सिलौटाको स्वाद

जुना लामो लकडाउनपछि अमेरिकाबाट नेपाल आएकी हुन्छे । उसलाई नेपालको मस्यौरा, गुन्द्रुकको रस, टमाटरको चटनी खाने तीव्र इच्छा बढेको हुन्छ । यति मात्र होइन, नेपालमा गएको यही मौकामा गलामा लगाउने सुनको चन्द्रहार र नयाँ डिजाइनको चुरा लगाउने रहर पनि यसपालिको नेपालको बसाइमा पूरा गर्नुछ ।
जुना आफ्नी बहिनी भावनासँग मनका सबै रहरहरू एक-एक गरेर सुनाइरहेकी हुन्छे । उसकी बहिनी भावना आफ्नो दिदीको कुरा सुनेर पनि कुनै प्रकारको प्रतिक्रिया दिँदिन । जुना एकनासले बोलिरहेकी हुन्छे । उसलाई के-के खाने र लगाउने कुरा मन छ, सबै तृष्णाहरू पोखिरहेकी हुन्छे, मानौँ ऊ वर्षौंदेखि खान, लाउन र यताउता जानबाट वञ्चित भएकी थिई ।
उसको यस्तो रहर सुनेर भावनाले आफ्नी दिदीलाई विस्तारै प्रश्न गर्छे, “हैन, तँलाई यति धेरै कुरा नेपालको मन पर्छ भने अमेरिका किन गइस् त ? त्यसमाथि अमेरिका जान कति मरिहत्ते गरिस् अनि अमेरिकाको नागरिक बन्ने तेरो ठूलो सपना नै थियो । सबै त्यहीँ पाइन्छ, नपाइने केही छैन भन्थिस् । यहाँभन्दा सफा राम्रो छ भन्थिस्, छ्या कति फोहोर नेपाल ? कसरी बस्ने ? यो धुवाँधुलो, जे पनि मिसावट, नक्कली । सक्कली जति अमेरिकामा पाइन्छ, फेरि किन यो फोहोरी मुलुकको गहना अनि अचार, मस्यौरा र गुन्द्रुकले तँलाई हुरुक्कै पार्यो ?” भावना हाँस्दै दिदीतिर हेर्छे ।
“कहिलेकाहीँ त आफ्नो देशको याद आइहाल्छ नि यार ! के भन्छे यसले ? यहाँको माटोमा मेरो बाल्यकालको गन्ध छ । के मैले घर आएर यो मन पर्यो भन्न पनि नपाउनु ?” अलि ठूलो स्वरमा जुना जङ्गिँदै सोध्छे । “ल, ल पाइन्छ भन्भ-न् ।” भावना हाँस्दै आफ्नी दिदीलाई जवाफ दिन्छे ।
जुना भावुक हुन्छे आफ्नी बहिनीका प्रश्नहरू सुनेर । कोठाभित्र एकछिन शान्ति छाउँछ । केहीबेरपछि फेरि भावनाले प्रश्न गर्छे, “ल भन, अरू के-के मन छ यहाँबाट अमेरिका लाने, खाने, घुम्ने ? अब मैले पनि प्लान गर्नुपर्यो नि । मेरो बिदा मिलाउनु पर्छ, काम के-के बाँकी सक्नु पर्छ ।” भन्दै थप कुरा राख्छे । जुना अलि गम्भीर भइरहेकी थिई । ऊ चुपचाप तल टाउको गरेर मोबाइल चलाइरहेकी हुन्छे । आफ्नी बहिनीको नरम कुरा सुनेपछि टाउको उठाएर भावनातिर हेर्दै, “ए, तैँले मेरो लागि प्लान पो गर्दैछेस् ? ल-ल, अब घरमा तँ होस् सर्वेसर्वा, हैन ?” भन्दै आफ्नो सबै कुरा राख्छे ।
यत्तिकैमा ‘भावना ! भावना !’ भन्दै उसकी मम्मी गायत्री आइपुग्छिन् । ‘आज के भयो, अफिस नजाने र ? ढिला भएन ? खाना खाने कि भोकै जाने ?’ भावनालाई सोध्छिन् । भावना ‘ओहो, १० बजिसकेछ, ल म अब अफिस जान्छु’ भन्दै कोठातिर लाग्छे ।
आज ढिला भयो अफिस जान, भावना खाना नखाई गई । घरमा खाना नखाएपछि ऊ बाहिर पनि खाँदिन । त्यही कच्याक–कुचुक खाएर टार्छे भन्दै गायत्री भुनभुनाउँदै जुना र आफूलाई खाना पस्केर ल्याउँछिन् । दुवै आमाछोरी खाना खान थाल्छन् । जुना गोलभेँडाको चटनी अझै छ, मम्मी भनेर सोध्छे । गायत्रीले ‘छ’ भन्दै जुनालाई चटनी थपिदिन्छिन् । जुना एक्कासि खित्खित् गर्दै हाँस्न थाल्छे । गायत्री छोरी हाँसेको देखेर झसङ्ग हुन्छिन् । “हैन ! के बौलाइस् कि क्या हो ? खाँदाखाँदै एक्कासि हाँस्ने, के भयो ?” भनेर जुनालाई सोध्छिन् । “बिहान भावनाले मलाई कत्रो डाइलग हानी ! तँलाई गोलभेँडाको पिनेको चटनी खान नेपालको घर याद आएछ, किन गइस् त अमेरिका ? हजुरले आज गोलभेँडाकै चटनी बनाउनु भएछ, त्यही सम्झेर हाँसेको” जुनाले जवाफ दिई ।
ठिकै त भनिछे, मलाई साँझ–बिहान ‘मम्मी’ भनेर बोलाउने त्यही छोरी त भई । के खाने मम्मी ? के पकाउने भनेर सोध्छे । ठिकै भनिछे त । तँलाई अमेरिका मन परेकै हो । त्यहाँ त सबै थोक पाइन्छ भनेकी होस् नि ! गायत्रीले पनि भावनाको कुरालाई समर्थन गरेर जवाफ दिइन् ।
फरक भूगोल, फरक परिवेश अनि फरक संस्कृतिमा आफू हुर्केको, बढेको, जन्मेको ठाउँको आवश्यकता, रुचि र स्वाद कहाँ एउटै हुन्छ ? यो भिन्नतालाई हरेक मानिसले स्वीकार गर्नुपर्छ । तर स्वीकारका नाममा आफ्नो सबै इच्छा, आवश्यकता र स्वादलाई मारेर अनि आफ्नो देशको मायालाई चटक्कै बिर्सेर कहिलेकाहीँ स्वाद लिन, आनन्द लिन देशमा घुम्न आउनेलाई के भन्ने ? के यो साँचो माया हो या केवल रमाइलाका लागि पर्यटकीय उद्देश्य मात्रै हो ? सायद भावनाले पनि आफ्नो दिदीलाई यही कारणले किन मनपर्नु नेपालको स्वाद भनेकी होलिन् । गायत्रीले लामै स्पष्टीकरण थपिन् ।
अब चार दिन मात्र बाँकी छ, फर्किने बेला पनि भयो, कति छिटो ? महिना बितेको पत्तै भएन । जुना सुटकेसमा सामान मिलाउँदै फतफताइरहेकी हुन्छे । गायत्री र भावनाले पनि जुनालाई सहयोग गरिरहेका हुन्छन् । सामान मिलाउँदै गर्दा सिलौटो र किटको कराई समातेर ‘ल, यो पनि त सुटकेसमा मिलाउनु पर्यो’ भनेर गायत्रीले सुटकेसको छेउमा राखिदिन्छिन् ।
“छुट्टीको बेला सिलौटामा गोलभेँडाको चटनी र कहिलेकाहीँ जिरा धनियाँ पिन्नको लागि सिलौटा किनेको हो अनि किटको कराइमा साग, तरकारी पकाउने र मासु भुट्ने हो । साह्रै स्वादिलो पो हुन्छ, यसमा पकाउँदा त । कहिलेकाहीँ बनाएर खानुपर्ला भनेर लैजान लागेको हो के ।” भन्दै जुना कराई र सिलौटा सुटकेसमा राख्छे ।
गायत्री मुसुमुसु हाँस्दै, “मेरी छोरीलाई नेपालको ढुङ्गा पनि मन परेछ । कति माया यो जाबो ढुङ्गाको हैन ?” भनेर आफ्ना अगाडि बसेका छोरीहरूलाई सोध्छिन् । भावना खित्का छोडेर हाँस्दै भन्छे, “मेरी मम्मी कति सोझी ? देशको माया अरे ! हजुरकी छोरीले सिलौटो किन लान लागेकी थाहा छ ?” भनेर सोध्छे । गायत्री, “थाहा छ, उसलाई मिक्सरमा पिनेको खाँदाखाँदा वाक्क लाग्यो । धेरै मसिनो भयो, स्वाद आएन रे, त्यसैले सिलौटोमा पिनेपछि धेरै मसिनो हुँदैन, चटनीको स्वाद फरक हुन्छ, कहिलेकाहीँ जिरा धनियाँ पिसेर तरकारीमा हालेर पकाउँदा नयाँ स्वाद र मिठो हुन्छ भनेर लैजान लागेकी होला नि ।” भनेर जवाफ दिन्छिन् ।
जुना गम्भीर हुन्छे र प्याकेटका सामानहरू खोल्दै मिलाइरहेकी हुन्छे । भावनाले मम्मीको कुरामा थप्दै भन्छे, “अमेरिकाको एड्भान्स जीवनशैलीमा मिक्सरले एक मिनेटमा पिन्ने चटनी र मसला अब आफ्नै पाखुराको बलले पिस्ने अनि आफ्नो जिब्रोको स्वादलाई नेपाली स्वाद बनाइरहने, यो पनि माया हो ? कस्तो माया हो ? यो कुराले मलाई ‘कन्फ्युज’ बनायो । जिब्रोको स्वादमा नेपालको माया हुन्छ रे !”
भावनाको कुरा सुनेपछि जुना कराउँदै भन्छे, “यो भावनाले दिक्क बनाइसकी मलाई त, तेरो देशभक्ति र नेपाली स्वादले के नाप्यो ? नेपालमा बसेर के गरिस् ? सिलौटामा पिसेको खाएर के विकास गरिस् ? के परिवर्तन आयो ?” भावना हाँस्दै भन्छे, “म त नेपालमा बसेर मिक्सरमा पिन्छु, सेलदेखि चटनी सबै त्यसैमा बनाउँछु । सिलौटोमा पनि पिन्दिन, तर पनि मलाई चटनी मिठै लाग्छ” भनेर जवाफ दिन्छे ।
जुना भावनातिर हेर्दै, “ओई, धेरै आदर्श नदेखा त !” भन्दै आफ्नो सामान मिलाउँदै हुन्छे । भावना जुनाको कुरा सुनेपछि मनमनमा, “उसै भए मैले मिक्सरमा बनाएको चटनी र सेलरोटी खान्छु, के मभित्र देशको माया छैन ? नेपालको स्वाद जिब्रोमा मात्र होइन, कर्ममा पनि बस्नुपर्छ । मैले विदेश जाने प्रयास गरिनँ, यो मेरो कमजोरी हो त ?” मनमनै आफूलाई प्रश्न गर्छे । केही आवाज नआएपछि, “के भयो, चुपचाप भइस्, के सोचेको ?” भनेर जुनाले भावनातिर हेर्दै सोध्छे । भावना, “मिक्सरको स्वाद र सिलौटाको स्वाद बुझ्दैछु” भनेर जवाफ दिन्छे ।
सामानहरू मिलाएर सकिन लागेको थियो, रातिको १०:३० बजिसकेछ । एकछिन सबैजना चुपचाप हुन्छन् । यत्तिकैमा गायत्री त्यो मौनतालाई तोड्दै भन्छिन्, “मेरा दुईवटी छोरीहरू दुई देशका नागरिक भए ।” बीचैमा जुनाले गायत्रीलाई प्रश्न गर्छे, “कसरी ?” गायत्री, “जुना त नेपालकी पनि हो, अमेरिकाकी पनि हो । उसँग दुवै देशको नागरिकता भएपछि होइन र ?” भनेर जवाफ दिन्छिन् । मम्मीको कुरा सुनेर जुनाले जवाफ दिन्छे, “अमेरिकामा मजस्ता धेरै छन्, दुवैतिरको नागरिकता लिएकाहरू, म मात्र होइन मम्मी ।”
जुनाको त्यस्तो कुरा सुनेर भावना अचम्म पर्छे । “सुखसुविधा खोज्दै जान्छन् भने किन लिनुपर्यो नेपालको नागरिकता ? आखिर त्यहाँ सबै कुराको व्यवस्था छ, जीवन रमाइलो र सुखी छ भने हैन र ?” भावना मम्मी र जुनातिर हेर्दै भन्छे । जुना मलिन स्वरमा थप्छे, “अब के गर्छेस् तैँले ? मजस्ता धेरै छन् अमेरिकामा नेपालीहरू, कसलाई कसलाई भन्दै हिँड्छेस् ? अझै बढ्दै छ संख्या ।”
भावना अझै गम्भीर हुन्छे जुनाको कुरा सुनेर । “भविष्य खतरामा छ ! नेपालको राजनीति त जसले पनि गर्न सक्छ । झन् लोकतन्त्र आएपछि त चर्चामा आउन धेरै सजिलो छ” मनमनै भनिरहेकी हुन्छे ।
जुना, “ओई भावना ! तँलाई थाहा छ होला नि ? सामाजिक सञ्जालले चर्चामा आउन कति सजिलो बनाएको छ । कुनै कुनै पार्टी वा व्यक्तिको कमजोरीको कुरा राख्नेबित्तिकै कहाँको कसले भन्दा-भन्दा भाइरल हुन्छ । चर्चामा आउँछन् । धेरै थरीका समूह तथा राजनीतिक दलहरू छन् । बेला-बेलामा नेताहरूको रूप र व्यक्तित्व पनि फेरिन्छ । कहिले शक्तिशाली पार्टी पनि फुटपाथमा हिँडेको देखिन्छ । न त अगाडि कोही, न त पछाडि कोही हुन्छन् । यही कुरालाई सञ्जालमा हल्ला गर्दागर्दै भाइरल हुँदा रहेछन् । ओहो ! क्या खतरा मान्छे भनेर पछि लाग्दा रहेछन् । कुनै लामो राजनीतिक इतिहास पनि चाहिँदो रहेनछ, केको त्याग ? हामीजस्ता दोहोरो नागरिकता लिनेहरू पनि आएर देशमा ठूलो ‘सेलिब्रेटी’ भएका छन् । यही लेखिदिने हो भने चर्चामा आउँछन् । चर्चामा आउँदाआउँदै मन्त्री, प्रधानमन्त्री पनि विस्तारै हुन्छन् । विदेशको आइडिया भन्छन्, पढेका हुन्छन् । त्यसैले भोलिको यो देशको प्रधानमन्त्री म पनि त हुन सक्छु !” भावनातिर हेर्दै भाषण गर्ने शैलीमा हात उचाली-उचाली लामै व्याख्या गर्छे जुना ।
दिदीको कुरा सुनेर भावनाले कुनै जवाफ दिन्न । वास्तवमा हो पनि ! ल, मैले त अमेरिकाको नागरिकता त्यागें है भने भो, चर्चामा आउनुछ र नाम कमाउनु छ भने । सम्मान हुन्छ । पैसा पनि कमाइन्छ । जुनाको कुरा ठिकै हो । अब राजनीति गर्नेहरूले कुनै त्याग गर्नु पर्दैन । जो पनि नेता बन्न सक्छन् । कसलाई चिन्ता दोहोरो नागरिकताको ? भावना मनमनै यही कुरामा सोचिरहेकी हुन्छे ।
यस्तो गम्भीर कुरा भइरहेको बेला गायत्री बीचैमा फेरि उही कुरा दोहोर्याउँछिन्, “अब मेरी छोरीले नेपालको ढुङ्गा बोकेर जान लागेकी छ, कति माया रहेछ ? यहाँबाट सिलौटा र कालो किटको गह्रुँगो कराई बोकेर लैजाने । त्यहाँ त ‘ननस्टिक’ भाँडावर्तन एक से एक होलान् ? किन मन लाग्यो त ? माया लागेर नै त हो नि, छोड्न सकिन, आफ्नो देशको चलन अनि वस्तु (भाँडावर्तनहरू) ।”
प्रतिक्रिया कतैबाट आउँदैन । भावना गम्भीर छे, उसको आँखा र हाउभाउले केही सोधिरहेको लाग्थ्यो । रात छिप्पिँदै गएको थियो । उनीहरूको कुराले पनि कोठालाई सुनसान बनाइरहेको थियो । त्यहाँ कसैको जित-हार हुँदैन ।
केहीबेरपछि गायत्रीले छोरीहरूलाई भनिन्, ‘ल, हिँड, अब सुत्न जाऔँ, के गर्ने जति कुरा गरे पनि कुरै हुन्छ, सकिँदैन ।’ भावना चुपचाप हुन्छे ।
जुना पनि, “ल, अब जाऔँ सुत्न, भोलि अफिस जानुपर्ला नि, यस्ता कुराको पछि धेरै नलाग” भन्दै भावनालाई इसारा गर्छे । भावना केही नबोलेर उठ्छे अनि ओछ्यानतिर लाग्छे । उसको दिमागमा अमेरिका, सिलौटा, किटको कराही, नेता, राजनीति, मन्त्री र प्रधानमन्त्री बन्नेजस्ता कुराहरू बडो तेजले चलिरहेको हुन्छ । यो रातमा ऊ जुनाले भनेका कुराहरूलाई अस्वीकार गर्न सक्दिन ।
यो सब यथार्थ पनि हो, तर यो यथार्थलाई मैले मात्र होइन, सबैले बुझ्नुपर्छ । नेपालको इमानदार, देशभक्त राजनीति गर्ने समूहका लागि ठूलो चुनौती हो । उसलाई भविष्य अन्योल लाग्छ ।
उसको दिमागमा धेरै प्रश्नहरू आउन थाल्छन् । कसले लिने यो जिम्मा ? कसले बुझेको छ यो वास्तविकता ? के विदेशमा बस्नेहरूले देशको माया गर्न नपाउने ? के देशलाई सम्झनु र देशको जिम्मेवारी लिनु एउटै कुरा हो ? नागरिकता एक कानुनी कागज मात्र हो या भावनात्मक सम्बन्ध पनि ?
भावनाको मनमा यस्तै–यस्तै प्रश्नहरू उठिरहेका हुन्छन् । ठिक या बेठिक ? द्वन्द्व पैदा भइरहन्छ उनको मनमा । धेरै प्रश्नहरू, यस्तो किन ? केको लागि चाहियो ? किन … के … के …!
