पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:३६
मुख्य » Chautari » औपचारिकतामा सीमित नारी दिवस

औपचारिकतामा सीमित नारी दिवस

हुम्ला - पदम भण्डारी
प्रकाशनको मिति ०९ मार्च २०१० ०८:०० बजे   |  ० वटा प्रतिक्रिया

म अहिले नेपालको अति दुर्गम मानिने जिल्लाहरुमध्येको एउटा जिल्ला हुम्ला जिल्लाको नारी दिवसको संदर्भलाई पाठक सामु राख्दैछु । म बिगत बाह्र वर्ष देखी कर्णाली क्षेत्रमा काम गर्दै आएको छु र बिगत र वर्तमानको दिवस मानउने शैलीको मूल्याङकन गर्दै आईरहेछु ।

 
महिला विकास कार्यालयको आयोजनामा जिल्ला सदरमुकाममा नारी दिवस मनाउने सिलसिलामा बिहान ११:०० बजे नारा जुलुश गर्दै बजार परिक्रमा गय्रो र बाल कल्याण समितिको प्राङ्गणमा गएर सभामा परिणत भयो । जिल्लामा सभापतिको समेत कार्यभार प्राप्त स्थानीय विकास अधिकारीले कार्यक्रमको अध्यक्षता गरे, प्रमुख जिल्ला अधिकारीले प्रमुख अतिथिको आसन ग्रहण गरे । त्यस्तै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले अतिथिको आसन ग्रहण गरे । मञ्चमा महिला पात्र केवल निमित्त महिला विकास अधिकृतको भूमिका निर्वाह गरेकी मुख्य महिला कार्यकर्ता बाहेक अन्य महिलाहरुको उपस्थिति देखिएन । कार्यक्रम सञ्चालक भने महिला विकास कार्यालयमा कार्यरत एकजना पुरुष लेखापाल थिए ।

 
मञ्चका पात्रहरु देख्दा मलाई दिवस मनाउने पञ्चायती शैलीको याद आयो । मञ्चका पात्रहरुमध्ये मलाई धेरैजसोको पारिवारिक पृष्ठभुमी पनि थाहा थियो । तीनिहरुको महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि थाहा थियो ।

मलाई लागिरहेथ्यो, महिला देख्नेवित्तिकै हिंसा गर्न उद्दत कामनाले ओपप्रोत युवा मन पालेर बस्ने पुरुषहरुको बाहुल्यता छ मञ्चमा । महिलाहरुलाई केबल उपयोगको साधन ठान्ने मानविय संबेदना हराएका पुरुष मानसिकता भएका, महिलाहरुलाई सम्मान गर्न जान्ने शिक्षाको अभाव भएको समाजका उपजहरुको भिड थियो त्यहाँ । दिवस मनाउनुको पछाडि त्यसको निहित उद्धेश्य अनुरुप थिएन ।

कार्यक्रमस्थलमा रकम दिने दाताहरु र अतिथिहरुको स्वागतका लागि फूल माला लिएर दोहोरो लाईनमा केटीहरु, युवतीहरु, महिलाहरू उभिएका थिए । केहि बेर पछि स्वागत मन्तब्यबाट कार्यक्रम शुरु भयो । कार्यक्रम सञ्चालकको भनाई यसरी शुरु भयो - " भनिन्छ, प्रत्येक सफल पुरुषको पछाडी महिलाको भुमिका हुन्छ......... । नारी पुरुष एक रथका दुई पाङ्ग्रा हुन्..... । " उसको व्यवहार चिन्ने मलाई उक्त भनाईको अर्थ बुझ्न गाह्रो थिएन किनकि उसको त्यो भनाईमा यौनिकता थियो । उसको अनुहारबाट उक्त भनाईको अर्थ महिला भनेका यौन सन्तुष्टि लिने साधनमात्र हुन भन्ने झल्किरहेको थियो । 

पुरुषहरुका लागि नारी दिवस नारीहरुलाई सम्मान गर्ने उनीहरुको योगदानको कदर र सम्मान गर्ने दिन हो ।

महिलाहरुका लागि यो दिवस उनीहरुले आफ्नो हक अधिकार, कर्तब्य र जिम्मेवारी सम्झने दिन हो । तर नेपालका अधिकाशं गाउँले महिला एवं पुरुषहरुमा यो चेतनाको अभाव छ । चेतना भएकाहरुमा व्यवहार छैन । व्यवहार भएकाहरुमा गुणस्तर छैन । जिल्ला सदरमुकाममा औपचारिकता निभाउन सञ्चालन गरिएको उक्त कार्यक्रम दुर्गम गाउँहरुमा पुगेको छैन । दिवस मनाईरहँदा मेरो मानसपटलमा कतिपय महिलाहरु हिंसाको शिकार भएको देखेको कुराहरु घुमे । महिलाहरुको घरायसी कामलाई मुल्याङ्कन गर्ने पुरुषहरु जोईटिङ्ग्रे कहलिएर समाजले कुरा काटेको सम्झें । कतिपय महिलाहरु आफ्नो सम्मान गर्ने लोग्नेहरुलाई नटेर्ने गरेको पनि सम्झें । 

 
नारी दिवसको उपलक्ष्यमा लोक गीत प्रतियोगिता भयो । छोराछोरी स्कुल पठाऔं भन्ने बोलको गीत गाउने महिलाहरुको टोली प्रथम भयो । तर मलाई राम्ररी थाहा थियो जसले गीत गाएर प्रथम भए तिनैका घरका छोरीहरु स्कुल जाँदैनन् । सरकारको दाईंजो विरोधि अभियानलाई सहयोग पुगेको गीत गाउने महिला टोली द्वितिय भयो । त्यस टोलीमा छोराको बिहे गर्दा बुहारीका माईतीले कम दाईंजो दिए भनेर दिनदिनै बुहारीलाई प्रताडित गर्ने सासु मध्ये एक थिईन । आफ्ना सुरले महिलाले काम गर्नै पाउँदैनन् भन्ने बोलको गीतले तृतिय स्थान  प्राप्त गय्रो । अर्थात आफ्नै घरमा आफ्नै पुरुषबाट प्रताडित महिला तेस्रो भईन । बाँच्नका लागि संघर्षरत महिला विकास कार्यालयमा कार्यरत ती दिनहुँ आफ्नो लोग्नेबाट कुटिन्छिन । कतिपय अवस्थामा रुँदै सुन्निएको अनुहार लिएर बैनीको घरमा आएको मैले देखेको छु । पंक्तिकारले यो लेख्दै गर्दा नारी दिवसकै दिन पनि उनले कुटाई खाएको खबर आयो । उनले कुटाई खानुको एउटा कारण नारी दिवस मनाउने नाममा दिनभरी उसको श्रीमानको शब्दमा कता हराई भन्ने हो । ती महिला त एउटा प्रतिनिधि पात्र मात्र हुन । बिवाह भनेको के हो? लोग्ने किन चाहिन्छ? भन्ने बाल सुलभ मस्तिष्कमा नजानेको नबुझेको बेलामै आफ्नो छोरीको बाल बिवाह गरिदिने महिला बाल बिवाह रोकौं भन्ने बोलको गीतमा सान्त्वना पुरस्कार प्राप्त गरिन । 

मञ्चमा आसिन व्यक्तिहरुले पालैपालो भाषण गरे । सबैका भाषणको सार भनेको महिलाहरु पुरुषवादी सोंच र चिन्तनको कारणले मात्र नभई पुरुषबाट भन्दा बढी महिलाहरुबाटै प्रताडित छन् भन्ने थियो । मलाई लाग्यो नारी दिवस मनाउन रकम दान गर्न दानबीरहरुको ओईरो छ । अभियानका लागि मार्गदर्शन पनि छ । चिन्तन कुटिल, गतिलो प्रस्ताव, वाचाल जिभ्रो, दमदार दृष्टान्त दिनसक्ने कला, यात्रा गजब छ । यात्राको सवारी पनि गजब छ । अभियानको मार्गचित्र आयातित छन् । मार्गचित्र कोर्ने कला चाहिन्छ । यो मार्गचित्रमा यात्रा गर्नलाई राम्रो बोल्न जान्नुपर्छ । बोलेर नेपाली महिलाको पिडा, कथा व्यथा, सन्ताप भट्याउन सक्नुपर्छ । शोभा शान र गौरवका साथ उनीहरुको बयान गर्न सक्नुपर्छ, तर्क गर्न सक्नुपर्छ, अभिनय गर्न सक्नुपर्छ बस दिवस सफल हुन्छ । म पुरुष हुँ । मैले पढेर महिलाको सुत्करी अवस्थामा हुने प्रसव पिडाको राम्रो व्याख्या गर्नसक्छु तर मैले अनुभव गरेको छैन र गर्न सक्दिन पनि । यहाँका नारीवादीहरू दिवसका अवसरमा राम्रो व्याख्या गर्न सक्छन्, तर तीनिहरुसंग पिडादायी अनुभव गरेका छैनन् र गर्न सक्दैनन् पनि । लक्ष महान छ तर जोखिम छैन, उपलब्धि पनि छैन ।

देशका अधिकाशं महिलाहरु आफ्नै लोग्नेको हातबाट हिंसा खेप्न वाध्य छन्, अबोध शीशुहरु कुपोषणले ग्रस्त छन्, गतिलो प्रसुती सेवा नपाएर अकालमै ज्यान गुमाउनु पर्ने किशोरी आमाहरु छन्, सार्वजनिक धारामा पानी भरिएको डेक्ची छोएको निहुँमा छुवाछुतको आरोपमा कुटाई खाने दलित बालबालिकाहरु छन, उपल्लो जातीलाई अबिर लगाएको भन्दै निर्धात कुटिने दलित युवाहरु छन् । दलित, गरिव, उमेर छिप्पिएका, नराम्रो अनुहार भएका कारणले बोक्सीको आरोप खेप्न वाध्य महिलाहरु छन् । बिवाह गरेर छोरी जन्माएको निहुँमा कुटाई खाने र लोग्ने भागरे बेपत्ता हुने अनगिन्ती महिलाहरु छन् । भाग्य, कर्म र ग्रहदशा ठान्ने महिलाहरु मनग्गे छन् । छोराछोरी दुबै बराबरी भन्ने भावनालाई अनुशरण गरेर आफ्ना छोरीहरुलाई अंश दिएका कारण आफ्नै छोराहरुबाट मार्ने धम्की खेप्दै आएका आमा बुबाहरु छन् । तीनिहरुको बारेमा कुनै किसिमको सम्बोधन गर्ने कार्यक्रम थिएन । पिडामा परेका महिलाहरुको पिडालाई शक्तिमा बदल्ने आँट गर्ने कुनै उपाय थिएन । अधिकार मागरे होईन खोसेर लिनुपर्छ भन्दै नारा घन्काउने तर ‍‍‍‍‍‍कसरी खोसेर लिने भन्ने रणनीति थिएन । नारी दिवस केवल मनोरञ्जनवादी, मगनमस्तिवादी, यसबाट यश, आर्थिक लाभ हुन्छ भने मात्र दिवस नत्र दिवस न सिवस‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ भन्नेहरुको भिड मात्र थियो । गाउँमा जीवन बिताईरहेका महिलाहरु आर्थिक अभावले पिरोलिएका छन्, घरायसी हिंसाको आँसु, चित्कार र कोलाहलमा बाँच्न बाध्य छन्, यति पराधिन छन् की तीनिहरु कुनैपनि प्रकारको हिंसाको प्रतिवाद गर्न सक्दैनन् ।

राज्य संरचानामै अदुरदर्शीहरुको भिड छ , काम क्रोध लोभ र मोह भएकाहरुको बिगबिगी छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय निरिह छ । उजुरी गर्न गएर बढी हुँदैछस्, यसको परिणाम पनि भोग्नुपर्ला तँ जस्ता कतिजनालाई मारिसक्यौं भनेर धम्क्याउँदा समेत केहि गर्न नसक्ने निरिह प्रहरी प्रशासन छ, सुरक्षा माग्न प्रहरी कहाँ जाँदा उल्टै खप्की खानु पर्ने वाध्यता छ, राष्ट्रिय महिला आयोग, छुवाछुत अपराध निगरानी केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जस्ता संघसस्थाहरु दातामुखी छन् । सामाजिक, जातिय, वर्गिय, भौगोलिक, आर्थिक, राजनीतिक हिसाबले महिलाहरु, महिलावादीहरु विभाजित छन् । यस्तो अवस्थामा नारी दिवस केवल औपचारिकतामा मात्र सिमित भएको आँफू पनि निरिह बनेर हेरिरहें । आँफैलाई प्रश्न गरें - "नारी दिवसको सांदर्भिकता यहि हो त?" औपचारिक सभा, भाषण, प्रतियोगिताहरु गरेर दिवस मनाईयो । धेरै दिवसहरु मनायौं तर व्यवहारमा कुनै परिवर्तन देखिएन । कुनै प्रतिवद्धता देखिएन । यो समाजसेवा कति पेसा बनेछ, कति समाजधर्म र कति न्यायकर्म बनेछ म टुलुटुलु हेरिरहेछु । अब उप्रान्त नारीहरुका विरुद्ध कुनै पनि प्रकारको हिंसा गर्दिन, सोंच्न पनि सोंच्दिन भन्ने प्रण गरौं । आजको दिनले सबैलाई यहि प्रेरणा मिलोस् ।

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )