सुपरम्यानको पर्खाइ
पिलान्सबर्गका उच्छृङ्खल हात्तीदेखि ‘उद्धारकर्ता’ खोज्ने समाजसम्म दक्षिण अफ्रिकाको पिलान्सबर्ग नेसनल पार्कमा अभिभावकविहीन किशोर हात्तीहरूको व्यवहारले एउटा रोचक जैविक प्रश्न उठायो। वयस्क हात्तीको अभावमा उच्छृङ्खल बनेका ती हात्तीहरूले गैंडामाथि आक्रमण गरे, तर परिपक्व भाले हात्तीहरू ल्याइएपछि उनीहरूको व्यवहार फेरियो। यो घटना जनावरहरूको संसारको एउटा अध्ययन हो । तर यसले मानव समाजबारे अर्को गम्भीर प्रश्न पनि उब्जाउँछ; के मानिसहरूलाई पनि सधैँ कुनै ‘बलियो अभिभावक’, ‘उद्धारकर्ता’ वा ‘सुपरम्यान’ चाहिन्छ ? वा आधुनिक समाजको आधार व्यक्ति होइन, संस्था, नियम र बाँडिएको शक्ति हुनुपर्छ ?
सन्दर्भ सामग्री: पिलान्सबर्गका उच्छृङ्खल हात्तीहरू
अफ्रिकामा जनावरहरूको पुनर्स्थापन गर्ने प्रयासअन्तर्गत करिब ६-७ हजार विभिन्न खाले जनावरहरू त्यहाँ गाडीमा हालेर ल्याइएको थियो। अङ्ग्रेजीमा ट्रान्सप्लान्ट भनिन्छ नि, एउटा ठाउँमा रहेको रुख-बिरुवा र फूलको बोटलाई अर्को ठाउँमा सार्ने प्रक्रिया जस्तै- जनावरहरूलाई पनि गाडीमा हालेर त्यहाँ थुपारिएको रहेछ।
त्यसरी ल्याइएका जनावरहरूमध्ये १८ वटा बच्चा हात्तीहरू पनि रहेछन् । बच्चा हात्तीहरू चाहिँ मारिनबाट जोगाइएर ल्याइएका, रेस्क्यु गरिएका रहेछन् । क्रुगर नेसनल पार्कमा हात्तीको सङ्ख्या नियन्त्रण गर्न सिङ्गो परिवारलाई नै गोली हानेर सक्काउनु भन्दा रेस्क्यु गर्ने उद्देश्यले केवल स-साना टुहुरा बच्चाहरूलाई मात्रै बचाएर पिलान्सबर्ग ल्याइएको थियो । त्यस बेला ६ टनका भीमकाय वयस्क हात्ती बोक्न सक्ने प्रविधि नभएकाले यी १८ वटा बच्चाहरू आफ्ना बाबुआमा, समाज र बुढापाकाको मार्गदर्शनबिना एकआपसमा हुर्किए ।
सन् १९९० को दशकमा पुग्दा ती टुहुरा बच्चाहरू किशोरवयमा प्रवेश गरे। जङ्गलमा अभिभावक वा पाका भालेहरू नहुँदा ती किशोरहरूमा ‘मस्त’ (Musth) नामक अत्यधिक आक्रामक र यौन हर्मोन १० वर्षअघि नै (१८ वर्षकै उमेरमा) चक्रमा आयो। सामान्य अवस्थामा केही दिन मात्र रहने र पाका भालेहरूको उपस्थितिले दबाइदिने यो हर्मोनल अवस्था अभिभावकको अनुपस्थितिका कारण लगातार ५-५ महिनासम्म रहिरह्यो।
शरीरभित्र उम्लिएको त्यही दिशाहीन हर्मोनको रिस पोख्न उनीहरूले सोझा गैंडाहरूमाथि आक्रमण गर्न थाले र करिब ४९ वटा गैंडा निर्ममतापूर्वक मारे।
सन् १९९८ मा भारी वाहन र प्रविधिको विकास भएपछि क्रुगर पार्कबाट ६ वटा विशाल र परिपक्व वयस्क भाले हात्तीहरूलाई पिलान्सबर्ग ल्याइयो । ती वयस्क हात्तीहरू जङ्गलमा ओर्लेपछि चमत्कारिक नतिजा देखियो । जब उच्छृङ्खल किशोर हात्तीहरूले आफूभन्दा शारीरिक र सामाजिक रूपमा कयौँ गुणा माथि रहेका वयस्कहरूको सामना गरे, उनीहरूले पहिलोपटक समाजमा आफू ‘ओझेलमा परेको’ (Outranked) र मर्यादामा बस्नुपर्ने महसुस गरे ।
वयस्क हात्तीहरूको ‘भौतिक उपस्थिति’ले ती किशोरहरूको जैविक (हर्मोनल) घडीलाई पुनः मिलाइदियो। महिनौँदेखि चुलिएको उनीहरूको ‘मस्त’ हर्मोनको ग्राफ ठूला हात्तीलाई भेटेको केही समयभित्रै शून्यमा झर्यो । उनीहरूले गैंडामाथि आक्रमण गर्न पूर्णतः छाडेर वयस्कहरूको पछाडि अनुशासित भई हिँड्न थाले । त्यसपछि पिलान्सबर्गमा एउटा पनि गैंडा मारिएन ।
अभिभावकको उपस्थितिले सिङ्गो जैविक विध्वंस रोकिएको यो घटना नेचर जर्नलमा प्रकाशित भएपछि यसलाई “Slotow Effect” भनेर चिनिन्छ ।
Slotow, R., Van Dyk, G., Poole, J., Page, B., & Klocke, A. (2000). Older bull elephants control young males. Nature, 408(6811), 425–426.
Slotow, R., & van Dyk, G. (2001). Role of delinquent young “orphan” male elephants in high mortality of white rhinoceros in Pilanesberg National Park, South Africa. Koedoe, 44(1), 85–94.
हात्तीहरूको कथाले एउटा जैविक सत्य त देखायो: अनुभव र वयस्कको उपस्थिति नहुँदा हर्मोनको उन्मादले विध्वंस निम्त्याउन सक्छ । तर के मानिसहरू पनि केवल हर्मोन र जङ्गली आवेगले चल्ने प्राणी नै हुन् ? यो घटनालाई ठ्याक्कै मानव समाजमा हुबहु सार्न मिल्दैन, किनकि मानिसको सामाजिक र राजनीतिक व्यवहार जैविक आवेगले मात्र होइन, मूल्य-मान्यता, कानुन, संस्था, चेतना र ऐतिहासिक अनुभवले पनि निर्माण हुन्छ। त्यसैले पिलान्सबर्गको घटनालाई मानव राजनीति र समाजशास्त्रसँग हुबहु जोडेर “हामीलाई नियन्त्रण गर्ने बलियो शासक वा पिता-बिम्ब (father-figure) चाहिन्छ” भन्नु कतै परम्परागत सत्ता र निरङ्कुशताले जन्माएको दास मानसिकतालाई नै निरन्तरता दिनु त होइन ?
हाम्रो समाजमा सधैँ एउटा जङ्गबहादुर, महेन्द्र वा पृथ्वीनारायण शाहजस्तै कुनै ‘टावरिङ पर्सनालिटी’को खोजी भइरहन्छ। राजनीतिक र सामाजिक जीवनमा बारम्बार दोहोरिने यो मनोविज्ञानलाई समाजशास्त्रको भाषामा ‘वेटिङ फर सुपरम्यान सिन्ड्रोम’ (Waiting for Superman Syndrome) भन्न सकिन्छ।
संकट पर्दा आफ्नै देशका देवताले नपुगेर घुम्न आएका वा विदेशबाट आयात गरेर भए पनि मन्दिरमा स्थापना गरेझैँ, हामी आज पनि आफ्नो भाग्य बदल्न कुनै चमत्कारिक ‘अभिभावक’ वा ‘महापुरुष’को बाटो हेरेर बसिरहेका छौँ भन्ने भान हुन्छ। सिनेमाहरूमा लास्ट–फाइटमा हिरोको दमदार इन्ट्री खोजेजस्तै!
तर प्रश्न उठ्छ: पिलान्सबर्गका ती उच्छृङ्खल हात्तीहरूलाई तह लगाउन क्रुगर पार्कबाट वयस्क हात्ती ल्याइएझैँ, के मानव समाजलाई चलाउन पनि सधैँ एउटा ‘डन्डे हाकिम’ वा ‘अधिनायक’ नै चाहिन्छ? कि यो हाम्रो सामन्ती मानसपटलको एउटा ठूलो भ्रम र बौद्धिक आलस्य मात्रै हो?
यो ‘सुपरम्यान सिन्ड्रोम’ केवल राजनीतिमा मात्र होइन, हाम्रो सांस्कृतिक चेतको गहिराइसम्मै गडेर बसेको छ। एउटा अर्को उदाहरण: म सानो छँदा मकलको आगो ताप्दै एकाबिहानै चिया पसलमा अंकलहरूको ‘विश्व-घटना’ सुन्ने गर्थेँ। आजभोलि स्पेसमा कुरो सुनेजस्तै के!
एकदिन बिहानै चियाको चुस्कीसँगै गफ जोडियो, “फलानोकी छोरी पनि हिरोइन मोडेल खै के भई !” अर्का अंकलले थपे, “परिवार र समाजको इज्जत फाल्ने भई! बाउ नभएको घरमा हुर्किएकी बिचरी!”
त्यो दृश्य सम्झिँदा अहिले लाग्छ, यसरी नै ‘समाजको इज्जत’ जोगाउने नाममा विगतमा कति महिलाहरूले सती जानुपरेको थियो होला? घरमा लोग्नेमान्छे नहुँदा पनि अरूलाई थर्काउन र संरक्षणको प्रतीक देखाउन दैलोबाहिर ‘पुरुषको जुत्ता’ राखिदिनुपर्ने हाम्रो परम्परागत सोच र चिया पसलको त्यो टिप्पणी एउटै मानसिकताका उपज त होला नि?
“एउटा पुरुष वा अभिभावकबिनाको घर वा समाज सुरक्षित हुनै सक्दैन ?”
हामी किन सधैँ एउटा व्यक्तिमा चमत्कार खोज्छौँ, तर प्रणाली र संस्था (Institutions) मा खोज्दैनौँ ?
परम्परागत दृष्टिकोणले भन्छ: समाज जोगाउन एउटा विशाल रुख (Towering Tree) चाहिन्छ, जसको छायामुनि अरू सबै सुरक्षित र अनुशासित भएर बसून्। तर इतिहास साक्षी छ, त्यस्ता विशाल रुखहरूका फेदमा सधैँ नातावाद, कृपावाद र पहुँचवालाहरूको आन्तरिक ‘सिफारिस प्रणाली’ (Recommendation Engine) मौलाउँछ। सीमित सम्भ्रान्त वर्गले सधैँ त्यस रुखको फल र छाया दोहन गरिरहन्छ भने, मूल मञ्चभन्दा बाहिर (Off-stage) मोफसलमा रहेका असङ्ख्य नागरिकका वास्तविक आवाजहरू भने सधैँ थिचोमिचोमा परिराख्छन् र दबाइन्छन् ।
यहाँ ध्यान दिनुपर्ने अर्को रोचक पक्ष पनि छ। पिलान्सबर्गको जंगलमा हात्ती र गैंडाहरूको पुरानो सहअस्तित्व कुनै ‘अनेकतामा एकता’ वा जीवन्त सामाजिक अन्तरक्रिया थिएन। तिनीहरू त केवल आ-आफ्नो सीमित घेरा वा ‘कुकुन’ (Cocoon) भित्र गुम्सेर, एक-अर्काको बाटोमा दखल नदिने अलिखित सम्झौतामा बाँचिरहेका थिए ।
परम्परागत ‘टावरिङ पर्सनालिटी’ वा निरङ्कुश शासकहरूले पनि कहिलेकाहीँ समाजको विविधतालाई यस्तै सीमित परिधिभित्र राखेर द्वन्द्वलाई दबाउने गर्छन्। तर डर वा नियन्त्रणका कारण कायम गरिएको यस्तो शान्ति खुला समाजको जीवन्त अन्तरक्रिया होइन; त्यो केवल कृत्रिम सन्तुलन हुन सक्छ। खुला समाजमा विविध समूहहरू आफ्ना सीमाभित्र मात्र बस्ने होइन, एक-अर्कासँग संवाद, असहमति र सहकार्य गर्ने अवसर पनि पाउनुपर्छ ।
तर ‘ठूलो हात्ती’को अर्को समस्या वर्तमानलाई नियन्त्रण गर्नु मात्र होइन; उसले भविष्यको नेतृत्वलाई ठाउँ दिन्छ कि दिँदैन भन्ने पनि हो। अत्यधिक शक्तिशाली व्यक्ति वा समूह कहिलेकाहीँ ढोकामा बसेका द्वारपालजस्तै बन्न सक्छन्, जसले नयाँ पुस्ताका सम्भावित नेतृत्वलाई अगाडि आउन कठिन बनाउँछन्। जब संस्था भन्दा व्यक्ति र गुट ठूलो हुँदै जान्छ र पहुँच, निष्ठा तथा व्यक्तिगत सम्बन्धले अवसर निर्धारण गर्न थाल्छ, नेतृत्वको स्वाभाविक पुस्तान्तरण कमजोर हुन सक्छ। शक्ति एउटै व्यक्ति, परिवार वा सीमित समूह वरिपरि लामो समय घुमिरहँदा संस्था क्रमशः व्यक्तिनिर्भर बन्ने जोखिम हुन्छ। त्यसैले लोकतन्त्रमा प्रश्न केवल “कसले अहिले नेतृत्व गरिरहेको छ ?” भन्ने होइन, “नयाँ नेतृत्वका लागि कति खुला ठाउँ छ ?” भन्ने पनि हो ।
सच्चा लोकतन्त्रको आधुनिक जग कुनै ‘अल्फा मेल’ वा ‘टावरिङ पर्सनालिटी’मा होइन, शक्तिलाई एउटै केन्द्रमा थुप्रिन नदिने संस्थागत संरचनामा आधारित हुन्छ। हात्तीको समाजमा पाका भालेको भौतिक उपस्थितिले सामाजिक व्यवहारलाई नियन्त्रण गर्ने प्राकृतिक भूमिका खेल्न सक्छ। तर मानव समाजलाई त्यसैगरी बुझ्न मिल्दैन । मानव समाज मूल्य-मान्यता, चेतना, कानुन र संस्थाबाट पनि सञ्चालित हुन्छ ।
त्यसैले सचेत मानव समाजमा व्यक्तिगत दबदबाको विकल्प शक्ति पृथक्कीकरण (Separation of Powers), नियन्त्रण तथा सन्तुलन (Checks and Balances), स्वतन्त्र संस्था र विधिको शासन (Rule of Law) हुन्। लोकतन्त्रमा कुनै ‘ठूलो हात्ती’ले अरूलाई अनुशासित गराउने होइन; बरु कुनै व्यक्ति वा संस्था आफैँ ‘ठूलो हात्ती’ बन्न नसक्ने गरी शक्ति बाँडिएको हुन्छ र आवश्यक पर्दा अर्को संस्था, कानुन तथा नागरिक समाजले उसलाई प्रश्न गर्न सक्छ।
तर लोकतन्त्रको शक्ति केवल राज्यका संस्थाहरूबीच शक्ति बाँडेर मात्र पूरा हुँदैन। लोकतन्त्र माथिबाट तल आदेश जाने (Top-Down) संरचना मात्र पनि होइन। यसको जीवन्तता तलबाट माथि (Bottom-Up) आउने नागरिक आवाज, स्थानीय समुदाय, स्वतन्त्र संस्था, सञ्चारमाध्यम, नागरिक समाज र विविध सामाजिक समूहहरूको सहभागिताबाट निर्माण हुन्छ।
आधुनिक सञ्चार र प्रविधिले यस्तो सहभागिता र सूचनाको पहुँचलाई अझ विस्तार गरेको छ। लोकतान्त्रिक विविधता केवल ठाडो (Vertical) तहगत संरचनामा सीमित हुँदैन; यो क्षैतिज (Horizontal) रूपमा पनि फैलिएको हुन्छ, जहाँ विभिन्न समूह, संस्था र नागरिकहरूले एकअर्कासँग संवाद गर्न, असहमति राख्न र एकअर्कालाई निगरानी गर्न सक्छन् ।
त्यसैले लोकतन्त्रको आधार कुनै एक ‘उद्धारकर्ता’ होइन, वितरित शक्ति, संस्थागत उत्तरदायित्व, Bottom-Up सहभागिता र Horizontal विविधता हो।
नयाँ युगको नागरिकलाई आफ्नो व्यवहार नियन्त्रण गर्न कुनै ‘जङ्गबहादुर’को डण्डा वा छहारीको नाममा नातावाद, कृपावाद र परिवारवाद फैलाउने शासक चाहिँदैन। उसलाई पारदर्शी सूचना, उत्तरदायी संस्था र सबैका आवाज सुनिने खुला मञ्च चाहिन्छ।
शक्ति जब एउटा व्यक्तिको हातमा थुप्रिन्छ, त्यसले अन्ततः विध्वंस नै निम्त्याउँछ: चाहे त्यो मस्त अवस्थाको हात्ती होस् या शक्तिको उन्मादमा रहेको शासक। लोकतन्त्रले त्यही शक्तिलाई धेरै हातहरूमा बाँडिदिन्छ, ताकि कसैले पनि पिलान्सबर्गका ती किशोर हात्तीहरूजस्तै उन्मात्त भएर समाजलाई ध्वस्त पार्न नपाओस्।
यदि हामीले सधैँ पिलान्सबर्गका ती अनाथ हात्तीहरूले जस्तै आफूलाई नियन्त्रण गर्न कुनै ‘वयस्क हात्ती’ वा ढोकाअगाडि राखिने ‘प्रतीकात्मक जुत्ता’कै बाटो हेरिरह्यौँ भने, हामी कहिल्यै सार्वभौम नागरिक बन्न सक्ने छैनौँ।
अबको प्रश्न “हाम्रो नयाँ जङ्गबहादुर वा उद्धारकर्ता को हो?” भन्ने होइन। प्रश्न यो हो: के हामी अझै पनि कुनै एक व्यक्तिको हुकुम र दबदबामा सुरक्षित महसुस गर्ने समाज बन्ने, कि शक्ति बाँड्ने, नयाँ नेतृत्वलाई ठाउँ दिने, मोफसलका आवाजहरूलाई सुन्ने र संस्थाहरूलाई एकअर्काप्रति जवाफदेही बनाउने परिपक्व लोकतन्त्र निर्माण गर्ने?
जाँदाजाँदै: श्री पशुपतिनाथले सबैको कल्याण गरून् !
(नोट: मालाकार उस्टर स्टेट युनिवर्सिटी, म्यासाचुसेट्समा सह-प्राध्यापक हुनुहुन्छ ।)
X: @nabinkm https://x.com/nabinkm

