बाटो बिराएको नायक


नायक,
धेरै बर्ष हिंडेको पुरानो बाटो
चटक्क माया मारेर
नयॉं र चम्किला बाटाको
सिंडीहरू चढ्न खोज्छ
बिहान उठ्ने बित्तिकै आङ् तन्काउँदै
सॉंईलीको पसलतिर
चियाको चुस्कीसँगै
ओठलाई गोलाकार बनाउँदै ,
गगन नै चुम्ने गरी चुरोटको धुवाँ
मिल्काउन पुग्छ ।

सॉंझ पर्दा-नपर्दै
सॉंईलीको खटियामा
जुन तारा झार्ने सपनामा
बोतलहरु रित्याउँदै
मध्यरातसम्म
घमण्डले मतिभ्रष्ट नायक
आकाश छुन खोज्छ ।

थाहा नहुन सक्छ
दम्भले भरिएको शरीर
लडबडाउँदै ओछ्यानसम्म
पुर्याउन पनि धौ धौ परेको
ठूलो सामर्थ्यले
विजय प्राप्तिको सपनामा
जब नयॉं बाटाका सिंडीहरू
भासिन थाल्छन्
हिंड्दा हिंड्दै ठेस लाग्न थाल्छ
अनिमात्र पुरानै बाटोको
झारपात गोड्दै प्रेमसाथ
पुष्पहरू रोप्दै गाउन थाल्छ-
प्रेम र सम्बन्धका आलापहरु ।

थाहा छ साथी ?
उनीहरूलाई लाग्छ
पुराना गीतहरू
उनीहरूकै पुर्खाको नासो हो
फेरी पनि
आलाप आलाप नभएर
कतै बिलाप नबनोस्
यो फुटेको सिसाजस्तै
दील टाल्ने मल्हमपट्टी
साँइलीको खटियामा नपग्लियोस !

जे होस् जस्तो होस् आऊ
नायक हिंडेको
भात्किएका सिंडीहरु
म जोडीरहनेछु
तिमी आलाप् गाऊ वा विलाप
म सँधै झैं सुनिरहने छु !

Add a Comment

Your email address will not be published. Required fields are marked *