आमाका इच्छा

गीत आफ्नै रचनामा, गायककार छोरा बनोस्,
सम्बोधन गर्दा श्रेय, पहिलो शब्द आमा भनोस्।
सलक्कको जीउ डाल, काँधमा फुली निरीक्षक,
मेरो लागि मात्र होइन, देशकै हेर्नु छ रक्षक।।

अस्पताल पुग्दा खेरी, देख्छु जब सेतो कोट,
कल्पनामा बग्न थाल्छु, मेरो छोरा यस्तै होस।
पल्लाघरे काकी भन्छिन्, मेरो छोरा इन्जिनियर,
पढाउँछु दु:ख गरी, मेरोले के सक्दैन र ?

ठूला नेता जमातमा, व्यस्त थिए भाषणमा,
छोरै देख्छु मन्चभित्र, अतिथिको आशनमा।
जहाज त गुड्न थाल्यो, लक्ष लिई धावनमा,
चालकको चालसँगै, छोरै आयो यो मनमा ।।

राम्रा राम्रा युवती नै, आफ्नै बुहारी देख्न थालें ।
छोरा बनी मगजमा, प्रेम पत्र लेख्न थालें ।
नायकको भूमिका र, निर्देशक मेरै छोरा,
आँट्यो भने मर्दले त, नसक्ने पो के नै छ र ?

बलात्कारी घुसखोरी, तुही जाउन गर्भ भित्र,
अनेक छन् आमा तर, इच्छा एक मर्म भित्र ।
मुटु राखी बन्दकीमा, बिन्ति गरें देवलाई,
एक्लै कति हाँसे होलान्, सुनी मेरो भावलाई ।।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *