फरक के छ ?

लाचार नसम्झनु अब मलाई
कमजोर पनि नठान्नु अब
मैले,
म भित्रको साहस र क्षमता
नदेखाए कै कारण
म तिम्रो हेयको पात्र बनी रहें
तिम्रा तीखा तीखा
बचन वाणका प्रहारहरु
चुपचाप सहि रहें !

परिस्थितिको पाठशालामा
धेरै कुरा पढें मैले
भोगाइले ,
धेरै कुरा सिकायो मलाई
आफ्नो जिन्दगी
आफ्नै भरमा उभ्याउनु पर्दोरहेछ
अर्कामा निर्भर हुँदा
छिया छिया हुँदोरहेछ आत्मसम्मान
आश्रित हुनु भनेको
अपमानित हुनुरहेछ !

समयले हरेक कुरा
परिवर्तन गर्छ, मलाई पनि गर्यो
मनभित्र सुषुप्त बसेको मेरो
साहस र हिम्मत अनि
आत्मबल जागृत गरायो
अब त्यो म हैन,
अर्कै म भएँ !

जे पनि सहने
जस्तो पनि सहने
जे भने पनि हुने
जे गरे पनि हुने
त्यो निरीह प्राणी
नठान्नु अब मलाई
आत्म निर्भरताको
शक्तिशाली हतियार छ अब मसँग !

क्षमता बिहिन
अनि बुद्धि हीन पनि
जति भन्नु भन्यौ
नभन्नु अबदेखि
चुपचाप सबथोक सहें भन्दैमा
मेरो क्षमतामा प्रश्न चिन्ह लगाएर
जति निम्न कोटिको देखाउनु थियो
देखायौ-
अब त्यति तल झरेर नभन्नु केही मलाई ।

आफ्नै मेहनत र पौरखले
म पनि-
तिम्रै हाराहारीमा उभिएको छु अहिले
तल्लो स्तरको
तल्लो दर्जाको
नसोच्नु अब मलाई तिमीले !

अहंकारलाई फालेर
एकपटक
आफूले आँफैलाई सोध त –
के फरक थियो तिमी र ममा ?
किन भयो त्यो निकृष्ट व्यवहार ?
तिमीजस्तै मान्छे नै हुँ म पनि
किन गरेनौ मान्छेको जस्तो व्यबहार ?
तिमी आफू ठूलो र म सानो ठान्छौ हैन ?
हिम्मत जुटाएर
एकपटक आज आँफैलाई
मसँग दाँजेर हेर त !

अनि आफ्नै मनसँग सोध त-
तिमी र ममा
भिन्नता के छ ?
तिमी र ममा म
फरक के छ ?
*

Add a Comment

Your email address will not be published. Required fields are marked *