वसुधैव कुटुम्बकम्
|
यो भूमण्डल एक नै भइसक्यो
विज्ञानले ज्ञानले
नौलो चिन्तनले नयाँ प्रविधिको
सन्धानले ध्यानले
विद्युत्का लहरा समस्त छरिए
धर्ती र आकाशमा
छाँया इन्टरनेटको छ जनका
प्रश्वासमा श्वासमा ।
जे चाहे पनि जान्नुको सहजता
बन्दो छ कम्प्यूटर
धर्तीको र खगोलको स्थिति अहो
देखिन्छ आफ्नै घर
छन् प्राचीन नवीन संस्कृति कला
साहित्य जे विश्वमा
यो मोबाइल यन्त्रबाट छ सबै
ज्ञातव्य यै हात हातमा ।
धर्ती साँघुरियो नवीन युगको
उद्योग व्यापारले
यातायातसँगै अनेक सुविधा
सञ्चारको सारले
टाढा सन्तति छन् परन्तु दिनहुँ
छन् नेटमा भेटिने
गर्दा फोन मुहार दर्शनसँगै
तृष्णा त्यसै मेटिने ।
यो विज्ञान छ जोड्न तत्पर अझै
नक्षत्र-धर्ती अनि
धर्तीमै अब झार्न उत्सुक छ झैँ
ब्रह्माण्डलाई पनि
यो सम्प्राप्ति मनुष्यका प्रगतिको
हो विश्वकै गौरव
आफ्नै हृदयभित्र बाल्नु छ नयाँ
अध्यात्म बत्ती अब ।
अग्ला बार परम्परा असमता
अन्यायका छन् कति
सत्तास्वार्थ र राजनीतिसितका
उन्मादका झन् कति
हिंसाको ननिको छ मानसिकता
स्पर्धा छ शस्त्रास्त्रको
ठूला राष्ट्र विभक्त छन् र तिनमा
जालो छ कालो षड्यन्त्रको ।
मान्छे अद्भुत शक्ति हो प्रकृतिको
के आज यस्तो भयो
धर्तीबीच अमूल्य मानवपना
अत्यन्त सस्तो भयो
आफ्नै क्षेत्र र देशमा रगतका
छन् साँधसीमा जब
यी साझा पृथिवी विभाजित हुँदा
के मान्नु खै गौरव ?
मान्छे उड्न सकोस् विहङ्गमसरि
स्वच्छन्द आकाशमा
चाहोस् बस्न जहाँ निरापद बसोस्
त्यो राष्ट्रको भूमिमा
यो बेला जन-चेतमा चहकिलो
बन्धुत्व सल्काइदे
ए मान्छे अब विश्वका सकल यी
सीमा तँ भत्काइदे !