गज़ल
|
सुखसयलहरू कहानी भए
रहर जति सबै खरानी भए
उकुसमुकुसले डसे सर्वदा
सुमधुर सपना चलानी भए
नियमित शर हानियो देहमा
दलिल नियतिका किटानी भए
सरल,सुजन टाक्सिए हर्दमै
कलुषित दिलका जमानी भए
ढलपल छ कुभावले मानव
तब फजुल कुरा उठानी भए
विकसित नहुँदै झरे पालुवा
विकल, विरत बागवानी भए
दिनदिन चुलिँदै गए वेदना
सहन कठिन घामपानी भए
पलपल कम भैसक्यो चेतना
हर कदम असावधानी भए
चहकमहक सिद्धियो वागको
चमकरहित फूलदानी भए
जिउन सहज छैन संसारमा
छल र कपटका जिन्दगानी भए
मन्दाकिनी छन्द
गण:- न न र र
III III SIS SIS
७ अक्षरमा विश्राम
twitter : @KomalBhatta
komalpbhatta@yahoo.com