तीज-सम्बाद

‘तिमी चै यहाँ किन नि, बादल ? तीज मनाउँदैनौ ?’ पहाडले कुहिरोलाई सोध्यो।
‘ब्रत बस्न ! ब्रत बसेर मनाउने हो नि त, तीज’ कुहिरोले भन्यो।
‘ब्रत’ ? तिमी किन ब्रत बस्ने नि ?’ सोध्यो।
‘उत्सव मनाउन। मेरो र डुङ्गाबीचको प्रेम सफल भएको उपलक्ष्यमा ब्रत !’ भन्यो।

‘तिमी पनि खुबै ठट्टा गर्छौ । कहिले गर्‍यौ प्रेम ?’ पहाडलाई बिश्वास नै लागेन।
‘गर्‍यौँ नि हामी दुईले। चुपचाप गर्‍यौँ। उनी उताबाट तैरिंदै यता आउँथिन् । म यता पर्खिरहन्थेँ । भै त गो !’ बादलले भन्यो।
‘अनि कसरी बोल्यौ त ? उनी त त्यति तल छिन् !’ सोध्यो।

‘प्रेममा हुँदा शब्दमा कुरा हुँदैनन् । ईशारामा हुन्छन्, ईशारा बुझ्नुपर्छ ! जब ओठ बन्द भएर मनहरू बोल्न थाल्छन्, तब बुझ- कुछ हो रहा है !’ बादलले भन्यो।
‘त्यसरी पनि हुन्छ त प्रेम? कसले पत्याउँछ तिम्रो कुरा ?’ सोध्यो।
‘प्रेमको सुरूवात नै नपत्याउने कुराबाट हुने हो, पहाड । यति चै बुझ !’ भन्यो ।

‘त्यस्तो सट्याकसुटुक पनि हुन्छ त ?’
‘कसरी हुन्छ त ?’
‘कसैलाई त थाहा हुनुपर्ने हो !’
‘कसरी थाहा हुन्छ र ! प्रेम पनि हल्ला गरेर गर्छन् त ?’
‘के चैं गर्छन् त हल्ला गरेर ?’ पहाडले जान्न खोज्यो।

‘झगडा !’
यहाँ झगडा चैं हल्ला गरेर हुन्छ, तर प्रेम चैं सट्याकसुटुक ! त्यही भएर त …’ बादल रोकियो।
‘के त त्यही भएर…?’ सोध्यो।
‘जताततै अशान्ति नि ! जबसम्म हल्ला गरेर प्रेम गर्ने दिन आउँदैन, तबसम्म सबैतिर झगडै झगडा मात्र हुन्छ।’ बादल गम्भीर बन्यो।
‘तिमी पनि के के भन्छौ …। फेरि, ब्रत बसेको पनि भन्छ, के के खाईपनि रा’को छ ?’ पहाडले कुरा जोड्यो।

‘के गरी बस्छन् त ब्रत ?’
‘भोकै बस्छन् नि ! त्यसमा पनि तीजको ब्रतमा त पानी पनि खानु हुन्न।’
‘किन नखाने ? कसले भन्यो तिमीलाई त्यस्तो कुरा ?’ बादललाई चित्त बुझेन।
‘पार्वतीले भोकै नबस्या भा’ महादेवलाई पाउँथिन त ? तीजको ब्रत त राम्रो पति पाउन गरिने तपस्या हो नि !’ पहाड पनि चुप लागेन।
‘हैट, तिमी जस्तै भएर त यो देश नबन्या नि ! उल्टो बुझ्नेले समाजलाई कसरी सुल्टो बाटोमा हिडाउँछ ? थत् !’

पहाड एकछिन तिरमिरायो। तर बादल बोल्न रोकिएन –
‘पार्वतीले भोकै बसेर महादेवलाई पाएको हैन। उनी त पहिल्यैदेखि महादेवलाई माया गर्थिन्। तर उनका बुबा त्यो मन पराउँदैन थे। बुबाको ईच्छा विपरीत पनि पार्वतीले महादेवप्रतिको आफ्नो प्रेममा बिजय प्राप्त गरेकोले त्यो बिजयको उत्सव मनाउन उनी व्रत बसेकी हुन् ।’
‘उत्सव पनि भोको बसेर मनाइन्छ ? तिमी पनि के के भन्छौ के !’ पहाड पनि रोकिएन।
‘त्यै त, पहाड, समस्या नै यही हो । ब्रत बस्नु भनेको भोको बस्नु हैन, उत्सव मनाउनु हो। उत्सव मनाउने आ-आफ्नै तरिका हुन्छन् । पार्वतीले एकदिन नखाएर आफ्नो प्रेमको सफलताको उत्सव मनाएकी हुन् ।’

‘अनि तिम्री डुङ्गा चै के गर्छिन् नि ? तिमी त खुबै कुरा गरिरा’का छौ यहाँ !’
‘उनी पनि भोकै बस्दिनन् । मैले भनिसकेको छु -तीज भोकै बसेर कसैको नाममा गरिने तपस्या हैन । न त तीज ब्रतले कसैको आयू नै बढाइदिन्छ । न यसले असल पति नै जुटाइदिन्छ ! तीज त प्रेमको सफलतापछि मनाईएको बिजय उत्सव हो ! उत्सव मनाउन भोको बस्नु पर्दैन ।’

कुरा सुनेर पहाड एकछिन झोक्रायो। चिउँडोमा आफ्नो चोर औंला राखेर भुइँतिर हेर्‍यो। र, बिस्तारै भन्यो – ‘तिमीले ठीकै भन्यौ, बादल।’ तीज- ब्रत त खुशियालीमा मनाईएको उत्सव नै हो। भोकै बसेर गरिने भाकल हैन। म पनि मेरी सिमालीलाई भोकै नबस्न भन्छु।’

पहाडको कुराले बादलको अनुहारमा चमक ल्याईदियो। ‘कुराकानीले नै त हो परिवर्तनको शुरूवात गर्ने …’ ऊ आफैसँग बोल्यो।

तर पहाडलाई भने शङ्का भो- बादलले उसलाई गिज्याको पो हो कि ! सोध्यो – ‘के भनेको हो तिमीले ?’
‘हैन ! म मेरी डुङ्गालाई यतै बोलाउँकी भनिरा’को।’ बादलले भन्यो।
‘कसरी बोलाउँछौ?’
‘सुसेलेर । मैले सुसेलेको उनले बुझ्छिन् ।’
‘नामबाट नै बोलाउनु नि ! किन सुसेल्नु?’ पहाडले मन चोर्न खोज्यो।

‘ईशारामा गरिएको माया रसिलो हुन्छ नि त ! अझ सुसेल्दा त दुईटै ओठ एकै ठाउँमा हुन्छन् । ओठ नखोली गरिएको ईशारामा गहिरो माया लुकेको हुन्छ !’ बादलले भन्यो।
बादलको कुरा सुनेर पहाड मुस्कुरायो। र, भन्यो – ‘तिमीलाई केही गरे पनि नसकिने ! ल ल, ईशारा नै गर।’
जवाफमा बादल पनि मुस्कुरायो।

Add a Comment

Your email address will not be published. Required fields are marked *