जीवनको रङ्ग
|जब समय मेरो मुट्ठीमा थियो
लागेको थियो
जीवन सुनौलो भविष्य हो
रङ्गमञ्चको विशाल महल हो
हरेक पाइलामा
सफलता अनि खुशियाली भरिएको
पूर्णिमाको रात
बिहानीको घाम
र गोधुली साँझजस्तै ।
सोच्थें,
बसन्त ऋतु सधैं रहनेछ
समयले सधैं पर्खिरहनेछ
बगैंचाका फूलहरु फुलि रहनेछन्
वृक्षका लातिकाहरू पनि लहराइरहने छन्
सधैंभरि उस्तै
निर्मल अनि निश्चल नदीहरु
बगिरहनेछन् निरन्तर आफ्नै गतिमा ।
एकैछिन रमाए जस्तो लाग्दै थियो वसन्तमा
शिशिरको सिरेटोले मुटु कमाउन थाल्यो
फूलहरु पनि झरि सकेछन्
पातहरु पनि सुकि सकेछन्
पूर्णिमाको उज्यालो रात पनि
औंशीको रात बनेछ
त्यसैले हिजोसम्म जवानीको जोशले
स्फुर्त शरीर पनि कमजोर अनि शिथिल बनेछ
अनि पो झल्यास्स बिउँझिएँ
समयले कोल्टो फेरिसकेछ
समय मेरो मुट्ठीबाट फुस्किसकेछ
जीवनभर कहिल्यै नपत्याएको
एउटा तितो सत्य
छ्यांग अनि उदांग भएछ ।
सधैं आफ्नो सम्झि
मुठ्ठीमा चपक्क्क अठ्याएको समय
आफूले नचाहँदा नचाहँदै
आफूबाट फुस्किन थालेको देख्दा
मन दुःखी छ
अनुहार मलिन छ
छट्पट छट्पट
बाघको पन्जामा परेको मृगजस्तै
माझीको जालमा परेको माछाजस्तै ।
जीवनभर निस्फिक्रि हुँदै रमाएको मन
बल्ल पो झसाङ्ग हुँदै बिउँझियो
फेरि मनमा कताकता
झिनो आशा पलाएको छ
मनले एउटा मिठो सपना देखेको छ
आश्वासनको एउटा मिठो भाषा बोलेछ
जीवन त एक यात्रा हो
यो त निरन्तर चलिरहन्छ
हरेक रातपछिको बिहानी किरणजस्तै
अनन्तसम्म बाचिरहन्छ
नयाँ-नयाँ स्वरुपमा
नयाँ-नयाँ रङ्गमा ।
उर्जा त उही नै हुँदोरहेछ
तर यसको
स्थानान्तरण मात्र हुँदोरहेछ
नयाँ ठाँउमा नयाँ गाउँमा ।
जीवन जिउनु
बाँच्नु मात्र होइन
जीवनजस्तै पुनर्जीवन पनि मिल्दोरहेछ
मृत्युको भय पर-पर पन्छाउँदै
निर्धक्कसँग बाँच्नु
यथार्थ जीवन जिउनु रहेछ ।
ढिलो आयो कडा आयो भनेजस्तै लाग्यो । क्या मार्मिक क्या भावुक । धन्यवाद नानू ।