चराले बोकिहिँड्ने गीत

समुद्रका लहरधून बोकि
धर्तीको नृत्य हेर्दै
मध्यरातमा हिमालय आइपुग्छन् चराहरू ।

छातीमा अटाएर ल्याएको तपस्यारत समुद्रलाई
राखिदिन्छन् हिमालका शिखर शिखरमा ।

यिनै चराले छोएपछि ब्यूँझन्छ बसन्त यौवन
पाउला पाउलाबाट चियाउँदै फक्रन्छ माटो ।

ऋषिमूनिजस्ता हिमश्रृङ्खलाको खोकिलामा
लगाउँछन् गुँड
त्यहि गुँडमा हुर्काउँछन् पृथ्वीसौन्दर्य ।

बचेराका पखेँटामा उनेर जवानी
सिकाउँछन् हावामा पौडन
भुँइलाई ढोगेर सगरतिर उड्न ।

बसन्त सम्भोगले भिजेका हाँगा हाँगामा
नाच्दै गाउँदै मनाउँछन् उत्सब
फूलबाट तप्किने सुबाससँगै
फलका केस्राकेस्राबाट ब्यूँझने प्राणसँगै ।

हिमालको शिरफूल यो रातो गुराँसलाई
सिउरीएर सिउरमा
आफ्नै अँगालोमा बोकेर हिमाल
जान्छन् स्वर्गका गीत गाउँदै
समुद्रको छातीमाथि शास्त्रीय नाच नाच्न ।

हिमालयका ओठहरुबाट गुन्गुनाउँदै गीत
प्वाँखमा नचाउँछन् समुद्रलाई ।

त्यही नृत्यमा रमाएर हिमाल छुँला झैं गरी
छाल भएर जब उठ्छ समुद्र
एकसाथ गाउन थाल्छन् संसारका चराहरु
हिमालयका गीत ।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *