुनेगर्छ ।


तेस्रो दृष्टान्त हो ७ जनवरी २०१० को । माओवादी लडाकू रहेका शिविरबाट अयोग्य लडाकूहरूलाई विदा गरिएको विषयको सिन्ह्वावा समाचारका लेखक हुन् 'नक्साल हात्तीसार' । अनि विवरणमा लेखिएको छ, राष्ट्रिय सेनामा काम गर्ने तिनको आशा निराशामा परिणत भएको छ ।


चार्ल्स शोभराज, वीरेन प्रधान र अयोग्य लडाकूको वहिर्गमन काल्पनिक घटना अथवा घटना- विकास होइनन् तापनि त्यसबारेको समाचार लेखनमा काल्पनिक संवाददाताको नाम प्रयोग गरिनु चाहिं रहस्यको विषय हो । 'नक्साल हात्तीसार' नाम भएको कुनै व्यक्ति छ र त्यो व्यक्ति सिन्ह्वावा एजेन्सीको संवाददाता हुने हैसियत राख्दछ भन्ने कुरो पत्याउन सकिंदैन ।


नेपाल सरकारको सूचना विभागले प्रकाशित गरेको विदेशी संवाददाताको नामावलीमा 'नक्साल हात्तीसार' भेटिंदैन । तैपनि सिन्ह्वावाको काठमाडौं ब्यूरोले स्थानीय स्तरमा सहयोगी पत्रकारको सेवा लिएको छ र त्यस पत्रकारको नाम 'नक्साल हात्तीसार' नै हो भने उसलाई सार्वजनिक रूपमा चिनाउनु पर्‍यो । अन्यथा यो गैरकानूनी काम रोक्नुपर्‍यो । सिन्ह्वावाले आफैं रोक्दैन भने नेपाल सरकारले यस्तो अनर्थ भैरहन दिनु हुंदैन ।


पश्चिमी देशका सञ्चार माध्यम सन् २००८ को मध्यदेखि चर्केको आर्थिक मन्दीले टाक्सिएका छन् । न्यूयोर्क टाइम्सजस्ता अखबार समेत साधन स्रोतको कमीले समाचार सङ्कलनको आङ्खनो मुख्य कार्यभार सांगुरो बनाउंदै जान बाध्य भएको देखिन्छन् । तर चीन भने विश्वको उदाहरणीय अपवाद भएको छ । आर्थिक मन्दीको सोझो असरमा नपरेको चीनले सञ्चार माध्यमतर्फ लगानी बढाउने काम पो गर्दैछ । सञ्चारसम्बन्धी विश्व सम्मेलन (मिडिया ओलम्पिक्स) आयोजना गरेपछि चीनको हौसला झन् बढेर आएको छ । र, मानवअधिकार, लोकतन्त्रजस्ता मामिलामा आलोच्य रहेको चीनले आङ्खनो अन्तर्राष्ट्रिय छवि सङ्लो तुल्याउने हेतुले चिनीयां मुद्रा युआन ४५ अर्ब (६.५८ अर्ब डलर) खर्च गरेर टेलिभिजन तथा अखबार माध्यममा सेवा विस्तार गर्न थालिसकेको अवस्था छ । ग्लोबल टाइम्स नामक अंग्रेजी अखबारको प्रकाशन यसै क्रमको एउटा आयोजना हो । चाइना सेन्ट्रल टेलिभिजन (सिसीटीभी) र सिन्ह्वावा व्यापक विस्तार योजनामा लागेका छन् । सिन्ह्वावा त 'अलजाजीरा'को ढांचामा २४ घण्टे टेलिभिजन प्रसारण थालनी गर्ने तयारीमा रहेको कुरो सन् २००९ को पूर्वार्द्धमै प्रकाशमा आएको थियो ।


सिन्ह्वावा साधनस्रोतको दृष्टिकोणले अनुकूल अवस्थामा रहेको चिनीयां एजेन्सी हो । यसले त नेपालमा रहेको आङ्खनो व्यूरोमार्फत् सञ्चारक्षेत्रको लागि उपयोगी हुने नयां, सिर्जनशील आयोजना सञ्चालन गरी प्रकाशन, प्रसारणको पहुंच र आकर्षण बढाउन सघाउ पुर्‍याउन सक्दछ । चीनको तर्फबाट नेपाल टेलिभिजनको दोस्रो च्यानलको लागि भवन र उपकरणको व्यवस्था गरिदिएको प्रसङ्ग पुरानो होइन ।


यतिखेर त चिनीयां सदाशय र सद्भावको थालनी सिन्ह्वावाले नैं गर्न सक्दछ--'नक्साल हात्तीसार' जस्तो हास्यास्पद प्रयोगलाई बन्द गराएर । तर यतिञ्जेल सिन्ह्वावा झुक्किएको हो भने सार्वजनिक रूपमा त्यो यथार्थ स्वीकार गर्नु उचित हुनेछ ।


(रोयटर्स र इन्टर प्रेस सर्भिस समाचार एजेन्सीहरूमा काम गरेको अनुभव संगालेका अधिकारीका समाचार, आलेखहरू न्यूयोर्क टाइम्स, टाइम, साउथ चाइना मर्निङ पोष्ट, डेली योमिउरी, एसिया टाइम्स लगायतका प्रकाशनहरूमा छापिएका छन् । नेपाल प्रेस इन्सटिच्यूटका अध्यक्ष रहिसकेका अधिकारीसित पत्रकारिता प्रशिक्षणमा पनि २० वर्षभन्दा बढीको अनुभव छ । )  


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (३ वटा कुल)

Binju
Binju ले
१२ फेब्रुवरी २०१० मा भन्नुभयो:

Well said, But it would be much effective if this article would have been published in English medium so that aforesaid News Agencies would have read it too.If the article was published in English then may be these News Agencies would have correct themselves but I don't think Nepal's Press Council or Information Department will act on this regard.Anyway, nice article with significant issue.

Pant,Dibakar,In the US
Pant,Dibakar,In the US ले
०३ फेब्रुवरी २०१० मा भन्नुभयो:

Indeed,its a great and appreciative write up penned by Dhruba Hari Adhikary,a noted senior journalist of Nepal.The article tried to deliver many useful and essential informations to readers and other concerned parties,which is ceratinly a very great job of writer.What I would like to add here is:its very worthy to have this article also be brought in English on some other international medias as well.Jay Nepal !

Tarun Poudel
Tarun Poudel ले
०२ फेब्रुवरी २०१० मा भन्नुभयो:

Nice article for Nepalese mediapeople.


कुल ३ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )