लेख्न बाँकि दुई व्यक्तित्वहरू
|

नेपाली समाजका कहलिइएका विद्वान प्रोफेसर नोबलकिशोर राईसँग प्रत्यक्ष देखाभेट भएको छैन | सेवा निवृत प्रोफेसर राईलाई यो पङ्क्तिकारको गाउँले अग्रज दाइ प्रोफेसर के. आर. खम्बूले ‘मेरो अनुसन्धान यात्रा’ र हिँडाइ र भोगाइ’ पुस्तकहरूमा सम्झनु भएको छ । खम्बू दाइको सम्झना सन्दर्भले प्रोफेसर राईको बारेमा पनि उत्सुकता जगाएको थियो ।
विश्वविद्यालय सेवाबाट सेवानिवृत प्रोफेसरद्वय राई तथा खम्बू दाइ नेपाली समाजका साँस्कृतिक अध्येताहरू हुनुहुन्छ । प्रोफेसर राई एक समय कुटनीतिक क्षेत्रमा अर्थात् जर्मनका लागि नेपाली राजदूतकारुपमा कार्यरत हुनुहुन्थ्यो । खम्बू दाइले पनि जर्मनबाट जीव विज्ञानमा विद्यावारिधी गर्नु भएको छ भने अहिले उहाँ नेपालको संघीय सांसद हुनुहन्छ । उहाँहरू दुवैको व्यक्तित्व र कृतित्वका बारेमा अन्य कुनै सन्दर्भमा छुट्टै चर्चा गर्न पर्ने हुन्छ | यो सन्दर्भ हो, प्राध्यापक उपेन्द्र पोखरेलको ।
प्राध्यापक पोखरेल अहिले हामी माझ हुनुहुन्न र यी पङ्क्ति उहाँकै सन्दर्भ र सम्झनामा हुन् । यसै सन्दर्भमा जोडिएर आउनु हुनेछ,सामजिक व्यक्तित्व दुर्गा पोखरेल । सामाजिक अभियन्ता पोखरेल अर्थात् दुर्गा पोखरेल पनि अव हामी माझ हुनहुन्न । यो कृति (स्मारिका वा केही नामले सम्बोधन गरिएला) नै उहाँहरू दुवैको कृतित्व र व्यक्तित्वमा समर्पित पनि भएकाले उहाँहरूको सम्बन्धका बारेमा यस्का पाठकहरूका लागि यहाँ यसभन्दा धेरै पर्दा नउघारे पनि हुन्छ । उहाँहरूको जीवनी वा व्यक्तित्व र कृतित्वको सविस्तार विवरण यहाँ पक्कै हुन्छ । यो पङ्क्तिकारले अलिक टाढाबाट देखेको उहाँहरूको व्यक्तित्वको सुवास मात्र हो यो ।
पारिवारिक भेटघाटका क्रममा अमेरिकी भूमिमा आइपुग्नु भएका प्रोफेसर राईसँग एउटा यस्तो सन्दर्भ जोडियो र सम्वादको अवसर जुर्यो । नेपाली सामाजिक जागरणमा अगुवा तथा क्रान्तिकारी महिला योगमायाका बारेमा उहाँसँग कुरा गर्नुथियो । यसो त सात समुद्र पार गरेको नेपाली समाजमा ‘मौलिक मानिने’ धेरै नेपाली आनीबानीलाई राम्रो मानिन छोडेको छ । परिचय गर्दा नाम त भनिन्छ,जात थर आवश्यक मानिंदैन । भेट हुँदा पहाड घर कहाँ हो भनेर सोध्ने वा के थरी हौ भाइ-बहिनी भनेर प्रश्न गर्नेलाई ‘यी को हुन् ? किन चाहियो यिनलाई अर्काको थर गोत्र ?’ वा ‘पाखे’ भनेर उडाइन्छ पनि ! तर त्यो नेपाली मौलिक मानिने प्रचलनलाई त्यसरी कुरा काट्नु वा उडाउनु पर्छ जस्तो लाग्दैन । भोजपुर जरायोटारको भण्डारी भनेपछि प्रोफेसर राईले लेखनाथजीबाट ‘जी’ फालेर लेखनाथ भाइ भनेर स्नेहभावको सम्वाद शुरु गर्नुभयो । त्यसक्रममा उहाँले भोजपुरका भण्डारी, धनकुटाका पोखरेल हुँदै धरान झरेर झापा इलामसम्म पुर्याउनु भयो । त्यही बाटोमा उहाँले प्रध्यापक उपेन्द्र पोखरेलको पनि सम्झना गर्नुभएको थियो । साँघुरिंदै गएको ‘ग्लोबल भिलेज’मा नेपाल कति नै ठूलो छ र ? इलामका अधिकारी यही पङ्क्तिकारका ज्वाइँ हुन् भने कैलालीका बम पनि ज्वाइँ-भान्जा । धनकुटाका पोखरेलको चर्चा गर्दा एकै घरको छानो र एकै घरको चुल्होको मानोमा पुगिन्छ । पोखरेल सरका पोखरेली ज्वाइँ देवेन्द्र अधिकारी यो पङ्क्तिकारको अमेरिका बासका मित्र तथा छिमेकी हुनुहुन्छ | पोखरेली ज्वाइँसँगको यो सम्बन्धले पनि स्पष्ट हुन्छ धनकुटे छोरीहरू टाढाका कसरी हुनसक्थे ? पोखरेल सरका ज्वाइँको सन्दर्भसँगै दुर्गा म्याडमका बहिनी -ज्वाइँ मनिषा कोइराला र जगदिश पोखरेल पनि अमेरिकाबासमा पारिवारिक सदस्यको गणनामा पर्नुहुन्छ ।
प्राध्यापक पोखरेल र प्रोफेसर राईको सन्दर्भ यहाँ किन सान्दर्भिक छ भने उहाँले भन्नु भयो- ‘धनकुटाको उपेन्द्र पोखरेल त मेरै साथी हो नि हौ भाइ । उपेन्द्र साह्रै सरल, मिजासिलो र मेहनती थिए । उनलाई म राम्रैसँग चिन्दथें । मलाई त थाहा नै थिएन, नरमाइलो लाग्यो । छोरीहरू र परिवारमा मेरो समवेदना छ । म नानीहरू (छोरीहरू) सँग पनि कुरा गर्न प्रयास गर्छु ।’ यो सम्वाद केही साल पहिलेको थियो ।
उपेन्द्र सरको छैठौं स्मृति दिवसका सन्दर्भमा थाहा पाएँ, प्रोफेसर राई र उपेन्द्र सरका छोरीहरुसँग कुराकानी हुन सकेको रहेनछ । यी पङ्क्ति लेखिसकेपछि मात्र मैले यो खबर पोखरेल सरको छोरीहरूमा पुर्याउने सोचेको छु । आशा छ, प्रोफेसर राईले पनि पोखरेल सरको स्मृतिमा केही लेख्नु हुनेछ । भन्नु भएको छ- ‘भाइ ! अब त बुढो पनि भएँ ।| बिर्सन्छु पनि । जाँगर पनि चल्दैन । सन्चो बिसन्चोले पनि दुःख दिन्छ । मैले गर्न सक्ने वा नसक्ने कामको बारेमा ‘हुन्छ वा हुन्न’ नै भन्ने स्वभावको हुँ । तर उपेन्द्रको बारेमा चैं नाइ भन्न पनि मन छैन । हुन्छ भनेर कबोल गर्न पनि सकिन । बुढो गोरुलाई पुच्छर निमोठेजस्तो २-४ पटक खै गर्न चैं अफ्ठेरो नमान्नु है । म प्रयास गर्छु र मात्र हुन्छ वा हुन्न भन्छु ।’ यती भनिसकेपछि प्रोफेसर राईले विश्वविद्यालय अध्ययनका क्रमको आफ्नो दौंतरीको बारेमा पक्कै केही लेख्नु हुने विश्वास छ । राई सरले लेख पठाउनु पहिले यो लेख सिध्याएर छोरीहरूलाई पठाउने दबाबमा यी पङ्क्ति लेख्दैछु म । यी पङ्क्ति लेख्दै गर्दा राई सरले भन्नुभयो- ‘मलाई भाइले बुढो गोरुलाई कामलाग्ने गरेर नै पुच्छर निमोट्नु भयो । अब म उपेन्द्रको विषयलाई पहिलो प्राथमिकतामा नै राखेर हातैले भँगेरे टाउके अक्षरमा भएपनि केही त लेख्छु । हप्ता-दस दिन त ढिलो हुँदैन नि ?’ छोरीहरूसँग नसोधि, तपाईंको लागि हप्ता-दश दिन पर्खिन त म पनि अनुरोध गर्नसक्छु भनेर अहिले यी पङ्क्तिमा औंला चलाउँदैछु म ।
‘पोखरेल सरले धनकुटा चिन्नुभयो । तर अपेक्षित धनकुटाले उहाँलाई चिनेन ।’ प्रोफेसर राईको पोखरेल सरप्रतिको धारणाको सार यो पनि थियो । यो पङ्क्तिकारलाई पनि लाग्छ, त्यस्तै त होइन ! शिक्षा, विद्वता र प्राज्ञिक चेतनाको त्यो ‘लेबल’का व्यक्तित्वहरू कमैले गाउँ रुँघेर बसेका होलान् तर पोखरेल सरले आजिवन गाउँमै बिताउनु भयो,धनकुटा छोड्नु भएन | ‘गाउँले त हामीलाई के दियोस् र देशले नै केही दिन सकेन भनेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट धर्ति छोड्न प्रतिस्पर्धा गर्नेहरूको लाइनमा उभिएको यो पङ्कतिकारले गर्ने पश्चाताप र प्रायश्चितको कुनै औषधी विज्ञानले विकाश गरिसकेको छैन !
पोखरेल सरसँगको सम्पर्क र चिनजानको पृष्टभूमिमा सम्झनु पर्ने अर्को नाम हो- झमक घिमिरे । झमक घिमिरेको प्रतिभाको सुवास काठमाण्डु आइपुगेपछि उनको बारेमा चासो बढ्नु स्वभाविक थियो । धनकुटा कचिंडेको माथिल्लो टोलकी झमक । झमकको घरको सिधै तलतिर पोखरेल सरको घर । झमकलाई धनकुटा बसपार्कमा कसैले चिनिसकेका थिएनन् । कचिंडे र त्यहाँका पोखरेलहरूको प्रसिध्दीले पूर्वी नेपाल पनि छिचोलिसकेको थियो । हेमचन्द्र पोखरेल गुरूको घरमा म पहिले पनि पुगिसकेको थिएँ । हेमचन्द्र गुरूको घरमा नपुगि उपेन्द्र सरको घर सोध्नपर्छ जस्तो लागेन । हराएको रहेनछ भने हेमचन्द्र गुरूका हस्ताक्षर भएको डायरी पनि फेला पर्नेछ । उपेन्द्र सर अमेरिका आउँदा त्यो मौका छोपेको थिएँ । अहिले लाग्छ, अग्रज व्यक्तित्वहरू र यात्रामा भेटिएका साथीहरूका हस्ताक्षर सङ्कलनको प्रयास योजना बनाएर नै गरेको भए जाती हुने रहेछ । अमेरिका आइपुगेपछि संयोग जुर्यो, पोखरेल दम्पतिका आशिर्वाद समेटिएका हस्ताक्षर मेरो डायरीमा पनि सुरक्षित हुन पाए ।
झमकलाई भेट्न जानु पहिले पोखरेल सरकै घरको फोनमा कुराकानी भयो । पोखरेल सरले छोरी तनुजासँग झमकको घरमा पठाउनु भयो । संभवत २०४८-४९ को समय हुनुहपर्छ । हामीले २०५० मा झमकको ‘अवसानपछीको आगमन’ पनि प्रकाशित गरेका थियौं । झमकलाई राजधानीमा ल्याइपुर्याउने कृति यो पनि हो । आज झमकको असाधरण प्रतिभा र नेपाली साहित्यमा उनको भूमिकाको बारेमा नेपाली समाज परिचित छ । झमकको बारेमा यो पङ्क्तिकारले भन्न पर्ने थप केही छैन । उनले तपाई हाम्रो बारेमा केही भनिन् भने त्यसले चैं नयाँ सन्देश दिनसक्छ । धनकुटाको सन्दर्भमा सम्झनु पर्ने धेरै सामाजिक जीवनका अगुवा व्यक्तित्वहरू हुनुहुन्छ, तिनमा प्रध्यापक पोखरेल दम्पति पनि उदाहरणीय हुनुहुन्छ । माथि पनि उल्लेख छ, उहाँहरू हाम्रा माझ हुनुहुन्न । धनकुटा र झमकको सम्झना गर्दा प्रोफेसर खम्बू दाइलाई प्रध्यापक होम सुबेदी ( झापा, भद्रपुर) ले पनि उहाँहरू दुवैलाई अतुलनीय प्रतिभाशाली व्यक्तित्व भएको तुलना गर्नु भएको छ – ‘हिँडाइ र भोगाइ’ मा । खम्बू दाइको यो कृतिको दोस्रो संस्करण प्रकाशित हुने तरखरमा छ ।
पोखरेल सरको स्मृतिको पहिलो वर्षदेखि नै उहाँको समग्र परिचय समेटिएको सके स्मृति ग्रन्थ नसके उहाँको ५ दशक पुरानो कृति’मिमी’उपन्यासको पुनः प्रकाशनको हुटहुटी तनुजा र देवेन्द्रजीलाई राख्दै आएको थिएँ । तर दुर्भाग्य पोखरेल सरको निधन भएको एक वर्षपछि नै उहाँकी पत्नी दुर्गा पोखरेको पनि निधन भयो । यस्तो विषम परिस्थितिको सामना गरेका छोरीहरूका प्राथमिकतामा यो पछाडि परेको हुनसक्छ । तर सबै काम समय आएपछि हुन्छन् नै, अहिले पोखरेल सरको २०२६ मा प्रकाशित ‘मिमी’ पनि पुनःप्रकाशित भएको छ । एकै बसाइमा पढि सिध्याएका नगन्य कृतिहरूमा ‘मिमी’ उपन्यासका लेखक पनि हुनुहन्छ – प्रध्यापक उपेन्द्र पोखरेल । मिमीको चर्चा पनि यसैमा मिसाउने मन छ ।
मिमी,नेपाली सामाजिक र व्यक्तिगतका साथै पारिवारिक जीवनको उतार चढावको कथा हो । जिम्वेवारीप्रति सचेत नुहँदा व्यक्तिका सामाजिक जीवनमा आइपर्ने सङ्कटले उत्पन्न गरेको परिस्थितिको उदाहरणमा एकजना कर्मचारी छन् । शहरिया ब्रम्हाण परिवारका तिनै कर्मचारी अर्थात् मुखिया बाजेले देखाएको मानवीय भावना र उदारता पनि उदाहरणिय नै छ । तर व्यक्तिका असिमित र दमित कुण्ठाले मानिस कसरी अनुमान नगरेको तहमा पुगेर पतन हुन्छ भन्ने सन्देश मिमीको कथा हो । तिनै उदाहरणीय लाग्ने मुखिया बाजेको पतनको यो कथाको पूर्ण पाठ अर्थात् ‘मिमी’ उपन्यास पनि पाठकको सहजताका लागि यसै स्मृति ग्रन्थमा सामावेश हुने विश्वास छ । मिमी, लामो कथा वा लघु उपन्यास हो ।
पोखरेल सर राजनीतिक वैचारिकरुपमा प्रजातान्त्रिक मान्यताका पक्षपाती हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा नेपाली कांग्रेस धनकुटा जिल्लाका संस्थापक सदस्यसमेत रहनु भएका पोखरेल सर पत्रकार पनि भएको चर्चा गरेका छन्, पत्रकार तथा लेखक राजकुमार दिक्पालले । दिक्पाल, युरोप बसेर पृथ्विनारायण शाहको जीवनीपरक इतिहास लेख्न सक्ने क्षमता राख्ने धनकुटे प्रतिभा हुन् । राजनीतिक वा वैचारिक किता काटकाटमा नेपाली समाज पानी बाराबारको अवस्था पनि थियो, त्यस अवस्थामा उपेन्द्र सर धनकुटा बहुमुखी क्याम्पसको नेतृत्वमा हुनुहुन्थ्यो- क्यामपस प्रमूख । तर त्यो समयमा पनि उहाँको राजनीतिक परिचय प्राज्ञिक,सामाजिक वा शैक्षिक जीवनमा कसैलाई बिझाएन । आपसी मेलमिलाप र समन्वयमा नै उहाँको नेतृत्वले काम गरेको थियो । बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछिको धमिलिएको राजनीतिक वातावरणमा र त्यसमा पनि माओवादीले स-सस्त्र जनयुध्दका नाममा शुरु गरेको हिंसात्मक गतिविधिहरुका कारण राजनीतिक शक्तिहरूकाबीच समन्वयकारी भूमिका त्यसवेला सहज थिएन । त्यस समयमा नै पोखरेल सरले क्याम्पस प्रमूखको जिम्वरेवारी सम्हाल्नु भएको थियो ।
झमक घिमिरेलाई भेटघाट गर्ने सन्दर्भमा धनकुटाको आवत-जावत अलिक बढेको थियो | त्यसक्रममा झमकको असाधारण प्रतिभा लगायत युवाहरूको भूमिका र दायित्वका बारेमा पनि पोखरेल सरले चर्चा गर्नुहुन्थ्यो | उहाँको भनाइ हुन्थ्यो,‘आजको समयमा अभिव्यक्तिको महत्व धेरै हुन्छ । झमकको असाधारण क्षमताको परिचय पनि उनको अभिव्यक्ति क्षमताको कारणले नै बनेको हो ।’ उहाँहरूको छोरी तनुजाले पनि त्यसवेलाका सामाजिक गतिविधिहरूको बारेमा पत्रपत्रिकाहरूमा लेख्न शुरु गरेकि थिइन् । यो पङ्क्तिकारले तनुजालाई पनि झमक र उनको आमाको बारेमा अस्मिता पत्रिकाको लागि लेख्न सहजिकरण गरेको थियो । अभिव्यक्ति अर्थात् आफ्ना विचारहरूलाई लेख रचना मार्फत् सार्वजनिक गर्न अरूलाई प्रोत्साहित गर्नु हुने पोखरेल सरले धनकुटाको कचिंडेमा जुन कुरा गर्नु हुन्थ्यो त्यही कुरा अमेरिकाको आर्लिङ्टनमा पनि दोहोर्याउनु हुन्थ्यो । छोरी तनुजाले त लेख्न खोज्छिन्, उनलाई घचघच्याउन नछोड्नुहोला होला । देवेन्द्र ज्वाइँ पनि लेख्न सक्ने हुनुहन्छ, उहाँलाई पनि बाटो देखाइ दिनुहोला । उपेन्द्र सरको स्वरमा स्वर थप्नु हुन्थ्यो आमा दुर्गा पोखरेल पनि । गिरीशजी र मैले छोरी-ज्वाइँ दुवैलाई नेजामा सङ्गठित गर्न प्रयास पनि गरेका थियौं । यसो त तनुजा नेपाल पत्रकार महासँघ धनकुटाको संस्थापक सदस्य नै हुन् ।
सामाजिक सेवामा सकृय र परिचित दुर्गा पोखरेल, कतिपय सन्दर्भमा राजनीतिक क्षेत्रमा परिचित दुर्गा पोखरेको छायाँमा पनि पर्नु भयो । यी व्यक्तित्वहरू नाताले भाउजु (सामाजिक) र नन्द (राजनीतिक) हुनुहन्छ । धेरै मानिसहरू दुर्गा पोखरेलको नाम आउँदा राजनीतिक क्षेत्रमा परिचित अर्थात् पूर्व मन्त्री तथा महिला आयोगको अध्यक्ष दुर्गा पोखरेल (नन्द) सम्झन्थे वा सम्झन्छन् अहिले पनि । दुर्गा दिदीले पनि यसै स्मारिकामा दाजु-भाउजूका बारेमा पक्कै लेख्नु भएकै हुनुपर्छ । यहाँ एउटा जिज्ञासा पनि जोडौं-हामी सामान्यतः नेपाली समाज वंश परम्पराको अभिलेख राख्ने सन्दर्भमा महिला मैत्री भएन भनेर त चर्चा गर्छौं तर यसको वैज्ञानिक र व्यावहारिक पाटो बुझ्न सजिलो पनि छैन । हाम्रो वंश परम्परामा बाबु छोराको नाममा थर-गोत्र जनाउने एउटै हो भने छोरी र बुहारीको वा आमा र छोरीको फरक गरिन्छ । भाउजु दुर्गालाई पोखरेल भन्दा उहाँको परिचय छायाँमा पर्यो तर नन्द-बहिनी दुर्गालाई भने पोखरेल नै कायम गर्दा समग्र धनकुटे पोखरेल वंशकै प्रतिनिधि व्यक्तित्वका रुपमा स्थापित गरायो । भाउजू अर्थात् विराटनगरका कोइराला परिवारकी छोरी दुर्गा कोइरालाले भने त्यो अवसर पाउनु भएन । नेपाली समाजमा नमिलेको यो गणित आउने पुस्ताले फर्स्यौट गर्न सक्छ !

उपेन्द्र सरको निधनपछिको एक वर्षमा नै क्यान्सरजस्तो असाध्य रोगले आमाबाट पनि ४ जना छोरीहरूलाई सधैंको लागि अलग्यायो नियतिले । धनकुटाका शिक्षित परिवारका पोखरेल दम्पतिका ४ छोरीहरूले लाग्दैन ‘म पनि छोरो भएको भए’ महसुस गरे । उनीहरू सबैले आ-आफ्ना रुची र क्षमताका आधारमा छोरा सरहको अवसर पाए । यो पोखरेल दम्पतिको धनकुटा होस् वा नेपाली समाजमा छोडेको उदाहरणिय प्रेरणा पनि हो ।
पोखरेल सर र दुर्गा म्याडम खुशी प्रकट गर्नु हुन्थ्यो, जब तनुजाका लेखहरू पत्रपत्रिकामा प्रकाशित हुन्थे । तनुजा स्वयंले नै पत्रकारहरूको नेतृत्वदायी संस्थामा रहेर धनकुटामा काम गरेको अनुभव हासिल गरिसकेकी थिइन । तर उनका लेख रचनाहरू प्रकाशित भएको जस गिरीश र मैले पनि पाउँथ्यौं । धनकुटे पोखरेल परिवारका गिरीश नेपाली भाषाको पहिलो अनलाइन अखवार https://nepalipost.com/beta/ ‘नेपालीपोष्ट डट कम’ का संस्थापक सम्पादक हुन् । अहिले पनि तनुजाका लेख रचनाहरू नेपाली पोष्टमा प्रकाशित हुन्छन् । माथि उल्लेख, एकै घरका मानो र छानोको प्रमाण र पुष्टी हुन्छ- दुर्गा दिदी जरायोटारका भण्डारी परिवारको भान्जी हुनुहन्छ भने गिरीश चैं नाति हुन् । मेरो बुबा आमा अमेरिका आउनु हुँदा रामचन्द्र भानिज दाइको छोरो गिरीश कहाँ छन् भनेर सोध्नु र भेट्नु भएको थियो । गिरीशका भान्जा क्षितिज बराललाई बुबा आमाले ‘नातिको खबर के छ’ भनेर सोधिरहनु-सम्झिरहनु हुन्थ्यो । बुबा आमाले नाति भनेपछि हामीले बुझ्ने-चिन्ने क्षितिज नै हुन् ।
दुर्गा म्याडमले समय-समयमा फेसबुक म्यासेन्जरमा लेख्नु पनि भएको थियो- तपाईंका लेख पढ्छु,रमाइलो लाग्छ । तपाईंको ठूली छोरी सुलेखाले पनि लेखेको देख्दा तपाईंको ‘बिंडो’ थाम्छिन् जस्तो लाग्छ । तनुको पनि लेखाइ राम्रो छ । तनुजाले नेपालामा छँदा सकृय पत्रकार, सामसामयिक लेख र कविता पनि लेख्थिन् । तपाईंले पनि उनको प्रतिभा उजागर गर्न प्रेरणा दिनु पर्यो । लेखहरू मागेर छपाइ दिनु होला | (८/१७/२०१४ ) लेखनाथजी, तपाईंको आफ्नो देशप्रतिको भक्ति देख्दा खुशि लाग्छ । हामीले तपाईंबाट केही आशा गरेका छौं । मेरो पिताजीको पनि तनुलाई ठूली कवि हुनु भन्ने आशिर्वाद थियो । (५/३१/२०१५) । तनुजालाईलाई नियमित लेख्न भनिरहनुहोला, उनी जुनसुकै विषयमा पनि लेख्न सक्छिन् । तीजको बारेमा पनि लेख्न भन्नु है, ८/१४/२०१६|
उपेन्द्र सर र दुर्गा म्याडम दुवैजना लेख्नुपर्छ र छोरीहरूले पनि लेखुन् भन्ने चहाना राख्नु हुन्थ्यो । अरूका लेखहरू मेहनत गरेर पढ्ने र प्रोत्साहन पनि दिनु हुन्थ्यो । तर कतिपय सन्दर्भमा उहाँहरूलाई लेख्नु भनेर अनुरोध गर्दा ‘लेख्ने बानी छैन । हुन्छ प्रयास गर्छु’ त भन्नु भयो तर लेख्नु भएन । उहाँहरूका विषयगत विज्ञताका वा समसामायिक लेखहरू पढ्न पाएको छुइन, नलेखेर नै हो वा उपलभ्ध नभएर हो यकिन त छैन । उपेन्द्र सरको विसं २०२६ मा प्रकाशित मिमी उपन्यासको सन्दर्भ माथि पनि छ । मिमी उपन्यासले समकालिन नेपाली जीवनको नयाँ आयाम थपेको निष्कर्ष दिंदै प्रसिध्द साहित्यकार दयाराम श्रेष्ठ संभवले लेख्नु भएको छ-‘उपेन्द्र पोखरेलज्यूको समकालिन जीवनको अध्ययनमा काफि हाँसो, रोदन, विविधता …तथा उकाला ओरालाहरू देखिन्छन् । जसले आत्माभिव्यक्ति दिन उहाँले कहीं-कहीं स्थानीय रङ्ग पनि कुचीले पोत्नूभएको छ र पनि साधारणीकरणको मार्ग अपनाएको प्रष्ट देखिन्छ ।’ मिमी साहित्यकार संभवले भन्नु भएजस्तै व्यास शैलीमा लेखिएको जीवनको सम्पूर्णता हो । भाषामा पोखरेलज्यूको निजी विशेषता झल्किन्छ जसमा न झर्रो वा टर्रोपन छ न शब्दाडम्बर नै । कुनै स्थान विशेषको दृश्य वर्णन गर्न पोखरेलज्यूले चित्रात्मक भाषा प्रयोग गर्नु भएको छ ।
मिमी, यो उपन्यास प्रकाशन वा लेखन समयावधिका दृष्टिले बसाईं र मुगलानको दामले हो । लीलबहादुर क्षेत्रीको बसाईं (सम्बत २०१४) र प्रोफेसर गोविन्दराज भट्टराईको २०३२ मा प्रकाशित मुगलानको कथानकताको ‘फ्लेवर’ मिमीमा पनि पाइन्छ । लेखनको निरन्तरताले बसाईं र मुगलानका लेखक नेपाली साहित्यका प्रसिध्द साहित्यकारकारुपमा परिचित हुनुहुन्छ । तर प्रध्यापक पोखरेलले भने त्यो सम्भावनाको आफ्नो प्रतिभालाई ‘दैव जाने’ खै किन फल्न फुल्न दिनु भएनछ ? नेपाली साहित्यले गुमाएको अवसर हो यो ! नेपाली समाजको दैनन्दिन अहिले पनि बसाईं, मिमी, मुगलान वरपर नै घुमिरहेको छ । प्रोफेसर भट्टराईकै हालै मात्र प्रकाशित उपन्यास ‘नयाँ मुगलान’ पनि भौतिक विकाश वा विज्ञान प्रविधिले छलाङ मारेको आजको समयमा पनि नेपाली जनले हिजोदेखि भोग्दै आएकै नियतिको कथा हो ।
छोरी तनुजाले अमेरिकाबास रोजेपछि पोखरेल दम्पति पनि अमेरिका आउनु भएको थियो । केही वर्ष सम्पर्क टुटेको धनकुटा कचिडेको सम्बन्धलाई उहाँहरूले अमेरिकामा नै लिएर आउनु भयो । यहाँको बसाइमा हामीले छिमेकीका रुपमा केही महिना नियमित भेटघाट र छलफलहरूमा सहभागि हुने मौका पायौं । नेपाली समाजका अगणित समस्याका बारेमा हामी चिन्ता गर्थ्यौं । उहाँहरू भन्नु हुन्थ्यो, समुन्नत समाज निर्माणमा सबैको भूमिका फरक फरक हुन्छन् । आफ्नो सिप ज्ञान र विचार लेखिरहनुपर्छ र बोलिरहनुपर्छ, त्यो पनि सामाजिक दायित्व नै हो । को कहाँ बसेको छ भनेर होइन, जो जहाँ बसे पनि कसले के गरेको छ भनेर मुल्याङ्कन वा महत्व हुन्छ । उपेन्द्र सरले अमेरिकाबासका क्रममा मेरो डायरीमा लेख्नु भएको छ-‘जीवन स्वदेश हुँदा स्वदेश हो अनि परदेश हुँदा परदेश ।’ जीवनका बारेमा दुर्गा म्याडमको मुल्याङ्कन यस्तो छ-‘जीवन अमूल्य रत्न हो | … जीवन गिलो माटोजस्तै छ,आफूले जस्तो बनाउन चाह्यो त्यस्तै बन्न सक्छ ।’
छोरीहरूले बल गरे उहाँहरू दुवैका हस्ताक्षरमा रहेका २ पेज सन्देश यसै स्मारिकामा वा यही लेखको वरपर पनि समावेश हुने विश्वास छ । लेखन यात्राको ४ दशक लामो यात्रामा लेखको भावना र सन्देशलाई प्राथमिकता दिने लेखक मैत्री कम धेरै ‘कैंची’ सम्पादकको समाना गरेको छु मैले | कैंची सम्पादक, ती हुन् जो तिनक मनका विचार र विकार लेखकहरूले लेखिदिउन भन्ने चाहन्छन् र लेखकको विचार,उदेश्य र सन्देशलाई एकलौटी कलममाथि कैंचि घुमाउँछन् । पारिवारिक वा सामाजिक व्यक्तित्वका यस्ता कृतिका सम्मापदकहरूले भने ‘कैंची कर्म’ गर्नुहोला जस्तो लाग्दैन ।
उहाँहरूको अमेरिका बसाइकै क्रममा प्रसिध्द साहित्यकार कृष्णप्रसाद पराजुलीको सम्मानमा एक सार्वजनिक कार्यक्रम आयोजना स्थानिय नेपाली समुदायले गरेको थियो आरलिङ्टन भर्जिनियामा । त्यस अवसरमा शास्वत पराजुलीलगायतका साथीहरूसँग सल्लाह गरेर विशेषत: गिरीश र मेरो प्रस्तावमा पोखरेल सरलाई पनि सम्मान गरिएको थियो । त्यस कार्यक्रमको सभापतित्व पोखरेल सरले गर्नु भएको थियो । यो पनि प्रकान्तरले वरिष्ठ प्राज्ञिक व्यक्तित्वको सम्मान नै थियो । उहाँहरू नेपाल फर्केपछिका दिनहरूमा पनि यो पङ्क्तिकारको नियमित सम्वाद हुने गरेको थियो । माथि उल्लेख प्रेरणादायी सन्देशहरू अब सम्झनामा मात्र बाँकि छन् ।
मलाई पनि लाग्छ, प्रोफेसर नोबेलकिशोर राईले भनेजस्तै प्रध्यापक उपेन्द्र पोखरेलले पनि धनकुटालाई चिन्नुभयो तर उहाँलाई धनकुटाले चिनेन ! तर अझै पनि धनकुटाले उहाँलाई चिन्न र सम्झन सक्छ । उहाँहरू (पोखरेल दम्पति) को सामाजिक, शैक्षिक भूमिका र योगदानका मार्गमा हाम्रा पाइला र प्रयास अगाडि बढ्न सके उहाँहरूको सम्मान र समुन्नत समाज निर्माणमा उहँहरूको प्रेरणा पनि चीरस्थायी बनाउने छ । तयार हुँदै गरेको यो स्मृति ग्रन्थले पनि यस प्रयासमा बल पुर्याउने विश्वास छ । लेख्न बाँकि उहाँहरूजस्ता व्यक्तित्वहरूको भूमिकाको बारेमा धनकुटे समाज सचेत छ । आशा छ, उहाँहरूको प्रेरणादायी कृतित्व, व्यक्तित्व र भूमिकाको बारेमा धनकुटे समाजले सिर्जनात्मक विधि अपनाएर अभिलेखिकरण गरेर भावि पिंडीलाई हस्तान्तरण गर्नेछ ।
