रेडियोको दु:ख अब स्मृतिमा
|मातृभूमिबाट झण्डै ११ हजार किलोमिटर टाढाको आकाशमा नेपाली आवाज पुन गुञ्जाउनु थियो। दुई बर्ष एडमन्टनमा चलाएको रेडियो काठमाण्डुले उति चर्चा पाएको थिएन। एकातिर काठमाडौमा रहँदा नेपाल एफएममा कार्यक्रम सञ्चालनको हुटहुटी मेटिएको थिएन भने अर्कोतिर विदेशी भूमिमा स्वदेश घन्काउने तीव्र चाह थियो । त्यसमाथि नेप्लिज क्यानडिएन सोसाइटी अफ क्याल्गरीले सन् २००९ मा पहिलोपल्ट क्याल्गरीमा नेपाली भाषाको रेडियो कार्यक्रम शुरु गरेको केही महिनापछि नै निरन्तरता पाउन नसकेको तीतो अनुभव पनि थियो ।
हाम्रो पहिलो प्रयास रेडियो मातृभूमि एक घण्टाको साप्ताहिक कार्यक्रम बन्द भएपछि फेरि नेपाली भाषाको रेडियो कार्यक्रम शुरु गर्न एक दशक पर्खिनु पर्यो । अझै भन्नुपर्दा विदेशमा एक नेपाल बनाऔँ भन्ने अभियानका विरुद्ध विभिन्न स्वार्थ समूह खडा भए जसले एक दशकपछि शुरु भएको मातृभाषाको कार्यक्रमलाई असफल पार्न दुष्प्रयास गरिरहे । विभिन्न आरोह अवरोहका बावजूद अन्तत सन् २०१८ अगष्ट २८ को राती १० बजे रेड एफएम १०६.७ मेगाहर्जमा सुरु भयो-नेपाली रेडियो क्याल्गरी नामको साप्ताहिक २ घण्टे नेपाली भाषाको रेडियो कार्यक्रम ।
रेडियोको गेम चेन्जर पक्ष
नेपाली रेडियो क्याल्गरी रेडियो मातृभूमिको अर्को इनिङ् भने पनि हुन्छ । यो सुरु हुनभन्दा एक हप्ता अगाडी अगस्त २२ मा क्यानडियन ब्रोडकास्टिङ् कोडको बारेमा स्टेसन म्यानेजर माइकल पेडर्सनले विस्तृत व्याख्या गर्दै भनेका थिए – हामीले उद्घाटन कार्यक्रम फेसबुक लाइभ गरिदिन्छौँ, पछि तिमीहरूले चाह्यौ भने हरेक हप्ता गरे पनि हुन्छ । आफूहरुसँग ४-६ वटा क्यामेरा स्टुडियोमा जडान गरेको साथमा ब्रोडकास्टिङ् सफ्टवेयर वायर कास्ट पनि उपलब्ध रहेको बताउँदै उनले त्यसका लागि तालिम दिने पनि बताए । उनको प्रस्ताव मलाई औधी मन पर्यो ।
हुन त पहिलो कार्यक्रममा हामीले खासै मेहनत गरेनौँ । नेपाली समुदायका स्वयंसेवक र कार्यकारी समितिका सदस्यहरुका शुभकामनाका साथै गीत बजाउँदै हल्का कुराकानीको ढाँचामा मैले स्कृप्ट लेखेको थिएँ । दीपेन्द्र भण्डारीले वायर कास्ट सामान्य रूपमा सिकेपछि पहिलो कार्यक्रमको फेसबुक लाइभ गरियो । दुई घण्टाको लाइभ कार्यक्रम सिध्याएर स्टुडियोबाट निस्किँदा उक्त कार्यक्रम झण्डै ५ हजारले हेरेका थिए। हप्ता भरिमा यो कार्यक्रम २० हजारले हेरे । अमेरिका, अस्ट्रेलिया,युरोपका साथीहरूले उत्साहपूर्ण सुझाव सल्लाह दिनुभयो । रेडियोले लोकप्रियताको बाटो समात्यो । क्याल्गरीको स्थानीय फ्रिक्वन्सीले मात्र यो लोकप्रियता सम्भव थिएन,फेसबुक लाइभ पनि बन्यो लोकप्रियताको गेम चन्जर । ब्यस्ततामा कार्यक्रम कुरेर सुन्ने फुर्सद धेरैलाइ हुने थिएन,तर फेसबुकमा भिडियो उपलब्ध भएपछि कुनै बेला फुर्सदमा हाम्रो कार्यक्रम हेर्न सजिलो भयो । यसले गर्दा कार्यक्रमलाई थिम बेस्ड बनाउनुपर्ने सोचाइ आयो र पारिवारिक समय कटौती गरी रेडियोका लागि समय थप्नहामी बाध्य भयौं ।
कार्यक्रमको तयारी
पहिलो कार्यक्रमको सफलताले मलाई पनि केही रात निद्रा लागेन । धेरै जनाले हेर्दा रहेछन् अब अर्को अङ्क के प्रसारण गर्ने रु थिम बेस्डमा त जाने तर यसका लागि गहकिलो योजना थिएन हामी सँग । मैले सन्चारक्षेत्रमा काम गरेका धेरै साथीहरू गुहारें, अमेरिकाबाट नारायण श्रेष्ठ,एडमन्टनबाट शान्ता बस्नेत,अनमोलमणी र अनिल थापा, यम घिमिरे, ओटावाबाट भानुभक्त आचार्य,लगायतका साथीहरूसँग छलफल गरेँ । प्रवासको स्रोता र उनीहरूका सम्भावित रुचिका धेरै अवधारणाहरू जम्मा पनि भए । कार्यक्रम प्रस्तुतिका विकल्प र उठाउन सकिने मुद्दाहरूको विस्तृत लिस्ट तयार पारियो। समुदायका साथीहरूले पनि १२ सदस्यीय व्यवस्थापन समिति बनाउनु भयो । साथीहरूमा उर्जा र श्रृजनशीलता थियो । एउटा तयारीपछि कार्यक्रमको फरम्याट,कार्यक्रम प्रस्तुति र रेडियो पत्रकारिताको एउटा आचार संहिता तयार भयो । यो तयार पार्दा त्यहि विषयमा रिसर्च गरिरहनु भएका भानुभक्त जीको र स्टेसन मेनेजर माइकलका सुझाव खुबै काम लागे ।
नेपाली रेडियो क्याल्गरीको ब्यबहार संहिता(२०१८ नामको ४-५ पेजको दस्तावेजले अन्योलमा रहेको रेडियो टिमको नेतृत्वका धेरै साथीलाई सजिलो बनाइ दियो । दोस्रो कार्यक्रम तीज विशेष प्रस्तुत गरियो। कार्यक्रमको दर्शक घटेर ५ हजारको हाराहारीमा आयो। मैले एकपल्ट नेपाली टेलीभिजनका कार्यक्रमहरूको भ्युअरसँग दाँज्दा यो थोरै होइन रहेछ । दुई दर्जन कार्यक्रम बीचमा हामी पनि परेका रहेछौं ।
प्रत्येक पाइलामा तगारो
पहिलो कार्यक्रम देखि केही साथीहरूले मलाई हटाएर आफू-आफू नजिकको प्रस्तोता हुने वा बनाउने र लोकप्रिय हुने सपना देख्न थालेका रहेछन् । कार्यक्रम सञ्चालन गर्न २ जना सञ्चालक चाहिने भयो । फेसबुक लाइभको लागि क्यामेरा र सफ्टवेयर चलाउने एकजना र उद्घोषक अर्को एकजना । कार्यक्रम तयार पारेपछि अन्तिम समयमा गेस्टलाई कार्यक्रममा नपठाएर कार्यक्रम असफल पार्न दबाब आफ्नै समूदायबाट भयो । कार्यक्रम राम्रो हुन थालेपछि केही व्यक्तिले कार्यक्रम संयोजक नै फेर्ने कुरा पनि उठाएछन् । यस्तै असहजताबीच २-४ श्रृंखला कार्यक्रम जानासाथै स्रोता दर्शकको एकखालको हार्दिकता पाइन थाल्यो कि अब प्रस्तोता परिवर्तन गर्न असहज बन्दै गयो । आचार संहितामा लेखेअनुसार नितान्त गैरराजनीतिक र सार्थक शब्द संयोजन रहेका गीत प्रसारण गर्दा पनि राजनीतिक भयो भनेर प्रचार गरियो ।
कार्यक्रम सञ्चालक बनाउन,कार्यक्रम उत्पादन गर्न तालिम दिएका मान्छेलाई दबाब दिएर कार्यक्रममा सहभागी हुन आउने वातावरण रहेन, कतिले रहर हुँदाहुँदै पनि छोडे। पहिलो कार्यक्रम देखिकै कतिपय साथीहरुको व्यवहारले यो अनिष्को परकम्प महशुष भएको थियो। मैले एउटै गेस्ट नआए पनि कार्यक्रम सुन्न लायक ढङ्गले चलाउन सकिने २-३ बटा कार्यक्रमको सामग्री पहिल्यै तयार गर्न थालेको थिएँ ।
NRN र NCSC को चुनाव सकिएको थियो, त्यतिवेला यहाँ रेडियोमा हुनसक्ने दूषित राजनीतिका सम्भावित असहजताको अनुमान गर्न मैले सिकिसकेको थिएँ। तयारी यस्तोसम्म पनि गरेँ, स्टुडियोको जागिरेलाई असल साथी बनाएर कोही पनि फेसबुक लाइभ गर्ने टेक्निसियन नआए पनि स्टुडियोको स्टाफको सहयोग मागेर भएपनि कार्यक्रम गर्ने ब्याकअप तयार पारेँ। म बिरामी मात्र परिन भने कार्यक्रम कुनै हालतमा नरोकिने अवस्था सृजना भएपछि सहज महशुस हुँदै गयो। कार्यक्रम प्रस्तोता र टेक्निसिएनको लागि झन्डै २ दर्जनले तालिम लिए ६ महिनामा। यो समुह देख्दा र हाम्रो प्रस्तुति प्रति श्रृङ्खला सुध्रदैं गएकोमा रोक्न खोज्नेहरूले हरेश खाँदै गए। एकापट्टी लोकप्रियता घटेन अर्कोतर्फ रेडियोले दर्शक स्रोता र स्वयम्सेवकहरुको लामो डफ्फा तयार भयो। दिनेश अधिकारी, घनेन्द्र न्यौपाने, रमेश पराजुली,विक्रम राउत,बुद्दी अधिकारी,दिपेन्द्र भण्डारीलगायतका धेरै साथीको बलियो साथ मिल्यो । कार्यक्रम असफल पार्न एउटा पक्ष एकातिर थियो भने यसको सफलतामा मातृभूमिको न्यानो माया महशुस गर्ने नेपालीमनहरुको सहयोग, शुभेच्छा गर्नेको संख्या पनि कम थिएन । क्यालगरीकै नेपाली समूदायका केही व्यक्तिहरु रेडियो कार्यक्रमको विरुद्ध किन त्यसरी ज्यान फालेर लाग्नु भयो त्यो भने मैल बुझ्न सकिएन ।
प्रविधि र सहभागिता
कार्यक्रममा निरन्तर प्राविधिक समस्या देखिन थालेपछि यसलाई सबल बनाउन पट्टी लाग्यौं । स्टेसन मेनेजर निकै सहयोगी रहे । उनले दिनभरीको लामो प्राविधिक तालिम निःशुल्क दिने भए, भारतीय मुलकी प्रशिक्षक ब्यबस्था गरिदिए स्टेसन मेनेजर माइकलले । उक्त तालिम लिन रेडियोप्रति समर्पित महिला स्वयम्सेवक एउटा टिम लिएर गयौं। तालिम लियौँ । अब समस्या पहिचान गर्न हामी सक्षम भयौं । लक्ष्मी लम्साल,जानुका नेपाल,भावना पोखरेल, सुष्मा खनाल, शर्मिला रानाभाटलगायतका सहयोगी प्रस्तोताहरू र प्राविधिकपक्ष सबल बन्दै जाँदा कार्यक्रमलाई असहयोग र असफल पार्न लागेको पक्षले केही क्षति नपुर्याउने अवस्था श्रृजना हुँदै गयो।
कार्यक्रम भाँड्न नेपाली समुदायको नेतृत्व गरिसकेका केही महिलाहरू समेत रेडियोमा काम गर्ने महिलाका घर घरै गएर ‘राती-राती बालबच्चा छोडेर किन जान दिएको तिम्री श्रीमतीलाई होस् गर है होस् गर, कुरो बिग्रेपछि पछुताएर हुँदैन’ भनेर स्वयम्सेवक महिलाका घर परिवारलाई भड्काउने काम गरेको समेत थाहा हुन् थाल्यो । फूलको आँखा फूलै संसार हो, आफू जस्तो छ अरूलाई उसले देख्ने पनि त्यस्तै हो भन्ने लाग्थ्यो । आखिर समुदायका नेतृत्व गरिएका पुराना र अनुभवीहरु पनि कतिसम्म निकृष्ट र स्तरहीन हुन सक्छन् भन्ने पनि यसैबखत अनुभव भयो।
महिला सह-प्रस्तोता र कार्यक्रम उत्पादकहरूमा एकखालको चेतको विकास भएको थियो, आफूले भोगेको विभेद र असमानताका विषयमा बोल्ने यो प्रभावकारी माध्यम हो । त्यसैले वहाँहरूको मुद्दा रेडियोसँग जोडियो, उहाँहरू जोडिनुभयो। अध्ययन गर्ने, डेटा कलेक्सन गर्ने, प्रस्तुत गर्ने आफ्ना मुद्दामा बहश पैरवी गर्ने महिलाहरूको प्रस्तुति निकै उल्लेख्य बन्यो रेडियोको लागी।
कार्यक्रम निर्माणमा भेटिएका जो कोहीमा पनि रेडियोप्रति लगाव देखिए तालिम दिन निम्ता गरिहाल्ने उत्साहित पारिहाल्ने मेरो प्रयास निकै सघन रह्यो। स्कुल कलेज जाने युवापुस्ता रेडियोमा सहभागी बनाउन कुनै पारिवारिक बाध्यता हुँदैनथ्यो । श्रवण गीरी, अभिषेक भण्डारी, समृध्दी पाण्डे र लिजा भट्टराईलगायतका अन्डर सिक्सटिन टिम पनि तयार गयो । उनीहरूका क्षमता र सम्भावना देखेर धेरै जना हच्किनु पर्ने अवस्था बन्यो। रेडियो प्राविधिक रूपमा पनि निकै बलियो हुँदै गयो। एकपल्ट हिन्दी सेवामा पनि फेसबुकलाइभ गर्न हाम्रा प्राविधिकले सहयोग गरेको सन्दर्भले हाम्रो कार्यक्रम र टिम बलियो हुँदै गएकोमा अन्य भाषाका कार्यक्रम प्रस्तोताले पनि तारिफ गरे । प्रयास गरिरहँदा झण्डै आधा दर्जन युवाहरू रेडियो अभियानमा आएपछि रेडियो असफल पार्न लागेको समूह नराम्ररी पछारियो । म आफू यो कार्यक्रमबाट अलग भएपछि पनि यो कार्यक्रम निरन्तर चल्न सकोस भनेर मैले युवा पुस्तालाई प्रोत्साहन र सहभागी बनाइयो । यो सिलसिलामा हामीलाई अरू कोही नपाएर बच्चाबच्ची बटुलेर रेडियोका बोल्न लगायो आरोप पनि लाग्यो । दुई घण्टा रेडियोमा बोल्न के तयारी गर्नुपर्छ ? दुई घण्टा त नमस्ते म फलानो आज यस्तो यस्तो भन्दै बित्छजस्ता कुरा पनि सुनिन्थे । मिडिया साक्षरता शून्य भएका यस्ता व्यक्तिहरुको समूहमा हामीलाई गैंडाकोजस्तो छाला बनाउन शिक्षा दियो ।
अफवाह र हल्ला
रेडियोमा बोल्नासाथ रातारात सेलेब्रिटी भइन्छ भन्ने गलत सोच धेरैमा रहेछ । रहर गरेर उफ्रिदैं आउने तर रेडियो प्रविधि र कार्यक्रम उत्पादनमा पटक्कै रुची नभएका पनि ठोक्किन आइपुग्थे। तिनीहरूलाई तालिम दिएपछि कार्यक्रम प्रस्तुतिको तयारीका केही हप्तामै हराउँथे । यसैको बारेमा स्टेसन मेनेजर माइकलले भन्थे,तामझामका साथ आएका रेडियो प्रस्तोता ३-४ महिनामा हराउँछन् तिमीहरूले त एक बर्ष चलायौ त,गजब भो।
टोरन्टोको सामुदायिक रेडियो कुसुमले कब्जा गर्छ, उसका मान्छेलाई मात्र रेडियोमा लैजान्छ, उसकै घेराबन्दी छ भनेर पनि हल्ला चलाइयो शुरुमा । तर ५-६ महिना नपुग्दै स्थिति फेरियो र रेडियोको कोअर्डिनेटरबाट छुटकारा पाउन मैले दिएको निवेदन अस्वीकृत भयो । यस्तै विदेशमा नेपाली समूदायको व्यक्ति सबैभन्दा बढी फस्ने आर्थिक हिनामिनामा हो । विशुद्ध समूदायको सेवाका लागि एक रुपैयाँ नलिइकनै म यो कार्यक्रममा लागिपरेको थिएँ । त्यसैले विज्ञापनको रकमलाई थप पारदर्शी बनाउनुपर्नेमा म पनि सचेत थिएँ । रेडियोको विज्ञापनको सामान्य व्यवहार चलाउने मोटामोटी नियमको ड्राफ्ट तयार पार्यौं । ब्यबस्थापन बोर्डबाट त्यो प्रस्ताव पनि पारित भयो । हप्ता बित्दै जाँदा विज्ञापन पनि आउन थाल्यो । विज्ञापनको व्यवस्थापनमा श्रीकान्त अर्याल र घनेन्द्र थिए ।
अलमल छैन लक्ष्यमा
नेपाली रेडियो क्याल्गरीले आफ्ना स्रोता परिभाषित गरेको छ। प्रवासमा रहेका नेपाली समुदाय जो नेपालको मुलधारको सञ्चार माध्यमका सामग्रीमा सामान्य रुची त छ तर जीवन चल्दैन त्यसले, ती दर्शक स्रोता र तिनको रूचीको मुद्दा हाम्रो सामग्री हो। दैनिक जीवनमा आवश्यक सामग्री जुन नेपाली मूलधारका सञ्चार माध्यममा समेटिँदैन ती विषयलाई नेपाली रेडियोले आफ्नो टेक्ने थलोको रूपमा पहिचान गरेको छ। दैनिक जीवनका समस्या, समाधान, अनुभवपूर्ण जानकारीले भरिएको कार्यक्रम प्रवासमा बस्ने नेपाली समुदायकोलागी रुचिको विषय भयो।
नेपालको राजनीतिक अभ्यास र त्यसको निरस परिचर्चामा रमेको सञ्चार माध्यमको विकल्पमा राजनीतिका कुरा त परै जावस पार्टीका नामसमेत रेडियोमा नबोल्ने जुन अभ्यास गरियो यो पनि श्रोताहरूका लागि प्रिय बन्यो । एकबर्षको अनवरत फुलटाइम काम गरे सरह काम गरेपछि रेडियोले आफूलाई पुग्ने कमाइ गर्न सक्ने भएको छ । बाटो प्रस्ट भएको छ, के प्रसारण गर्ने नगर्ने भन्ने दुविधा छैन। यो एकबर्षले रेडियोको निरन्तरता र दिगो व्यवस्थापनमा उल्लेख्य अनुभव दिएको छ ।
र, म सबैसामू विनम्र अनुरोध गर्न चाहन्छु – यो कार्यक्रम हामी सबैको साझा हो । विदेशमा मातृभूमिको आभाष दिने यो र यस्ता कार्यक्रमलाई कुण्ठा, स्वार्थ, हीनभावका आधारमा होइन, हाम्रो भाषा, सस्कृति, आफ्नोपन र समग्रमा नेपाल र नेपालीको मायाका रुपमा हेरौँ । एकातिर नयाँ पुस्ता अब रेडियोका लागि तयार भएको छ भने अर्कोतिर रेडियो कार्यक्रम यत्तिकै चल्छ भन्ने तप्काले पनि चाहेमा अवसर पाओस् भन्ने हेतुले म यो रेडियो कार्यक्रम संयोजनको जिम्मेवारीबाट गत हप्तादेखी अलग भएको छु । मलाई यतिन्जेल साथदिने स्रोता दर्शक, शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।
Twitt: @thekusum