पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:४०
मुख्य » Chautari » सबै नेता उस्तै हुन भनेर कसरी प्रजातन्त्र फस्टाउà
डोलेश्वर भण्डारी (à¤

सबै नेता उस्तै हुन भनेर कसरी प्रजातन्त्र फस्टाउà

न्यु मेक्सिको, अमे - डोलेश्वर भण्डारी (à¤
प्रकाशनको मिति ०२ फेब्रुवरी २०१० ११:१८ बजे   |  ० वटा प्रतिक्रिया

यो दुनियाँमा कि राम्रै राम्रै राम्रा कि नरामै् नराम्रा नेता भैदिएको भए राम्रो राम्रो छानिन्थ्यो, नराम्रोलाई फालिन्थ्यो भैहाल्थ्यो । दुनिया सजिलो हुन्थ्यो । कि ठीकै ठीक गर्ने, कि बेठिकै बेठीक गर्ने भइदिएको भए पनि ठिक गर्नेलाई रोज्यो वेठीक गर्ने फाल्यो सजिलै हुन्थ्यो । कि इमान्दार नै इमान्दार, कि ढाँटै ढाँट भएको भए पनि इमान्दारलाइ रोज्यो ढाँटलाई छोड्दियो भै हाल्थ्यो । रोज्न कति सजिलो हुन्थ्यो हामीलाई । हामीले नराम्रा नेता किन रोजिन्थ्यो र । झुट बोल्ने नेतालाई कस्ले नजिकको ठान्थ्यो होला र । तर विधाताले विधान बनाइदियो कस्तो भने एउटै मान्छेमा नै सबै राम्रा, नराम्रा, उज्याला अँध्यारा, सज्जन दुर्जन, साँचो झुटो, सफा फोहोर सवै हालेर कक्टेल बनाइदिए, हामीलाइ हाम्रा नेताको गुण छुट्याउनै गाह्रो भयो । यो विधाताको ठुलै भुल हो तर के नै गर्न सकिन्छ र हामीले ।


हुनत नेतालाइ मात्रै के भन्ने र, हामी पनि कोहि बेलामा नपाउनुको ज्ञानी हुन्छौं, अर्को बेलामा राक्षष हुन्छौं । एउटै मान्छेले साँचो पनि बोल्छ र झुटो पनि बोल्छ । एउटै मान्छेले धेरैलाई सपारेको पनि छ र धेरैलाई बिगारेको पनि छ । एउटै मान्छे नशामा चुर भएर हिडेको पनि छ र उही मान्छे सामान्य भएर रहेको छ । एउटै मान्छे कहिले असाध्यै माया गर्छ त कहिले असाध्यै घृणा पनि गर्छ । उही मान्छे कहिले निःस्वार्थी पनि हुन्छ र कहिले एकदमै स्वार्थी ।


यो जगतमा आफ्नो जीवन भरी राम्रै राम्रा काम गर्ने नेता त खै कता मिल्लान र । बरु नराम्रै नराम्रो गर्ने नेता भने खोजे पाइएला । विधाताको एउटै गल्तीले गर्दा अब हामीले ज्वरोको डीग्री नापे जस्तो खराव नेतालाई पनि पनि डी ग्री लगाएर को कति खराव भनेर नाप्नु पर्ने भयो ?सवै भन्दा जेठो खराव, माइलो खराव, साइँलो खराव, काइँलो खराव, अन्तरे खराव, जन्तरे खराव, लखन्तरे खराव, पानी मन्तरे खराव हुँदै हुँदै अन्त्यमा कान्छो खराव छुट्याउनु पर्ने भयो । अब गाह्रो कतिखेर भयो भने हप्तामा एक पटक ढाँट्ने नेता र छ महिनामा एक पटक ढाँट्ने नेताको इमान्दारीता कसरी नाप्ने ? दुइटै ढाँट हुन् तर अब यी ढाँटहरुबाट कम ढाँट हामीले कसरी छुट्याउने ? यो त धेरै गाह्रो कुरा भयो । तपाईंले भन्नुहोला कि हप्तामा एक पटक र छ महिनामा एक पटक ढाँट्ने मान्छे, को बढि इमान्दार भनेर त छुट्याउन सकि हालिन्छ नी । यो के ठुलो कुरा भयो र । तर मेरो आमाले तिनलाई एकै देख्नुहुन्छ । मैले यही प्रश्न गर्दा मेरो आमाले ति दुवै ढाँटलाई उस्तै हुन् भन्नु भयो । कोहि इमान्दारै नेता भैदिए त मेरो आमाले ढाँट र इमान्दार मजाले छुट्याउनु हुन्थ्यो, तर ढाँटै ढाँटको यो हुलमा भने उहाँ कता कता अल्मलिए जस्तो हुनुहुन्छ, उहाँ डी ग्री लगाएर छुट्याउनु भन्दा यी सबै जोगी कानै चिरेका भन्दिनुहुन्छ । हुनत उहाँले पुरेत छान्दा पनि यसै गरि छान्ने हो । उहाँले मासुखाने पुरोहित र मासु नखाने पुरोहितमा मासु नखाने पुरोहित रोज्न मजाले सक्नु हुन्छ तर उहाँले वर्ष भरिमा दशैंमा मात्र एकै पटक मासु खाने पुरोहित र हप्ता हप्तामा मासुखाने पुरोहितलाई एउटै ठान्नु हुन्छ । तर मैले आमालाइ भनें "यो त अन्याय भयो नी, वर्षमा एक पटक मात्र मासुखाने पुरोहितको लागि । एक पटक मात्र मासु खाने पुरोहित त ५२ गुनाले सुद्घ भए नि हप्ता हप्तामा मासुखाने पुरेत भन्दा त" । तर आमा मान्नु हुन्न ।


हुनत आमा र मेरो विचमा धेरै मतान्तर छ यस्ता कुरामा । वहाँले वाह्रमासे जँड्याहा र वर्षा एक पटक मात्र जँड्याहा हुनेमा पनि एकै हुन भन्नु हुन्छ तर म भन्छु ति दइटा जँड्याहामा ३६५ गुनाको फरक छ । तर आमा मान्नुहुन्न । यस्तैगरी मेरो आमाले वातैपिच्छे झुटा आश्वासन बाँड्ने नेतालाई र दिनभरिमा एउटा मात्र झुटो आश्वासन बाँड्ने नेतालाइ दुवै जोगी कान चिरेका भन्नु हुन्छ । तर मैले भनें "हेर्नुहोस आमा संसार सरल र सजिलो छैन । हामीले यिनै झुटाहरुबाट काम चलाउनु परेको छ । त्यसैले बातैपिच्छे झुटा आश्वासन बाँड्ने नेता भन्दा, दिनभरीमा एक पटक मात्र झुटो आश्वासन बाँडने नेता करिव ३० गुणाले राम्रो भए नि" (सालाखाला ३० वटा कुरा दैनिक बोल्लान भन्ने अन्दाजमा) । तर उहाँ के मान्यता राख्नु हुन्छ भने नेताले एउटा पनि झुट वोल्नु हुदैन । मैले आमालाई सोधें "तपाईंले तपाईंको जिन्दगी भरीमा कति वटा झुट बोल्नु भयो" । आमालाई गन्न निकैबेर लाग्यो । "खै यती नै भनेर भन्न सक्दिन तर धैरै नै होलान्" उहाँले भन्नु भयो । अनि मैले भने "तपाईंले चाँही अनगिन्ति झुट वोल्नु हुने तर नेता चाहीं निख्खरा युधिष्टिर कसरी हुन सक्लान् त, उनीहरु पनि हामी जस्तै मान्छे होइनन् र"। अनि आमा अलि कति नरम हुनु भो र भन्नु भयो "धेरै झुटो बोल्ने भन्दा कम झुटो बोल्नेलाईं भोट हाल्नु ठीकै हो की क्या हो" । मैले थपें "हिजो धेरै झुट बोल्ने नेता सुध्रीएर आज अली कम झुट वोल्ने भएभने तर हामीले चाँही त्यो देखेनौं भने त हामी उनीहरु सुध्रीएर आए पनि नसुध्रिएकै जस्तो व्यावहार गरौंला । त्यो त राम्रो भएन नी आमा" ।
 
भ्रष्टाचार हेर्दा पनि वहाँको यही ताल हो । कसैले खाउन नखाउन सवै उस्तैहुन भनिदिनु हुन्छ । आमाले लाखौंलाख आँखा अगाडी भ्रष्टाचार गरेर घर ठड्याउने नेता र अरुले थाहा नपाउने गरेर काठमाडांै जाँदा र आउँदाको भाडा खर्चमात्र उठाउने नेतालाइ पनि दुवै लामा हात गरेका भन्नु हुन्छ । आमाको विचारमा नेताले पटक्कै चोर्नु हुँदैन । मेरो पनि विचार त त्यै हो तर कहाँ पाउने यस्ता साधु । मैले आमालाई भने "यस्ता मान्छे पाइँदैनन् । हामीले यिनै चोरहरुवाट काम चलाउनु पर्छ । चोरीको यिनको डीग्री थाहा पाएर वेसी चोर्ने भन्दा कम चोर्नेलाई भोट दिनु पर्छ अर्को चुनावमा । १०० डीग्रीको ज्वरो र १०५ डिग्रीको ज्वरो छुट्याए जस्तै हामीले नेताको भ्रष्टाचारको पनि मात्रा थाहा पाउनु पर्छ ।" 


जिल्ला सदरमुकामका कार्यालयमा हुने कामहरुको मुल्यांकनमा पनि मेरो र आमाको कुरा मिल्दैन । आमा भन्नुहुन्छ "जुनै कर्मचारी पनि जुका जस्ता छन्, अलि अलि घुस नदिइ कामै गर्दैनन्"। आमाको विचारमा कर्मचारीले घुस पटक्कै खानु हुँदैन । आमा अझै थप्नुहुन्छ । "यत्रा मान्छे वेरोजगार छन् । यीनका कुर्सीमा बसेर यिनले खाने भन्दा आधा तलव खाएर  यिनको भन्दा राम्रो सेवा दिने मान्छे बाहिर हुँदा पनि यीनले घुस खाने" । आमा झ्वाक्किनु हुन्छ । मलाई पनि उहाँको कुरा घत लाग्यो । अनि मैले भने, "घुस नखाने चोखा मान्छे पनि छन त छन् तर तिनी अँध्यारोमा कतै फालिएका छन र ती धेरै पनि छैनन् । त्यसैले हामीले यिनै घुस्याहावाटै काम चलाउनु पर्छ । कम घुस्याहा र बढी घुस्याहाको अन्तर थाहा पाएर बढी घुस्याहालाई कम घुस्याहा वनाउन पहल गर्नु पर्छ र पहिला कम घुस्याहा हुनेलाई अझै कम घुस्याहा बनाउनु पर्छ " । तर आमा भन्नुहुन्छ घुसखाने प्रथालाइ त निर्मुलै पार्नु पर्छ । मैले भने, "निर्मुल भन्ने त अघि नै विधाताले आफ्नो विधानमा राखेकै छैन । विधानमा कि घुसै घुस कि नघुसै नघुस भन्ने नै छैन् । मान्छे भन्ने जातीको प्रकृति नै यस्तो छ कि हामी सर्वगुण सम्पन्न छैनौं । हामीले यी नै घुस्याहाहरुको बिचबाट छान्न जान्नु पर्छ ।"


मेरो आमालाई हडताल भन्ने चिजसँग पनि धेरै पीर छ । तर वहाँकोलागी वर्ष दिनमा तीस दिन हड्ताल निम्त्याउने सरकार र वर्षदिनमा दुइ दिन मात्र हड्ताल निम्त्याउने सरकारमा पनि कसो कसो उस्तै हुन् भन्ने लाग्छ । उहाँ भन्नुहुन्छ हड्ताल भन्ने चिजलाइ सदाका लागि विदा दिनु पर्छ । मैले भने "कुनै त्यस्तो दिन पनि आउला । तर अहिले लाई हामीले बढि हड्ताल निम्त्याउने सरकार भन्दा कम हड्ताल निम्त्याउनेलाई अलिकति भएपनि राम्रो मान्नु पर्छ । यदि हामीले हडतालका एक एक दिन देख्ने हो भने अरु आउने सरकारले एक दिन भएपनि घटाउन पहल गर्लान् । उनीहरुले भन्ने छन् हामीले वर्षो ३० दिन हुने हड्ताललाई २५ दिनमा झारेका छौं । सुधार भन्ने चीज भ्यागुता जस्तो उफि्रएर आउदैन, यो त विरुवा बढे जसरी बिस्तारै आउँछ र हामीले त्यसलाई देख्न सक्यौं भने मात्र हामीले सहि मुल्यांकन गर्न सकिन्छ ।"


लोडसेडिङको अवधीको आधारमा सरकारलाइ मुल्यांकन गर्ने कुरामा पनि हामी आमा छोराको कुरा मिल्दैन । दिनको चार घण्टा मात्र लोडसेडिङ वनाउने सरकार र दिनमा १६ घण्टा गराउने सरकार पनि आमालाई उस्तै लाग्छ । झन बेलुकीको खाना खाँदै लाइन गयो भने त उहाँले यी सवै उस्तै हुन् भनी दिनुहुन्छ ।  उहाँ भन्नुहुन्छ कि लोडसेडिङ त हुनै हुन्न । मैले भनें कुनै समय त्यस्तो पनि आउला तर अहिलेलाई हामीले एकै घण्टा मात्रै भएपनि लोडसेडिङ कम गराउने सरकारलाइ अलिकति राम्रो मान्नुपर्छ । हामीले एक एक घण्टाको हिसाव राख्ने हो भने पछि आउने सरकारवालाले भन्ने छन् कि हामीले १६ घण्टावाट १४ सम्म झार्यौं । अर्को सरकारले १४ वाट १३ मा झार्ला, त्यो भन्दा पछिको सरकारले १३ वाट १० मा झार्ला । अनि त्यस पछिको सरकारले १० वाट ५ मा झार्ला । यस्तै गरी पछि पछिका सरकारले लोडसेडिङलाइ इतिहास बनाउने छन् ।


आमाको लागि एस एल सी परिक्षाको पास फेलको कुराको बुझाइ पनि आफ्नै खालको छ । उहाँले पचास जनामा ४० जना पास गराउने स्कुलका सरहरु र ५० जनामा २० जना मात्र पास गराउने सरहरुलाई उस्तै ठान्नु हुन्छ । मैलै भनें "४० जना पास गराउने सरहरु त दुइ गुनाले राम्रो हुनुहुन्छ । उहाँहरुलाई त दोसल्ला ओडाइ दिए पनि हुन्छ ।" आमालाई पोहोर पास भएका र अहिले साल पास भएका विचको भेद पनि खासै छैन । उहाँको कुरा के हो भने शिक्षकले राम्रो पढाइदिउन् त्यती हो । मैले भने "राम्रो मात्र भनेर हुँदैन, उनीहरुले गरेको राम्रोलाई हामीले देखि दिनु पनि त पर्यो नी ।"


सडकका खाल्टा देखेर मेरो आमालाई सरकार भन्ने वस्तु छ कि छैन भन्ने लाग्छ । उहाँले भन्नुभो "कुनै सरकारले पनि केहि नापेनन् । पहिलाको सरकारको पालामा पनि सडकमा खाल्टा थिए अहिलेकामा पनि छन्, अझै बढेका होलान बरु" । आमा भन्नुहुन्छ "सडक पनि आँगन र सिक्वा जस्तै हो, चाँडो मर्मत गर्यो भने कम खर्चमा हुन्छ र गाडीमा चढ्दा जिउ पनि थतर्किदैन" । आमाले भने जस्तो भैदिने हो भने सडकमा एउटा पनि खाल्टा हुनु हुने होइन तर खाल्टा विनाको सडक छैनन् नि भने पनि हुन्छ । मैले आमालाइ भने "अब हामी खाल्टाका संख्याका आधारमा सरकारको मुल्याङ्कन गर्नु पर्छ र एउटै खाल्टो पनि कम बनाउने सरकारलाइ धन्यवाद दिनु पर्छ । हामीले खाल्टा गन्न थालेपछि आउने सरकारले भन्ने छ कि हाम्रा पालामा ५ हजार खाल्टाबाट घटाएर साढे चार हजारमा ल्यायौं । त्यो भन्दा पछिको सरकारले अझै घटाउने छ । यसरी सुधार हुनेछ एक एक गरेर ।"


अत्यावस्यक सामाग्रीहरु जस्तै ग्यास, मटि्टतेल, डिजेल, पेट्रोल जस्ता कुराहरुआपूर्तिमा पनि आमाले कि किन्न पाइयो कि किन्न पाइएन भन्ने माप दण्डवाट मात्र हेर्नु हुन्छ । आमाको लागी एक दिन यी चीज किन्न नपाउनु र वीस दिन किन्न नपाउनु उस्तै हुन । तर मैले भने "एक दिन मात्र किन्न नपाइने भन्दा २० दिन किन्न नपाइने त २० गुणाले नराम्रो भयो । कुनै सरकारले रामै्र गरी प्रयत्न गरेर २० दिन किन्न नपाइनेबाट पाँच दिन मात्र किन्न नपाइनेमा झार्यो भने र हामीले त्यसलाई देखेनौं भने कसैले फेरी प्रयास गर्ला  । राम्रो गर्दा पनि नरा म्रै देख्ने भएपछि राम्रो गर्न जरुरी पनि त भएन नी" ।


"सडकमा देखिने फोहोरको डंगुर त जुन सरकारका पालामा पनि छ, फोहोरबाटचाँही चाँही कसरी नाप्छस् त सरकारको काम गराइ" भनेर मलाई आमाले निकै कटिलो प्रश्न तेर्स्याउनु भयो । "यसलाई डोरी वा फिताले भन्दा पनि म कति जना मान्छेले नाक थुनेर हिंडे म त्यसलाइ गन्छु । पहिलाको सरकारहुँदा एक दिनमा सालाखाला कति जनाले नाक थुनेर हिंडे र अहिलेको सरकारमा दैनिक कति जनाले नाक थुनेर हिंड्दैछन्" । "जे चिजलाइ पनि नाप्नै पर्छ त" आमाले सोध्नु भयो । मैले भने "हामी अगाडी बढ्नको लागि र प्रजातन्त्र फस्टाउनको लागि हामीले नाप्नै पर्छ । अहिलेसम्म ननापिकनै गोलमटोल मुल्यांकन गरेर त सिंहदरबारको गेटसम्म पनि पुग्नु नपर्ने मान्छेहरु भित्रै पुगेका हुन् त आमा" मैले भने ।


हुनत मेरा आमा जस्ता आमाहरु नेपालमा मात्र हैन यो समग्र भारतीय उपमहाद्धीप भरि नै हुनुहोला । उहाँहरुमा कुनै पनि चीजको धेरै र थोरैको हेक्का राम्ररी नआउन्जेल सम्म साँचो अर्थको प्रजातन्त्र आउन केहि समय लाग्ला जस्तो छ । यो रोग आमाहरुमा मात्र हैन वावुहरुमा पनि उत्तिकै छ । र आमा वावुका छोरा छोरीमा पनि छ । यही भएर पो हो की हामीले नेता जती सवै उस्तै भन्ने गरेका । नेता जती सवै उस्तै कसरी हुन्थे ?


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )