अघोरी बाबाको विपठन:राज्य र राउत सन्दर्भको

‘राज्य’ भन्छौ, राज्यको स्वरूप र शक्तिमा मुलुक छ कि छैन विश्लेषणको प्रसंग फेरि जुर्ला । अहिले मुलुक हल्लिएको छ । जब कमजोर हुन्छ हल्लिन्छ, स्वाभाविक हो ।

मानौं राज्य र राउत वीच सम्झौतामा, विधान भित्र अटाएर राजनीतिको मूल प्रवाहमा आउने भो । यो त खुशीको कुरा हो । छोरा छोरी विद्रोही हुन्छन्, घुर्क्याउँछन् या धम्क्याउँछन् भने तिनलाई कुनै हिसाबले घरैमा तान्नु पर्छ, फकाउनु पर्छ । बेवास्ता, निन्दा, तिरस्कार या उपेक्षा गर्यो भने त्यो पराईसँगै मिलेर उत्पात मचाउन पनि त सक्छ । राज्यले राउतलाई फर्कायो, उसको तुजुक र महत्व बुझ्यो,अँध्यारोबाट उज्यालोमा ल्यायो, अवसर प्रदान गर्यो उसलाई, अब उसले चाँहदा विचलित स्थितिमा पुगेको उद्धार जरे जस्तै सी के राउतले पनि यो मुलुकलाई अवश्य जोगाउन सक्छ । उसको क्षमता र दर्शनले संकल्पलाई साकार गर्न बल पुर्याउँछ, शुभकामना छ ।

राज्यको पक्षमा बोलौं, राज्यले विल्कुल सही कदम चाल्यो । राउत जस्तो हिम्मती र सुझबुझ भएको व्यक्तिलाई राष्ट्रको उत्थानका लागि जुट्न र योग पुर्याउन आव्हान गर्यो । राज्यले मौका दियो । राज्यको उदारता वन्दनीय छ ।

राउतलाई राजनितिको मूल धारमा ल्याउनुको आवश्यकता र औचित्यबारे धेरै कोणबाट मीमांसा हुन सक्छ । किन्तु यस घटनालाई युग–सन्दर्भमा विपठन गरेर बुझ्नु पर्छ कि भन्ने लाग्दछ ।

१. मुलुक लामो समयदेखि अराजक स्थितिबाट गुज्रदै छ । आर्थिक अनियमितता, राज्यदोहन, असुरक्षा, दण्डहीनता, घुसखोरी, माफिया तन्त्र, सीमा विचलन, दस्यु–नियन्त्रित विकास निर्माण र किनबेचमा छल र ठगीजस्ता हजारौं शीर्षकमा देखिने अपराधलाई नियन्त्रण र निर्मूल समाप्त पार्न सी के राउतजस्तो ओजस्वी, मनस्वी, दूरदर्शी र लौह पुरुषलाई भित्र्याएर राज्यले खुव तारीफ योग्य काम गर्यो भन्नै पर्छ ।

विभिन्न क्षेत्रमा फैलिएको बेथितिलाई निग्रह गर्ने क्षमता राज्यले राउतमा नै देख्यो । किनकि राज्यका कुनै संयन्त्र र वा व्यक्तिले देशभित्र फैलिएको बेइमानीलाई रोक्न सकेन र अब कानूनको दायरामा ल्याउने संकल्पले पनि राउतलाई राज्य शासनको अंग बनाउने सोच राखेर हाल नायक बनाइएको हो । सन्दर्भ प्रशंसनीय छ ।

२. विपठनको अर्को प्रसंग हो – सोपान निर्माण । अर्थात् कुनै व्यक्ति विशेषको सक्रियता र रुचिमा राउतको चयन यस अर्थमा गरिएको हो जसले उसकै बाटोबाट हिडेर राम्रो उचाइ छुनु पर्छ र कीर्तिमान कायम गर्नु पर्छ । यसका लागि रवीन्द्र अधिकारीको निधन पछि रिक्त हुन पुगेको सीटमा राउतलाई जिताउने र उपप्रधान मन्त्री बनाउने, ताकि अब आउने दिनमा क्षमताले प्रधानमन्त्री हुन सकोस र राष्ट्रपति नै कार्यकारी प्रमुख हुने अवस्थामा पनि ऊ त्यहाँ फीट देखियोस । यसो हेर्दा राउत यसमा काविल नै देखिन्छ । फेरि राउतलाई कसिंगरबाट टिपेर राजगद्धीको बाटोतर्फ उन्मुख गराउनेले खास समूह वर्ग वा भूगोलबाट वाह वाह नपाउला र ?

३. विपठनको तेस्रो प्रसंग हो खास क्षेत्रका राजनीतिक जीवले राज्यको गतिमा बारम्बार अवरोध उभ्याएका छन्, बखेडा गरेका छन् । अनेक वर्ग र बनोटमा बर्गीकृत देखिने, स्थानीय नागरिकलाई नयाँ नागरिकले त्यसै तेजोबध गरेको छ ।

राउतको उज्यालो उपस्थितिले ती समस्या र कालिमा निष्कर्षले हुने विश्वास लिन सकिन्छ किनभने राउत अंगीकृत नागरिक होइन, अपितु मूल निवासी हो । सिंहका अगाडि कैयौं स्याल दुलाभित्र पस्न पुग्छन् । कल्पना निराधार छैन । राउतलाई दिएको अवसर युगीन र सान्दर्भिक सिद्ध हुन्छ र उसको सुरक्षमा राज्यले विवेक पुर्याउनु पर्छ । त्यो ठूलो सम्पत्ति हो ।

४. विपठनको क्रममा अर्को कथा जोरौं – ब्राह्मण क्षेत्रीको एकाधिकार रहेको राज्य सत्तामा डा. सी के राउतजस्ता सिंह पुरुषको उपस्थिति ऐतिहासीक परिवर्तन ल्याउन सक्छ र उसले चाँहदा विधानमा कैयौं दफा बडो सरलताले थपिन र फेरिन सक्कछन् जसै प्रधानमन्त्रीको कार्यकाल दुई पटक(६ बर्ष) र सांसदमा च्युति देखिए प्रत्याह्वान गर्ने र अदालत सर्वोपरी रहने ।

५. विपठनको पाँचौं सन्दर्भ: जनजाति, दलित, सीमान्तकृत भनेर कुनै जातिलाई छोटो, होचो, निरीह, विवस, दीन तुच्छ बनाइ राख्ने सोचलाई समाप्त पार्ने अर्थात् संविधानबाट त्यस्ता शब्द हटाउने जसले कुनै समुदायको छवि धूमिल नबनाओस् ।

६. अफिसियल कार्यमा कम्प्युटरलाई अनिवार्य प्रवेश गराउने र सबै सेवामा योग्यताबाट प्रवेश पाउने आदि कार्यलाई भव्यसाथ बढावा दिन रोकिएको होला । त्यसैले यस्ता अवरोध र अभावलाई पन्साउन सक्ने व्यक्ति राउत हुन सक्छ भनेर राज्यले उसलाई मौका दिएको पनि हो ।

७. त्यसैले राज्य पनि सी के राउतबाट लाभान्वित हुनेछ र सी के राउत पनि राज्य सत्ताको प्रांगणमा टेकेर आफ्नो क्षमता देखआउँदै परम्परागत सोच, शैली र चर्चामा हेर फेर गर्न सक्नेछ ।

त्यसैले मनस्वी डा. सी के राउत तर्संदैन, उसले तर्सनु हुँदैन । तिम्रा कमजोरी देख्ला भनेर उसलाई टाढै राख्न खोजिएको हो भने त्यो सोच अब अयुगीन हुन्छ । किनकि अराजक स्थिति बचाइ राखेर एकलौटी भोग गर्न र जनतालाई निरीह तुच्छ बनाएर सामन्त शोषक बन्न तिमीलाई अब राउतले दिंदैन । किन भने डा. सी के राउत यसै माटाको उपज हो, सच्चा नेपाली हो, उसले डराउनु पर्ने स्थिति छैन । बरु अराजकता फैलाएर मदान्ध हुनेहरुले तर्सने बेला आएको हो कि !?

यस अर्थमा चाहिं डा. सी के राउतको राज्य सत्तामा प्रवेश सह्रानीय हुनेछ र उसलाई मौका दिने प्राँगण दिने राज्यसत्तालाई त्यसवेला मुक्तकण्ठले प्रशंसा गर्नु पर्ने छ ।

किन्तु गर्भको कुरा थाहा हुँदैन ।

(सी के पक्षबाट फेरि)

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *