अवसर र समयले
ठूलो भएको मान्छे ऊ
अर्काको काँधमा चढेर
अग्लिएको मान्छे  ऊ
आँफै मपाईं बन्छ
बिना प्वाँख उड्न खोज्छ
पद र प्रतिष्ठालाई पेवा ठान्छ
आफ्नै आँखासमेत छलेर
दुरुपयोग गर्छ, शक्ति र अधिकार
थिच्छ,पेल्छ,पिस्छ निरिहहरुलाई ।

सहस्र कुरुप ईच्छाहरु
उमार्छ मनभरी
बेला न कुबेला
ठाउँ न कुठाउँ
चुहाउँछ र्याल तप तप
लाचारलाई अझ लाचार बनाउँदै
अट्टहास गर्छ अट्टालिकाबाट ।

स्वार्थको भकारीमा
जे पनि थुपार्छ
जति पनि थुपार्छ
सीमा छैन थुपार्नुको
अन्त्य छैन सोहोर्नुको
न आस्थाले रोक्छ
न विश्वासले रोक्छ
मानवताको खिल्ली उडाउँदै
कत्ति पनि हिच्किचाउँदैन
तल अझ तल झर्नलाई ।

सम्मान बिनाको जिन्दगी
कसरी प्यारो लाग्छ खै ?
छताछुल्ल पोखेर आफ्नै अस्तित्व
कसरी शिर उठाउँछ खै ?
कहिल्यै नटुङ्गिने सपना बोकेर
कहिल्यै नभरिने मनमा
अझै लालच र लोभ थप्दै
दौडीरहेछ बिना मेसै ।

बुझ्न सक्दैन विवेकहीन बुद्धिले
कोल्टे फेर्छ कतिबेला समयले ?
आयू कति छ जीवनको  ?
दिनभरिमा एक पल
शान्तिको लामो स्वास फेर्न सक्दैन
रातभर आरामको निद्रा छैन
तर पनि सोच्न सक्दैन
के पायो अथाह धन बटुलेर ?
के दियो पद र प्रतिष्ठाले ?
फर्केर हेर्ने फुर्सद छैन उसलाई
दौडीरहेछ
दौडीरहेछ
तँछाडमछाड गर्दै
अझै दौडी नै रहेछ ऊ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *