लघुकथा : पश्चाताप
|सबै सामान्य चलिरहेको थियो । एक्कासी घरमा हा-हाकार भयो । दुई दिन अघिसम्म हाँसी खुशी ठिक ठाक भएको मान्छे कसरी यस्तो भयोर ? किन भयो ? के भएर भयो ? सबै एउटै प्रश्न गर्थे । उनीसँग जवाफ त थियो, तर भन्न मिल्दैनथ्यो । त्यसैले केहि बोलिनन् , कसैलाई पनि केहि भनिनन् ।
चक्कर लागेर लड्दा न समातेको भए र कु-ठाउँमा परेको भए पक्षघात पनि हुन सक्थ्यो । ज्यानै जोखिममा पनि पर्न सक्थ्यो । डाक्टरको कुरा सुनेर उनी थररर्
काँपीन् ।
धेरै चिन्ताले पनि यस्तो हुन्छ । अब उच्च रक्तचापको औषधी खानु पर्छ । सायद जीवनभर खानु पर्ला अब । डाक्टरले अरु पनि के के भने । चुपचाप सुनी रहिन् उनले ।
घरका सबै चिन्तित थिए । के भो ? के पीर पर्यो ? भन्न नहुने त्यस्तो के हो ?
प्रश्न त्यही थियो । उनी केहि नबोली चुप थिइन् ।
उनलाई औषधी खानु र आराम गर्नु भनेर सबै हिंडे । उनी भने आफ्नै गल्तीमा,
आफ्नै मूर्खतामा पश्चातापको आँसु बगाइरहिन् । उनको मन मस्तिष्कमा धेरै कुरा घुमिरह्यो । सपनाजस्तै लाग्ने ती दिनहरु उनका आँखामा सल्बलाइ रहे, धेरै बेरसम्म ।
सामाजिक सन्जाल नौलो थिएन उनका लागि । त्यसबाट पर्ने असर र अरुले
उठाउने फाइदाबाट पनि अनभिज्ञ थिइनन् उनी । सचेत थिइन् ,सतर्क थिइन् ।
कसैसँग कुरा पनि खासै गर्दिन थिइन् ।
तर समय एकनास हुँदो रहेनछ । फेशबुकले नयाँ साथीसँग भेट गरायो । उनीहरूको कुराकानी सामान्यबाट विषेश र विषेशबाट अझ विषेश बन्न पुग्यो ।
उनी बिना बाँच्नै नसक्ने हदसम्मको माया देखायो उसले । मायाका यस्ता यस्ता शब्दजाल बुन्यो उसले कि उनी जानी-जानी त्यसमा परिन् । बिस्वास दिलायो,
बिस्वास गरिन् । माया देखायो,माया गरिन् । जे भन्यो त्यही मानिन् । जिन्दगी
रङ्गिन भएको महसुस गरिन् ।
अचानक एकदिन ‘अब सबै बन्द’ भनेर साँच्चै नै सबै बन्द गर्यो उसले । उनको मन मस्तिष्कमा बज्र प्रहार भयो । उनी रन्थनिइन् । आकास खसे जस्तो,धर्ती भासिए जस्तो भयो उनलाई ।
उनले एकपटक मात्रै भए पनि ऊसँग कुरा गर्न कति प्रयास गरिन् । किन ‘अब सबै बन्द’ ? भनेर सोध्न चाहिन् । उसलाई अन्तिम पटक हेरेर बेसरी रुन चाहिन् , तर कसरी ? उसले त सबै बाटो बन्द गरीसकेको थियो ।
यही पीडाले उनी मर्माहत भइन् । एक्लै हुँदा त भक्कानिएर रुन्थीन् । तर अरुका अगाडि रुन मिल्दैनथ्यो । आँसु र पीडालाई मन भित्र बलपूर्वक थुन्नु पर्दा
उनलाई असह्य भयो । उनले खान सकिनन् ,सुत्न पनि सकिनन् । मन मस्तिष्क बिचलित बन्यो । यहि छट्पटी र पीडाले उनलाई ढलाएको थियो ।
उनी जति नसोचुँ भनेर बिर्सन खोज्थिन्, प्रश्नहरू झन्- झन् मस्तिष्कभरी
फैलिन्थ्यो । किन ? आखिर किन ? मेरो दोष के थियो ? रहर पुग्यो तिमीसँग
भनेको भए भै हाल्थ्यो,कम से कम कारण त थाहा हुन्थ्यो । किन उचाइमा
पुर्याएर यति नराम्रो सँग खसाल्यो मलाई ? बिना गल्ती यस्तो ससजाँय किन दियो मलाई ? धेरै बेरसम्म यस्तै सोचीरहिन् ।
हातमा लिएको औषधी हातैमा थियो । केहिबेर हेरि रहिन् औषधीलाई । फेशबुकले जुराइदिएको साथी,साथीको कारणले पाएको यो औषधी अब जीवनभरको साथी ? उनले लामो सास फेरिन् र आँसु पुछिन् । औषधी अझ पनि हातमै थियो । उनले फेरि हेरिन् हत्केलामा । औषधीले मुसुक्क हाँसेर आफूलाई गिज्याइ रहेझैं लाग्यो उनलाई । उनले बेसरी मुट्ठी कसिन्,दाह्रा किटिन् र सारा आक्रोश त्यही औषधीमा पोखिन् ।