कारागारभित्रको कथा

उमेर ढल्किएजस्ती देखिने भुइँमा टुक्रुक्क बसिरहेकी एक जना हेर्दै टिठलाग्दी महिला कैदीलाई मैले देखेँ । यसो हेर्दा अनुहारले उनी यस्तै तामाङ वा मगर जातिकी हुनुपर्छ, मैले यस्तै अनुमान गरेँ । मैले उनको छेवैमा गएर सोधेँ, “दिदी, तपाईं कसरी आइपुग्नुभयो यहाँ ?”
उनले पुलुक्क मेरो मुखमा हेरिन् र अधरबाट असजिलो हाँसो फुत्काउँदै भनिन्, “खै, कसरी पो भन्नु र हौ सार्, भन्नु पनि शरम लाग्ने कुरा ।”
उनको आवाजमा एक प्रकारको पश्चात्तापको छनक पाएँ मैले । तैपनि उनको वास्तविकता जान्ने मेरो उत्सुकतालाई जगाउँदै भनेँ, “भन्नुस् न दिदी, आखिर नपर्नु जेल त परिसक्नु भयो । भन्दैमा अब बिग्रिने कुरा पो के छ र ? जेल पर्नुको कारण के थियो ?”
“आफ्नै बुढोलाई मारेर आ’को नि हौ सार्, ठुलो भाग खान ।” विस्मातको भावमा ओकलिन् यति कुरा उनले ।
“अनि किन मार्नुभएको त नि आफ्नै बुढालाई ? मार्नैपर्ने के कुरा पर्यो र त्यस्तो ?” मैले आश्चर्यपूर्वक सोधेँ ।
“जस्तै भए पनि आफ्नै बुढोलाई मारूँ त को भन्छ र हौ सार्, भवितव्य भन्नुपर्ला नि । उसको काल आको, मुलाई दशा लागेको ।” उनको पश्चात्ताप छचल्कियो उनको बोलीमा ।
यसपछि उनी घोसेमुण्टो लगाएर गोडाको बुढी औँलाले भुइँ कोट्याउन थालिन् । म भने उनको कहानी सुन्न हतारिएको थिएँ । तैपनि उनी नबोलुन्जेल पर्खिनु मेरो बाध्यता थियो, त्यसै गरेँ ।
“अनि कसरी त्यस्तो भयो त ? कि अरूले मारेर आरोपचाहिँ तपाईंलाई लगाइएको त होइन नि ? यहाँ त यस्तो पनि हुन्छ नि ।” सहानुभूतिपूर्वक सोधेँ मैले ।
धेरै बेरपछि उनी बोलिन्, “होइना नि हौ ….., मेरै हातले मारेको नि मार्नु त । तर मारौँ भनेर होइन क्यारे, भवितव्य परो । सधैँ जाँड खाएर मलाई भकुर्थ्यो । मुइले सहेकै थिएँ । त्यो दिन पनि ऊ मातेरै आ’को रैछ । मैले घाँसको भारी बिसाउन पा’थेन, ऊ मलाई झम्टेर आयो र लात्ती उझ्यायो । मुइले उसलाई छेक्नु खोज्दा मेरो हातको आँसीले उसको छातीमा लाग्यो । ऊ भुक्लुक्कै लड्यो । छातीबाट भलभल्ती रगत आयो । मु आत्तिएर … गुहार…. गुहार… बचाऊ मेरो बुढोलाई भनेर चिच्याएँ, तर कोही पनि आएन । मु एक्लैले उठाएर उसलाई उपचार गर्न लैजानु सकेनँ । एकैछिनमा त गैगयो नि ऊ ।”
“अनि … मैले मेरो बुढालाई मारेँ भनेर आफैँ हल्ला गर्नुभयो कि अरूले देखेर पुलिस बोलाए त ?” मैले जिज्ञासा राखेँ ।
“मु धेरै बेर रोएँ नि सार् । पछि गाउँलेहर्ले (गाउँलेहरूले) सुनेर आए अनि सबै कुरा बताएँ उनलाई । त्यसपछि …… ।” बोल्दाबोल्दै भक्कानिइन् उनी । केही बोल्न सकिनन् ।
केही बेरपछि मैले सोधेँ, “यहाँ आएकोचाहिँ कति भयो त ?”
“खै हौ सार्, भयो होला नि यस्तै तेह्र-चौध वर्ख ।”
“कति वर्षको सजाय तोकिएको हो नि ?”
“खै, पन्ध्र वर्खको भन्थ्यो क्यारे ।”
“उसो भए त अब घर जाने बेला नै लागेछ त ।”
“घर पनि के जानु र हौ । न घरमा लोग्ने छ, न सासु–ससुरा, न त छोराछोरी नै । कसको मुख हेर्नु पो जानु र खै ?”
कारागारभित्रको घटनाबारे एउटा उजुरीको सन्दर्भमा छानबिन गर्न म डिल्लीबजार खोर (कारागार) मा गएको थिएँ । त्यहाँ भेटिएकी ती महिलाको दर्दनाक कहानीले मभित्र नजानिँदो बेचैनीको बादल मडारियो । लाग्यो, कतिपय वास्तविक अपराधीहरू छाती फुलाएर समाजमा घुमिरहेका छन् तर यस्तो भवितव्यमा परेका वा फसाइएका कतिपय निर्दोषहरू भने जेलको हावा खान बाध्य छन् । कतिपय निर्धा, निमुखा, गरिब र असहायहरू अरूको अपराधको भारी बोकेर जेल जीवन बिताउन बाध्य होलान् । यस्तै यस्तै कुराहरू मनमा हुँडलिन थाले ।
वास्तवमा म त्यहाँको चौकीदारद्वारा सञ्चालित मेसमा भएको अनियमितता, ठगी र अन्य ज्यादतीका बारेमा बुझ्न खटिएको थिएँ । जेल आफैँमा कष्टपूर्ण हुन्छ, त्यसमा पनि त्यहाँभित्रका चौकीदार, नाइके, भाइनाइकेहरूबाट अन्य कैदी बन्दीहरूमाथि हुने ज्यादती झनै कष्टपूर्ण बन्ने गरेको भुक्तभोगीहरूबाट सुनेको थिएँ । उनीहरूले जतिसुकै सताएका भए पनि भरे झनै यातना भोग्नुपर्ने भयले गर्दा उनीहरूका विरुद्धमा कोही चुइँक्क बोल्न चाहँदा रहेनछन् । यो उजुरी पनि त्यहाँबाट अन्यत्र कारागारमा सरुवा भएर गएका कैदीहरूले गरेका रहेछन् ।
त्यहाँबाट अन्यत्र सरुवा भएका त्यस उजुरीसँग सम्बद्ध केही कैदी बन्दीहरूसँग भेट्न म केन्द्रीय कारागार, भद्रगोल जेल अनि महिला कारागारमा पनि पुगेँ । मसँग अन्य दुई जना साथीहरू पनि हुनुहुन्थ्यो । हामी केन्द्रीय कारागारभित्र गएर सम्बद्ध केही कैदी बन्दीहरूसँग साक्षात्कार गर्यौँ ।
हामी भद्रगोल जेलभित्र पनि पुग्ने खबर त्यहाँका चौकीदारले सुइँको पाएछन् । जब हामी भद्रगोल जेलको मूल गेटमा पुग्यौँ, त्यहाँको दृश्यले हामीलाई आश्चर्यमा पार्यो । मूल गेटबाट प….र स्कुलसम्म दुवैतिर हातहातमा फूलका थुँगा लिएर कैदी बन्दीहरू स्वागतार्थ पङ्क्तिबद्ध थिए । हामी असमन्जसमा पर्यौँ । यो स्वागत हामीलाई नै थियो या अरू नै कोही भी.आई.पी.को आगमन हुनेवाला थियो भन्ने कुरा खुट्याउन हामीलाई मुस्किल परिरहेको थियो ।
चौकीदार रहेछन् खुबै खाइलाग्दा अनि हेर्दैमा डरलाग्दो ज्यान र अनुहार भएका । उनले हाम्रो सामु आएर हामीलाई माला पहिर्याउँदै भने, “हाकिमसा’बहरूलाई हाम्रो कारागारमा हार्दिक स्वागत छ ।”
यद्यपि, कारागारभित्र स्वागत गरिनु शुभ सङ्केत होइन, तथापि यो स्वागत अशुभ सङ्केतका रूपमा नगरिएको हुनाले हामीले आश्चर्यका बिचमा पनि स्वागतलाई स्वीकार्नुको विकल्प थिएन । हामीसँग केही हतियारधारी प्रहरीहरू पनि थिए । यसकारण पनि हामीमाथि कुनै अप्रिय व्यवहार हुन नसक्ने कुरामा हामी विश्वस्त थियौँ ।
चौकीदारले माला पहिर्याएर हामीलाई स्कुलतिर डोर्याए । पङ्क्तिबद्ध कैदी बन्दीहरूले हामीलाई पालैपालो फूलका थुँगा हातहातमा राखिदिए । अगाडि बढ्दै गर्दा मैले चौकीदारलाई भनेँ, “होइन चौकीदारजी, यो के गर्नुभएको ? कतै तपाईं भ्रममा त पर्नुभएन ? हामी त कारागार व्यवस्थापन विभागबाट आएका हौँ । हामीलाई यसको के आवश्यकता थियो र ? हामी त अर्कै उद्देश्यले आएका हौँ यहाँ, बरु त्यस कार्यमा सहयोग गर्नुस् न हामीलाई ।”
“मलाई थाहा छ हजुर, यो स्वागत हजुरहरूकै लागि हो । हाम्रा लागि हजुरहरू नै भी.आई.पी. हुनुहुन्छ । यी सरकारी भात खाएर बसेका भातेहरूको के काम छ ? कम से कम विभागबाट आउने हाकिमहरूको स्वागत त गर्नु पर्यो नि । होइन र हजुर ?” चौकीदारले गफ दिए ।
हेर्दै खाइलाग्दा चौकीदारको आर्मी अफिसरको रोव–रवाफ र कमान्डिङ त्यहाँ स्पष्ट झल्किन्थ्यो । वास्तवमा उनी पूर्वसैनिक कमान्डर नै रहेछन् । उनका अगाडि अन्य कैदी बन्दीहरू गरुडको छायाँ परेका सर्पझैँ देखिन्थे । उनले हामीलाई स्कुलको कार्यालय कक्षमा बसाए र भने, “हजुरहरूलाई चिसो तातो के ल्याऊँ ?”
“केही पर्दैन । बरु हामीले भनेका मान्छेहरूचाहिँ बोलाइदिनुस् न । हामी आफ्नो काम सकेर फर्किहाल्छौँ ।” मैले अनुरोध गरेँ ।
“कहाँ त्यसो भनेर हुन्छ, केही त लिनै पर्छ नि । कि यी कैदीहरूको के विश्वास, कतै केही गडबड पो गरिहाल्छन् कि भनेर डर लागेको त होइन सरहरूलाई ?” उनले हाँस्दै भने ।
“धत् ! के कुरा गर्नुभएको चौकीदारजी यस्तो ? त्यस्तो पनि कहीं सोचौँला र हामी ? कतै त्यस्तो काम पनि गर्ने गर्नुभएको छ र यहाँ ?” मैले पनि ठट्टाकै शैलीमा जवाफ दिएँ ।
सबै जना गलल्ल हाँस्यौँ ।
“त्यस्तै काम गरेर यहाँ आइएको छ, फेरि त्यस्तो काम दोहोर्याउने त कुरै भएन नि सर ।” उनले पनि हाँस्दै स्पष्टीकरण दिए ।
“ए, जा, सरहरूका लागि पाँच-छवटा कोल्ड ड्रिङ्क्स लिएर आ’ झट्टै ।”
उनले भाइनाइकेलाई आदेश दिए । एकैछिनमा कोल्ड ड्रिङ्क्स आइपुग्यो । मैले त्यहाँ झिकाउनुपर्ने कैदीहरूको नाम उनलाई दिन मात्र के लागेको थिएँ, अर्को नाइकेले तीन जना विदेशी गोरा कैदीहरूलाई लिएर त्यहीँ पो आइपुग्यो ।
“यिनै होइनन् हजुरले भेट्नुपर्ने कैदी ?” चौकीदारले हाँस्दै भने ।
ती कैदीहरूको नाम सोधेँ । उनीहरूले आ-आफ्नो नाम बताए । सबै जना मैले चाहेकै कैदी थिए । म छक्क परेँ । “कसरी यिनै मानिसहरूलाई भेट्न हामी आएका हौँ भन्ने थाहा भयो तपाईंलाई ?” मैले चौकीदारतिर फर्किएर सोधेँ ।
“आर्मीमा काम गरिसकेको मान्छे हुँ सर, त्यसमा पनि यत्तिका कैदी बन्दीहरूको चौकीदार बनेर बसेको आठ वर्ष भयो, यत्ति कुरा पनि नबुझे कसरी नियन्त्रण गर्नु यिनलाई ? कसरी चलाउनु चौकीदारी ?” उनले हाँस्दै भने ।
“पत्याएँ ।” मैले हाँस्दै भनेँ ।
“कारागार प्रशासनले पत्याएरै दिएको हो नि सर यो चौकीदारी मलाई ।” उनले हाँस्दै भने ।
मैले उनीहरूलाई एकान्तमा एक-एक गरी सोध्नुपर्ने कुरा सोधेँ तर कसैले पनि पूर्वचौकीदारको विरुद्धमा मुख खोल्न चाहेनन् ।
अब हामीसँग रित्तै फर्किनुको विकल्प थिएन । हामी स्कुलबाट बाहिर निस्कियौँ । चौकीदारले हामीलाई सबैतिर अवलोकन गराए । आफू बस्ने कोठा पनि देखाए । उनको कोठा देखेर हामी छक्क पर्यौँ । कारागारको सबैभन्दा सिरानमा रहेको सिङ्गल कोठा, स्तरीय पलङ र बिछ्यौना, व्यायाम र खेलकुदका सामग्रीहरू । त्यहाँको स्तरीयता हेर्दा हामी कतै बाहिर कुनै आर्मी अफिसरको क्वार्टरमा त छैनौँ ? भन्ने भान पर्यो ।
बाहिर अम्बाको बोटभरि लटरम्म पँहेलपुर पाकेका अम्बाहरू देखेर चौकीदारलाई सोधेँ, “यी पाकेका अम्बाहरू कसैले टिपेर खाँदैनन् ?”
उनले हाँस्दै भने, “पाए खान्थे होलान् नि । मेरो आदेशबिना टिपेर खाने कसको आँट ? त्यसो गरे भने यिनको ‘जान्दो’ गर्न मैले जानेको छु नि सर । आर्मीको अनुशासन जानेको मान्छे परियो, के गर्ने ? बरु हजुरहरूलाई चखाउँला नि ।” उनले रवाफिलो आवाजमा जवाफ फर्काए ।
“फेरि हाम्रो पनि ‘जान्दो’ गर्नुभयो भने ?” मैले ठट्टा गरेँ ।
उनी गलल्ल हाँस्दै एक जना कैदीलाई आदेश दिए, “दश-पन्ध्रवटा अम्बा टिपेर ल्या’ त झट्टै ।”
त्यहीँ फलैँचामा बसेर हामीले अम्बा खायौँ र बिदा भयौँ । चौकीदार, नाइके, भाइनाइकेहरू हामीलाई बिदा गर्न मूल गेटसम्म आए ।
बाहिर निस्किएपछि हामीसँग रहेका प्रहरी भाइले भने, “यी चौकीदारहरूको बिचमा एकता हुन्छ, एक अर्काका विरुद्ध कसैले कुरा गरे भने यिनले मन पराउँदैनन् । यसैले उनेरका अगाडि कुनै पनि कैदी बोल्नु भनेको भरे यातनाको भागीदार बन्नु हो । यसैले उनीहरू कोही बोल्दैनन् सा’ब ।”
पछि ती चौकीदार प्रजातन्त्र दिवसका दिन बाँकी कैद माफी पाएर कैदमुक्त भए । उनी कैदमुक्त हुनुभन्दा अघिल्लो रात उनले कारागारभित्रको कोठा छोडी बाहिर प्रहरी इन्स्पेक्टरको क्वार्टरमा रात बिताएको खबर सुनेर हामीलाई अचम्म लाग्यो । वास्तवमा उनी चौकीदार हुँदा आफूले कैदी बन्दीहरूप्रति गरेको क्रूर शासनको कारण आफूलाई भित्र असुरक्षित महसुस गरी बाहिर रात बिताएका रहेछन् । शक्तिमा रहँदा र नरहँदाको अवस्थाका बिचको अन्तर थियो यो ।
यो शक्ति भन्ने कुरा पनि अचम्मकै हुने रहेछ, शक्तिमा रहुन्जेल जीवित र शक्तिरहित भएपछि मृतझैँ हुनुपर्ने । हिजोसम्म कैदी बन्दीहरूमाथि शासन चलाएको मान्छे आज लुकेर भाग्नुपर्ने विडम्बना ! यो भन्दापनि उसले बाहिर आएपछि भनेको भनी प्रचारित कुरा सुन्दा चौकीदारहरू कति शक्तिशाली हुँदा रहेछन् भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।
उसले भनेको थियो रे, “मैले आठ वर्ष चौकीदारी गर्दा कुल पैंतीस लाख जति आर्जन गरेँ ।” यो त्यस्तै २०५८ सालतिरको कुरा हो । त्यस बेलाको पैंतीस लाख भनेको निकै ठुलो रकम हो । उसले जेलभित्र आफ्नै मेस चलाएको र मनमौजी रकम लिएर कैदी बन्दीहरूलाई शोषण गर्ने गरेको कुरा पछि खुल्न आयो । सायद यो क्रमले निरन्तरता पाइरहेकै हुनसक्छ कारागारहरूभित्र । यसका अतिरिक्त पनि उनीहरू बाहिरफेर निस्कन पाउने भएकाले उनीहरूमध्ये केहीले त अन्य दुई नम्बरी धन्दा पनि चलाइरहेकै हुनसक्छन् ।
अँ, त्यहाँबाट निस्किएर हामी महिला कारागारभित्र प्रवेश गर्यौँ । धेरै जना महिला कैदी बन्दीहरू कारागारभित्रै रहेको चौतारीमा भेला भएर बसिरहेका थिए । कारागारभित्र पनि सिंगारपटारयुक्त भएर बसेका ती महिलाहरूलाई देखेर हामीलाई अनौठो लाग्यो । महिलाहरूको शृङ्गारमोह पनि अनौठै हुने रहेछ ! बाहिरी संसारमा मात्र त्यस्तो शृङ्गार गर्दाहुन् भन्ने सोचमा रहेका हामीलाई त्यो दृश्यले नयाँ कुरा सिकायो ।
तीमध्ये त्यस्तै पच्चीस-छब्बीस उमेरकी एक जना युवती हामीछेउ आइन् र सोधिन्, “कैदी भनौँ भने महिला कारागारभित्र आउनुभएको छ, कतै नयाँ जेलरसा’बहरू त आउनुभएको होइन ?”
हामीसँग रहेका एक जना प्रहरी मित्रले भने, “उहाँहरू जेलर होइन, जेलरका पनि हाकिमसा’बहरू हुनुहुन्छ, विभागबाट आउनुभएको ।”
उनी केही बोल्न चाहन्थिन् तर केही नबोली मुख छोपेर हाँसिन् । उनको त्यो हँसाइभित्रको अश्लीलताको हामीले अनुमान मात्र लगायौँ । महिलाहरू, त्यसमा पनि कैदी महिलाको जमातमा हामी पुरुषहरू ‘हाँसको बथानमा बकुल्ला’ सरह भयौँ ।
परिस्थितिलाई सामान्यीकरण गर्न मैले उनलाई सोधेँ, “किन हाँस्नुभयो नि बहिनी ?”
उनी छिल्लिएको शैलीमा बोलिन्, “मैले त उता ठाउँ नपुगेर यता ल्याइएका कैदी होलान् भन्ठानेर रमाएकी थिएँ, होइन पो रै’छ ।”
“उहाँहरू आउँदा रमाउनुपर्ने कारणचाहिँ के हो नि ?” हामीसँग रहेका प्रहरी भाइले युवतीको आशय बुझेर पनि बुझपचाउँदै सोधे ।
“लोग्ने नभेटेर खर्रिएका हाम्रा पनि अब दिन आएछन् भनेर नि’, किन रमाउनु ।” उनको अश्लीलता छताछुल्ल पोखियो ।
मैले सोचेँ, अपराधी मानसिकता जति नै कारागारमा रहे पनि नसच्चिँदो रहेछ ।
अब उनीसँग उनीजस्तै गरी प्रस्तुत हुने विचारले मैले सोधेँ, “अनि बहिनीचाहिँ खाऊँ खाऊँ र लाऊँ लाऊँको यो उमेरमा कसरी यहाँ आइपुग्नुभयो त, यति राम्री मान्छे ?”
“हेत्तेरिका, बहिनी भनेर खुत्रुक्क पारिहाल्नुभयो नि ।” हाँस्दै ठट्टिइन् उनी ।
“के भन्नु पर्थ्यो त ?” मैले सोधेँ ।
“भनाउन त के के मन थियो थियो नि तपाईंलाई देख्दात के गर्नु र खै, … मनको लड्डू घिउसित खानु” भनेजस्तो ।
युवतीको कुरा सुनेर बाँकी महिला कैदी बन्दीहरू गललल्ल हाँसे । हाँस्न त म पनि हाँसेँ तर बाध्यताको हाँसो । कुरा मोड्दै मैले उनलाई सोधेँ, “यी हाँसो-ठट्टाका कुरा छोडौँ, बरु भन्नोस् न बहिनी, कसरी कुन अपराधमा आउनुभयो यहाँ यस्तो उमेरमा, यति राम्री मान्छे ?”
“म खुबै मन परेँ कि कसो ? कि यसो सोर्स फोर्स लगाएर मलाई निकालेर बिहे गर्ने हो ?” उनी छिल्लिन छोडिनन् ।
मैले बयान लिनुपर्ने मध्येकी एक जना महिला थिइन् उनी । यसैले धैर्यपूर्वक मैले उनीसँग कुरा गर्नु नै थियो । त्यसैले पुनः जिज्ञासा राखेँ, “भन्नुस् न बहिनी, कुन कसुरमा आउनुभयो तपाईं यहाँ ? डिल्लीबजार खोरमा कति अवधि बस्नुभयो ?”
अब भने उनी अलि गम्भीर भएर बोलिन्, “यही राम्री हुनाले नै यहाँ आउनुपर्यो नि सर । जेलभित्र कुँजिएर बसेका हामी मानवपक्षीहरू कल्पनामै भए पनि स्वतन्त्र आकाशमा विचरण गर्न मन पराउँछौँ । हाम्रो कुरामा अन्यथा सोचेर नरिसाउनुहोला । मनको बह लुकाउन खोजेकी मात्र हुँ ।”
“केही छैन बहिनी, ठट्टा त हामी पनि बुझ्छौँ । बरु राम्री भएकै कारणले जेल आउनुपर्ने त्यो कस्तो कारण हो ? मैले त बुझिँन नि ?” जिज्ञासा राखेँ ।
“हो सर, यही रूप र यौवन त मेरा लागि अभिशाप बन्यो । यही रूप र यौवन देखेर अर्काको लोग्ने मसँग आकर्षित भयो, त्यही पुरुषप्रति मेरो यौवनको आशक्ति बन्यो । प्रेम अन्धो हुन्छ भन्ने कुरा सत्य रहेछ, जसका कारण ऊ विवाहित हो भन्ने कुरा जान्दाजान्दै पनि हामी एकअर्कामा छुट्टिन नसक्ने अवस्थामा पुग्यौँ । तर, सौता व्यहोर्ने मेरो चाहना भएन । यसैले सौताको हत्या गर्ने हाम्रो सल्लाहअनुसार उसले मुख थुन्यो, मैले खुट्टा थिचेँ र मार्यौँ उसलाई । उसलाई मारेर मोज गरौँला भन्ठानेका थियौँ तर कानुनको नजरबाट हामी बच्न सकेनौँ । ऊ उता जेलमा, म यता जेलमा ! यी यसरी गर्दैछौँ मस्ती ।”
यसपछि उनी पिलपिल गर्दै रुन थालिन् । उनीसँग लिनुपर्ने बाँकी बयान लिएर हामी निस्कियौँ ।
यस्तै यस्तै विभिन्न सन्दर्भमा कारागार व्यवस्थापन विभागमा कार्यरत रहँदा विभिन्न कारागारहरूको निरीक्षण, अनुसन्धान गर्दै त्यहाँका समस्याहरूको पोको बोकेर हामी विभाग फर्कन्थ्यौँ र सम्भव भएसम्म समस्या र विवादको समाधानमा जुट्दथ्यौँ ।
कारागारभित्र रहेका खेल मैदान, पुस्तकालय, विद्यालय, कैदी बन्दी बस्ने कक्षहरू र उनीहरूका समस्याहरू हाम्रा लागि नौला लाग्दथे । बाहिरबाट त्यहाँको जीवन सोचेभन्दा सामान्यझैँ लागे पनि वास्तवमा जेल जीवन कहालीलाग्दो नै हुन्छ ।
कारागारलाई सुधारगृह भनिए पनि अपराधी मानसिकतामा सुधार भने नआउँदो रहेछ भन्ने कुरा जेलमुक्त हुनासाथ तिनै कैदीहरूबाट घटाइने गरेका विभिन्न अपराधहरूले देखाएका छन् । तर पनि केही कैदीहरूमा भने चारित्रिक सुधार आउने गरेको तथ्यलाई नकार्न सकिन्न ।
कुरा केही समयअगाडिकै हो, तथापि डिल्लीबजार खोर (कारागार) मा भेटिएकी ती तामाङ्नी दिदीले बोलेको कुरा अहिले पनि मेरा कानमा गुन्जिएझैँ लाग्छ, “काँ जानु र खै ? घर जाऊँ, बुढो मरिहाल्यो । सासु ससुरा छैनन् । देवर जेठाजु भए पनि मलाई खेदै खन्ने हुन् । घर गरी खाऊँ न त भने पनि ‘गाँम’मा सप्पैले … ज्यानमारा आई’ भनेर लखेट्लान् । कसरी टिक्न सकिएला र ? माइत जाऊँ न त भन्दा पनि बाउ आमा मरिगए, ज्वाइँ मारेर आ’की भनेर दाजु भाइले बास दिने होइनन् क्यारे ! मेरो लागि त बरु सधैँ यही जेलमा बस्न पाए हुन्थ्योझैँ लाग्या छ नि तर पाइन्न क्यारे !”
०००
