सुन ए समुद्र

लमतन्न
फैलिएको ए विशाल समुद्र !
पानीको प्रहार पनि
कति कठोर हुन्छ हगि कहिलेकाहीँ ?
तिमी
छालहरूलाई सुस्तरी पठाउनू त्यहाँ,
जहाँ मेरी उनी निर्भय सुतेकी छन् तिम्रो काखमा ।
चन्द्रमा
र आकाशको साँधजस्तै
तिम्रा तरङ्ग र बालुवाको साँधमा
सिरानी हालेर आफ्नै हत्केलाको
रति र परीझैँ भएर सुतेकी कसैलाई देख्यौ भने,
ती मेरी प्रिया हुन् ।
त्यसैले बरु पठाउनू कोमल तरङ्ग,
छालका मृदुस्पर्शले अलिकति लगाऊन् काउकुती ।
तिमी
नील छौ,
आकाश नील छ,
मेरी उनी पनि
नीलिमामय वस्त्रमा
फुलाएर मनमा सुकुमार फूलहरू,
आँखा बिछ्याएर शून्यमा
हेरिरहेकी छन् मलाई दूरदेशबाट ।
सुन ए समुद्र !
मेरी उनीसम्म पुग्नु छ ।
बनाइदेऊ न मलाई पनि
तिम्रा जस्तै छालहरू ।
