म स्त्री अर्थात् आइमाई
स्त्रीत्वले स्नान गर्दै
प्रत्येक मास नव-अवतार जन्मन्छु
आफ्नै शरीरबाट।
पाठेघरभित्र खेलिरहेको कलिलो स्वर सुनेपछि
धरतीका ओठहरूबाट निस्कन्छ मौन तरङ्ग
त्यही तरङ्गले ब्यूँझिएको भुइँ छोएर मुस्कुराउँछु
पोखरीभित्र पूर्णिमाको जून मुस्कुराएझैँ।
बीसवटा हड्डी एकसाथ भाँचे बराबरको
व्याख्यातीत प्रसूति पीडाशक्तिबाट
निस्कने स्त्रीशक्तिले
उचालेर अलिकति धरा
आफ्नै गर्भबाट जन्माएर आफैँलाई
भर्छु मुटुका कुनाकुना।
मेरै शरीरभित्र खोपिएको छ सृष्टि कोरिँदै आएको बाटो पनि
मभित्रै फैलिएको छ सृष्टिमै फर्की जानुपर्ने गन्तव्य पनि
मेरै गर्भभित्र छ जीवात्माको कल्पकल्प गर्भ पनि
यही भ्रूण हुर्काउनका खातिर
स्तनभित्र साँचेकै छु स्नेहका अमृत तलाउ।
यस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकी
जुम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतना
विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर।
समुद्रतिर नदीनाला बगेझैँ
बगिरहेका छन् मेरा रगतका नदीनाला सृष्टिको उकालैउकालो
मेरो हृदयको भित्री कुनामा कतै फैलिएको छ यो ब्रह्माण्ड
र, म सुनाइरहेछु
प्रेमका अजस्र गानहरू आत्मालाई सधैँसधैँ।
यस सृष्टिको भ्रूण म
कालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँ
आगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँ
सीतालाई पनि डढाउन नसकेको अग्निबीज
निलिरहेकी छु बालकले दूध पिएझैँ।
आदिपुर्खाहरूले गुफामा खोपेका चित्रजस्ता
अवर्णित आफ्नै आदिम स्वरूपले सिँगारिएर
महादेवको गलाको नागझैँ लगाएकै छु अग्नि-माला।
तरबारै-तरबारले सुसज्जित
सिस्नाको चम्मर हल्लिइरहेको यस युगको
मूलद्वारमा उभिएर भन्दै छु-
टाङ हेरेर गर्भमै नमार मलाई।
यो भुइँमा टेक्न मात्र देऊ!
मेरा दुई छातीको केन्द्रबाट जन्मन सक्छ अर्को ब्रह्माण्ड
अँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ!
यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडाले
हिँड्दै-हिँड्दै आउन सक्छ जवान युग!
म स्त्री अर्थात् आइमाई
अनेकौँ प्रेमावतारको अप्रतिम अवतार हुँ म
अब रच्नुछ एउटा अलौकिक सभ्यता।
प्रेमले ललकारिएको ब्रह्मा रूप धारण गराएर
स्नेहबोधका खातिर, केवल एकपटक
यही जुनीमा, स्त्री नै भएर जन्मनुछ पुरुष-गर्भबाट।
कविबारे
सीमा आभासको वि.सं. २०७३ मा प्रकाशित कविता सङ्ग्रह ‘म स्त्री अर्थात् आइमाई’ बाट लेखकको अनुमतिमा यो कविता पुनःप्रकाशित गरिएको हो।
‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रहमा ‘योगमायाको काँचो वायु’ लगायत विभिन्न शीर्षकका ३८ वटा कविता समेटिएका छन्। सीमाको यसअघि वि.सं. २०६३ मा ‘साँझको सङ्घारबाट’ कविता सङ्ग्रह र वि.सं. २०६६ मा ‘टापुका स्वरहरू’ कथासङ्ग्रह प्रकाशित भएका छन्।
कवि आभासको कविता सङ्ग्रह ‘म स्त्री अर्थात् आइमाई’ ले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं. २०७४ को खेमलाल प्रतिभा पुरस्कार प्राप्त गरेको थियो।
आभासको पछिल्लो चर्चित उपन्यास ‘महायुग’ हो। वि.सं. २०८२ का लागि प्रदान गरिएका नेपाली साहित्यका प्रतिष्ठित पुरस्कार मदन पुरस्कार, पद्मश्री साहित्य पुरस्कार र कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट कृति सूचीमा परेको यस उपन्यासले भने तीमध्ये कुनै पनि पुरस्कार प्राप्त गर्न सकेन।
स्मरणीय के छ भने सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रह पनि वि.सं. २०७४ को मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट कृतिको सूचीमा परेको थियो। तर, उक्त कृतिले पुरस्कार प्राप्त गर्न सकेन।
स्त्रीको विद्रोही चेतनालाई कथा, कविता र उपन्यासमार्फत मुखरित गर्ने सीमा आभास समकालीन नेपाली साहित्यकी चर्चित लेखिका हुन्।
सम्बन्धित कविता: योगमायाको काँचो वायु

