दशैँ
|बाख्रा चराउन लैजानु अघि
घाँटीबाट दाम्लो फुकाउँदै
आमाले-
यो खसी दशैंको है ख्याल गरेस्
भनेकै दिनदेखि,
बाबाले-
अरुलाईभन्दा लामकानेलाई
धेरै खुवाउन थालेदेखि
हामीलाई दशैं लाग्थ्यो ।
चरनमा लैजाँदा,
यति ख्याल गरिन्थ्यो कि ‘दशैं खसीको’
मानौं त्यो खसी हराउनु
सिङ्गै दशैं हराउनु हो ।
दशैं जोगाउने ध्याउन्नमा
धेरै पटक छोडिन्थ्यो
खेल्दा खेल्दैको पौडी
टिप्दा-टिप्दैको वनफूल
र सँगै छोडिन्थ्यो-
कलिला उमेरका थुप्रै कलिला रहरहरु ।
छुट्टै बस्ने
बूढी औंलाको रहर
र,चोरेर ल्याउने
चोरी औंलाको रहरलाई
दशैसँगै आएको
कान्छी औंला जत्रै जाडोले ठिहिर्याउला भनेर
पाँचै औंलाले कस्सेर
न्यानो पार्दै
ठूल्ठूलो स्वरमा गीत बनाएर गाइन्थ्यो
र, डाकिन्थ्यो दशैं ।
दशैँ आउँदा
आफू मात्र आउँदैनथ्यो
आउँथ्यो आगनका डिलमा
ढकमक्क सयपत्री र गोदावरीको सुवास पनि ।
पल्लाघरे जुनेली भाउजूले
घन्टौं उकालो उक्लेर
आँगनमा बिसाएदेखि रातोमाटोको भारी
तल्लाघरे उजेलीकाकीले
घण्टौं ओरालो ओर्लेर
बिसाएको देखेपछि
आँगनमै कमेरोको भारी
दशैंको रहर यत्ति उम्लिन्थ्यो कि,
आफ्नै उमेरभन्दा गह्रौं
कमेरोको भारी बोक्दा
बोके झैं लाग्थ्यो सिङ्गै दशैं ।
झम्के साँझमा झुरुप्प भेला भएर,
जब साइँला दाइहरुले उठाउँथे घरलौरी
बाबियो र पाटका मुठाहरु
जब काट्न थाल्थे
पिङकै लागि भनेर बाँसका लिङ्गाहरु
तब पो लाग्थ्यो
दशैं हाम्रै आँगनमा आइसक्यो ।
यतिखेर मलाई
उड्दा उड्दैको हावाको बेग रोकेर
सोध्न मन छ-
अचेल किन
उल्टो घुमिरहे झैं लाग्छ
समयको सुई ?
किन साँघुरो भए झैं लाग्छ
मान्छेको मन ?
किन घुम्न छोडे झैं लाग्छ
रहरको घण्टा सुई मैभित्र पनि ?
किन हुँदैन गाउँमा पहिले जस्तै रमाइलो ?
किन बज्दैनन् बाटाभरि
मखमली कपडाको खोलमा
चिटिक्क सजिएर
लाहुरेको काँधमा छड्के भिरिने
ठूला ठूला रेडियोहरु ?
सोध्न मन लागेको छ त्यै बतासलाई
अचेल किन तैंले उडाउने चङ्गा झैँ
उड्दैनन् मनहरू खुसीले ?
किन आउँदैन, गाउँमा उस्तै खुशी बोकेर दशैं ?
हो सखी !
अचेल गाउँमा पिङहरु खास्सै मच्चिँदैनन्
हुँदैनन् घटस्थापनामा पहिलेजस्ता
डोकाले छोपेका लोभलाग्दा जमारा
फुल्दैनन् गोदावरी र सयपत्रीहरु
देखिँदैन भातृत्व मान्छेहरुमा
बाटिदैन पिङ्को डोरीझैं आफन्तकै मायामा
गाडिंदैन लिङ्गे पिंङको बाँस झैं एकता ।
हो सखी !
आजकल दशैं बेरङ्गी भएको छ
रङ्ग छ त केवल
ढाल्नै पर्छ भनेर ढालिएको
खसीको रगतको रातोमात्र
के रगत बगेर रातो हुनु
रङ्गिन हुनु हो ?