बिलाउनेको देशमा नजाउँ है…

दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ। आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको भन्ने कुरामा गर्व गर्छौँ। यहाँको पहाड़ी सौन्दर्यप्रति विश्व चकित छ, यहाँको चिया युरोपले पिउँछ। दार्जिलिङको चिया रोप्न, रेल ल्याउन, शहर बसाउन, गाउँ बस्ती बसाउन जस्ता हरेक कुरामा हाम्रो योगदान च। कालेबुङको गरेखेती बसाउन, धान मकैको खेती ल्याउन पनि हाम्रै पुर्खाको देन छ। यहाँ हाम्रो ज्ञात अज्ञात इतिहास छ, हाम्रै पसिना चुहेको छ। दार्जिलिङ हाम्रो किपट हो। यहाँका खोला-नाला, वन पखेरा, पहाड़-पर्वत, जङ्गलमा हाम्रै अस्तित्व टाँसिएको छ। हामीले यहाँका पहाड़लाई देउराली मानेका छौं, हाम्रा ध्वजा, लुङदर, माने-स्तुपा, गोरेटाहरूले हामीलाई नै चिनाइरहेका छन्। यहाँका ढुङ्गा ढुङ्गासित परिचित छौं।

दार्जिलिङ पहाड़को रूप सुन्दर छ। यस ठामको नामसितै हाम्रो नाम जोडिन्छ। विश्वले दार्जिलिङ गोर्खाहरूको अर्को थलो भनेर बुझ्छ। यहाँ भोटे लाप्चे गोर्खाली भनी चुलाका तीन चौका जस्ता भएर पुस्तौंदेखि रहिआएका छौं। अब दार्जिलिङ अर्कै अर्कै हुन गएको छ। तर अब दार्जिलिङको अनुहार फेरिदैछ। यहाँ त अर्कै अर्कै भएरहेको छ। यहाँको व्यवस्था, भाषा, संस्कृतिहरू फेरिदैछ। अबका नयाँ पुस्ताले आफ्नोपन जोगाउन सक्छन् वा सक्दैनन्, चिन्ता र चिन्तन गर्नुपर्ने छ।हाम्रो भन्ने मान्यतालाई वर्चश्व राख्न सक्छन्, सक्दैनन्, शङ्का नै छ। उदार हुनु राम्रो हो तर आफ्नैपन नासेर उदार हुनु पनि सक्ने सम्भावना हुन्छ।

कालेबुङको गाउँ बस्तीमा चोखो गोर्खालीपन छ। भाषा, संस्कृति, रीतिरिवाज, लोकव्यवहार सबै चोखो हाम्रो। परापर्वदेखिको हाम्रो एकताबद्ध सामाजिक व्यवस्थामा अब मिश्रित हुँदै जाने सम्भावना देखिँदैछ।हाम्रो पहाड़ अर्कै अर्कै हुनलागेको देखिन्छ। कालेबुङको जमीन पंजिकरणमा अब अर्कै अर्कैका नामको ताँती देखिन्छ। हाम्रा मान्छेहरूहरू नै अर्काको साक्खै बनेर आउँछन्। हाम्रो फाँटिला जग्गा जमिनमा अन्यको गिद्धे नजर परेको छ। हामी आफ्नै एकल परिधिदेखि बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक चरणतिर जाँदैछौं। हाम्रा छोराछोरीले अब हाम्रो दार्जिलिङ भन्न पाउलान्? हाम्रा नयाँ युवापीढ़ीमा हाम्रो भन्ने भावनाले कुन स्थान लेला? अबका नानीहरू त ‘अहिलेको जमानामा साँघुरो हुनुहुँदैन’ भन्छन् तर भविष्यमा उनीहरू नै पो कतै अपठ्यारोमा पर्ने हुन् किभन्ने कुरामा पीरै लाग्छ।

हामी अहिलेदेखि नै आफ्नो ठाउँको माया गर्नु परेको छ। माया गर्नुपर्ने ठाउँ धेरै छन्। हामी हाम्रो भाषा संस्कृति, जग्गा-जमिन, वन- पाखा आदिलाई माया गर्न जानेनौं भने आफ्नै भविष्य अन्धकारतिर धकेल्दै छौं।हाम्रो जग्गा जमिन कसले किन्न खोज्दैछ, कसको आड़ लिएर किन्न खोज्दैछ, किन आउँदैछन्, गाउँ-घरमा कसको जमिन कसले किन्दैछ अलिकति चासो दिनुपर्ने देखिन्छ। हाम्रा स्थानीय समाज,क्लबहरूको भूमिका के कस्तो हुन्छ? दायित्व के कस्तो छ? आफ्नो परिवारका सदस्यले कसले जमिन बेच्दैछ?नजिककाले किन्दैछ कि टाड़ाकाले किन्दैछ? यसो ख्याल राख्नु पर्ने दिन आएको छ। किन्नेले त किन्छ नै, नकिन्नु भन्न सक्दैनौ तर बेच्नेले नै आफ्नो मानो जोगाउन पर्ने दिन आएको छ। अहिले हामीले दाम पाइयो भनेर धनको लोभले एकपल्ट बेचिसकेपछि सदाको लागि गुमाएको गुमाएकै हुनेछौं। अब हाम्रै गाउँ-ठाउँमा अन्य भाषाहरूको गाइँगुइँ सुनिन्छ।यदि यो प्रथा नहटे निकट भविष्यमा कर्कश ध्वनिसुन्ने हुन्छौं। हाम्रो धरती र आकाशमा स्वच्छ हिमाली चिसो हावाभन्दा बढी दक्षिणको बङ्गोपसागरको थामिनसक्नुको हुण्डरी चल्न सक्छ। कहाँ गइस् चिलाउने बिलाउनेको देशमा? भन्ने दिन टाडो छैन।

Add a Comment

Your email address will not be published. Required fields are marked *