यात्रासाहित्यको रोमाञ्च- दामसामगढीदेखि स्कटल्याण्ड क्यासेलसम्म
|- स्कुले जीवनको झझल्को र जायन सर
सन् १९८७ मा कालेबुङको प्रतिष्ठित एस यु एम आइ विद्यालयको सातौं श्रेणीको कुरा हो। त्यतिबेला एकजना सुन्दर मुहार भएको, गोरा, पातला भए पनि मिलेका जुँघा भएका, हँसिलागुरूबा अँग्रेजी पढाउन आए। सातौं श्रेणीका निम्तिशुरूदेखि नै ती सरले विद्यार्थीहरूसित मित्रवत् व्यवहार गर्न थाले। अङ्ग्रेजीका कविता र अन्य पाठहरू मज्जा हुने गरी पढाउँथे। पाठलाई छर्लङ्ग बुझ्ने गरी उदाहरण दिएर बुझाउने गर्थे। तर त्यो स्कुलको पढाउने कला नै गौरीबेतमा हुन्थ्यो। ती हेन्सम सरले पनि क्लास भाग्ने, होमवर्क नगर्ने, पढाएका बेला इत्रिने, कविता नरट्ने विद्यार्थीको फिला बजार्थे। उनी सानोतिनो निहुँमा वा बिनासित्तिमा विद्यार्थी पिट्ने अनाहकमा दुःख दिने खालका थिएनन्। पढाउने तरिका मिठो थियो। रूटिनमा ती सरको क्लास हुँदा खुशी नै लाग्थ्यो। हाम्रो सेभेन बी हेडसरको च्याम्बरनजिकै हुनाले क्लासमा हल्ला हुनुहुँदैन थियो। एकदिन खालि पिरियडमा क्लासमा गायन शुरू भयो। क्लासका मनिटर तेन्जिङले गाजलु ती ठुला ठुला आँखा भन्ने गीत गाउँदै थिए। ती सर आएर तेन्जिङलाई गायन जारी राख्नु भनेर आफु दैलामा उभिएर सुनिरहे। तेन्जिङको गायन पछि अरूले पनि गाउँछौ भने लु एकेक जना आएर गाउनु भने। निर्वाण योञ्जनले पनि कुनै गीत गायो। त्यो दिन गीत गाउन, कला देखाउन प्रोत्साहन गरे। पछि बुझ्दा ती सरले विद्यार्थीका यस्ता क्षमता भएका विद्यार्थीलाई निकै प्रोत्साहन दिने खालका रहेछन्। ती आदर्श शिक्षक हुन् जायन लेप्चा।
उक्त विद्यालयका एक प्यारा शिक्षक, सबैले मन पराउने जायन सर अहिले सेवानिवृत्ति भैसक्नु भएको छ। अहिले उहाँकी श्रीमती तारा लोहार लेप्चासित साहित्यिक कार्यक्रमतिर आइरहनु हुन्छ। तारा लोहार लेप्चा आफैं नै कवि, समालोचक, एक कुशल उद्घोषक, एक आदर्श नारी। खरसाङ कलेजकी वरिष्ठ प्राध्यापकका रूपमा सेवारत हुनुहुन्छ। जायन सर र तारा गुरूमा अत्यन्तै प्रेममय आदर्श दम्पति हुनुहुन्छ। अब सरको पुस्तक पनि छापिनेछ भन्दा मलाई सबैभन्दा बढी खुशी लाग्यो। एक त आफ्नो प्रिय गुरू, साहित्यमा गहिरो रूचि भएका, किताबका राम्रा पाठक जायन लेप्चाको पुस्तक प्रकाशित हुने हुँदा म बढी उत्साहित प्रफुल्लित भएँछु। गुरूको स्थान जोसुकैले लिन सक्दैन। पढायो भन्दैमा गुरू हुँदैन कि जस्तो लाग्छ। त्यसका लागि आदर्शता, निष्ठा समर्पण, आन्तरिक प्रेम, सस्तो लोकप्रिय नभई केही कठोर तर दयालु, अनुशासित, समर्पित, इमानदार आदि जस्ता गुण हुनपर्छ। मैले जान्दा जायन लेप्चामा यी सबै गुण थिए।उहाँकामा सौन्दर्य चेतना प्रखर पाइन्छ। उहाँ एक दक्ष फोटोग्राफर पनि हुनुहुन्छ। फोटोग्राफीमा आफ्नो सौन्दर्य चेतना, कलात्मकता देखाउनु भएको छ। धरती, सूर्योदय, सूर्यास्तका अनुपम छटा, चराचुरङ्गी, गाउँका हरियाली, खोल्सा-खोल्सी वृक्षका विविध स्वरूप आदि देख्नेबित्तिकै फोटो खिच्ने गर्नुहुन्छ। उहाँ भ्रमणप्रिय हुनुहुन्छ। भ्रमणका क्रममा स्थानीय ठाउँतिर पैदल भ्रमणदेखि लिएर भारतभरि र स्कटल्याण्डसम्म पुग्न भ्याउनु भएको छ।
अब आफुले डुलेका, देखेका, भोगेका, घुमेका, बुझेका, गुनेका गमेका, सिकेका कुरालाई पाठकलाई पस्नु भएको छ। यसमा रहेका लेखहरू एकेकवटा ठाउँ घुम्दाका क्षणलाई कलमबद्ध गरिएको पाइन्छ। यसमा रहेका लेखहरू हुन्- लण्डन यो कस्तो, मंग्पू सिन्कोना प्लान्टेसन, डालिम फोर्ट, नाथुल्ला चारैतिर सेताम्मे हिउँहरू, सन्दक्पु यात्रामा सुती सुती फोटो खिच्छौं, सम्झनाको तरेलीमा नर्थ बेङ्गाल क्लिनिक, भेल्लोर अस्पतालका भलाद्मीहरू, सेतो मलाताको घारीमा नयाँ पाठशाला, अफ्पिया र बागडोगरा एयरपोर्ट, ल्याङडोपको आत्म गेबु आच्योकमा,पुरानो सिल्क रूट भएर हिँडन सकेनौं, वारिपट्टिको यात्रा पारिपट्टि भुटान बोर्डर, मनै चिउँचिउँ हुने राभाङ्लाको सानो भीर, मान्छेको खसाखस घसाघसमा चारमिनार चढ्यौं, कोविड-१९ गाडी ब्रेकडाउन भएका बेला, स्कल्याण्डका क्यासलहरू।
- लेखनतिर उन्मुख जायन लेप्चा
यसै त मान्छे एकै ठाउँमा कुवाको ब्याङ जस्तो मात्र नभएर कता कता घुम्न जान्छ। अरू ठाउँ देख्ने, अनुभव गर्न चाहन्छ। कोही नजिकैका स्थानतिर घुम्न जान्छन्, कोही टाडा जान्छन्। कोही देशभित्रकै रमणीय स्थानतिर घुम्न जान्छन् त कोही विदेश घुम्छन्। यसरी विभिन्न ठाउँ, शहरतिर यात्रा गर्दा, हिँड्दा विभिन्न नयाँ कुरा देख्छ। त्यो घुम्ने मान्छेभित्रको सिर्जनात्मक चेतनाले घच्घच्याएर उसका अनुभव-अनुभूति लेखेर व्यक्त गर्दछ। यद्यपि यो गुण सबैमा हुन्न। देश विदेश भ्रमण गर्ने एक प्रतिशतले पनि लेख्दैनन्। यदि भ्रमण गर्ने नेपालीमध्ये एक प्रतिशतले आफ्नो आफ्नो यात्रा अनुभव लेखे नेपाली नियात्रा साहित्य अझै विकसित हुनेथियो। भ्रमण गर्नेमध्ये अत्यन्त थोरैले लेख्दा पनि नेपाली नियात्रा साहित्य फस्टिएको नै पाइन्छ। नेपाली साहित्यमा नियात्रा लेख्ने साहित्यकारको सूचि लामै छ। नेपाली साहित्यमा नियात्रा लेखनमा एकनिष्ठ समर्पित भएर लेख्ने लेखकहरूको सूचि पनि लम्बिदै गएको पाइन्छ। यद्यपि यसैलाई विशिष्ट योगदान दिने केही उल्लेखनीय लेखकहरूमा केदारमणि आदी, प्रकाश ए राज, इशान गौतम, जय छाङछा, एम बी प्रधान, सलोन कार्थक आदि हुन्।अब यसै सूचीमा कालेबुङका जायन लेप्चाको नाम पनि थपिन आएको छ। यो पुस्तक पढ्दास्थानीय ऐतिहासिक भौगोलिक र धार्मिक महत्त्वका स्थानहरूलाई पाठकहरूलाई परिचय गराएर एक प्रकारले आन्तरिक पर्यटनलाई टेवा दिएको पनि लाग्छ। हाम्रै वरिपरि कति सुन्दर स्थान छन्, यी आफ्नो ठाउँ नघुमी नदेखि नचिनी अन्यत्र जानु पनि उपयुक्त हुँदैन, अधुरो हुन्छ।
जायन लेप्चाको प्रकाशोन्मुख यो पुस्तक पहिलो हो। आफुले विभिन्न घुम्दाका अनुभूतिलाई कलात्मक तवरले कागजमा उतारेका छन्। यो उनका इमानदारिता र कर्तव्यबोध हो। आफ्नै कालेबुङका केही रमणीय यात्रा हुँदै लन्डन र स्कटल्याण्डको एडिनबरासम्मको यात्रालाई कलमले समेट्ने प्रयास गरेका छन्।यसमा कोरोनाकालमा आफुहरू खरसाङ जानुपर्दा बाटामा गाडी बिग्रेर अभर परेकादेखि लिएर स्कटल्याण्डसम्म जाँदाका अनुभव र अनुभूतिलाई समेटेका छन्। यसमा रेहका यात्रा संस्मरणहरूलाई नियाल्दा यसभित्र केही प्रवृत्ति परिलक्षित हुन्छन्-
- स्थानीय स्थलगत यात्रावर्णन-
यसमा कालेबुङका दामसामगढी, दालिमगढी, खरसाङ, जुलुक, आदि ठाउँ घुमेको स्थलगत वर्णन पनि पाइन्छ। यसमा रहेका दुईवटा गढीहरू कालेबुङको इतिहासमा लेप्चाहरूको इतिहासको सङ्केत पाइन्छ।अर्को लेख डालिम गढीमा पनि उनै गेबु आच्योकको गोरूबथाननजिकमा रहेको अर्को डालिम गढीको पनि इतिहास को उल्लेख पाइन्छ। डालिमगढीनेर पनि भोटे र लाप्चे राजाहरूको लडाईँ भएको थियो भन्ने इतिहासपरक तथ्य पनि पाइन्छ। विद्यालयका विद्यार्थीहरूलाई कालिम्पोङको ऐतिहासिक थलो देखाएर यहाँको इतिहासको जानकारी दिइएको छ। यसमा कालिम्पोङका स्थानीय रणमीय ऐतिहासिक स्थानदेखि लिएर दक्षिण भारतका भेल्लोर र हैदरावाद तथा बेलायतका लण्डन र एडिनबरासम्मको संक्षिप्त रूपमा भए पनि वर्णन पाइन्छ। यसमा हिमालय र प्राकृतिक सौन्दर्यका वर्णनसँगै कतै कतैका बाटाघाटाका बिग्रँदो अवस्था आदिलाई समेत उल्लेख गरिएको छ।
- सूचना र तथ्यात्मकता-
यसमा रहेका प्रायः जम्मै यात्रालेखहरूमा आफुले घुमेका स्थानहरूको यथावत् भौगोलिक, सामाजिक ऐतिहासिक सामाजिक तथ्यहरू प्रस्तुत गरिएका छन्। सिक्किमको जुलुक जाँदा त्यहाँको मनोरम प्राकृतिक छटा, त्यहाँको उचाइँ, भौगोलिक अवस्थान आदिबारे प्रकाश पारिएको छ। यो लेख पढ्दा नै पाठकलाई त्यो ठाउँ आफैं जाउँ जाउ जस्तो लाग्दछ। दामसामगढी यात्रालेखमा पनि कालिम्पोङमा लेप्चाराजा गेबु अच्योकबारे किम्बदन्ती, लेप्चा भेषभूषा आदिबारे जानकारी पाइन्छ। कालिम्पोङमा लेप्चा राजाको शासन, गेबु आच्योकलाई भोटेहरूले षडयन्त्र गरी मारेको इतिहास पनि साङ्केतिक रूपमा उल्लेख भएको छ। कालिम्पोङ प्रतिष्ठित एस यु एम आइ विद्यालयले निम्बोङ बस्तीमा पनि आफ्नो शाखा विद्यालय खोलिएको तथ्य प्रस्तुत गर्दै त्यस निम्बोङको भौगोलिक अवस्थान, त्यहाँको सामाजिक पृष्ठभूमि आदि केलाइएको छ। त्यहाँ स्थापित गरिएको एस यु एम आइ अनुजले उक्त दुर्गम गाउँमा शिक्षाको ज्योति फिँजाउने छ भन्ने उद्देश्यले खोलिएको छ। अहिले यस वर्षको आयु दस वर्षमा धैरै उन्नति गरेको छ, सेवा दिएको छ। भेल्लो यात्रा भन्ने लेखमा पनि दक्षिण भारतको भेल्लोरमा क्रिस्चियन मेडिकल कलेजमा आफ्नो रोगका निम्ति अपरेशन गर्नुपर्दा के कसो औपचारिकता गर्नुपर्ने कुराको सूचिना पाइन्छ। मङ्पुको सिन्कोना कारखानासमबन्धित जानकारी पनि पाइन्छ। मङ्पुमा सिन्कोना कसरी निकालिन्छ, त्यहाँ विश्वकवि रबीन्द्रनाथ ठाकुर अहिले आएर बसेका थिए, त्यहाँ सङ्ग्रहालयमा के के कुरा छन् आदिबारे जानकारी पाइन्छ।सिक्किमको याङयाङ जाँदा सिक्किमका विभिन्न ठाउँ, मराउमा गरिएको सुव्यवस्थाको प्रचलनआदिलाई उल्लेख गरिएको छ। लण्डनको भ्रमण भने सामान्य गाडीबाट देखिएको कुरालाई जानकारी दिइएको पाइन्छ।सन्दकपु यात्राका क्रममा कालेबुङदेखि सन्दकपुसम्मका ठाउँका नामहरू उल्लेख गर्दै त्यहाँको भौगोलिक परिवेशको वर्णन पाइन्छ। लण्डनका केही स्थानहरूका नामहरूपेडिङ्टन स्टेशन, म्याडम-डुस्साडस, ट्राफल्गर स्क्वायेर, बीग वेन, वेस्ट मिनिष्टर ब्रीज, लण्डन आई टावर ब्रीज, वेष्ट मिनिष्टर एब्बे, बकिङ्घाम प्यालेस, वेस्ट मिनिष्टर क्याथड्रेल, लण्डन ब्रीज, सिटी हल, द साई, सिप्लेस विलिभ इट अर नट इत्यादि।
स्कटल्याण्डको एडिनबरामा शान्ति, सुशासन, सुव्यवस्थितको स्थिति पाइन्छ। पुलिसको उपस्थिति उत्ति नदेखिने, आफैं अनुशासित स्कटल्याण्डको बारेमा जानकारी पाइन्छ। त्यहाँ उस्तो अपराध नहुने, कसैले ट्राफिक भङ्ग पनि उस्तो गर्दैनन्। यस लेखलाई बढी महत्त्व दिएर लेखिएको छ। त्यहाँका प्राकृतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक स्थितिको साङ्केतिक रूपमा भए पनि प्रकाश पारिएको छ।जब लेखक कालेबुङ म्युनिसिपालिटी बोर्डको भाइस चेयरमेनको पदमा नियुक्त थिए। त्यतिबेला टाउन अर्थात् नगरलाई सुन्दर राख्नु, सफा राख्नु, स्ट्रीट लाइटको जडान, बाटोको मरमत्ती, स्वैरेज सिस्टमलाई ठिक राख्नु इत्यादि इत्यादि कामका लागि हैदरावाद गएर अवलकन गर्न गएको रोचक वर्णन पाइन्छ।
- वैयक्तिक अनुभव र अनुभूति-
यसमा रहेका सबैभन्दा प्रवल पक्ष नै संवेदना र अनुभूतिका प्रकटीकरण हो। यसमा यात्रा गर्दा निजात्मक अनुभूतिलाई पाठकसामु पस्केका छन्। यात्रामा जाँदाका सुखद अनुभूति, प्राकृतिक मनोहर दृश्यले मनलाई पारेका आनन्द प्रकट गरिएको पाइन्छ। यसैगरी अभर पर्दा मनका तरङ्ग र संत्रास, आत्मीयजनलाई भेट्दाको सुखद् अनूभूति, आत्मीयताको भावलाई जतिसक्दो अभिव्यक्त गरिएको छ।नथुला यात्रा गर्दाका रोमाञ्चक अनुभव र अनुभूतिलाई पस्केका छन्। यसमा यात्रा गर्नुअघिका केही सम्वाद र तयारी, यात्रामा गाडीको नाम नम्बरदेखि लिएर बाटामा देखिएका ठाउँका नाम रूखका नाम अन्य प्रकृतिक कुराहरू, खाएका कुराहरूदेखि लिएर लक्ष्यमा पुग्दा देखिएका अनुभव र अनुभूतिलाई जतिसक्दो उतारेका छन्। यसो हुँदा पाठक पनि सङ्गसँगै यात्रा गरेजस्तो लाग्छ। यात्राको आनन्द अनुभूतिसम्त पाठकले पाउन सक्छन्।लण्डनलाई अवलोकन गर्ने आफ्नै शैली। त्यहाँ हरेक थोक सुन्दर, शान्त, हल्लाखल्ला नभएको, सफा, सुव्यवस्थितपरिवेशको उल्लेख गरिएको छ। यसमा लण्डन पुगेर एक रात होटेलमा बसेर भोलिपल्ट स्कटल्याम्ड जानका निम्ति हिथ्रो हवाइअड्डासम्म गएको मात्र वर्णन पाइन्छ. यद्यपि छोटोमा नै लण्डनको एक झलक पाइन्छ। उच्च स्थानमा रहेको प्रसिद्ध पर्यटकीय स्थान सन्दकपु पुग्दाको अनुभूतिलाई उतारिएको छ। गाडी बिग्रँदाको, लक्ष्यित स्थान पुग्दा सुखानुभूति, हामालाई पहाड र प्रकृति दृश्यादि देख्दाको मानसिक अवस्थालाई जतिसक्दो उतारिएको छ। आफु दुई पल्ट बिमारी भई अस्पताल बस्नु परेको र हर्निया र नशाको अपरेसनहुनुअघि र पछिको मानसिक अवस्थालाई उतारिएको छ।
प्रस्तुत पुस्तकमा सबैभन्दा मुख्य र बढी महत्त्व दिएर लेखिएको लेख भने हाम्रो स्कटल्याण्ड यात्रा हो। यसमा 2013 मा कालिम्पोङको स्कटिस मिसन अन्तर्गतको एस यु एम आइ विद्यालय हुनाले यसको मूल स्कटल्याण्डमा अवस्थित डर्लटर्न गिर्जाको 400 वार्षिकोत्सवमा भेला हुन लेखकले पनि अवसर पाएको र सामेल हुन गएको वर्णन गरिएको छ। त्यहाँका वरिपरिका प्राकृतिक परिवेश, शहर गाउँको रोचक वर्णन गरिएको छ। कालिम्पोङबाट स्कटल्याण्ड जाँदा कालिम्पोङका केही परिचित व्यक्तिलाई भेट्नु, कालिम्पोङ्को नाम देख्नु आदिबाट प्राप्त खुशीको अनुभवलाई अभिव्यक्त गरिएको छ।त्यहाँका अनौठा लागेका कुरा, मानिसहरूको सहयोगी भावना, आनन्दानुभूति आदिलाई यहाँ प्रस्तुत गरिएको छ।यसमा केही पात्रजस्ता केही व्यक्तिहरूका नाम पनि आवृत्ति भएर आएका छन्। कालिम्पोङ-सिक्किमका केही स्थान घुमेपछि स्कटल्याम्डको एडिनबरा शहर घुमेपछि भिन्नै किसिमको अनुभूतिलाई उतारेका छन्।
४. मूल्याङ्कन
हाम्रा लागि नयाँ लेखक जायन लेप्चा अब नेपाली यात्रासाहित्यको यात्रामा लाग्नुभएको देखिन्छ। उहाँमा साहित्यिक चेतना र रस पहिलेदेखि नै थियो भन्ने प्रतीत हुन्छ। आफुले भ्रमण गरेका ठाउँलाई पाठकलाई चिनाउने, जानकारी दिने, आफ्नो अनुभव र अनुभूति पोख्ने काम गरेका छन्। आफुले भ्रमण गरेका ठाउँलाई सबैले लेख्ने हुन् भने नेपाली नियात्रा साहित्य बाक्लो रूपमा लेखिन्थो। यसमा लेखकको लेखन शैली अझै खारिएको माझिएको भए अझ यो पुस्तक उचाइँमा जान सक्ने थियो। यसमा भाषागत शैलीगत, वर्णनगत, अभिव्यक्तिगत, प्रस्तुतिगत कमजोरी छन्। यद्यपि लेखकको उद्देश्य भने पाठकमैत्री छ। सरलता, सहजता, इमानदारिता आदि यसका विशेषता र गुण हुन्। कालिम्पोङकै स्थानीय दामसामगढीदेखि स्कटल्याण्डको गढीसम्मले यसमा स्थान पाएका छन्। उनको पहिलो पुस्तकाकार कृतिमा नै साहित्यिक रसयुक्त, कलात्मकता बुनोटमा सचेतता, संवेदनाको प्रस्तुतिकरण, संस्मरणभित्र सूक्ष्म आख्यानको रूपरेखा कोरिएको आदि जस्ता विशेषता पाइन्छ।
प्रस्तुत पुस्तकको प्रकाशनपछि अब जायन लेप्चा पनि लेखकमा दरिएका छन्। नेपाली यात्रा साहित्यको मानचित्रमा नाम ओगटेका छन्। उनको कलम नरोकियोस्, अझै घुमिरहने अवसर प्राप्त होस्, घुमेका ठाउँहरूमा अझै भावुकता कल्पना, सघन अनुभूति, तात्कालिकता आदि जस्ता गुणहरू थपिउन् भन्दै सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।