कविता यात्रा
|
१
आशाको किरण
जब मेरो मनमा कुनै कुरा बन्छ,
अनि मस्तिष्कलाई छाम्न थाल्छ,
असिम उद्देश्यले जब आकाश छुन्छ,
अनि बादलसँग झुत्ति खेल्दै,
योजनाका मुहान बनी धरतीमा वर्षन्छ ।
अनि,
मैले चाहेको सिर्जना पालुवा भई फेरिन्छ,
मैले चाहेको क्षितिजमा हरियाली तुसाउँछ ।
आशाका किरण आँखा भरी लिएर,
म तयर भएकोछु,
भरोसालाई अङ्कमाल गर्न ।
बैशाक ३१, बिसं २०६८
२
अनन्तसम्म
समय कति बलबान रहेछ,
हेर्दा-हेर्दै हिजोको बिउ आज टुसायो,
हिजोको टुसा आज झाँगियो,
हिजोको बोटमा,
आज ढकमक्क रङ्गिन फूलहरू फुले,
हिजोको फूलहरू झरेर,
आज लटरम्म फलहरु फले,
हिजोका फलहरू
आज फेरी बिउ बनेछन्,
डालाबाट झरी माटाभरी छरिएछन् ।
अहो प्रकृति !
तिमी भित्रको यो कलात्मक परिवर्तन,
एकपछि अर्कोमा सर्ने अनिवार्य सर्त बनेछ,
त्यसले नै युगलाई जिउँदो बनाउन सकेछ,
समय-चक्र भइ,
अनन्तसम्म हाँक्न सकेछ ।
जेष्ठ ६, बिसं २०६८