मदन भण्डारी सङ्ग्राहलय जन्मदेखि मृत्युसम्म
|बहुदलीय जनवादका ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सोही घटनामा जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिन पछि भेटिएको थियो ।
यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन् । अझैसम्म पनि तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको हत्या की दुर्घटना भन्ने बिषय आम जनसमुदायमा अन्यौल रहेको छ । जननेतासमेत मानिएका भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि पटक पटक तत्कालिन एमालेका सरकार बने तर पनि भण्डारीको मृत्युका बारेमा सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।
हाल तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र मिलेर नेकपा बनेको छ । र, अहिले नेकपा कै नेतृत्वमा दुई तिहाईको सरकार छ । मदनकी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति रहेकी छिन् । तर, अहिलेसम्म पनि मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युका बारेमा आम जनसमुदाय जनचासो उत्तिकै देखिन्छ ।
भण्डारीको मृत्युपछि २०५० सालमा नै मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापना भएको थियो । सोही प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा मदन भण्डारी सङ्ग्राहलय निर्माण गरिएको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका केही गतिबिधिलाई सङ्ग्राहलयमा समेटिएको छ । सङ्ग्राहलयको २०७४ सालमा राष्ट्रपति तथा मदनकी पत्नी विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पुरातत्व विभागको आर्थिक सहयोगमा करिब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले सङ्ग्राहलय निर्माण गरेको हो । सङ्ग्राहलय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीन तले छ भने जसमा १६ कक्ष रहेको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत मेघराज श्रीपालीले जानकारी दिए ।
के–के छ सङ्ग्राहलयमा ?
संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्बिर र दुर्घटनामा परेको बा.अ.च ८७९३ नम्बरको जीप राखिएको छ । सङ्ग्राहलय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शनी छ । त्यसमा नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको लगायतका गतिबिधीहरू देखाइएको छ ।
वि.सं २०१७ को फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको क्रान्तिलाई नेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ । यस्तै, संग्रहालयमा पार्टी एकीकरण कक्षका दुईवटा सिसाका सोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा तत्कालिन नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत राखिएको छ । सङ्ग्राहलयमा जनवर्गीय संगठनको पुनर्गठन तथा निर्माण एवं विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धिसँग सम्बन्धित सामग्रीलाई राखिएको छ । सङ्ग्राहलयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो ।
दोस्रो तलामा सोकेसभित्र नेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुङ्गी,ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडाबर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ । सङ्ग्राहलयमा मोरङको इटहरास्थित घरको प्रकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौंको नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । सङ्ग्राहलयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री पनि राखिएका छन् ।
सङ्ग्राहलयमा दास ढुङ्गा दुर्घटना पूर्व पोखराको सभागृह, दास ढुङ्गा गाडी गुड्ने सडक तथा गाडीको चित्राङ्कन , सडकदेखि त्रिशूली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशूलीको भेलमाथि हेलिकप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशूलीबाट क्रेनको सहाराले निकाल्दै गरेको दृश्य, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशूलीको बगरमा नेता भण्डारीको शव, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरथ रङ्गशीला श्रद्धाञ्जली सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर राखिएको छ ।
यस्तै, सङ्ग्राहलयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिनेछ । सङ्ग्राहलयमा नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई पनि राखिएको छ । यहाँ सबै दुर्घटना छानबीन आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् । सङ्ग्राहलयको तेस्रो तलामा सुविधासम्पन्न सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट नेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जबज) को पाठशाला राखिएको छ ।
सभाकक्ष नजिकै अर्को कक्षमा पुस्तकालय रहेकोछ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन सामग्री प्राप्त गर्न सक्नेछन् । सङ्ग्राहलयको अवलोकन गरेपछि भुईं तल्ला ओर्लिएपछि दास ढुङ्गा दुर्घटना हुँदा नेता भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख आश्रित चढेको दुर्घटनाग्रस्त जीप राखिएको छ । सङ्ग्राहलयमा स्वर्गीय नेता भण्डारीको जन्मदेखी मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुका लागि यो सङ्ग्राहलय महत्वपूर्ण हुनसक्छ । दैनिक ५० भन्दा बढी संग्रहालय हेर्न आउने गरेको सङ्ग्राहलयका अधिकृत गणेश घिमिरे जानकारी बताउँछन् । गत साउन महिनामा १ हजार ८ जनाले संग्राहलयको अवलोकन गरेका भिए भने भदौ महिनामा १ हजार १ सय जनाले अवलोकन गरेको उनले बताए । सङ्ग्राहलयको अवलोकन र अध्ययन गर्न बिद्यार्थी, पत्रकार, प्राध्यापक, राजनीतिक क्षेत्रका मानिसहरू आउने गरेका छन् । प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको बताउँछन् ।
बाल उधानदेखी रेलसम्मको आकर्षण
मोरङ जिल्लाकोको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको मुख्य कार्यालयको गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै बाल उद्यानमा भण्डारीको पूर्णकदको शालिक रहेको छ । शालिकसँगै बाल उद्यान पनि छ ।
उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल,चिप्लेटी,पिङ, फूलबारी,पानीको फोहोरालगायत रहेका छन् । बाल उद्यान मोरङको उर्लाबारी,पथरी,लेटाङ,मिक्लाजुङ,रतुवामाई,सुन्दर हरैंचाकासाथै झापा र सुनसरीका विभिन्न स्थानका बालबालिकालाई बिदाको समयमा
मनोरञ्जनसँगै शिक्षामूलक स्थानका रुपमा चिनिन थालेकोछ । साउन महिनामा उद्यानमा १ हजार ५ सय र भदौमा ७ सय जनाले अबलोकन गरेको छन् । करिब १ करोड लागतमा निर्माण भएको उक्त उद्यान बालबालिकाहरुको आकर्षणको केन्द्र बनेको छ ।
अर्को अकार्षण स्लाईडिङ पुल
प्रतिष्ठानकै हातामा निर्मित स्लाईडिङ पुल अर्को आकर्षण बनेको छ । गर्मीको समय पौडीको मज्जा लिनका सर्वसाधारण आउने गरेको छन् । यसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र भण्डारीको पूर्णकदको शालिक, संग्राहलय र बाल उद्यानले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको छ । विशेष गरेर शनिबार तथा विदाका दिन यहाँ आगन्तुक बढी आउने गरेका छन् ।