प्रसङ्ग तीज र नारी समानताको

हाम्रो देश कला संस्कृतिले भरिएको देश हो । यसको प्रत्यक्ष उदाहरणको रुपमा हामीले मनाउने गरेको चाड-पर्वलाई लिन सकिन्छ । हाम्रा चाड-पर्वहरुले धर्म, संस्कार, संस्कृति, कला, मनोरन्जन जस्ता कुरालाई सम्पूर्ण रुपमा एकै साथ समावेश गर्न सफल भएका छन् । त्यसेल गर्दा पनि आजको समाजमा यस्को महत्व झन बढ्दै गएको छ ।

हामी नेपालीहरुको महान पर्वहरुमध्ये तीज पनि एक हो । यस पर्वलाई नेपाली महिलाहरुले महान पर्वका रुपमा लिने गरेका छन् । यो पर्वलाई महिलाहरुले मनोरन्जनका रुपमा मनाउने गर्दछन् । हाम्रो ऐतिहासिक प्रथा परम्पराको जगेर्ना गर्नुका साथसाथै सामाजिक तथा पारिवारिक सम्बन्धलाई सुमधुर बनाउन पनि यस पर्वले योगदान गरेको पाइन्छ । एकातिर यो पर्वद्धारा बाबु-आमा, दाजु-भाइले दिदी-बहिनी र छोरी-चेलीलाई माइतीको महत्व दर्शाउन सफल भएको छ भने अर्कातिर विवाहित नारीलाई पनि आफ्नो जीवनमा पिता र माइतीको महत्वलाई दर्शाउन सफल भएको छ । यस्तै गरी अर्कोतर्फ विवाहित नारीलाई पनि पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी आफ्नो जीवनमा पतिको महत्व दर्शाउन यो पर्वले सहयोग गरेको पाइन्छ । पतिले पनि आफ्नी श्रीमतीलाई मनपर्ने गर-गहना, कपडा आदि किनिदिएर प्रेम व्यक्त गर्ने चलनले यस पर्वका अवसरमा अविवाहित चेलीले पनि आफ्नो जीवन-साथीको कामना गरी ब्रत बस्ने चलन छ । यसरी यो पर्वले सबै उमेरका नारीहरुलाई समेटेको पाइन्छ । यस पर्वमा सबै उमेरका चेलीबेटीहरु माइतीघरमा जम्मा भई मिठा-मिठा परिकार बनाइ खाने र खुवाउने, राम्रा-राम्रा गरगहनाले आफूलाई सजाएर नाचगान गरी मनोरन्जन गर्ने गर्दछन् । जुन अत्यन्तै राम्रो पक्ष हो ।

यति धेरै विशेषता बोकेको हुनाले होला यो पर्वको महिमा दिनप्रतिदिन बढ्दै गएको छ । सामान्यतया भाद्र महिनामा पर्ने यो पर्व तीजको एकदिनअघि दर खाने दिन देखि शुरु भएर पंचमीको ब्रतपछाडि सकिन्छ । तर हिजोआज भने एक महिनाअघिदेखि नै तीजको रमझम ठूलाठूला शहर बजारमा देखिन थालेको छ । तीज पर्वलाई आजभोली निकै आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गराउँदै व्यवसायीकरण गराउँदै लगिएको देखिन्छ । फलस्वरुप यो चाड आमा-बाबु, दिदी-बहिनी, तथा दाजु-भाइको घर आगनको सट्टा पाँचतारे होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा बढी मनाइन थालिएको छ । तीजको गीतमा दिदी बहिनीको सुमधुर स्वर तथा नाचलेभन्दा व्यवसायिक गायकगायिकाहरुले त्यस्ता पार्टीमा प्राथमिकता पाएका देखिन्छन् ।

यसैगरी दिदीबहिनीहरुले पनि यस पर्वमा आफ्नो संस्कृति झल्कने पहिरन र गीत संगीतमा भन्दा सट्टा हिन्दी गीत-संगीतले स्थान लिएको छ ।

हिजोआज तीजको ब्रत र उपासना गरेर भन्दा पनि दरखाने र खुवाउने परिपाटीमा दिदी-बहिनीहरुको विश्वास बढ्न थालेको छ । दिदी-बहिनीका बीच मनका पीर साटासाट गरी मनको बोझलाई हल्का गरिनुको सट्टामा एकापसमा गरगहना र तडकभडकमा तँभन्दा म के कम भन्ने परिपाटी विकास हुँदै गएर यो चाडलाई आपसी सद्भाव ल्याउने चाडभन्दा पनि महिलाहरुबीच मनमुटाव बढ्न थालेको देखिन्छ । फलस्वरुप यो पर्व महान पर्व नभई व्यापारीहरुको पर्व तीज भनेर भन्नुपर्ने स्थिति आइसकेको छ । जुन चाड-पर्वको नाममा बिकृति देखिनु दुःख लाग्दो कुरा हो ।

जुनसुकै पर्व मनाउनु पछाडि यस्ता आ-आफ्नै ऐतिहासिक तथा धार्मिक मान्यता हुन्छन् । जसको आधारमा हरेक पर्वहरु मनाइँदै आएका हुन्छन् । यसैगरी तीजको पनि आफ्नै पौराणिक कथा छ । जसअनुसार पौराणिककालमा पार्वतीले महादेव (शिब)लाई पतिका रुपमा पाउनका निम्ति तपास्यालाई यसको उदगम बिन्दू मानिएको छ । सामान्य अर्थमा यो पर्वलाई पार्वतीले शिबलाई पतिको रुपमा पाउँ भनी गरेको ब्रतको रुपमा बुझिए पनि अध्ययन तथा विश्लेषण गर्ने हो भने यस्को महिमा अझ स्पष्ट हुन जान्छ ।

हाम्रो हिन्दू धर्मअनुसार शिव शब्दलाई शुद्धता, पूर्णता र ज्ञानको प्रतीकको रुपमा स्वीकार गरिएको छ भने पति शब्दलाई सर्वोच्च अनादी, अबिनाशी, सर्वगुण सम्पन्न भगवानको रुपमा परिभाषित गरिएको छ । यस अर्थमा पार्वतीले आफ्नो प्रेमभक्ति तथा योगको कठिन साधनाद्धारा शिव अर्थात् शुद्धता, पूर्णता र ज्ञानमाथि विजय प्राप्त गरेकी थिइन् । अथवा शिव भगवानलाई पतिका रुपमा प्राप्त गरेकी थिइन् । यसैले पार्वतिको यस तपस्यालाई आत्म तथा परमात्माको मिलन भन्न सकिन्छ ।

यसरी भन्नुपर्दा यो तीज पर्वको महिमामा नारी-पुरुष दुवै उत्तिकै महत्वपूर्ण भूमिका छ । पुरुष जातिले पनि महिलाले जस्तै तीजको ब्रत बसेर शिव तथा शक्तिको उपासना गरी आफ्ना पत्नीहरुको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरी पत्नीहरुलाई पनि पत्नी-परमेश्वरीको स्थान दिने परम्पराको थलना गरी पत्नी धर्मको पालना गर्ने अवसरका रुपमा यसलाई लिनसके हामी नारीलाई पुरुषको महत्व भएजस्तै पुरुषलाई पनि नारीको पनि उत्तिकै महत्व छ भन्ने कुरा हाम्रो समाजमा स्थापित हुने थियो । यसका साथसाथै यस पर्वलाई हामी नारी तथा पुरुष दुवैले पार्वतीजे जस्तै शुद्धता, पूर्णता र ज्ञान प्राप्तिको लागि यस ब्रतको धारण गर्न सके यस पर्वको महत्व अझै बढ्न जाने थियो ।

अब यति धेरै महिमा बोकेको पर्व नारीमा मात्र केन्द्रीत कसरी हुन पुग्यो भन्ने सम्बन्धमा छलफल गरिनु पनि सान्दर्भिक हुन जान्छ । हाम्रो समाज हिन्दू धर्म र यसमा आधारित प्रथा तथा परम्परामा हो । हिन्दू धर्मको प्रत्यक्ष स्रोत भनेका हाम्रा ऋषीमुनीहरु हुन् । त्यतिबेलाको समाजमा आजको जस्तो लिखित नियम तथा कानुन थिएन । त्यतिबेलाको समाज हिन्दू धर्मअनुसार चलेको थियो ।

जतिबेला हाम्रो हिन्दू धर्मशास्त्रको विकास भयो । त्यतिबेला नारीहरुको अबस्था अत्यन्त कमजोर थियो । त्यतिबेलाका नारीहरु बेद पढ्नबाट बन्चित थिए । उनीहरु पूर्ण रुपमा अशिक्षित थिए । उनीहरुलाई घर-धन्दामा मात्र सीमित गरिएको थियो । यसले गर्दा उतिबेला रचिएका सबै धर्मशास्त्र पुरुष प्रधान हुन पुगे । यसमा नारीको कुनै योगदान हुन सकेन । त्यतिबेलाका लोग्ने मान्छे मान्छेपनि आफूलाई पुरुष, पति, स्वामी, पतिदेव जस्ता आदरणीय शब्दले परिभाषित गर्न सफल भए । जस्ले गर्दा अशिक्षित नारीहरुले लोग्नेलाई नै परमेश्वरको संज्ञा दिई आफ्ना पतिहरुको पूजा गर्न थाले । यसैले हाम्रो हिन्दू धर्मशास्त्रमा नारीको स्थान शुन्य हुन पुग्यो ।

प्राकृतिक रुपमा हुने मासिक धर्मलाई पनि पापको संज्ञा दिंदै त्यसको मुक्तिका लागि भन्दै ऋषिपंचमी जस्ता ब्रतहरुको महिना समाजमा फैलाई ऋषिमुनीहरु आफू पुजित हुन थाले । समाज चलाउन बनाइएका नियमलाई नै धर्मशास्त्र भनिन थाल्यो र यसको पालन नगर्नेलाई पापी भनिन थाल्यो । धर्मलाई लगेर भगवानमा जोडियो । त्यसैले गर्दा यस्ता नीति नियमले चुपचाप बैधानिकता पाउँदै गए । यसले गर्दा हिन्दू धर्म धेरै हदसम्म रुढिबाढीग्रस्त हुन पुग्यो । जुन हामी नारीहरुको लागि दूर्भाग्य नै थियो ।

आजको समाजमा नारीले समानताको हक त पाइसकेका छन् तर पनि यस्तै सामाजिक र धार्मिक बिकृतिले गर्दा महिला कानुनबाट प्रदान गरिएका हक अधिकारको पूर्ण रुपमा उपयोग गर्न सकेका छैनन् । जबसम्म यस्ता रुढीबाढी कुराबाट आफूलाई मुक्त गर्न सकिदैन तबसम्म हामीले कहिले पनि समानताको हक पूर्ण रुपमा प्रयोग गर्न सक्दैनौ । यसैले यस्ता सामाजिक रितिथिति प्रथा परम्परामा आधारित चडवर्ष तथा सामाजिक संस्कारको पालना गर्दा कुरा बुझेर गरिनुपर्छ । यसो भन्दैमा हाम्रो प्रथा परम्परालाई जथाभावी रुपमा परिवर्तन गरिनु पनि हुँदैन र यसलाई अन्धाधुन्द रुपमा पालना गरिनु पनि ठिक छैन । हाम्रो धर्म प्रथापरम्परा भनेकै हाम्रो राष्ट्रिय गरिमा हुन् । यसले गर्दा नै हामी नेपाली आफूलाई विश्वको सामु एउटा छुट्टै पहिचान बनाउन सफल भएका छौं । हिन्दू धर्मशास्त्र विश्वले नै पुरानो शास्त्रका रुपमा पर्दछ । यो तत्कालीन समाजको परिप्रेक्ष्यमा रहेको बनाइएको हुँदा यसमा धेरै थोरै कमी कमजोरी पाइनु स्वभाविकै हो । त्यसैले आधुनिक समाजको आवश्यकतालाई मध्य नजर गरी थुप्रै विद्धानले यस विषयमा खोज तथा अनुसन्धान गर्दै आएका पनि छन् ।

यसैले समग्रमा भन्नुपर्दा सामाजिक विकास तथा मानव विकासमा बाधा पुरयाउने प्रथा तथा पसरम्परालाई चटक्क निकालेर अरु प्रथा तथा परम्परालाई पूर्ण रुपमा पालना गरी यस्ता चाडपर्वलाई निरन्तता दिंदै, मनोरन्जनात्मक तवरले सामाजिक तडकभडकबाट टाडा पन्छाएर सामाजिक, मानसिक, सांस्कृतिक विकासको उद्देश्यलाई प्राथमिकता दिंदै मनाउनु आजको आधुनिक समाजको मुख्य आवश्यकता हो भन्नमा अत्युक्ति नहोला ।

Add a Comment

Your email address will not be published. Required fields are marked *