सपनाको सन्देश के थियो !

(रजनी श्रेष्ठ)

म बसको चालकको पछाडिको सिटमा बसिरहेकी थिएँ। मेरो ठीक सामु चालकको बायाँपट्टि मेरो बालापनको साथी सरु बसिरहेकी देखें। उनी केही नबोली मन्द मुस्कान लिएर मलाई हेर्दै बसेकी थिइन्। म पनि उनलाई हेरिरहेकी थिएँ। मायालाग्दो, शान्त स्वभावकी, धेरै मिल्ने मेरा साथीमध्ये उनी पनि पर्थिन्।

गोरो अनुहार, ठूलाठूला आँखा र सलक्क परेको नाक। उही दस वर्षजतिको उमेर, हामी सँगै खेल्दाको साथी। उही समयकी थिएँ म पनि। हामी एकअर्कालाई हेर्दै थियौँ। सरु बसबाट कता जाँदै थिइन्, थाहा थिएन। बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। बसमा त्यति हुल पनि थिएन, तर लगभग सिट भरिएको थियो।

म कहिले उनको मुख हेर्थें, कहिले झ्यालबाहिर हेर्थें। अचानक बस रोकियो। कुन ठाउँमा, कहाँ रोकियो मलाई थाहा भएन, तर बस स्टेसन थियो त्यो ठाउँ। यात्रुहरू बसबाट ओर्लेर आफ्नो गन्तव्यतिर लाग्ने र बस चढेर पनि आफ्नो गन्तव्यतिर जाने ठाउँ।

बस रोकिनेबित्तिकै सरु पनि ओर्लिनलाई उभिइन् र बसबाट निस्कनुभन्दा पहिला मेरो मुखतिर पुलुक्क हेरिन्। सरु त्यही मायालाग्दो दृष्टिले मतिर फर्की–फर्की हेर्दै बसबाट ओर्लिइन्। बस अगाडि आफ्नो बाटोमा दौडियो। मैले केही प्रतिक्रिया दिइनँ। म चुपचाप बसमै बसिरहेँ। बस अगाडि गुडिरह्यो।

अचानक यस्तैमा मेरो निद्रा खुल्यो। म त ओछ्यानमै पो रहेछु। बिहानीको प्रहरमा मैले देखेको मेरो साथीसँगैको बसको यात्रा सपना पो रहेछ! म चकित भएँ। कति आनन्दको सपना! बालापनको पल, मेरो साथीसँगको सपनाको यात्रा। मलाई अनौठो लाग्यो। जीवनको मोडमा म आज हजुरआमा भइसकेकी छु। तर सपनाले मलाई उही बालापनको नौ–दस वर्षको उमेरमा पुर्‍याइदिएको थियो। सपना पनि अचम्मको हुँदोरहेछ। सोच्दै नसोचेको पनि देखिने!

मलाई थाहा छैन, सरु कहाँ छिन्? हाम्रो भेटघाट, सम्पर्क नभएको धेरै वर्ष बितिसकेको थियो। सपना देखिसकेपछि तिनीसँग कुरा गर्न मन लाग्यो। मसँग तिनको फोन नम्बर पनि छैन। स्कुलपश्चात् भेट नै भएको थिएन। न तिनले खोजी गरिन्, न मैले नै सम्झें। समयको व्यस्ततामा जीवनले आ–आफ्नै मोड लिइसकेको थियो।

सपनामा देखेपछि मलाई सरूसँग कुरा गर्ने अभिलाषा मनमा जाग्यो। उनीसँग बिताएका मधुर क्षण, एकआपसमा खेलेका सम्झनाहरूले घच्घच्यायो। मेरो मनको कुरा सबै बाँड्न मन लाग्यो। मनले चाह्यो तिनीतर्फको उत्सुकता, तर कसरी खोज्ने? कोसँग कुरा गर्दा उनलाई भेटिन्छ भन्ने मनमा खुलदुली भइरह्यो। सानो डायरीमा केही साथीहरूको फोन नम्बर भएकोले खोज्न थालें, तर सरुको भने भेटिनँ।

सम्झनाले मलाई कोट्याउन छोडेन।

अचानक एक दिन एक जना साथीको फोन आयो। उनी पनि मेरो पुरानै साथी, मेरै टोलको। ढुङ्गा खोज्दा देउता मिल्यो भनेजस्तै भयो। हामी एकअर्कामा सन्चो–बिसन्चोको कुरा गर्दै गयौँ। कुरै कुरामा मैले सरुसँग देखेको सपनाको बारेमा बताएँ। सरुको बारेमा सोध्न थालें। उनी चुपचाप सुनिरहिन्। मैले देखेको सपनाको रामकहानी र मैले तिनीसँग भेट्ने जिज्ञासा, तिनको ठेगाना, सम्पर्क गर्ने फोन नम्बर आदि–इत्यादि माग्न थालें। तर ती साथी केही नबोली सुनि मात्र रहिन्।

मैले बोली सकेपछि उनले सोधिन्, ‘कहिले देख्यौ सपना? कति दिन भयो?’

मैले तुरुन्त जवाफ दिएँ, ‘दुई–तीन हप्ताजति भयो।’

उनले लामो श्वास तानेर जवाफ दिइन्, ‘सरु त छैन यो दुनियाँमा, तिमीलाई थाहा रहेनछ। सरुको निधन भएको सुनेको पनि लगभग तीन हप्ताजति भयो,’ भन्दै उनले थप्दै गइन्, ‘सरु बिरामी थिइन्। अचानक हृदयाघात भएर मृत्यु भएछ!’

ती साथी पनि ‘बिचरी सरु, राम्री असल साथी गुमेको’ कुरा भन्न थालिन्। ‘राम्रो मान्छेलाई भगवान्ले पनि छिट्टै बोलाउँछन्’ भनेर दुःख पनि पोखिन्। म स्तब्ध भएँ। मैले बुझिनँ, संसार अनि यो प्रकृतिको लीला!

मेरो मनले सोच्न थाल्यो, ‘उसले सत्कर्म गरेर जन्मिएकी रहिछ, छोटो अवधिमै प्रारब्ध तिरेर भगवान्सँग मिल्न पाइछ। ‘क्षेत्रबाट क्षेत्रज्ञ’ हुँदै आनन्दले परमात्मामा मिल्न पाइछ उसले।’

मेरो मनमा त्यो सपनाको सम्झनाले कोट्याइरह्यो। त्यो सम्झनाका स्मृतिहरू, त्यो बालापनसँगै बिताएका क्षणहरू जे जति सम्झ्यो, सबै एकपछि अर्को मन–मस्तिष्कमा आइरहे।

म भावविह्वल भएँ। मलाई केही बोल्नै मन लागेन। मेरो वाक्य घाँटीमै रोकियो। तर सम्झना रोकिएन। धेरै समयको अन्तरालमा भएको त्यो सपनाको सामीप्यता सपनामै सीमित हुने भयो।

म सपनामा भेट हुनुको अर्थ केलाउन थालें। उनले नश्वर जीवन त्यागेको समय र मैले देखेको सपनाको समय कसरी मिल्न आयो? मिलन र बिछोडको संसारिक बन्धन अनि बिछोडको सपना भित्रको कुराको रहस्य के हो? म विपनामा यो सोच्दैछु। सपना देख्नुको अर्थमा व्याख्या गर्दै गएँ मनमनै। मैले अड्कल लगाएँ, सोचें, सोचाइको खातबाट ‘जीवनको यात्रामा जन्मिएका हामी दुई र मित्रताको बारेमा।’ के थियो त्यो सपनाको रहस्य?

जीवनरूपी गाडीमा हामी एकैसाथ चल्दै गयौँ। सरुको यात्राको समय सकिएछ। अनि गाडीबाट ऊ पहिले ओर्लिनुको अर्थ मेरो यात्रा बाँकी रहेछ। मेरो शरीररूपी गाडी अगाडि समयले कुदाइरहेछ। मिलन र बिछोडको संकेत छोडेको अनुभूति गरेँ मैले।

सायद हामी दुई जनामा जन्म–जन्मको आत्मीयता थियो। उनी मलाई भेट्न आएकी थिइन्, सपनामै भए पनि। तिनको हेराइ मैले बल्ल बुझें। गाडीबाट ओर्लिने बेलासम्म मायालाग्दो अनुहारले मलाई हेरिरहनु र केही एक शब्द पनि नबोल्नु। त्यतिका वर्षपछिको बाल्यकालको अवस्थामा हामी दुई उभिनु, एकअर्कामा भेट्नु, सपनामै सही, यसको अर्थ उही प्रकृतिलाई थाहा होला वा मेरी सरुलाई, जो परमात्मासँगको सान्निध्यतामा विलीन भइसकेकी छिन्।

उसको यात्रा सपनासरी छोटो देखायो। म सांसारिक मायाको बन्धनमा यात्री बनेर अगाडि बढ्दैछु। त्यो लामो सपनाको झझल्को बोकेर हाम्रो ज्ञानको बोधमा म मेरै साक्षी बनेर हेरिरहेछु।

Add a Comment

Your email address will not be published. Required fields are marked *