मी टु

हाम्रो परम्परा र संस्कृतिको कुरुप पर्याय
असमानता, हिंसा, बलत्कार, हत्या, आत्महत्या
उफ ! कति पीडादायी रु
अति भो अव त
अहँ ! अब म सुन्न र सहन सक्दिन ।

विगतलाई सम्झँदा अत्यास लाग्छ
अहो ! अतितका ति छटपटाहट !!
ति बिभत्स भोगाइ अनि अव्यक्त पीडाहरु
जसले मेरो तन र मनलाई
क्षतविक्षत बनाइदिए
उत्साह, साहस र आत्मविश्वासलाई
जरैसङ्ग उखलेर फालिदिए
गणित ट्युसन
काका
यौन हिंसा र त्रास
यस्तै साधारण तर कपटताभित्र रुमल्लिएका
मेरा बिभत्स भोगाइ र अव्यक्त पीडाहरु ।

कसैसँग भन्न पनि नसकिने
समाज र परिवारको इज्जतको जिम्मेदारी
मेरो कमजोर काँध
मरिसकेको आत्मविश्वास
म छोरी
मेरो चरीत्र नै कुलको इज्जत
पुस्तौं पुस्तादेखि चलिआएको
कम बोल्नु
धेरै सहनु भन्ने परम्परागत सिकाई
उफ ! कस्तो उकुसमुकुस त्यो ?

एक दिन,
हिम्मत जुटाएर अवरुद्ध स्वरमा भनें-
आमा म पटक(पटक लुटिएँ
गणित ट्युसन
काका
फोटो
मेरो गला अवरुद्ध सुँक्क सुँक्क
आमाका राता आँखा, क्रोधको हुँकार
तर क्षणिक, अनि स्तब्ध र शिथिल
कारुणिक भावको एकाहारो हेराइ
माया र सहानुभूतिको अङ्कमाल
चिच्चाहट
रुवाइ
आँशु
वेदना
अनि मुर्दा शान्ति
निकैबेरपछि आमाको कारुणिक अनुरोध
आईमाईको जात यस्तै हो नानी !
आइन्दा विचार पुर्याएस्
कसैलाई नभनेस्
वरवाद हुन्छ
ढोका ढ्याम्म
आमा बाहिर ।

पुनः गुञ्जियो उही ढोंगी निर्दयी आवाज
भाउजू सन्चै ?
छोरीलाई गणित पढाउन आ’को
आमाको रुखो जवाफ-
पर्दैन अबदेखि स्कुलमै पढ्छे ।
मनभरी थुप्रै जिज्ञासा र प्रश्नको ठेलमठेल
तर घटनाको गम्भीर्यताबाट अनभिज्ञ
म चुपचाप कोठामा रोइरहें-रोइरहें ।

क्रुर अतितलाई पैतालाले कुल्चेर
बदलाको आगो निभ्न नदिइ अगाडि बढें
दिन, महिना अनि वर्षहरु बिते
सफलता, प्रतिष्ठा, परिवार, समाज सबै थियो
तर मनमा चैन र शान्ति थिएन
पीडादायी अतित अनि आमालाई सम्झिएँ
विगतको परिस्थितिमा मेरी आमाको विवशता
आज सजिलै बुझ्न सक्छु म
उनलाई सामाजिक प्रतिष्ठा अनि मेरो भविष्यले
कति पिरोलेको हुँदो हो
आफ्नो मुटुको टुक्राको पीडा कम गर्न नसक्दा,
पिडकलाई सँधै आफ्नो अगाडि झेलिरहनु पर्दा
कति ग्लानी अनि भाउन्न हुँदो हो
ए निर्दयी समाज, महिला हुनुको
यो कस्तो बिडम्वना ?! कस्तो बाध्यता ?!

आमाको कसैलाई नभन्ने त्यो निर्णय
गलत थियो या सही
थाहा छैन
हरहालमा पुरुषलाई चोख्याउने
चरम विभेदी पितृसत्तात्मक समाजमा
मैले कलङ्कको दाग बोकेर
परिवार र समाजको बोझ त बन्नु परेन
तर सायद सही थिएन
किनकी
त्यस बखतदेखि आजसम्म
मानसिक रुपमा पलपल मरिरहेको छु
प्रतिसोधको आगोमा दनदनी जलिरहेको छु
के गरौं, कसो गरौं, कसलाई भनौं
डाह र छटपटीमा पागल भईरहेको छु ।

हो, साँच्चै नै त्यो निर्णय सही थिएन
त्यहि मौनताले पिडकहरुको उत्साह बढाइरहयो
बलत्कार, मेलमिलाप, गर्भ, एवोर्सन, आत्महत्या आदि
विभत्स घटनाहरु घटीरहे, दोहोरीरहे
कुलको इज्जत र प्रतिष्ठाको नाममा
चुपचाप घटनाहरु दबाइरहे
अवोध निर्मलाहरु बली चढाइरहे
कुरुप र फोहोरी समाजमा
उल्टो प्रक्रिया चलिरहयो
जवकि पिडकलाई बलि चढाईनु पर्थ्यो ।

तर, आज समय फेरिएको छ
यो सशक्तिकरण
मी टु
सी टु
र ही टु को युग हो ।

समाजमा इज्जतको खोल ओढेर बसेका
अवोध र निमुखाहरुको शिकार गर्ने
नयाँ पुराना ब्वाँसाहरु हो
अबदेखि सावधान !
अव सशक्त आवाज-
मी टु
सी टु
ही टु
साङलोले बाँधेर
समाजका यी भाइरसहरुलाई
कानुनको कठघरामा पाता फर्काइनेछ
अतितमा मेरो मनमा लागेको आगो निभेको छैन अझै
बरु डढेलो बनेर दन्किरहेको छ
अब म चुप रहन्न
सबैले सुन्नुहोस-
फोहोरी समाजको शुद्धिकरणमा
सहयोग र साथ दिनुहोस
मी टु -मेरो अपराधी फलानो हो
सी टु ही टु- ऊसको अपराधी फलानो हो
मी टु
सी टु
ही टु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *