ऐ मन…!

ऐ मन …
मलाई बिर्सिएर
आँफैसँग अटूट बस्ने
आत्मिय साथी छोडेर
बाहिरी जगतमा मात्र भाग्छौ
ऐ मन …!
किन दूर-दूर भाग्छौ
मलाई छोडि टाडै पुगेर जाग्छौ
मेरो-मेरो भन्दै
किन अहंकारी बनि नाच्छौ
ऐ मन …!
झूठो माया झूठो संसारमा
यो सबै वस्तुहरू
तेरो-मेरो भन्दै किन घमण्ड गर्छौ
न तिमीले बोकि ल्यायौ
न तिमी कुम्लाई जान्छौ
मेरो-मेरो भन्दै
किन अहंकारी बन्दै
छम्छम् गर्दै नाच्छौ
ऐ मन…!
झूठो माया
झूठो काया
झूठो सबै संसारमा
किन यत्रो भारी बोकि हिड्छौ
ऐ मन …!
मन नै… मन्दीर
मन नै… काशी
मन नै सबै गंगा
मन मै ज्योति जगाई बस
मन भित्रै नियाली बस
शान्त मनले मलाई चिनेर
हृदयाकाशमा ,
निदिध्यास गर्दै बस
ऐ मन …!
ज्ञानमा अडेर बस
तिमी चेतन हौ
तिमी पूर्णै थियौ
तिमी पूर्णै नै हौ
सदा पूर्णै रहन्छौ
ऐ मन …!
आफ्नै रोम-रोम प्रतिरोम-रोम
निमेष-निमेष ब्रह्म सम्झि
अनुभूत गर ,
अहम् ब्रह्मास्मि ! अहम् ब्रह्मास्मि !!
    –  अगस्ट / १६ / २०८३

Add a Comment

Your email address will not be published. Required fields are marked *