हिन्दी सिनेमाको जिरो किङ्ग शाहरुख खान !
|मैले सन् २०१८ को सेप्टेम्बरमा एउटा पोष्ट गरेको थिएँ फेसबुकमा “शाहरुख खान कि ऐसी कि तैसी” । त्यस पोष्टको अन्तिम वाक्य यस्तो थियो -“यस्तोमा यस बर्ष आउने फिल्म जिरो, आँफै मपाईं भै किङ्ग भनेको/लेखेको मन पराउन चाहने यस शाहरुख चाउरेको फिल्म अलिकति यताउती भयो र चलेन भने किङ्ग हैन जिरो खान कहलाउने छ”…ठ्याक्कै त्यस्तै भयो।
जिरो, यो फिल्म पूर्णरुपमा जिरो भयो बक्स अफिसमा। उसको फिल्म फ्लप मात्र हैन, नराम्रोमा नै गणना भयो । हुन त शाहरुखको जिरो मात्र नराम्रो मानिएको होइन,सलमानको “रेस ३” र आमिर खानको “ठगस् अफ हिन्दुस्थान” को अवस्था पनि उस्तै भयो । र गजब के छ भने तेती नराम्रो भएर पनि सलमानको “रेस ३” ले १७० करोड कमायो, आमिर खानको “ठगस् अफ हिन्दुस्थान” ले १४६ करोड कमायो तर “जीरो” ले ९७ करोड मात्र कमायो। “जीरो” नराम्रोहरूमा पनि नम्बर एक !!
शाहरुखको जिरो तर्फको यात्रा त्यसैबेलादेखि सुरु भैसकेको थियो जब उनका दुईचारवटा फिल्म खूब चले (डर, बाजीगर, करण-अर्जुन, दिलवाले दुल्हनिया ले जाएंगे). यी फिल्महरु चलेको लगत्तैपछि र अझ त्यहि समय आसपास उनका केही अन्तर्वार्ता आए र प्राय:जसो सबै अन्तर्वार्तामा भनेका थिए-म दुनियामा दुईवटा किङ्गलाई मात्र चिन्छु, कि चंगेज खान कि शाहरुख खान।
शाहरुख खानले आफ्नो लागि आँफैले खाल्डो खन्न सुरु गरेको यो नै प्रारम्भ थियो। उनले बिभिन्न मंचमा चंगेज खान,आफ्नो कुरा र किङ्ग शब्दलाई धेरैपल्ट दोहोर्याए ।
संचारकर्मीहरुलाई हेडलाइन हुने खालका समाचार चाहिने र शाहरुखलाई आफ्नो प्रचार चाहिने। दुबैको कुरा मिल्यो। उनी त्यसबेला धपधप बलिरहेको सूर्य थिए भारतीय सिनेमा जगतको। संचारकर्मीहरुले इशारा बुझे र किङ्ग खान भन्न र लेख्न सुरु गरे। भारतीय सिनेमा जगतलाई राम्ररी नियाल्ने हो भने शाहरुख मात्र एउटा यस्तो कलाकार हुन् जो आंफैले आंफैलाई किङ्ग र अरुले पनि किङ्गभनुन भन्ने चाहना राख्छन् ।
अरुको कुरा गर्ने हो भने सबै नै संचारकर्मी (मिडिया) वा आम मानिसले दिएको अलंकार हो, उदाहरणको रुपमा, दिलिपकुमार – ट्रेजेडी किङ्ग, देवदास, अभिनय सम्राट,देव आनन्द सदाबहार,राजेन्द्र कुमार,जुबली कुमार,राज कपुर आदिलाई शो मेन, मनोज कुमार मि. भारत,राजेश खन्ना सुपरस्टार (पहिलो पल्ट कुनै भारतीय कलाकारलाई दिईएको उपमा),धर्मेन्द्र हि मेन,अमिताभ बच्चन यंग्री योङ्ग मेन, शहंशाह सरकार,आमिर खान मि. पर्फेक्सनिस्ट,सलमान खान दबंग,सुल्तान टाईगर,ऋतिक रोशन ग्रीक गड,हेमा मालिनी ड्रीम गर्ल, कंगना रनावत क्विन अफ बलिवूड यस्तै यस्तै । यस सुचिमा जबपछि आएर शाहरुखको “बाद्शाह” भन्ने फिल्म ठीकठाक चल्यो उनलाई “बादशाह” भनिन थालियो, र यो नै सहि अर्थमा संचारकर्मीहरुले नै दिएको उपमा हो। र अहिले आएर थपिएको नयाँ नाम रणवीर सिंह हो जसलाई इन्डिया टुडेले यो उपमा दियो – THE ULTIMATE SHOWMAN ।
केहि बर्ष अगाडी अनलाइनमा कतै मैले पढेको थिएं शाहरुखले आमिर खानसंग एउटा छलफल गरे ।छलफलको बिषय थियो संचारकर्मीहरुलाई कसरी आफ्नो हितमा प्रयोग गर्ने। यदि संचारकर्मीहरु कलाकारहरुको बारेमा लेखेर समाचार बेच्छन र पैसा कमाउँछन भने कलाकारले पनि किन संचारकर्मीहरुको प्रयोग नगर्ने ! किन उनीहरुको प्रयोग आफ्नो प्रचारको लागि नगर्ने ? आमिर खानले यो कुरा गलत चैं हैन मात्र भने तर शाहरुख यतिमै टुंगिएनन्। उनले आफ्नो सोच र योजनामा गम्भीर थिए। त्यहि सोचको परिणामस्वरूप उनले निरन्तर चंगेज खान आफूलाई किङ्ग शब्दको प्रयोग गरिरहे । कुरा प्रष्ट थियो – उनलाई मिडियाले किङ्ग खान भन्न थालुन् र त्यहि भयो । त्यसबेलाको भारतीय सिनेमा जगतको धपधप बलिरहेको सूर्य थिए उनी । बलिरहेको सूर्यको ताप कसलाई मन पर्दैन ! मन पनि पर्छ र पोल्छ कि भन्ने डर पनि हुन्छ ।
नेपाली उखानमा “चन्द्रमा दाइना परे कसको के लाग्छ, जे चितायो त्यहि पुग्छ” भनेजस्तै भाग्य पनि त्यसताका शाहरुखका बलिया रहेछन। अरु कुनै कलाकारहरुको भन्दा उनक फिल्म तुलनात्मक रुपमा बेसी चले। अरुका फिल्म पनि चले नचलेको त हैनन् तर एउटा चल्ने अर्को नचल्ने गर्थ्यो। शाहरुखका फिल्महरु असफल कम सफल बेसी भए । यसो हुनुको अन्य प्रसस्त कारणहरू पनि थिए-
जुनबेला शाहरुख सिनेमा जगतमा आए ठिक त्यहीबेला यस चोपडाको छोरो आदित्य चोपडा, जावेदको छोरो फरहान अख्तर र यस जौहरको छोरो करण जौहर आफ्नो पढाई सिध्याएर आए र आफ्नो बाबुले चलाएको बिंडो थामे। भारतीय सिनेमा एक्सन फिल्मबाट अघाएर राजेश खन्ना युगको रेमान्सतिर पुन: उन्मुख हुँदै थियो। यसैबेलादेखि महिला हकहितले पनि राम्रो सम्मान पाउँदै थियो। धेरै भारतीयहरुले विदेशको भुमि टेक्ने चिन्ने अवसर पाएकोले मानिसहरुको सोचाइमा ठुलो आधुनिकता पसिसकेको थियो। आदित्य चोपडा र करण जौहरले फर्किदो रोमान्स, मौलाउँदै गरेको महिलावादी समाज अनि आधुनिक मानसिकता राम्रोसंग महशुस गरे र सोही चित्रण हुने किसिमका फिल्महरु बनाए । उनीहरुको फिल्ममा यसको छाप प्रसस्तै देखिन्छ र यिनीहरुको धेरैजसो फिल्ममा शाहरुखले अभिनय गर्ने मौका पाए ।
शाहरुख,आदित्य चोपडा,करण जौहर, फरहान अख्तरलगायतका यसै नयाँ शृंखलामा अरु दुईजना थपिए, फराह खान र संजय लीला भन्साली। यी सबै नयाँ निर्देशकहरुले धेरै कुरा नयाँ किसिमले हेरे र भारतीय सिनेमालाई केहि “कोशेढुंगा” सरहको सिनेमा दिए। यी प्राय:को सिनेमाको हिरो एउटा यस्तो व्यक्ति थियो जो हिरोइनलाई सकेसम्म सहयोग गर्छ हरेक कुरामा। एउटा राम्रो सहृदयी साथीको रुपमा ऊ हिरोइनको हरेक जसो क्रियाकलापमा संलग्न हुन्छ र दुखसुखमा साथ दिन्छ। आफ्नो इच्छाको वास्ता नगरी हिरोइनको विवाह अरुसंग हुन दिन समेत पछि हट्दैन बरु सहयोग नै गर्छ। हिरोइन प्रधान कहानी भैकन पनि हिरो प्रधान लाग्ने यो नयाँ सोच समाजलाई खुबै मन पर्यो, महिलाहरु त भुतुक्कै भए। दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, मोहब्बतें, कभी खुशी कभी गम, कल हो ना हो, मै हुं ना, परदेश, दिल तो पागल है, वीरजारा, ओम शान्ति ओम, आदि केहि उदाहण हुन्।
हाम्रो समाजमा महिलाहरू जो कहीं पनि जाँदा एक्लै जाँदैनन्, उनीहरुको एउटा समुह हुन्छ जहिले पनि। शाहरुखको फिल्ममा महिला लोभ्याउने प्रशस्त प्रसंग हुने भएकाले महिलाको त्यस समुहले धेरै ठुलो भूमिका निर्वाह गर्यो फिल्म सफल गराउन। महिला भएको ठाउँमा पुरुष पनि छेउछाउ हुन रुचाउँछन्, यस्ता पुरुषहरुले पनि निकै ठुलो योगदान पुर्याए शाहरुखको फिल्मको सफलतामा।
एउटा त्यो जमाना पनि थियो जब शाहरुख आजको रणवीर सिंह जस्तै सबैलाई रिझाउने, खुशी पार्ने अवस्थामा थिए, सिनेमा जगतभन्दा बाहिरको व्यक्ति थिएनर काम खोज्दै हिंड्नु पर्ने अवस्थामा थियो । यसै भएर उनले आदित्य चोपडा र करण जौहरलाई राम्रोसँग रिझाएर यस चोपडाको “यशराज फिल्म्स” र करण जौहरको धर्मा प्रडक्सनमा गतिलो प्रवेश पाए । यशराज फिल्म्स र धर्माले पछी शाहरुखको जीवनमा अधिकतम सफल फिल्म दिए। यस्तोमा फरहान अख्तर, संजय लीला भन्सालीको साथले सुनमा सुगन्धको काम गर्यो। त्यसताकाको सिनेमा जगतको वातावरण पनि सबै किसिमले उसको अनुकुल भैदिएको थियो मानों चन्द्रमा दाइना !
अमिताभ आफ्नो कम्पनीको असफलताले ऋणमा चुर्लुम्म डुबे र त्यसमाथि उनको उमेर सुहाउँदो कुनै फिल्म थिएन । आमिर खान आफ्नो केहि अडानको कारणले सिनेमा जगतबाट निकै टाडिए (हैन भने डर, बाजीगर र दिलवाले दुल्हनिया ले जाएंगे सुरुमा आमिर खानलाई प्रस्ताव गरिएको थियो) । सलमान खानको बजार जमिसकेको थिएन, संजय दत्त साथी भनेपछि हुरुक्कै हुने र “नाई” भन्न नसक्ने स्वभाव भएकोले कतिपय बेकारका फिल्महरु खेलेर आफ्नो आकाशिएको लोकप्रियता गुमाउँदो अवस्थामा थिए । अनिल कपुर उकालो लागिवरी ओरालो लाग्दो थिए भने ऋषि कपूर ५० काटिसकेकोले रोमान्सका लागि फिट नहुने अवस्थामा पुगिसकेका थिए । अक्षय कुमार त्यसताका पैसा कमाउने अभियानमा भएकोले राम्रो-नराम्रोसँग मतलब राख्दैन थिए र जस्तो पायो त्यस्तो फिल्म साइन गर्दै स्टन्ट र एक्सन फिल्ममा देखा परे । सन्नी देओल निकै सशक्त भए पनि फिल्म जगतको राजनीतिसँग तालमेल राख्न असमर्थ भएकाले विस्तारै पछाडि सरे । दिलिप कुमार,राज कुमार,जितेन्द्र,धर्मेन्द्र,मिथुन चक्रवर्ती,राजेश खन्ना, विनोद खन्ना सबै नै बुढाको श्रेणीमा परेका थिए ।
शाहरुखको लागि यो एउटा निकै राम्रो वातावरण थियो। निकै चतुर र वाकपटु मान्छे ठीकठाक देखिन्छ,काम ठीकसँग गर्न जानेको छ,जे गर्छ सुहाउँदो हुनेगरि गर्न निपुण छ, व्यवसाय गर्न जान्दछ । मान्छेलाई रिझाएर राख्छ। त्यसबेलाका निर्माता र निर्देशकको लागि योभन्दा राम्रो विकल्प अरु के चाहियो ? उनीहरुले आँखा चिम्लिएर शाहरुखमाथि लगानी गरे र केही अत्यन्त सफल फिल्महरुको निर्माण पनि गरे ।
तर शाहरुखको एउटा महत्वकाँक्षा कसैले पनि थाहा पाएका थिएनन्। मजाकमा भनिएको होस वा प्रचारको लालसामा भनिएको होस,आँफूलाई नै किङ्ग भन्न र लेख्न चाहने मात्र हैन उनले त्यही ठाने । आगोमा घ्युको काम उनैला सफल फिल्महरु र साथी कलाकारका असफल फिल्महरुले पनि प्रसस्तै गर्यो । क्रमश: साथी कलाकारहरुलाई होच्याउने किसिमको कुरा र व्यवहार गर्न , ठट्टाको बहानामा साथीहरुलाई अपमानित गर्न र ठूला कलाकारको इज्जत गर्न छाडे। यहि भएर उनीसँग विस्तारै प्राय:जसो कलाकार टाढिन थाले। १-२ बर्ष अगाडिको समय फर्केर हेर्ने हो भने सबै कुरा प्रस्ट हुन्छ, उनको प्राय: कसैसँग पनि राम्रो सम्बन्ध थिएन, अमिताभ बच्चन, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, सन्नी देओल, हृतिक रोशन, करण जौहर, आदित्य चोपडा, जुही चावला, फराह खान, रोहित शेट्टी.…सुचि निकै लामो छ।
आदित्य चोपडा र करण जौहरसँग उनको कुरा बिग्रिन सुरु भयो तब जब उनले आफ्नो कम्पनी रेड चिल्ली को स्थापना गरे । त्यस अन्तर्गत फिल्महरुमा लगानी गर्नर चोपडा तथा जौहरसंग टाडा रहन थाले । उनलाई लाग्यो चोपडा र जौहर बिना पनि काम चल्छ। फराह खानको श्रीमान सिरिश कुंदरलाई उनले गालामा थप्पड हाने । यति हुँदाहुँदै पनि उनीहरुको १-२ वटा फिल्ममा काम गर्न सफल किन भए भने व्यवसाय भनेको व्यवसाय हो, दुश्मनीको कारणले व्यवसाय खतम पार्नु हुँदैन भन्ने कुरा चोपडा, फराह र जौहरभन्दा बेसी कसले बुझेको होला र ?
शाहरुखको सोच भनेको उनी राजेश खन्ना र ऋषि कपूरभन्दा रोमान्टिक हिरो, दिलिपकुमारभन्दा ट्रयाजेडी किङ्ग,अमिताभ बच्चनभन्दा एङ्ग्री योङ्ग मेन र खँदिलो आवाज आफ्नो छ । हृतिक रोशन,अजय देवगन,सन्नी देओल र सलमान खान वा माइकल ज्याक्सनकोभन्दा पनि आफ्ना धेरै फ्यान छन् ।
यस चोपडाले दिलवाली दुल्हनिया ले जाएंगे, दिल तो पागल है र वीरजारा बनाए ।यी फिल्म धुमधाम चलेकाले शाहरुखले आफूलाई राजेश खन्नाभन्दा माथि देखे । संजय लीला भन्सालीको ‘देवदास’ राम्रो चल्यो उनले आफूलाई दिलिप कुमार नै ठाने । डन र कौन बनेगा करोडपतिमा काम गरेपछि अमिताभ बच्चन,
ओम शान्ति पछि ऋषि कपूर ।
अमिताभ वा अन्य अग्रजहरुको इर्श्याका कारण नै शाहरुखका प्राय:साथी कलाकारसङ्ग राम्रो सम्बन्ध छैन । शाहरुख यदि स-सक्त र प्रिय अभिनेता हुन् भने खै त अहिलेसम्म राष्ट्रिय पुरस्कार (नेसनल अवार्ड) जिते ? खासमा भन्ने हो भने भारतीय सिनेमाको २० सर्वोपरि विश्वव्यापार गर्ने सिनेमाको व्यवसायलाई राम्ररी नियाल्ने हो भने शाहरुखको अवस्था अत्यत दयनीय छ । उसको स्थान ११ औं बाट मात्र सुरु हुन्छ ।