कस्तो छिमेकी !

धमिराले घरको मूल खाँबो खाएजस्तो
विकासको मूल खाँबो नै खायो
सहयोगको नाममा उद्योगधन्दाहरु सबै खायो र
उसैमाथि आश्रित बनायो ।

भन्सार बढायो,
सङ्ग-सङ्गै आम्दानीको संसार बढायो
निरिह हामी चुपचाप
उसैले पठाएको विषादी सामान किनिरहयौं र
हाम्रो स्वस्थ्य संसार उसैलाई बेचिरहयौं
फेरी विस्तारै विस्तारै सिमाना खान खोज्दैछ
सिमाना खानु भनेको राष्ट्रियता खानु हो
र, फेरी एक टुक्रो तन र मन नक्शाबाट बाहिरिनु हो
यो कस्तो छिमेकी हो
जति कलकारखाना खाएपनि खाएँ नभन्ने
लुगै सिउन मिल्नेगरी पोइसो/नोटकै बिटो लगेपनि पाएँ नभन्ने ?

हामी कति उदार !
नहर खनेर उब्जाउ जमिनमा खाल्डा पार्न दिन्छौं
हराभरा अन्नका बोटलाई काकाकुल बन्न दिएर
विहारको घाँटी रसाउँछौं
सङ्ग-सङ्गै देशको पेट र घाटी सुकाउँछौं
उतैबाट भित्रिने सामानमा
मनपरी भाउ राखेर दाइं गर्दा
हामी मियोमा गोरु घुमे झैं
चुपचाप,
उसको चर्को मुल्यबृद्धीको मियोमा घुमिरहन्छौं
तैपनि शान्तिले बसेको देख्न हुन्न
सिमानामा आएर खोक्न थाल्छ
र, भारु पल्लाले हाम्रो माटो जोख्न थाल्छ ।

यो कस्तो छिमेकी हो
हाम्रा दाजुभाइलाई सधैं लडाइरहने
सिमाना बिस्तारको पारो सधैं बढाइरहने ?!

Add a Comment

Your email address will not be published. Required fields are marked *