अमेरिकामा सन् २०१९ को दशैं अर्थात विजया दशमी कहिले र किन ?

 

सामान्यतया हिन्दू/नेपाली सँस्कृतिसङ्ग सम्बन्धित सबैजसो चाडपर्वहरू नेपालमा मनाएको अर्को दिन मात्र अमेरिकामा मनाउने गरिन्थ्यो | तर यो बर्ष भने नेपालमा भन्दा पहिले अमेरिकामा विजया दशमी मनाउने अर्थात मान्यजनहरुबाट दशैंको प्रसादस्वरुप टिका र जमरा लगाउने  कुरा चलिरहेको छ |

यसो त योभन्दा पहिलेका कुनै कुनै बर्षमा पनि नेपालमाभन्दा पहिले यहाँ मनाउनु पर्ने कतिपय चाड पर्व हामीले नेपालमाभन्दा पछि अर्थात अर्को दिन मनाउने गरेका थियौं | यस्तो अवस्था यो साल र गत सालको तीज पर्वको बारेमा पनि केही विवाद र चर्चा भएको थियो | हामीलेजस्तै बिधी र परम्पराअनुसार मनाउने हिन्दू साँस्कृतिका कतिपय पर्वहरू अमेरिकमा रहेको भारतीय समुदाय र भूटानी नेपाली समुदायले भने नेपाल, भारत वा भूटानमा भन्दा एक दिन पहिले नै मनाउन थालेको चर्चा गत बर्षहरूमा पनि सुनिन थालेको थियो | तर पनि यस्तो अवस्था संधैं नै हुने भने होइन |

यस्तो किन हुन्छ ? यसलाई ज्योतिष शास्त्रको वा आधुनिक खगोल विज्ञानको भाषा/शैलीमामा  बुझाउन खोज्दा बुझ्न केही झन्झटिलो वा गाह्रो पनि हुन्छ | त्यसमा पनि नेपालमा बुवा आमाले टिका नलगाइ हामीले यहाँ टिका कसरी लाउन मिल्छ भन्ने कुरा सराध्दमा बिरालो बाँधेको जस्तो मात्र हो भनेर भन्न पनि गाह्रो | यता आफ्नै घर परिवारमा मैले काममा पहिले नै नेपालमा दशमीको टिका लगाउने दिनको भोलिपल्ट दशैंको लागि भनेर विदा लिएको छू अब अहिले आएर कहाँ एकदिन पहिले लगाउने ? त्यसरी गर्न कहाँ पाइन्छ वा कसरी मिल्छ भन्ने प्रश्नको पनि सामना गर्नु परेको छ | यसो हुनुको कारण बार्षिक क्यालेन्डर(पात्रोमा) नै सबै महादेश/गोलार्ध्दका लागि त्यहाँको समय अनुसारको तिथी मिती र साइतको यकिन नगरिनु पानी हो | नेपालको आधिकारिक पञ्चाङ्ग समितिले पनि अहिलेसम्म तैयार गर्दै आएको पात्रो नेपालको भूगोल र समयको आधारमा मात्र तिथी र साइत  उल्लेख गर्नु र हिन्दू समुदायको  भएता पनि विशेष गरेर विजया दशैंको केही विशेषताहरु भने नेपाली परम्परा/सँस्कृतिअनुसार केही मौलिक वा फरक पनि छन् । त्यसमा पनि हजारौं बर्ष पुरानो नेपाली भूगोलको मौलिक परम्परा/ सँस्कृति बोकेर हामी नेपालीहरू अर्को गोलार्ध्द/महादेशमा पुगेर आफ्ना पहिचान समेटिएका मौलिक परम्परा/ सँस्कृतिअनुसरका चाड पर्व मनाउन थालेको केहि दशक मात्रै  हुँदैछ |  नेपाल बाहिरको भूगोल अर्थात अर्को गोलार्ध्द/महादेशमा नेपाली मौलिक चाड पर्व मनाउने अभ्यासको यो शुरुवाती वा संक्रमणकाल कालमा यस्तो विवाद अन्यौल र चर्चा हुनु पनि स्वाभाविक नै हो | 

नेपाली/हिन्दु परम्पराअनुसार घटस्थापना पछिको दशमी तिथिको दिन वा सामान्यतया दशौं दिन टिका जमरा लगाएर विजया दशमी मनाउने गरिन्छ । तर विभिन्न कारणले तिथिहरू लामो छोटो पनि हुने हुँदा नवमी तिथि छिटो सकिने र दशमी तिथि भने छिटो शुरु हुने गर्छ । तर ढिलो छिटो तिथिहरू शुरू हुँदा पनि सूर्योदयको समय हुँदा आवश्यकता र उपयुक्त साइतअनुसार पर्याप्त समय छ भने सूर्योदयको समयलाई नै साइत मानिन्छ |  तसर्थ  नवमीको दिन अपरान्ह ३ बजेतिर नै दशमी तिथि शुरु हुँदा नेपालमा बेलुका वा सूर्यास्तको समय शुरू भएको  हुन्छ र त्यो दशमी तिथीको अबधी अर्को दिन बिहानको सूर्योदयसम्म रहने भएकोले नेपालमा दशमीको दिनमा नै टिका लगाइन्छ | तर अमेरिका लगायतका पश्चिम गोलार्ध्दमा भने नेपालमा नवमीको दिन बेलुका शुरू भएको दशमी तिथि यहाँको अघिल्लो दिनको बिहान नै शुरु भएको हुन्छ । तसर्थ जुन दिन बिहान सुर्योदय हुँदा जहाँ दशमी तिथि पर्छ र जुन समयमा उपयुक्त साइत जुर्छ त्यो समयमा टिका लाउनु राम्रो हो । तर संधै अहिलेको जस्तो यहाँ अमेरिकामा पहिले नपर्न पनि सक्छ किनभने नेपालमा दशमी तिथि घटस्थापनापछिको दशौं दिनमा नै वा त्यो दिनको पनि अलिक ढिलो शुरू भयो भने यहाँ(अमेरिकामा) सो समय सूर्यास्तको समय हुन्छ तसर्थ हामीले त्यसपछिको सूर्योदयको समय अर्थात अर्कोदिन बिहान उपयुक्त काल, बेला, मुहुर्त आदिअनुसार उपयुक्त साइत हेरेर टिका जमरा लगाउनु पर्छ ।

यदि यो साल नेपालमा टिका लगाएको १०-१५ घण्टा पछि अर्थात अर्को दिन टिका लाउने हो भने पश्चिम गोलार्ध्दमा(अमेरिकामा) दशमी तिथि भने सकिएको हुन्छ । ज्योतिष शास्त्र वा आधुनिक खगोल भूगोल विज्ञानअनुसार यो सामान्य र स्वाभाविक हो । तर माथि उल्लेक्घ गरेजस्तो हाम्रो मौलिक परम्परानुसार दशैंको टिका जमरा ५ दिनसम्म पनि लगाइन्छ वा अहिलेसम्म नेपालमा लगाएपछि मात्र  लगाउने होइन की व्यक्ति वा परिवार/समुदायका अन्य केही परम्परागत कारण/मान्यताले हुनसक्ने शुभ मानिने साइतको प्रतिकूलता सकिएपछि अर्को दिनमा पनि लगाइन्छ |

यस सम्बन्धमा नेपाल तथा अमेरिकमा रहेका ज्योतिष शास्त्रसङ्ग सम्बन्धित व्यक्ति,सङ्घ संस्था र  सामाजिक संस्थाहरूले सन् २०१९ को विजया दशमीको तिथि र टिकाको साइतको आधिकारिक जानकारी दिइसकेका छन् । जसअनुसार यो साल अमेरिकामा बडा दशैं अर्थात बिजया दशैंको दशमी तिथी अक्टुवर ७ तारिख  सोमबार पर्छ । तर माथि पनि उल्लेख गरिएको छ, सामान्यतया दशमीको टिका नेपालमा पनि  आ-आफ्ना अनुकुलताअनुसार दशमी पछि ५ दिनसम्म लगाउने चलन छ भने कतै कतै एकैदिन मात्र पनि ।

यस सम्बन्धमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौड्यालले संघले सार्वजनिक गरेको(यहाँ राखिएको) विज्ञप्तिअनुसार अमेरिका लगायतका भूगोलमा दशैंको टिका लगाउनु ठिक हुने बताउनु भएको छ । उहाँले हामीलाई  दिनु भएको जानकारी अनुसार नेपालमा नवमीको दिन बेलुकाबाट दशमी तिथि शुरु हुन्छ र भोलिपल्ट बिहानसम्म पनि रहन्छ । तर अमेरिकामा(यो समय न्युयोर्कको हो र क्रमसः यहींको समयानुसार गणना गर्नु पर्छ) दशमी तिथि यहाँको गते,बार,तिथि र समयअनुसार अक्टुवर ६ तारिख आइतवार अपरान्ह ४ बजे र २१ मिनेटमा शुरुहुन्छ । तर यो सूर्यास्तको समय भएकोले त्यसको भोलिपल्ट ७ तारिख सुर्योदयोपछिको उपयुक्त समयमा टिका लगाउनु बिधि परम्परा र शास्त्र अनुकुल हुन्छ । यहाँको समय अनुसार दशमी तिथि ८ तारिख मङ्गलबार बिहान सुर्योदय शुरु नहुँदैको समय  ५ बजे र ३४ मिनेटबाट सकिएर अर्को तिथि शुरु हुन्छ । तसर्थ यदी हामीले अमेरिका/क्यानडामा ८ तारिख मङ्गलबार सूर्योदयपछि टिका जमरा लगाउँछौं भने सो बडा दशैंको दशमी तिथीको टिका भने हुँदैन । तर दशमी शुरु भइसकेकोले टिका जमरा लगाउन भने सकिन्छ तर यती मात्र बो यो दिन विजया दशमीको दिन वा दशमी तिथि भने होइन  ।

आधुनिक विज्ञान वा परम्परागत नै सही ज्योतिष शास्त्रअनुसार पनि तिथि, महिना र सालको गणना र यसको फेर बदलको नियम यो ब्रम्हाण्डको  एउटै हो । यसका धेरै नियम र बिधीहरू छन् तर हामीले सजिलोगरि जान्ने र देखिने भनेको दिन र रात मात्र हो । दिन र रात सामान्यतया ब्राम्हण्डिय पिण्डहरूको आकार र गतिसँग सम्बन्धित हुन्छ । दिन र रात फरक हुनु भनेको सम्पूर्ण समयको फरक होइन अर्थात दुरी पार गर्दा हामीलाई हिंडेर होस वा अन्य साधनमा कहिं जाँदा समय लाग्छ त्यो अर्कै कुरा हो । सूर्यबाट पृथ्वीमा प्रकाश आउन पनि ८ मिनेट ३० सेकेण्ड समय लाग्छ  । तर यो दुरी पार गर्न लाग्ने समय वा दिन र रातको अन्तर ब्राम्हण्डको समयको अन्तर होइन ।

मानौं नेपालको काठमाण्डूमा बसेर हामीले विश्वका सबै महादेशमा रहेका आफन्त वा साथीहरूसँग फोन(कन्फ्रेन्स कल)मा एकै पटक कुरा गर्छौं । ती सबै ठाउँमा दिन र रातको आधारमा गणना हुने वा गणना गरिएको समय अन्तर होला तर नेपालमा बोलेको अमेरिकमा १० घण्टापछि सुनिने त होइन नि ?! यस्तै यहाँ बोलेको पनि नेपालमा १० घण्टा पहिले सुनिने पनि होइन ।

तसर्थ यी सन्दर्भले के भन्न र बुझ्न सकिन्छ भने नेपालमा र यहाँ तिथि मिति र साइतमा समय अन्तर हुँदैन । दिन र रातको मात्र फरक हो । र, तिथि साइत आदि सूर्योदयको अबसरमा मनाइने हुनाले नेपालमा यो साल विजयी दशमीको तिथी नवमीको बेलुका सूर्यास्तमा शुरू हुन्छ भने त्यो समय यहाँ अमेरिका/क्यानडामा सूर्योदयको समय अर्थात अक्टूबर ७ तारिख सेमबार बिहान पर्छ । यो पटक नेपालमा लगाइने विजया दशमीको तिथी,साइत वा  जमरा टिका दशमी तिथि सकिन लाग्दाको अन्तिमको सूर्योदयको समय हो । तिथि र साइतहरू लामो र छोटो हुने कुरा हामीले सुनेको बुझेको र अपनाएको कुरा हो तर यसको गणनाबिधी अलिक जटिल पनि लाग्नसक्छ । तर हाम्रो परम्परागत मान्यता र यसका विज्ञहरूकाअनुसार पनि दशैंको टिका दशमी तिथि शुरू भएको समय(दिन) पछि ५ दिन वा कोजाग्रत पूर्णिमाको दिन बिहानसम्म आ-आफ्नो अनुकुलता र सुबिधाअनुसार लगाउँदा हुन्छ ।

अन्तत: परम्परागत वा धार्मिक  मान्यताअनुसार मनाइने यो पर्वको बिधी साइत वा समयावधि र प्रकृया अन्य पर्वहरूको तुलनामा केही फरक छ । यसलाई कसरी मनाइन्छ वा मनाउने हामी सबैको आ-आफ्नै सिमाअनुसार हो । तर बिधी मान्यता र मुहुर्तको बारेमा पनि न्युनतम जानकारी होस् भन्ने उदेश्यले यो चर्चा गरिएको हो । यसमा पनि ज्योतिष शास्त्र वा आधुनिक विज्ञानका तथ्यगत केही कुरा नमिलेको पनि हुनसक्छ तर यसको साराँश र सन्देश भने  सम्बन्धित पक्षको प्राज्ञिक र आधिकारिक सूचनाहरूको आधारमा तैयार गरिएको विश्लेषण हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *