संस्मरण: जन्मस्थलसँगको पुनर्मिलन

‘जननी, जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनेर यसै भनिएको कहाँ रहेछ र! आफूले पहिलोपटक धर्ती टेकेको माटो, बालापनमा हिँडेको बाटो अनि जीवनको एउटा रमणीय पाटो सबैभन्दा प्रिय लाग्दो रहेछ। सुखसुविधाको खोजीमा भौँतारिँदै त्यस्तो प्रिय स्थल छोडेर मधेस झरेको अनि मधेसबाट पनि जीवन खोज्दै राजधानी सहरतिर धसिएको समय जोड्दा पचास वर्ष व्यतीत भइसकेछ। आधा शताब्दीदेखि बिरानो बनेको आफ्नो जन्मस्थल अनि पितापुर्खाले जीवन गुजारेको त्यो हौंचुरको सम्झनाले कहिल्यै पिछा गर्न छोडेन। एकपटक भए पनि कहिले टेकूँ हौंचुरको माटो र कहिले साक्षात्कार गरूँ आफू जन्मिएको, हुर्किएको हौंचुरसँग भन्ने हुटहुटीले सताएको धेरै वर्ष भइसक्दा पनि त्यस हुटहुटीलाई साकार बनाउने साइत भने जुरेको थिएन। परिवारका सबै सदस्य मिलेर हौंचुर जाने सल्लाह गर्दागर्दै भ्यागुताको धार्नी कहिल्यै पुगेको थिएन। समय सबैभन्दा बलवान् हुन्छ भन्ने कुरा साँच्चै रहेछ। यसपालि (२०८० वैशाख २१–२३) समयले हामीलाई त्यो चाहना पूरा गर्ने अनुमति दियो।
‘हौंचुर’ नाम सुन्दा अन्यत्रका मानिसलाई अलि अनौठो लाग्न सक्छ। किनभने, यो नाम नै अलि अप्ठेरो र अनौठो छ। यसको नामकरणको कारणसम्म पुगेर खोज्नुपर्ने हुन्छ। यो पङ्क्तिकारले सुनेअनुसार उक्त स्थान किराँतवंशी राजा ‘हाङ्’ को किपट थियो। किराँत भाषामा किपटलाई ‘चुर’ भनिन्थ्यो रे। यसरी हाङ्को चुर भएकाले हाङ्चुर भन्दाभन्दै शब्द अपभ्रंश भएर ‘हौंचुर’ भएको भनिन्छ। यथार्थ के हो, त्यो अनुसन्धानकै विषय हो।
चौध अञ्चल र पचहत्तर जिल्ला हुनुअघि नेपाल कुल पैँतीस जिल्लामा विभक्त थियो। त्यसअनुसार यो गाउँ पहिलेको पूर्व ३ नं. ओखलढुङ्गा जिल्ला अन्तर्गत भए पनि पछि खोटाङ जिल्ला अन्तर्गत पर्ने एउटा गाविस थियो र हाल यो गाउँ रावाबेँसी गाउँपालिका वडा नं. ६ मा पर्दछ। रावा खोला यहाँको प्रख्यात खोला भएकाले यस गाउँलाई पहिले पूर्व ३ नं. रावा हौंचुर भनिन्थ्यो। अहिले हौंचुर, कुभिण्डे, खार्पा, लामीडाँडा र डुम्रे गाविस मिलाएर निर्माण भएको गाउँपालिकाको नामसमेत यही रावा खोलाको नामसँग जोडिएर आएको पाइन्छ।
‘खोटाङको मधेस’ विशेषणले समेत चिनिने हौंचुर ज्यादै मलिलो र सुन्दर गाउँ त हुँदै हो। हौंचुरका बारीमा फल्ने मकै, कोदो र हजारमुरे हौंचुर बेँसीमा उब्जनी हुने धान त्यस भेकका सबैको चुलोमा पाक्ने अन्न बन्न पुगेको पाइन्छ। यस्तो सहकारी गाउँलाई आफ्नो जन्मभूमि र पुर्ख्यौली थलो भन्न पाउँदा गौरव महसुस हुन्छ। हौंचुरको हुँ भन्नासाथ ‘कार्की, घिमिरे वा नेपाल के हो?’ भनेर सोधिने प्रश्नले हौंचुरमा कार्की, घिमिरे र नेपालहरूको प्रभुत्वको सङ्केत गर्दछ। त्यसो त त्यहाँ यी तीन थरबाहेक श्रेष्ठ, भुजेल, बरुवाल, गुरुङ, राई, दर्जी, विश्वकर्मा आदि र एक घर लिम्बूसमेतको बसोबास छ। घिमिरेले कुशबिर्ता प्राप्त गरेका चार बिर्तामध्येको एक बिर्ता पनि हो हौंचुर।
यस्तो परिचय र पहिचान बोकेको हौंचुरको पारिवारिक यात्राको तालमेल मिलाउने भाइहरू राजकुमार, दिनेश, दीपक र मनोजको सक्रियता तथा व्यवस्थापनमा हाम्रो हौंचुर यात्रा सार्थक बन्यो। संवत् २०८० वैशाख २१ गते हामी ठुलाघरे खलकका (यज्ञनिधि घिमिरेका सन्तानमध्ये तीन पुस्ताका) २७ जना पुर्ख्यौली थलो हौंचुर पुगेर पुर्खाप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्ने उत्साह र उमङ्ग बोकेर एउटै बसमा बिहान सात बजे भक्तपुरको कौशलटारबाट प्रस्थान गर्यौँ। त्यसो त यो यात्रालाई हौंचुरे घिमिरेहरूको सहयात्रा बनाउने हाम्रो लक्ष्य थियो, तर संयोगले ठुलाघरे खलकको मात्र यात्रा बन्न पुग्यो। तथापि ठुलाघरे खलकका पनि केही परिवार यस यात्रामा सहभागी हुन सकेनन्। पशुपति घिमिरेको परिवार, मेदनी घिमिरे तथा पुण्यप्रसाद घिमिरेको परिवारको यस यात्रामा सहभागिता रहेन भने दुई बहिनीहरू मातृका र तारा (भावना) लगायत ठुला ज्वाइँ गौरीशंकर भण्डारीबाट तुलसीराम घिमिरेको परिवारको प्रतिनिधित्व भयो।
यस यात्रामा सहभागी कुल सत्ताइस जनामध्ये गजाधर घिमिरेका सन्तानहरूकै बाहुल्य थियो। पहिलो पुस्ताका डम्बर-माधुरी, दोस्रो पुस्ताका गणेश-रेखा, रमेश-अनिता, लीलाहरि-सुनिता (क), राजकुमार-सुनिता (ख), दिनेश–विद्या, उद्धव-नर्वदा, सुशील-रीना, दीपक-सुवर्णा, मनोज, जानुका र प्रेमुकाको सहभागिता थियो भने तेस्रो पुस्ताका छोरीहरू डेनिसा, योजना र आयोजनाले पनि पुर्ख्यौली थलोको दर्शन गर्ने अवसर प्राप्त गरे। हामीले हौंचुर जाने योजना बनाएपछि २० गतेसम्म परेको अविरल वर्षाले गर्दा यात्रा स्थगित गर्नुपर्ने हो कि भन्ने सोचमा पुर्याए पनि हाम्रो हार्दिक चाहनालाई वर्षाको भयले पूर्णविराम लगाउन सकेन।
संवत् २०८० वैशाख २१ गते बिहीबार बिहान ६ बजे प्रस्थान गर्ने योजना थियो। तर टोलीका केही सदस्यको ढिलासुस्तीका कारण हामी बिहान ठीक सात बजे भक्तपुरको कौशलटारबाट पच्चीस जनाको टोली हौंचुरका लागि प्रस्थान गर्यौँ। रेखा (मेरी जीवनसङ्गिनी) र म बिहान पाँच बजे नै तयार भएर गाडीको प्रतीक्षामा बसेका थियौँ। म त आफ्ना पुर्खाहरूले जीवन बिताएको र मेरो जन्मभूमि पनि भएकोले पचास वर्षपछि हौंचुरसँगको साक्षात्कारका लागि उत्ताउलिएको थिएँ। मेरी धर्मपत्नी रेखाजी पनि पो मलाई नै उछिन्ने गरी उत्साहित भएको देखेर मलाई रमाइलो लाग्यो। यसै पनि यात्रा गर्न निकै मन पराउने उनको यो उत्साह सायद म र मेरा पितापुर्खाप्रतिको अपनत्व र हार्दिकता थियो। मलाई यस्तै लाग्यो।
हाम्रो गाडी हामीलाई बोकेर बनेपा, धुलिखेल, काभ्रे भञ्ज्याङ, भकुण्डेबेँसी, मङ्गलटार आदि स्थानहरू छिचोल्दै हुइँकिइरहेको थियो भने हौंचुर पुग्न पाउने हाम्रो खुसी गीतसङ्गीत र नृत्यमा छचल्किइरहेको थियो। हाम्रो पूर्वथलो झापा, मोरङ जाने बीपी राजमार्गबाट देखिने बाहिरी दृश्यहरू हाम्रा लागि नौला नभएकाले होला, सायद ती दृश्यहरूले हाम्रो मन तान्न सकिरहेका थिएनन्। हाम्रो मन त पुर्ख्यौली थलो हौंचुरले तानिसकेको थियो। हलेसी धाम हुँदै जाने र फर्किंदा हलेसी महादेवको दर्शन गर्ने योजनाले हामीलाई झनै पुलकित बनाएको थियो। हामीसँगै समानान्तर दिशामा बग्ने इन्द्रावती र तामाकोसीको सहयात्राले पनि हामीलाई साथ दिइरहेकै थियो।
सिमसिमे झरीकै वातावरणमा हाम्रो यात्रा निरन्तर थियो। सायद यही वर्षाका कारण हुन सक्छ, इन्द्रावती धमिलिएकी थिइन्। खुर्कोटनेर पुगेर धमिलिएकी रोसीले अर्कोतिरबाट आएकी तामाकोसीसँग अँगालो हालिन् र तामाकोसीलाई पनि क्रमशः आफूजस्तै धमिल्याएको हामीले देख्यौँ। यस दृश्यले मेरो मनमा कताकता हिर्कायो। जुनसुकै धमिलो चिजले सङ्लोलाई पनि धमिल्याउन बेर लाग्दो रहेनछ। मात्रात्मक रूपमा आफूजस्तै बनाउन नसके पनि धमिल्याउनचाहिँ सक्ने रहेछ। यो कुरा नदीको धमिलोपनसँग मात्र सीमित नरहेर विचार, सिद्धान्त, सङ्गत, व्यवहार आदि धेरै कुरासँग सम्बन्धित हुने विश्लेषणभित्र म हराएँछु। यस कुरालाई मैले देशको वर्तमान परिवेशसँग पनि तुलना गरेँ। भित्र नमिठो पनि लाग्यो। जतिसुकै बेवास्ता गरौँ भन्दा पनि राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिप्रतिको चिन्ताले नजानिँदो गरी हामी सचेत नागरिकहरूको मनलाई गाँजिरहेकै हुने रहेछ। मैले यस्तै महसुस गरेँ।
एकैचोटि कुशेश्वर महादेवस्थानमा पुगेर हाम्रो गाडी महादेवको मन्दिरतर्फ मोडियो। अरू बेलाको यात्रामा परैबाट कुशेश्वर महादेवलाई हात जोडेर अगाडि हुइँकिने गरेका हामी यसपटक भने नजिकै पुगेर कुशेश्वर महादेवको दर्शन गर्यौँ। दर्शनपछि सडकमा निस्किएर चिया-नास्ता गर्ने हाम्रो योजना त्यहाँको एक मात्र होटलमा खाना खाने मानिसहरूको भीडभाड र चिया-नास्ताको अनुपलब्धताका कारण सफल हुन सकेन। यस कारण हामी खुर्कोटबाट पारि तरेर बीपी राजमार्गलाई दाहिनेतिर बाईबाई गर्दै बायाँतिर लाग्यौँ। बाटो हामीले सोचे जस्तो राम्रो रहेनछ। ठाउँठाउँमा भत्किएको, खाल्डाखुल्डी परेको र चर्किएको सडकको दुरवस्थाले यात्रालाई केही असहज बनाए पनि हाम्रो पारिवारिक भ्रमणको मिठासलाई भने धमिल्याउन सकेन। हामी रमाइला गफगाफ र साङ्गीतिक माहोलमा रमाइरह्यौँ।
बाटोले हामीलाई पछ्याइरह्यो, दायाँबायाँका दृश्यहरू हामीलाई मार्ग प्रशस्त गर्दै पछिल्तिर दौडिइरहे। दायाँतर्फ रोसी, इन्द्रावती र तामाकोसीको संयुक्त रूप बनेर सुनकोसी आफ्नै धिमा गतिमा हामीसँगसँगै अविरल बहिरहेकी थिइन्। अघि इन्द्रावतीले धमिल्याएकी सुनकोसीको जल जति दूरी तय गर्यो, उति सङ्लिँदै गइरहेको र निकै पर पुगेर पूरै सङ्लिएको देखेर मेरो केही बेरअघिको विश्लेषणले आफ्नो परिभाषा बदल्यो। लाग्यो- धमिलोपन अर्थात् खराब विचार, व्यवहार, सिद्धान्त आदिको आयु त्यति लामो नहुँदो रहेछ, जो असलको सङ्लोपनसँग आखिरमा सङ्लिन बाध्य हुने रहेछ। एकैछिनअघि आफ्नो प्रभुत्व जमाएको इन्द्रावती अहिले सुनकोसीमा मिसिएपछि आफैँ प्रभावहीन देखिएकी थिइन्। तथापि सहयात्रालाई भने निरन्तरता दिइरहेकै थिइन्। लाग्यो- प्रकृति मानिसझैँ स्वार्थी नहुँदो रहेछ, जो विचार र अस्तित्वका लागि साथ छोडेर सहयात्रीलाई धोका दिँदै छुट्टिन्छ।
घुर्मीमा हाम्रो टोलीमा दुई जना सदस्य सुनिता (क) र छोरी डेनिसा थपिनेवाला भएकाले हामी घुर्मी पुग्ने उत्सुकतामा पटकपटक घुर्मीको आगमनमा झुक्किइरहेका थियौँ। चारपटक ‘घुर्मी आयो, घुर्मी आयो’ भन्दै बल्ल घुर्मीमा पुगियो। गाडीमा तेल हालेर हामी सुनकोसीको पुल तरेर पारिपट्टिको हर्कपुरमा पुगेर खाना खान लाग्यौँ। थपिने बिराटनगरबाट आएका दुई सदस्य पनि त्यहीँ थपिए। हर्कपुरको होटलमा माछा र भात त खाइयो, तर गोलभेँडाका खोस्टा र रातो झोलभित्र हराएका माछाका दुई टुक्राबाहेक रसमा माछाको गन्ध पनि थिएन। तैपनि माछाको झोल सम्झिएर भात खायौँ। थपिएको माछाको रसमा त झनै माछाको संसर्ग नै नभएको अनुभूति भयो।
यसपछि हामी थपिएका दुई सदस्यसमेत सत्ताइस जनाको टोली लाग्यौँ जयरामघाटतर्फ उकालो। जयरामघाटमा दूधकोसीको पुल तरेर हामी अकण्टक उकालो चढ्दै हलेसी, अर्खौले हुँदै सजिलो पक्की सडकलाई दायाँतर्फ छोडेर अगाडि बढ्यौँ। बिजुलेको जङ्गलको साँघुरो, ढुङ्गे, कच्ची र अति कहालीलाग्दो बाटो तय गर्दै ओरालो लाग्ने क्रममा हामीले लामीडाँडाको हवाई मैदानसँग पनि टाढैबाट आँखा जुधायौँ।
आहा! कति छिट्टै हामी रावाबेँसी गाउँपालिका (जसमा हाम्रो हौंचुर पनि समावेश छ) आइपुगिएछ भनेर पुलकित भयौँ। निकै कष्टपूर्ण यात्रा तय गर्दै हामी चढेको गाडीले हामीलाई लामीडाँडा, खार्पा छिचोल्दै कुभिण्डेको पुछारमा अवस्थित हरमटार पुर्यायो। त्यहाँ हामीले पूर्वहौंचुरवासी हाकु नेवारका छोरा कुमारकी छोरी चिनाले सञ्चालन गरेको ‘श्रेष्ठ होमस्टे’मा रात बितायौँ। होमस्टे अगाडि नै बुक गरिएको थियो।
भोलिपल्ट बिहान सात बजे त्यहाँबाट हौंचुर खोला तरेर हौंचुरको भैँसे, कट्टी हुँदै आफ्नो पुर्ख्यौली थलोमा पुग्यौँ। त्यहाँ पुग्दा सबैझैँ म पनि आफ्नो जन्मथलो पुग्न पाएकोमा निकै उत्साहित भएँ। तर पहिले आफू हिँडेका बाटा, गोरेटा र गल्लीहरूको अस्तित्व मेटिएर नौलो बनेको हौंचुरले न मलाई सजिलै चिन्यो, न त मैले नै उसलाई सजिलै खुट्याउन सकेँ। तैपनि अतीतको स्मरण जगाउँदै म सबैलाई त्यस ठाउँको परिचय गराउँदै गएँ। किनकि, टोलीमा हौंचुरलाई यसअघि चिन्ने र जान्नेहरूमा डम्बर काका र म मात्र थियौँ।
त्यहाँ सीएम श्रेष्ठका पिताजीले हाम्रै प्रतीक्षा गरेर बस्नुभएको रहेछ। उहाँले नै हामीलाई अहिले हौंचुरमा रहेका एक मात्र घिमिरे, जो नाताले हाम्रा हजुरबा पर्नुहुन्छ तर मेरा पहिलेका सहपाठी र दौंतरी चेतनाथसँग भेटाइदिनुभयो। उहाँसमेत थपिएर हाम्रो मार्गदर्शक बन्नुभयो। हामी त्यहाँ पुग्दा उहाँहरू ज्यादै खुसी र उत्साहित देखिनुहुन्थ्यो र उत्तिकै आत्मीय तथा सहयोगी पनि। उहाँहरूकै मार्गदर्शनमा हामी छेउघरे चेतनाथ हजुरबाको घर, टारबारी (अहिलेको टारी खेत) हुँदै टारालीको घरआँगनमा निस्कियौँ। टाराली घरमा वीरबहादुर कार्की बस्नुभएको रहेछ र टारबारीको दक्षिणपूर्वमा अर्को एउटा नयाँ घर थपिएको देखियो। हाम्रो घरमुनि आमाले रोप्नुभएको एक बित्ता लामो र टुप्पो घुम्रिएको, असाध्यै मिठो फल्ने चिनी आँपको बोटमुनिको गह्रोबाट कुदेको मोटरबाटो हुँदै अपरिचितजस्तो बनेको गल्लीबाट हाम्रो पुर्ख्यौली घरको आँगनमा पाइला टेक्यौँ र सन्तुष्टिको लामो सास फेर्यौँ।
मेरो जन्मघर
मेटिएछन् मेरा पाइलाका डोबहरू
साँघुरिएछन् गल्ली र गोरेटाहरू
फेरिएछ गाउँको अनुहार
अनि बिरानिएछन् बारी र कान्लाहरू।
विकासको नाममा आफ्नो मौलिक पहिचान गुमाएर गौरवान्वित भएको मेरो हौंचुरले सायद मलाई चिन्न सकेन या मैले उसलाई चिन्न सकिनँ। तैपनि हामीबीचको पुरानो साइनोले हामीलाई एकअर्कामा यति बलियोसँग बाँध्यो कि छुट्टिनै गाह्रो पर्यो। हौंचुरमा पुगेपछि मेरो मनमा विगत नाच्न थाल्यो। भावना छचल्किन थाले। म जन्मिएको घर गाउँभरिकै ठूलो घर भएकाले हामीलाई ठुलाघरे भनेर चिनिन्थ्यो। त्यसमा पनि हामी जिम्मावाल परिवार भएकाले ठुलाघरे मुखियाको विशेषण पाएका थियौँ। उक्त घर भत्काएर सोही घडेरीमा बरण्डा थपेर अलि सानो घर निर्माण गरिएको रहेछ। नयाँ बनाइए पनि त्यहाँ प्रयोग गरिएका थाम उही, निदाल, दलिन र मुसीहरू उही, काठको भर्याङ उही, ढिकी र जाँतो अनि पूरै घरको स्वरूप नै उही भएकाले त्यस घरसँग हाम्रो भावनात्मक साइनो पनि उही भएर प्रगाढ भयो। म बाल्यकालको संस्मरणमा हराएँ।
उक्त घरका हालका मालिक चौतारे काहिँला श्रेष्ठ हाल काठमाडौँतिरै बस्ने भएकाले घरको रेखदेखको जिम्मा पाएका हरि श्रेष्ठ, हस्त श्रेष्ठलगायत वीरबहादुर कार्की र नरबहादुर श्रेष्ठहरूले हामीलाई खानपिन तथा अन्य व्यवस्थापनमा सहजता थपिदिनुभयो। अन्य गाउँले महिला दिदीबहिनीहरूले दाउराको व्यवस्था अनि सरसफाइ आदिमा साथ दिएर हामीप्रतिको सद्भावको परिचय दिनुभयो। त्यही आँगन, त्यही तुलसीको मठ, जहाँ हाम्रा पुर्खाहरूले आफ्नो पहिलो पाइला राखे र अन्तिम सास लिए, त्यो ठाउँबाहेक भनी राजीनामा पास गरिदिइएको हुनाले आफ्नै स्वामित्वमा रहेको तुलसीको मठ क्षेत्रमा पुर्खाहरूको मुक्तिको कामना गर्दै सत्यनारायणको पूजा लगायौँ। पुरेतको व्यवस्था चेतनाथ हजुरबा र उहाँका ज्येष्ठ सुपुत्र खेम काकाले गरिदिनुभएको थियो– डाँडाघरे ढुण्डिराज नेपाल। पूजापछि त्यहीँ खाना पकाएर सबैले खायौँ र हामी गाउँ घुम्यौँ।
गाउँ त घुम्यौँ, तर मोटरबाटोले विस्थापित गरेका हामीले पहिले हिँडेका ती गोरेटाहरू, काली र माझी आँपका बोट भएका स्थान, ती खुला र घमाइला ठूलो पाटो र सानो पाटो, जो अहिले जङ्गलको रूप धारण गरेर नौलिएका थिए, अनि पँधेरा जाने बाटो, पिपलडाँडा र अस्तित्वको लडाइँमा बिरानिएको पँधेराको तिर्तिरे धारो, पाउँदुरे पाखो, भिउसिने चौतारो, सानो चौतारो, पिपलडाँडो, गौँथले ओढार अनि खेतको रूप धारण गरेर बिरानिएको टारबारी, घरमास्तिरको तेर्सो गोरेटो, कुलपूजा गर्ने थान आदि सबैले रूप र आकार परिवर्तन गरेर मसँग लुकामारी खेलिरहेका थिए। मैले संस्मरणलाई जगाएर ती सबैलाई क्रमशः ढ्याप्पा मार्दै गएँ।
सायद ‘मलाई किन छोडेर हिँडिस्?’ भनेर मेरो जन्मस्थलले मप्रति चित्त दुखाएको थियो कि! आफूले बाल्यकाल बिताएका ती बारी, कान्ला, बाटा, गोरेटा, गल्ली, पँधेरा र चौताराहरू रहरका गहना नकिनिदिँदा श्रीमतीजी ठुस्किएजस्तै गरी मसँग ठुस्किएझैँ, रिसाएझैँ र बिरानिएझैँ लाग्यो। यसरी आफू जन्मिएकै माटो र बाटो आफूसँग बिरानिएको देखेर म खिन्न भएँ। काठमाडौँबाट बोकेर गएको हौसला चिसियो र मनमा कताकता बिरानोपन मिसियो। तथापि आफैँले जन्मस्थल छोडेर हिँडेको हुँदा यसलाई अन्यथा लिने कुरै भएन।
पँधेरा जाँदा बाटोमा पर्ने पिपलडाँडो पनि नाङ्गिएछ, बिचरा! त्यहीँ उभिएर पारिपट्टि छर्लङ्ग देखिने जुँडी महादेवस्थानको तस्बिर आफ्नो आइफोन सेभेन प्रोको क्यामेराले जुम गरेर लिएँ। पहिलेको अनकण्टार पाखोमा गुफा वरिपरि बाराबेरासहित बाटो र खुड्किलाहरू निर्माण गरिएछन् अनि गुफाको मुखमा रहेको आँगन नीलो जस्ताले सजिसजाउ पारिएछ। हाम्रै घरको आँगनबाट देखिने हजारमुरे हौंचुर बेँसी अहिले पनि त्यस भेकको धान भण्डारको पहिचान बोकेर बाँचिरहेको देखिन्थ्यो। त्यही बेँसीको बीच भागमा उभिएको चुच्चेढुङ्गो उस्तै गरी ठडिइरहेको देखिन्थ्यो भने घिमिरेका बुढा थानी आफ्नो अस्तित्व देखाउँदै थिए।
तल रावा खोलाले पनि सायद हामी त्यहाँ पुगेको थाहा पाएछ क्यारे! खुसीले स्वाँ… ठूलो-ठूलो स्वर गरेर हामीलाई सुनाउँदै सुसाइरहेको थियो। तल देखिने भुतिया, जहाँ ठूली एकादशीमा मेला लाग्थ्यो र रावा खोलामा फूल तारिन्थ्यो, त्यो देखेर मेलामा हाक्पारेमा घन्किएको मादलको घिन्ताङ–घिन्ताङ मेरो कानमा गुञ्जिएझैँ लाग्यो। रावा खोलाभन्दा पारिपट्टि देखिने च्यान्टार, चिनेस्वाँरा, दुबेकोल, डुम्रे, पातेल, माक्पा, भदौरे, सम्झना आदि गाउँहरूले पनि हामीलाई चिनेजस्तै गरी हेरिरहेझैँ लाग्यो। मैले कक्षा सात अध्ययन गरेको पारि देखिने ऐँसेलुखर्कको हाटखोलाको डिलले आँखा झिम्क्याउँदै मेरो पुरानो मित्रता सम्झाइरहेको थियो। साँच्चै, बाल्यकालसँग जोडिएको क्षण कति हार्दिक हुँदो रहेछ! संस्मरणको जहाज चढेर म उही २०२७-२८ सालतिर पुगें।
पण्डित हजुरबाको घर, गल्लीमुनि हजुरबाको घर, पशुपति हजुरबाको घरको मतान, बिदुर काकाको घर अनि टाराली काकाहरूको घर भने आफ्नो पुरानै अस्तित्व बोकेर उभिइरहेका रहेछन्। घरघरमा पानीका धारा, बिजुलीबत्ती र गाउँगाउँमा कच्ची भए पनि मोटरबाटोले परिवर्तनको सन्देश दिइरहेका थिए। तथापि मेरो मानसपटलमा राज गरेर बसेको त्यो पुरानो हौंचुरको संस्मरण भने त्यस परिवर्तनले विस्थापित गर्न सकेन। बरु बिरानोपनको आभास दिइरह्यो। अलि पर रहेका दर्जी गाउँ र विश्वकर्मा गाउँतिर जान भ्याइएन र त्यहाँको परिवर्तन हेर्न पाइएन। कार्की गाउँ भने केही नयाँ परिवर्तनका बाबजुद पनि झन्डै उस्तै देखियो।
संयोगले हामी वैशाखे बुद्ध पूर्णिमाका दिन हौंचुर पुगेका थियौँ। हाम्रा कुलका नयाँ धामी चेतनाथ हजुरबाले ‘आज साँझ यहीँ बसौँ, म कुलायन बोलाउँछु’ भन्नुभएको थियो। तर त्यस दिन त्यहीँ बस्ने हाम्रो टोलीका केही सदस्यहरूको योजनामा विवाद उत्पन्न हुनाले हामी त्यही दिन हलेसीतर्फ प्रस्थान गर्न बाध्य भयौँ। नमज्जा लाग्यो। धेरै जनाका धेरै विचारलाई सम्बोधन गर्न करै लाग्यो। हौंचुर घुम्ने धोको पूरा भएन। हामी त्यस दिन त्यहीँ बस्ने भनेपछि स्थानीय पुराना इष्टमित्रहरू ज्यादै खुसी र उत्साहित हुनुभएको थियो। फर्किने बेलामा चेतनाथका कान्छा छोरा उत्तरकुमारको मोटरबाटोसँगै जोडिएको नयाँ घरमा मज्जाले मोही र घरमै पाकेका केरा खाएर हामी फर्किने तयारी गर्दै थियौँ। उहाँको सानो छोरालाई समेत हामी सोही दिन फर्किने कुराले चित्त दुखेछ र उनी ठुस्किँदै भन्दै थिए, “आजै आउने, आजै जाने रे!” वास्तवमा कति निश्छल हुँदो रहेछ गाउँले मन र संस्कार भन्ने कुरा ती बालकको त्यस अभिव्यक्तिबाट देखिन्थ्यो।
हाम्रो गाडी हामीलाई बोकेर उकालो लाग्यो। दर्जी गाउँभन्दा माथिबाट घुम्दै हामी कार्की गाउँमा पुगेपछि रावाबेँसी गाउँपालिका वडा नं. ६ को कार्यालय तथा स्वास्थ्य चौकीको साइनबोर्डले हामीलाई गाडी रोकेर एक-एकवटा तस्बिर खिच्ने प्रेरणा दियो र हामी गाडीबाट ओर्लियौँ। केही तस्बिर लियौँ। वडाध्यक्ष चिरञ्जीवी कार्कीका भाइ र उहाँका पिता गजेन्द्र कार्कीले हामीलाई सात सालमा काङ्ग्रेसी सेनाले दाह्री कार्कीको घर घेरेर मार्न लाग्दा घरको बुइँगलको झ्यालबाट हातमा खुकुरी लिएर ‘यसै मर्ने, उसै मर्ने, बरु दुई-चार जनालाई मारेरै मर्छु’ भनी अदम्य साहसका साथ मखमले कार्की हाम्फालेको ऐतिहासिक घरको अवलोकन मात्र गराउनुभएन, सँगसँगै तस्बिर पनि खिच्यौँ।
उहाँहरूले आज यतै बसेर मात्र फर्किनुपर्छ भनी गर्नुभएको सहृदयी आग्रहलाई पनि हामीले स्वीकार गर्न नसकेकोमा मनमा खिन्नता महसुस भयो। उहाँहरूको सहृदयता र आत्मीयताले हामीलाई धन्य बनायो। पोखरी, राइसिङ्गे, जालपा हुँदै नवनिर्माण भइरहेको फराकिलो बाटोबाट हुर्लुङ पुगेर हामी दिक्तेल–हलेसीको ठूलो पक्की राजमार्गमा मिसियौँ। त्यहाँबाट नुनथला, अर्खौले हुँदै हामी साँझमा हलेसी पुगेर बास बस्यौँ। साँझ हलेसी महादेवस्थानको आरती अवलोकन गर्यौँ अनि बिहान हलेसी महादेवको दर्शन गर्यौँ।
“हे भोले! निस्क, अब निस्क। हामी आयौँ त; कति लुकेर बस्छौ गुफाभित्र? अब त बाहिर निस्क!” भन्दै हातमा पूजाका सामग्री लिएर हलेसीस्थानमा उद्धव भाइ चिच्याएको देखेर सबै दर्शनार्थीहरू हाँसिरहेका थिए। दर्शनपछि सोझै विराटनगर जाने टोली हतारहतार हामीसँग छुट्टियो। हामी बाँकी केही सदस्य भने हलेसी मन्दिर (गुफा) को पछिल्तिर तल रहेको अर्को गुफातर्फ ओरालो लाग्यौँ। हलेसी बौद्ध र हिन्दू धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ। दुवै धर्मका हिसाबले यस स्थानको आ-आफ्नै परिचय र परिभाषा रहेको पाइन्छ।
बौद्ध धर्मावलम्बीका अनुसार यो गुफा आठौँ शताब्दीमा गुरु पद्मसम्भवद्वारा पत्ता लगाइएको मानिन्छ भने हिन्दू धर्मका अनुसार महादेवले तपस्यारत भष्मासुर राक्षसलाई ‘जसको शिरमा हात राख्यो, ऊ भष्म हुने’ भनी आफैँले दिएको वरदान भष्मासुरले महादेवमाथि नै परीक्षण गर्न खोज्दा उनलाई लखेटेको थियो। त्यसपछि महादेव पहरो फोरी लुक्न गएको पवित्र स्थान भएकाले यसलाई तीर्थस्थल मानिन्छ। त्यसैगरी पछिल्तिरको गुफाको नामकरण बौद्धगुरु पद्मसम्भव र उनकी शिष्या मन्दारवाले आयुसिद्धि प्राप्त गरी मरणको अन्त्य वा समाप्ति गरेको कारण संस्कृत भाषामा यस गुफाको नाम मरातिक गुफा रहेको उल्लेख छ।
हामी गुफा अवलोकनपछि होटलमा पुग्दासम्म पनि विराटनगरको टोली गाडी पर्खिएर पो बसिरहेका रहेछन्! हलेसीबाटै हाम्रो टोलीका सात सदस्य लीलाहरि, उद्धव, सुनिता (क), नर्वदा, डेनिसा, योजना र आयोजना सोझै इटहरी जाने गाडीमा चढे। हामी बाँकी २० जना भने उही रिजर्भ गाडीमा चढेर काठमाडौँ फर्कियौँ। फर्किंदा पनि हर्कपुरको उही होटलमा माछाको झोलको नाममा गोलभेँडाको झोलसँग भात खाएर सुनकोसीको पुलमा केही तस्बिर मोबाइलमा कैद गर्दै घुर्मी हुँदै अगाडि बढ्यौँ। फर्किंदा पनि गाडीमा हामीले भव्य साङ्गीतिक माहोल जमायौँ।
समग्रमा ज्यादै ऐतिहासिक र रोमाञ्चकारी भ्रमण समाप्त गरी हामी वैशाख २३ गते साँझ सात बजे भक्तपुरको कौशलटार आइपुग्यौँ। धेरै वर्षदेखिको हाम्रो धोको पूरा भयो। पुर्ख्यौली र जन्मथलोसँगको पुरानो नाता नवीकरण गर्न पाइयो।
