‘बा’को सपनामाथि टेकेर
|बा !
तिमीले कोरेका चित्रहरु
मैले दशकौं हेरें
बिहानै अखबारका पानाहरुमा
तिम्रा कचेरा लत्पतिएका
मेरा चाहनाहरु पनि पढ़ें
जेहोस्-जस्तोहोस्
मैले पनि सिङ्गो देशको चित्र कोर्ने
अठोट लिएकोछु |
बा !
चिन्ता नलिनु होला
म तपाईंले कोरेका चित्रहरु बोकेर
साझा बसको ड्राइभर बनेको छु
एकैछिन् भएपनि
तपाईंको बिदाइमा एक अन्जुली
पानी दिन
अस्ताएको छितिज
नियाल्दै छु |
तर भोलि बिहानै मिर्मिरेमा
साझा बसले गन्तब्य चुमेपछि
खाडीका पसिनाहरु
मिराजमा तिर्मिराएका दृश्यहरु
उषाको किरणमा
शीतका थोपाजस्तै चम्किनेछन्
अहिले त गोधुलीसँगै अस्ताएको
तिम्रो स्पन्दनलाई
एक अन्जुली पानी दिँदैछु |
भोलि बिहानै
तिमीले
तिम्रो चित्रमा
तिम्रो स्वैर-कल्पनामा
सिँगारेको आमालाई
म पनि,
विपनामा सिँगार्नेछु
तर अहिले झिस्मिसे साँझ परेछ
म तिम्रा
सदा-सर्बदा नखुल्ने
कचेरा लत्पतिएका परेलीहरुलाई
एक अन्जुली पानी दिँदैछु
म तिम्रो सपनामाथि टेकेर
मरुभूमिमा फूल रोपिरहेछु | |