छुटेको रेल पढेपछि…..

कसैले अमेरिका र नेपाली जोडेर केहि कुरा गर्यो भने कान त्यसै ठाडो हुन्छ, के भन्न लाग्यो भन्ने कौतुहलताले ढपक्कै छोपिहाल्छ। यसैबीच एउटा उपन्यासको चर्चा सुनियो, खासै त्यस्तो चर्चा भएको त हैन, तर आफुले फलो गरेका मानिसहरुले हल्ला-खल्ला गरेर ल्याए, नाम थियो “छुटेको रेल”। त्यो उपन्यासलाई अमेरिका पलायन भएका शिक्षित नेपाली युवाको कथा भनेर बेच्न राखिएको थियो। अनी किताब कभर र परिचय पनि त्यस्तै त्यस्तै खालको थियो।  उपन्यास हातमा परो, अनी २-३ घण्टामा पढिसकें। शुरुमा उपन्यास पढ्दा ठिकै ठिकै लाग्यो।

साधारण नेपाली युवा जस्को सपना अमेरिका जाने हुन्छ, बर्ष नबिराई डीभी भरेको हुन्छ, अनी पर्ने आश मारेर फेरी अर्को डीभी भर्ने दिन कुरेर बसेको हुन्छ उसैको कथा थियो। अमेरिका नछिरुन्जेलको कथा सुहाउँदो नै छ। अमेरिका छिरिसकेपछि कथाले नाटकीय मोड लिन्छ, पात्रहरु लथालिङ्ग हुन्छन, समयरेखा सिधा नभइ बक्र रेखामा बदलिन्छ। जेठमा अमेरिका पुगेको पात्र नेपाल बाहिरको पहिलो दशैं मान्ने बेलासम्म उस्ले अमेरिका आएको एक बर्ष भइसक्यो भनेर पटक-पटक भन्छ। यस्ता समयरेखालाई लथालिङ्ग पार्ने गरि भएका प्राविधिक टुटीहरुको सङ्गालो नै बनेको छ सम्पूर्ण उपन्यास। अन्तरदेशीय जहाज चढ्न व्यस्त एयरपोर्टमा एकघण्टा अगाडी मात्र पुग्ने, २:३० बजे डलस एयरपोर्टमा झरेर, कस्टम छिचोली, घर पुगेर सामान थन्काइवरी ६:०५ मिनेटमा युनियन स्टेसन पुग्ने जस्ता कुरा देखे-भोगेकालाई अचम्म लाग्ने किसिमका छन् । पात्र भएको भए त पक्कै पनि ४ महिनामा बर्षदिन भयो अमेरिका आएको भन्दैन थिए होला, अफिस समयको सवारी चापको बेला (रसआवर)ट्राफिक छिचोलेर डीसीको मुटुमा रहेको युनियन स्टेशनमा पुग्दैन थिए होला, तर उपन्यासकारको लगन नै भन्नुपर्छ, समय सिमाको बन्धनले कत्तिपनि नबाँधिएको स्वतन्त्र उपन्यास बनेको छ ‘छुटेको रेल’।

उपन्यास भन्ने बेलामा सत्य-कथामा आधारित भनेर प्रचार गरिए पनि त्यहाँ प्रयोग भएका पात्रहरु र तिनका हर्कतहरु वास्तविकतासँग मेल थोरै पनि खाँदैनन्। अमेरिका छिराइएको नायक पात्र बच्चा भएको परिवारको घरमा एउटा कोठा भाडामा लिएर बस्न थाल्छ। घरबेटी आमालाई दिउँसो, घरबेटीबालाई राती काम गराउने लेखकको विबेक यथार्थपूर्ण लाग्छ। अनी उपन्यासको प्रमुख बुदाँतिर कथा मोडिन थाल्छ, राती काम गर्ने मान्छे दिउसोँ सुत्न पर्छ अनी दिउसोँ काम गर्ने मान्छे राती सुत्न पर्छ भन्ने शारिरीक आवश्यकतालाई लेखकले न्याय दिनु पर्ने जरुरी सम्झिदैनन्। रमा भाउजुलाई यौन प्यासी पत्नी देखाउन लेखकले ठुलै मिहिनेत गरेका छन्, भाउजुलाई कलआउट गरेर घरमै राखेका छन्, रातभरी काम गरेका उनका पतीलाई दिउसोँ सुताउन भुलेका मात्रै हैनन् उनी घरमा नै नभएको देखाएका छन्, रमा भाउजुलाई पुरुषलाई डोराएर आफ्नै पतिसँग सुत्ने बिस्तारासम्म पुराएका छन् । अनी राती काम गर्ने राम दाइलाई साँझ घरमा ल्याएर भाउजुसँग झगडा गराउँछन्, भाउजुले आफ्नो प्यासको मतलब नगर्ने भनेर पोइसँग बाझेको देखाउँछन्। कथा पढ्दा कुनै नीलो चलचित्रको प्लट भन्दा फरक छैन, कथामा हालिएका अनावश्यक डिटेल्सहरु नीलो चलचित्रमा देखाइने कथा जस्तो लाग्छ । त्यसैले धेरै नीलो चलचित्र हेरेर उपन्यास लेख्न बस्न हुँदैन भनेर लेखकलाई आग्रह छ ।

अनि लेखकलाई पात्रलाई परस्त्रीसँग सुताएको कुराको ग्लानी हुन थाल्छ, मार्लबोरो चुरोटको कुइरीमण्डल लाग्न थाल्छ। अनी लेखकले पात्रको आत्मसम्मान जोगाउनका साथै रमा भाउजुको घर नबिगार्ने बिल्कुल मानवीय कर्तब्यलाई आत्मसाथ गर्दै पात्रलाई त्यो घर छोडी अन्तै सार्ने निस्कर्षमा पुग्छन् । लेखकले निस्कने दिन रमा भाउजुको मायाको भोक राम्रैसँग उतारेका छन्, भाउजुको रोइकराइलाई मिलाएर पस्केका छन्। लेखक जुन कुरा टार्न, पात्रलाई त्यो घरबाट निकालेका हुन्छन, फेरी त्यही बाटोमा हिडाउने गरी कथा अगाडी बढाउँछन् । लाग्छ लेखक त्यहीं चुकेका छन् । लेखकले लिएको समारोहको विवरण सुन्दा सरोज खनालहरु लगायत नेपाली कलाकारहरु सरिक भएको एउटा कार्यक्रममा लेखकले पात्रलाई लिना नाम गरेकी अर्की महिला पात्रसँग भेटाउँछन् । त्यो समारोहमा सरिक भएका जो-कोहीलाई पनि त्यहाँ भेट गराएको किस्सा सुनाउने हो भने, कार्यक्रमको बीचमा अग्नी नियन्त्रकहरुले आएर हल खाली गराए, मान्छे धेरै भएर । त्यस्तो अवस्थामा अर्की महिला पात्र के गरी भेटायो होला भनेर जिव्रो टोक्ने पर्ने बनाएका छन्। हुन त लेखकले शुरुदेखि असाधरण कुराहरु देखाएको कारणले त्यती साह्रो अचम्मै त पक्कै मान्नु पर्दैन भनेर ढुक्क हुन सकिन्छ। लिनालाई पात्रको हात समाउन लगाउछन, पात्रलाई पुन: इज्जतको ढाल बोकाएर हात लुकाउन लगाउँछन्, अनी लेखक पनि के कम, लिनालाई यौनतृष्णाको भोकी देखाउन लिनाका खुट्टाका बुढीऔँलाहरु पात्रको कुर्कुच्चामा पुर्याउँछन्।

लेखकले लिनालाई गेट भएको सानदार बङ्गलामा राखेका छन, सरकारी अधिकारीको पत्नी भएकी सुख-सुविधाले सम्पन्न देखाएका छन्। अनी तिनै लिनालाई सेभेन इलेभेन स्टोरमा काम गर्ने पसिना गन्हाउने पात्रको अगाडी पानी-पानी हुने गरी पग्लेको देखाएका छन्। त्यस्तो सुख-सुविधाले भरिएकी लिनालाई एसी बिग्रेको गाडीमा पात्रमार्फत घुमाएका छन्। केहि कुराको कमी नभएकी लिनालाई सुहाउँदै नसुहाउने पात्रलाई यौनको लागि राजी हुन बाध्य पार्ने प्यासी नारी बनाएका छन्। भर्जिनियामा लेखकले देखे-भेटेका पार्क र पार्किङ्गलटहरु सकिएपछी लिना लाने ठाँउ कतै भेट्दैनन अनी लेखक पुन: पात्रलाई इज्जत प्रतिष्ठा सिकाउँदै लिनासँगको सम्बन्ध अन्त्य गराउँछन्।

यी बीचमा लेखकले नेपालबाट अमेरिका आएका बिवाहित महिला सबै यौन प्यासी हुन्छन्, बाटोमा कुनै केटो देख्यो कि केटाहरुप्रति आकर्षित भइहाल्छन् भन्ने देखाउन खोजेका छन् । पात्रसँगै एउटै कोठामा बस्ने साथीलाई लेखकले प्रेममा पारेका छन्, अनी तिनका कथा पनि पात्रले नचाही नचाही सुन्न र देख्न परेको देखाएका छन्। आधा उपन्यास यसरी नै सुत्ने-सुताउने इज्जत सम्झाउदै पश्चातापमा जलाउँदै सकिन्छ। लेखकले जति पटक पात्रलाई सुत्न पठाएका छन्, नसुतिन्जेल जे भने नि मान्ने लाचार पुरुष जस्को काम पुरुष धर्म निभाउनु हो भनेर देखाएका छन्, जब सुत्ने काम सकिन्छ पात्रलाई कहिले बाउको भनाइ सम्झाइदिन्छन्, त कहिले गाँउको ऋण सम्झाउछन्। नढाटी भन्नु पर्दा हसाँउनु हसाँएका छन् लेखकले फेरी ठामका-ठाम रुवाउनु रुवाएका छन्। लेखकले जाने-सुनेका यौनका किस्सा सकिए पनि लेखकले पात्रलाई हिन्दी सिनेमाको नायकको भुमिका दिन्छन् । ट्याक्सी ड्राइभर बनाउँछन्, राम दाइको अफयर पत्ता लगाइदिन्छन्। एउटी यात्रुलाइ एयरपोर्ट छाडेदेखि ६-७ बर्षसम्म त्यही यात्रुको खोजीमा भौतारिने पागल प्रेमी बनाउँछन्। पात्रलाई ट्याक्सी ड्राइभर बनाइन्जेल लेखकले आफूले देखेको अमेरिका त्यही ट्याक्सीको पछाडीको सिटमा देखाउँछन्। गन्हाउने, अपनवायु छाड्नेदेखि लिएर जुका झै टाँसिने जोडीहरु, आफ्नी बुढीको प्यास नबुझाइ अर्कै महिलासँग लागेका रामगोपाल दाइ, सबैलाई अमेरिकामा नै भेटछन् लेखेकले । लेखकको भाग्य नै त्यस्तो भन्नु पर्छ, उनले पात्रलाई त सुधारे तर उनका यात्रुहरु यौनपिपासुहरु भेटाए।

लेखकले पात्र जहाँसुकै लैजाउन, जो-सुकै भेटाउन, जे-सुकै गराउन, समस्या उनीले यौनमा नै देखेका हुन्छन्। लेखकले नजानिदो पाराले ब्रमाण्डह पुरै यौनका वरिपरि घुमाएका छन्, आफुले यौन त्यागेर मात्र त्यस्को सेरोफेरोबाट भाग्न सकिदैन, अमेरिकाका चोक-चोक गल्ली-गल्लीमा यौन प्यास छ, कोही पैसा तिरेर मेटाउँछन्, कोही पर-पुरुष खोजेर मेटाउँछन्, कोही अरु नारीसँग लागेर मेटाउँछन् भनिएको छ। लेखकले नेपालीमूलका महिलालाई उनीहरुका श्रीमानले भोक मेटाउन नसकेर परिवार बिग्रेको एकमात्र अचुक कारणको रुपमा प्रस्तुत गरेका छन्। ट्याक्सी चलाउने पात्रलाई भारतियको कन्सल्टेन्सीमा आइटीको तालिम लिन पठाउँछन्, राम्रो जागीर मिलाउँछन्, अनी पात्रको जिन्दगी एक किसिमले स्थापित भएको देखाउँछन्। अनी त्यो हिन्दी सिनेमाको नायकको भुमिका पाएको पात्र हरेक बर्ष त्यो एयरपोर्ट छोडेकी यात्रुलाई भेटाउन जहाँ चढेकी हुन त्यही पुराउँछन्। अन्तिममा ति पात्रको नायिकासँगको भेट पनि गराउँछन्। कथा एकाएक बदलिन्छ, पुरै नाटकीय शैलीमा धेरै घटना हुन्छन्। अनी आफ्नी नायिकाअर्कैले लग्न लाग्या हुन्छ, तर त्यही यौनको कारणले गर्दा आफ्नी नायिका अन्त नगएको देखाउँछन्। लेखकले रमा र लिनालाई यौनप्यासी देखाएका छन, पात्रकी नायिकालाई यौन माग्दा बिहे भाँडेको बनाएका छन्। महिला भनेको नायिका जस्तो हुन पर्छ भनेर देखाएका छन, त्यहाँ नायिकाको एउटै गुण देखिन्छ त्यो बिबाहपूर्व यौन गर्नु पाप हो। अरु गुण नि थिए होलान नायिकाका तर ति त्यती देखिदैन, खोजेर हेर्न पर्छ, खोज्नलाइ किताब सानो छ, नायिकाको जीबनी बारेमा बढीमा ३ पेज होला।

उपन्यासको अन्त्यमा के हुन्छ जान्नलाइ उपन्यास नै पढ्नुस भन्न चाहन्छु, तर अन्त्यसम्म पढदा हुने मानसिक यातनालाई सहन सक्ने खुबी भने पाठकसँग हुनुपर्छ।

उपन्यास १८० पृष्ठको छ भने यसको नेपाली मूल्य ३ सय रुपैयाँ राखिएको छ ।

@FustVictor

Add a Comment

Your email address will not be published. Required fields are marked *