आइफाःनेपाली समाजवादको कुन धार हो ?

अपारदर्शी सरकारी व्यवहार

प्रत्येक औपचारिक निर्णयहरुका कारण गम्भिर राजनीतिक र सामाजिक विवादमा फस्दै आएको नेकपाको दुई तिहाईको सरकार पुनः आइफा (International Indian Film Academy Award) को आयोजनामा सरकारी सहभागिता र आर्थिक सहयोगलाई लिएर विवादमा तानिएको छ | आइफा आयोजनका लागि नेपाली रुपैयाँ एक अर्बभन्दा बढी नै लगानी गर्ने सरकारले तैयारी गरिरहेको छ भन्ने बिषयमा आम मानिसहरुको थामिनसक्नु विरोधको सामना गरिरहेको खड्गप्रसाद ओली नेतृत्वको नेकपा सरकारलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यो अवार्डका लागि भइरहेका सबै प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ | समितिको हिजो मात्र (यही मङ्गलबार) बसेको बैठकले आइफासँग सरकारले गर्न लागेको सम्झौताको मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्‍याउने सक्नेसम्मको गंभीर चिन्ता प्रकट गरेको छ ।

एकातिर घाटाको व्यापार नगर्ने दाबी गर्दै आएका सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आइफ़ाक़ा लागि एक पैसा पनि नदिएको दाबी गर्दै आइरहेका थिए | अर्कातिर मन्त्री बास्कोटाले नै ओस्कार सागरमाथा (खुम्बुमा) कसैले गर्छु भन्छ भने अरबौं नै पनि किन नदीनेजस्ता अस्थिर तर्कहरू गरिरहेकै बेला संसदीय समितिले दिएको यो निर्देशनले अपारदर्शी सरकारी रबैया र स्वैच्छाचारिता पुष्टि गरेको छ |

कुनै पनि निर्णय गर्नु पूर्व त्यसले पार्ने सकारात्मक, नकारात्मक असर, त्यसप्रतिको सामाजिक र राजनीतिक प्रतिक्रिया, लगानी र प्रतिफल जस्ता आधारभुत प्रश्नहरुमा गरिने वेवास्ता,सरकारको छापामार शैलीका निर्णयहरुले गर्दा संसदीय गणितमा भारी मत सहितको बलियो सरकार आफ्ना कुनै पनि निर्णय कार्यान्वयन गर्न नसक्ने अवस्थामा आइपुगेको प्रतित हुँदैछ । आइफा अवार्डमा नेपाल सरकारको लगानी सहितको संलग्नताको सार्वजनिक सूचनाले ल्याएको तरंगका अतिरिक्त प्रधानमन्त्री ओली, उनको सल्लाहकार समूह, मन्त्रीहरु र आइफा आयोजनाका स्वनामधन्य अभियन्ताहरुमाथि उठाइएका प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिन सकिरहेको छैन नेपाल सरकार ।

प्रश्न आइफा गर्न हुन्छ वा हुँदैन भन्ने होइन । आइफाप्रति नेपाली नागरिकहरुको विरोध होइन । संभवत नेपालीहरु हिन्दी सिनेमा जगतमा कार्यरत स्पट ब्वायदेखि अमिताभ बच्चनसम्म सबैलाई नै समानरुपले चिन्दछन र मुम्वइमा रिलिज गरिएका प्राय सबै फिल्म नेपालमा चलेका/चलाइएका पनि छन् । निसन्देह छ, आइफा अवार्ड नेपालमा भएका अवस्थामा पसल बन्द गरेर, कार्यालयबाट भागेर धेरै नेपालीहरुले आफना टीभी सेटमा आइफा दर्शन गर्छन । पैसा हुनेहरु टिकट काटेर हलसम्मै जाँदा हुन् । यसमा लाज नमाने हुन्छ, नेपालीहरु नेपाली सिनेमाभन्दा हिन्दी सिनेमामा नै ज्यादा नै अभ्यस्त छौँ । विवाद आइफाको हुँदै होइन । विवाद नेपाल सरकारप्रति नेपाली नागरिकहरुको डगमगाएको विश्वासले जन्माएको हो । सरकारले आइफाले जतिसुकै पर्यटन प्रवर्दन गर्छ भन्ने रणनीतिक प्रचार व्यवस्था चलाएपनि मानिसहरुले त्यसलाई पत्याएनन् ।

सरकारी दाबीलाई आम मानिसले नपत्याउँनुका पछाडि केही सारभुत कारणहरु रहेका छन् । ती तर्क होइनन्, तथ्य हुन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूले रेल र पानी जहाज चढ्न दिएको म्याद गुज्रिएको छ महिना भयो । अहिले पानी जहाजको ठाउँमा १० सीटर मोटरबोटलाई देखाँइदैछ । प्रधानमन्त्री बाहेक अरु पनि लाखौँ लाख नेपाली छन्, जसले पानी जहाज र मोटरबोट छुट्याउँन सक्छन् ।

चीनले रेल ल्याइहाल्छ,तुरुन्तै रेल चढेर बेइजिङ्ग यात्राको लागि तैयार भएहुन्छ भन्ने गफ वा जनकपुर जयनगर रेल चढेर कालकाता जान पाइन्छ भन्ने घोषणा लालझण्डी हल्लाउने मजदुरले चलाएको थिएन वा कुनै आइफा विरोधी जमातले पनि चलाएको होइन । घर घरमा ग्याँसका पाइप आउने र काँधमा सिलिण्डर बोक्न नपर्ने कुरा पनि प्रम ओलीकै शब्दमा सरकार बिरोधी कुनै मुर्ख राजावादी वा मुर्ती चोरले चलाएका हल्ला होइनन् । चीनबाट तत्काल रेल आउने कुरा चीनले दुई-दुई पटक औपचारिक वक्तव्य दिएर असम्भब नै भनिसक्यो । अब ग्याँस सिलीण्डर बोक्नु पर्दैन, पाइपलाइनबाट ग्याँस बल्छ भन्ने चर्चा कुनै ग्याँस डिपोको लोडरले गरेको होइन, देशको प्रधानमन्त्रीले औपचारिक आसनमा बसेर दिएको राज्य नीति सम्बन्धी वक्तव्य थियो । यो घोषणा आजभोली सुन्न छाडिए पनि मानिसका मानसपटलबाट हराइसकेको छैन । सत्ताका उडनतस्तरी एकल सम्वादहरुले सिर्जना गरेका अविश्वासको उपज हो नागरिकहरुमा आइफाले ल्याउने पर्यटन प्रबर्ध्दनको सरकारी बालहठप्रतिको विरोध पनि ।

आइफा किन आइज नआइज ?

जहाँसम्म आइफाको कुरा छ, गर्न हुन्छ कि हुँदैन ? गरे हुन्छ तर गर्दा जुन मूल्य नेपाले चुकाउनु पर्छ त्यसको तुलनमा नगरे चैं नेपालको केही बिग्रदैंन । नेपालले यो गरेर्र केही गुमाउँदैन । भारतमै आइफाको अपारदर्शीताप्रति ठूलो प्रश्न छ । र, प्रश्न आइफाले आइफा आयोजना गरिने राष्ट्रका सरकारसँग पैसा झार्न गर्ने प्रयत्नहरुको पनि चर्चा छ । कसरी सत्ताका निकटस्थहरुलाई आइफाले प्रयोग गर्छ भन्ने प्रश्नमा भारतको वैकल्पिक सञ्चार जगतले समेत खोजीरहेको छ ।

आइफा व्यापार हो । व्यापारमा लेनादेना स्वाभाविक ठहर्छ । घुस नभनौं तर कमीसन बिना व्यापार/बिजनेस चल्दैन । र, कमीसनका भागिदार को हुन्छन, भनिरहन पर्दैन । युवा वयका १४ बर्ष जेल बसाइपछि साम्यवादको विस्तारीकरणमा क्रियाशील र राजनीतिको केन्द्रमा रहनुभएका प्रधानमन्त्री ओली स्वयमलाई आइफाको चक्कर अवश्य थाहा थिएन वा छैन । जसलाई थाहा छ, उसले उहाँलाई कन्भीन्स गरेको हुन सक्छ ।

माथी नै उल्लेख छ-आइफा व्यापार हो लगानी बिनाको व्यापार हुँदै हुँदैन । यहाँ एउटा पुरानो कथा सान्दर्भिक हुन्छ । एउटा माग्नेले “माइवाप एक मुठी चावल दो” भनेछ । कुनै छट्टुले उही माग्नेको चामलले भरिएको कमण्डलुबाट एक मुठी चामल झिकेछ र त्यहि कमण्डलुमा पुन: हालिदिएछ, माग्नेले भनेछ “भगवान आपका भला करे” । आइफाले यहींबाट झिकेर ९० प्रतिसत लिन्छ १० प्रतिसत यहीं हालीदिन्छ । हाम्रो सरकार भन्छ, “भगवान आपका भला करे” । आइफा आयोजनाको नेपाली रहस्य वा उदेश्य र सत्यता यही हो ।

बलिउडका चर्चित कलाकारहरु आइफाका लागि आफ्नो एक सुको लाउँदैनन् । भारतीय सञ्चार जगत भन्छ, कलाकारहरु फ्री टिकट, फ्री होटलका अतिरिक्त आयोजकसँग पैसा पनि लिन्छन । जति चर्चित कलकाकार त्यति नै महङ्गो होटल बिजनेस क्लासको एअर टिकट, मनग्य रकम प्रदान गर्नु पर्ने हुन्छ । आइफाले टेलिभीजन कम्पनीहरुलाई विज्ञापनको समय बिक्रि गर्दछ । कम्तिमा १० भन्दा बेसी च्यानलहरुलाई समय बेच्छ र प्रति दस सकण्डको ३ लाख पचास हजार सम्ममा बेच्छ भन्ने भारतीय मीडियाको भनाइ छ । यदि १० च्यानललाई मात्र १० सेकेण्डको ३ लाख पचास हजारका दरले दिनको ३ घण्टामात्र समय बेचे पनि ३ अरव ७८ करोड भारतीय रुपैयाँ बराबरी रुपैँया कमाउँछ ।

यसले सरदर ५ हजार दर्शकलाई कार्यक्रम हलमा ल्याउँछ । अमेरिकाको न्युयोर्क छाडेर अन्य मुलुकमा भएका आइफाको टिकट दर अमेरिकी डलर पचहत्तर, पन्चानब्बे, १ सय ७७, ३ सय, ३ सय ५२ र ४ सय ६० राखिएको थियो । जबकि अमेरिकामा भने अमेरिकी डलर एक हजार माथि थियो टिकट मूल्य । सरदरमा एक सय सतहत्तर १७७ मात्र गरियो र नेताहरु वा अन्य पहुँचवाला बिचौलिया आदिका लागि दस प्रतिसत स्थान फ्री राखे पनि ४५०० सिटको १७७ ले दिनको ७९६५०० र ३ दिनको २३८९५०० हुन आउँछ । यसलाई एक डलर बराबरी आजको रेट रु ११०।९० ले हिसाब गर्दा नेपाली २५-२६ करोड रुपैँया हुन आउँछ । यो पनि आइफाकै कमाइ हो ।

सरकारको तर्फबाट नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखले आइफाका लागि आफना “बलिया” तर्क पेश गर्ने गरेका छन् । “यस्तो ठूलो अवसर आउने ५० बर्षमा पनि पाउन सकिदैन”, आइफाको वकालतमा उनले नेपाली नागरिकलाई देखाएको त्रास यहि हो । उनको तर्क जायज पनि होला । तर पुष्टि नभएको कुरा के भने ल अबको ५० बर्षमा पनि नेपालले आइफा आयोजना गरेन त्यसले बिग्रन चै के बिग्रन्छ ? उनले यसको उत्तर दिएका छैनन् । यसो ५० बर्ष पहिले पनि भारतीय चलचित्र महोत्सब नेपालमा गर्न लाग्दा तत्कालिन सरकारले अनुमति नदिएको तथ्य सार्वजनिक भएको छ । अब बोर्डका प्रमुख जोशीले बिगतको ५० बर्षमा नेपालले गुमाएको नोक्सानी/घाटाको हिसाब पनि त निकाल्नु नै होला ?!

आइफाले पर्यटन प्रबर्ध्दन पनि गर्ला तर कति गर्छ भन्ने कुरा आइफा आयोजना गरिएका कुनै देशका सरकार वा पर्यटनसम्बन्धी निकायले औपचारिक हिसाव दिएका छैनन् । आइफा आयोजकले एउटा मास हिस्टेरिया सिर्जना गर्न सकेको छ, आइफा पछि त्यस मुलुकको पर्यटनमा तीब्र बढोत्तरी हुन्छ । नेपालमा पनि आइफाले सिर्जना गरेको मास हिस्टेरियाका पछि केही प्रभावशाली मान्छेहरु कुदेका छन् ।

प्रधानमन्त्री स्वयम कति जानकार हुनुहुन्छ आइफा विषयमा तर प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविध्यालयमा लामो समय अध्ययन गरेका उहाँका सल्लाहकारहरुमा आइफा,आइफाको रणनीति, लगानी र प्रतिफल सम्बन्धमा राम्रो दखल छैन भन्न सकिन्न । आइफाले स्पेनको पर्यटन प्रबर्ध्दन गर्यो भन्ने प्रचार भएको छ । म्याडिडमा २०१६ मा आइफा आयोजना गरिएको थियो, जबकि २०१२ देखि प्रत्येक बर्ष स्पेनको पर्यटन ७ मिलियनका दरले बढीरहेको स्पेन सरकारको तथ्यांकले देखाएको छ ।

आइफाको विकल्प के हुनसक्छ ?

आइफाका दर्शक संसारभरी छन, तर को छन् भने हिन्दीभाषीहरु । केही नेपाली, बंगाली र पाकीस्तानीहरु पनि । एक अरबको संख्यामा रहेका भारतीय हिन्दुहरु जसले नेपाल र पशुपतिको नाम सुनेको छैन भने ती संभवत बच्चामात्र हुन् । सन् १९७९ को हिउँदमा पशुपतिको दर्शन गर्न आएका एक भारतीय मूलका अमेरिकी नागरिकले सन २०१८ को अन्त्यतिर डलास एअरपोर्टमा यस पंक्तिकारलाई कफी गफमा भनेका थिए, “पशुपतिको दर्शन गरेको पन्ध्र दिनमा मलाई अमेरिकी नोकरी मिलेको खवर आयो” । यहाँ यसो भनेर अन्धविश्वासको बजारीकरण गर्न खोजेको भने होइन । तर, आस्था र अवसरकाबिच जागृत मानवीय चेतको बोधगम्य अनुभवलाई सार्वजनिकीकरण हो यो । पर्यटनको कुरा गर्ने हो भने पृथक सभ्यता, विविध संस्कृति, सांस्कृतिक सम्पदा, सामाजिक सहअस्तित्वका सुत्रहरु, कला, धर्म र सम्प्रदायजस्ता नदेखिने पर्यटकीय प्रडक्टका साथै हिमाल, नदी, भुवनोट, जंगल, जनावर र जीवनशैली नै नेपाली पर्यटनका आधारशीला हुन् । ठूलो मात्रामा पर्यटक आकर्षण गरिरहेका काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा र परम्पराहरु सर्वनास गर्ने गरी ल्याइएको गुठी विधेयकमा चुँ नगर्ने नेपाल पर्यटन बोर्ड आइफा मार्फत पर्यटन प्रबर्ध्दनको उडन्ते गफ गर्छ भने त्यसलाई नागरिकहरुले ठाडै तिरस्कार गर्नु सोह्रै आना जायज मान्नु पर्छ ।

नेपालमा पर्यटक आकर्षणका मूल बजारहरु पशुपति, लुम्बीनी, अन्य धार्मिक सांस्कृतिक सम्पदाहरुमाथि संवैधानिक र कानुनी उपेक्षा गर्दै आएको समकालीन राजनीतिक नेतृत्व र त्यसले स्थापित गर्न खोजेको सभ्यता र संस्कृति सुन्य यन्त्र मानव समाजका लागि आइफाले नेपालको पर्यटन प्रप्रबर्ध्दनगर्छ भन्नु हास्यास्पद तर्क सिवाय के हुन सक्छ ? थोरै मात्र पनि स्मरण शक्ति वा ज्ञान हुन्थ्यो भने भारतका प्रधानमन्त्रीले नेपाली सम्पदाहरुमाथि दिएको महत्वलाई भारतीय पर्यटन बजारमा स्थापित गर्ने रणनीति पो लिन्थ्यो सरकारले । प्रत्येक बाक्य बोल्दा कुरान र वाइवलको दृष्टान्त जोड्ने सठ नेताहरु दुई विपरीत विश्वासको चेपुवामा रहेर नेपाली सभ्यता र यसका आधारभुत संरचनामाथि डोजर चलाउने कानुनी पथ अवलम्वन गर्दैछन । यसले भारतीय पर्यटक आकर्षण गर्छ भन्नु मनोवैज्ञानिक समस्याका कारण हुन सक्छ ।

हिन्दी सिनेमाका कलाकारहरु जो आइफामा संलग्न हुन आउँछन उनीहरु इङ्गल्याण्ड र इटालीको कपडा, इटालीको जुत्ता, स्वीस घडी, इटाली वा अमेरिकन लेदर बेल्ट, ब्राण्डेड मोजा, गंजी लगाउँछन । सोभनीर लैजान्छन् भनौं भने सायद प्राप्त भएका उपहार राख्ने ठाउँको अभावमा कवाडीलाई नै दिन्छन् र त्यो पनि किनेर लाने होइनन् । सुरक्षा कारणले उनीहरुलाई बजार घुमाउन सकिदैन, होटलबाट हल र हलबाट होटल गर्नेछन् । भलै अमिताभ बच्चन बसेको होटल बाहिर केही नेपालीहरू पनि सेल्फी खिच्न जालान् र सो अवसर पाउलान् पनि । गर्व गर्ने विषय र उपलब्धी हामीले यति नै मान्नका लागि आइफा गर्नु पर्छ कि पर्दैन ? राज्यको ताला चाबी हातमा अहुनेहरूले पकै सोच्नु होला ।

प्रश्न र पहुँचमा आइफा 

भारतकै सुरक्षा निकायमा आइफा आयोजक QNET माथि परेको उजुरीको छानवीन भइरहेको छ । भारतमा आइफालाई कसैले महत्व दिन्छ भने टेलिभिजन ब्रोडकास्टर कम्पनी र सानो ठूलो व्यापारबाट पैसा कमाएका र मुम्वइ सिनेमाका हस्तीहरुलाई नजिकबाट हेर्न चाहने सानो जमात । यदि नेपालका केही स्वनामधन्य आइफावादीहरुले भनेजस्तो यसले आर्थिक तरक्की ल्याउने हो भने भारत सरकारले आइफालाई भारतमै गर्न अनुरोध गर्दो हो । जहाँसुकै गरुन् किन वास्ता गर्दैन भारत सरकार यति ठूलो अवसरलाई ? बरु सुरक्षा संयन्त्रले आशंका गर्छ, आइफामा कसले लगानी गरिरहेको छर ? त्यसै पनि भारतीयहरु कुनै मुद्धामा सत्यको नजिक पुग्न सकेनन् भने मुम्बइको अन्डरवल्डलाई आशंका गर्छन ।

माक्सवाद, लेनिनवाद, माओवाद, बहुदलीय जनवाद, २१ औं शताव्दीको जनवाद हुँदै जनताको जनवादसम्म आइपुगेको वर्तमानमा अर्को एक आइफावाद जवर्जस्तरुपमा स्थापित गर्न खोजिएको छ यहाँ । भारतीय राजनीतिले तीरस्कार गरेको फिल्मी मनोरंजनको आइफावाद प्रसारणका लागि नेपालमा “भोलन्टीअर” तयार गरिए जस्तो देखिन्छ । नेकपाभित्रको प्रम प्रिय ओली सम्प्रदाय यसमा बढी क्रियाशील छ । यसले भारतको संस्थापनसँगको नेपाल सरकारको सम्बन्धमा पार्ने सकारात्मक प्रभाव कसैले आँकलन गरेको छ भने त्यो पनि व्यर्थको आशा हुनेछ ।

भारत सरकारले आइफालाई महत्व त के ध्यान समेत दिएको प्रतित हुँदैन ।
माथि पनि भनिएको छ- नेपालमा आइफा आयोजना गर्नाले केही बिग्रंदैन । तर नेपाल सरकारमा जम्मा भएको ट्याक्स पेयरहरुले खाइ नखाइ जम्मा गरेको राष्ट्रिय सम्पत्ति लगानी गर्ने हो भने त्यसले दिने प्रतिफलको भरपर्दो तथ्यांक दिनु पर्छ । त्यो रकम कहाँ, कसरी, के का लागि र कसले खर्च गर्छ भन्ने जानकारी माग्नु नेपालीहरुको कर्तव्य हो । सरकारले नागरिकहरुलाई कर्तव्य पालना नगर भन्न पाँउदैन । आइफाका सन्दर्भमा जुन पर्यटन प्रबर्ध्दन वाद खडा गरिँदैछ सो सर्वथा अनावश्यक विषय हो । यदि वीजक्राफट इन्टरनेसनलले आइफा पछि १० फिल्म नेपालमा सुटिङ्ग गरिने जिम्मा लिन सक्छ ? नेपालको दृष्यहरुको रोयल्टी तिर्छ ? आइफाले आइफा काठमाण्डौको मुल्यांकन र फलोअप मिटिड काठमाण्डौमा गर्नेछ ? काठमाण्डौपछिको आइफा संस्करणमा काठमाण्डौको आइफा वा दृष्य फुटेज देखाउने छ ? यी प्रश्नहरु आइफावादीहरुले उठाएका छन् ?
आइफावादीहरुको तर्क छ ६०० मिलीयन मान्छेले आइफा हेर्छन । हो हेर्छन । तर ती सबै हीन्दीभाषीहरु हुन् । त्यसमध्ये अत्यन्त ठूलो संख्या भारत बाहिर छ र जो १० बर्षमा एकपटक मातृभूमी भारत नै फर्कन सक्दैनन् भने कति जना नेपाल आउने हुन् ?

कुनै पनि पर्यटन सम्बद्ध इभेन्टका लक्षित समुदाय हुन्छ- उदाहरणका लागि विश्वविद्यालयले प्राध्यापक र विद्यार्थीहरुलाई आकर्षित गर्छ । व्यापारिक समुदायले व्यापारीहरु वा उपभोक्ता । मठ मन्दिरले धार्मिक आस्थावान तिर्थालुहरु । नेपालका शेर्पाहरुले हिमाल आरोहीहरु । यसो हो भने आइफाले कसलाई आकर्षित गर्दछ ? यो प्रश्न सोध्न पाइदैन र नेपाल सरकारसँग ? के नेपालमा अब भारतीय फिल्म सुटिङ हुन्छन् ? मुम्वइ सिनेमावालाहरु हुलका हुल नेपाल पस्नेछन ? मुम्वइ सिनेमावालालाई नेपाल, हिमाल र काठमाडौंका विषयमा आजसम्म जानकारी नभएकै हो त ? हरेराम हरेकृष्ण देखि घरवाली बाहरवाली, आँधी तुफान, बेबी, खुदा गवाह जस्ता चर्चित हिन्दी सिनेमाहरु नेपालमा खिचिएका होइनन् र ?

भारतीय समाज, सभ्यता, राजनीति अर्थतन्त्र जस्ता क्षेत्रमा सारभुत प्रभाव पार्न सक्ने ऋषिमुनी, साधु सन्त, तपस्वी महात्मा र धामिृक संगठनहरुका प्रतिनिधिहरुको ठूलो संख्या प्रत्येक बर्ष नेपाल भ्रमण गर्ने गरिरहेको छ । हजारौँ साधुहरु, विभिन्न मठका चर्चित र लोकपृय मठाधीसहरु नेपालका खासगरी धार्मिक क्षेत्र भ्रमण गरिरहेका हुन्छन् । उनीहरु भारतीय सभ्यता र समाज व्यवस्थामा बलियो छाप पार्न सफल छन् । लाखौँ लाख अनुयायीहरु उनीहरुको पदचिन्हमा हिँडाइरहेका छन् । पर्यटन प्रबर्ध्दंनका लागि यो अहम अवसर प्रयोग गर्ने कुनै योजना दृष्टिकोण छ नेपाल सरकारको ? यी फिरन्ता जोगीहरुले अरव लगानी मागेका छन कहिल्यै ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको धार्मिक क्षेत्रको भ्रमणको फुटेजका संक्षिप्त स्लटहरु देखाइदिन नेपालले भारतीय मीडियासँग कुनै अनुरोध गरेको किन पाइएको छैन अहिलेसम्म ?

आइफाले पर्यटन प्रबर्ध्दंन गर्यो भन्ने भ्रमात्मक सूचना सार्वजनिक गर्नेहरुले श्रीलंकाको उदारण मान्छेका मोवाइलमा जवर्जस्त कोचिदिने गरेका छन् । तमिल र श्रीलंका सरकारको बिचमा भइरहेको युध्दको समयमा नै पनि पनि ठूलो संख्यामा भारतीयहरु श्रीलंका घुम्न जाने गर्दथे । सन २००५ मा १ लाख १३ हजार भारतीय श्रीलंका पुगेको श्रीलंकाको पर्यटक तथ्याङ्कमा उल्लेख छ । सन् २००६ मा १ सय २८ हजार भारतीय लंका गएका थिए भने सन् ००७।००८ र ००९ मा यो संख्या घटेको देखिन्छ । त्यसका पछाडि श्रीलंकाका राष्टपति महिन्दा राजापाक्षेले तमिल विरुद्ध घोषणा गरेको युद्धको कारण थियो । सन ००९ मा युद्ध समाप्त भएपछि ०१० मा १२५ हजार भारतीय श्रीलंका पुगेका थिए । सन् ०११ मा यो संख्या बढेर १ लाख ७८ हजार पुग्यो । त्यसको श्रेय आइफालाई नभएर युद्ध अन्त्यलाई जान्छ ।

आइफा राष्टियताको कुरा होइन । यसले राष्टियतामाथि प्रश्न उठाउँदैन । नर्तक-नर्तकीहरुको आगमनलाई राष्टियतासँग जोडेर हेर्ने हीनताबोधले ग्रस्त मनोविज्ञानबाट नेपालीहरु पनि माथि उठ्नु जरुरी छ । यो विरोध नेपालले आफ्नो थैली आइफका लागि एकतर्फी नखोलोस भनेर गर्नुपर्छ । आइफा नै नहोस भनेर पनि होइन । आइफा देखाएर राज्यको रकम लुट्न खोज्ने नेपाली द्रव्य पिसाचहरुको लुट साम्राज्यको विरोध हुनु पर्दछ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आइफाले अवार्ड गर्यो । तर त्यहाँ चिनियाँ पर्यटक आगमन वृद्धि भयो । के आइफा हेरेर चिनियाँहरु मलेसिया गए होलान ? मलेसियाको पर्यटनको मेरुदण्ड चिनियाँ पर्यटक हुन् । उसले पर्यटन रणनीति पनि आफ्नो बजार हेरेर नै विकास गरेको छ । आइफा सिर्जित तातो ग्याँस पनि केही नेपाली मनुष्यका मगजबाट उत्रिन समय लाग्ला वा नउत्रिए पनि अव पराजय उन्मुख देखिन्छन् । वीजक्राफट नेपाल आउ, आइफा आयोजना गर तर नेपाल सरकारसँग रकम नमाग । आफ्नो खर्च आँफै चलाउ । यहाँको नाफा आर्जनमा सरकारी नियमन भित्र बसेर पालना गर । तीम्रा निम्तालुहरु नेपालमा केही किन्छन भने किन्न देउ, किन्दैनन भने पनि त्यसै फर्कन्छन् । त्यो व्यक्तिको निजि मामिला हो हामी नेपाली अतिथि देवो भव भनेर स्वागत अवश्य गर्छौँ ।

(नोटः नेपाली पोष्टका लागि नेपालमा राजनीतिक, सामाजिक समस्या र सम्बन्धहरुको अध्ययनरत विष्लेशकले हाम्रो अनुरोधमा तैयार गर्नु भएको यो आलेखले उठाएका केहीगम्भीर सवालहरुमा नेपालमा वृहत छलफल गरिनु पर्दछ । भ्रम र त्रास प्रेरित उत्तेजना उठाएर सार्वजनिक सम्पत्ति लुट्ने योजना कसरी बनाइन्छ, यस लेखले त्यतातिर औँला देखाएको छ ।- नेपाली पोष्ट)
फोटो: पत्रकार किशोर श्रेष्ठको फेस्बुकबाट

Add a Comment

Your email address will not be published. Required fields are marked *