गजल
|
जीत भन्दा हार हो यो जिन्दगी
दीन हो लाचार हो यो जिन्दगी
छैन हाँसो छैन मीठो गायन
दर्दको झङ्कार हो यो जिन्दगी
थिच्छ घाँटी चाहनाले हर्दम
लाग्छ छेकाबार हो यो जिन्दगी
लाभ मात्रै खोज्छ सारा काममा
झूटको व्यापार हो यो जिन्दगी
ढल्छ चाँडै रूप साथै यौवन
मेटिने शृंगार हो यो जिन्दगी
तर्न खोज्यो लान्छ टाढा भेलले
उर्लँदो जङ्घार हो यो जिन्दगी
डस्छ रोजै शून्यरूपी साँपले
सेपिलो ओडार हो यो जिन्दगी
बन्छ कैले शुष्कताले जर्जर
जीर्ण सुक्खा टार हो यो जिन्दगी
बित्छ बेला छेउ टुप्पो खोजँदै
जेलिएको तार हो यो जिन्दगी
छैन काहीं मित्रताको भावना
व्यर्थ मारामार हो यो जिन्दगी
भाइचारा भुल्न लागे लोकमा
सोच्छ कस्ले प्यार हो यो जिन्दगी
२१२२ २१२२ २१२
(बहरे रमल मुसद्दस महजूफ)