बदलिंदो नेपाल: दशकपछिको यात्रा अनुभूति

ठ्याक्कै एक दशकपछि काठमाण्डु ओर्लिने अवसर जुट्यो । विदेशमा काम गर्नेलाई काठमाण्डु माइती जस्तै लाग्छ । मन खाने साथीहरु उतै, माटोप्रतिको हार्दिकता उस्तै, बालापनदेखिका सम्झना उतै । तर घर यता, परिवार यता, बालबच्चा यता, कर्मथलो यता । गृहिणी जस्तै बाँडिदो रहेछ मान्छे । गोत्र फेरिएर नयाँ आध्यात्मिक पहिचान लिए जस्तै नागरिकताको कागत फेरिएर अर्कै परिचय । कताकता संगति नमिलेको जस्तो । अझैभन्दा कूलपुजामा मिसिन नपाएकी चेली जस्तो ।

फेसबुकमा काठमाण्डु धुलाम्य थियो । टुइटरमा काठमाण्डु हिलाम्य थियो । इन्टाग्राममा काठमाण्डु धुवाँमय थियो । अनलाइनहरुमा काठमाण्डु फोहरयुक्त थियो । युट्युवमा काठमाण्डु असुरक्षित थियो । टेलिभिजनमा काठमाण्डु नै थिएन सिहदरवार मात्र थियो । हामी बाहिर बस्नेहरूलाई अचम्मको कहाली लाग्दो चित्र बोकाएका थिए बग्रेल्ती सञ्चार-माध्यमहरूले । अनेकथरी माध्यमले बोकाएका सूचनाका भारि बोकेर १० वर्षपछि काठमाडौ ओर्लिएको थिएँ ।

चाइना इस्टर्नको सस्तो जहाजबाट त्रिभूवन अन्तर्ष्ट्रिय विमानस्थल ओर्लन नपाउँदै बुद्दले नमस्कार गरे । प्रेयसी आउँछिन् भेट्न भन्ने खवरले हतारहतार नुहाएर कौसीमा निस्केको प्रेमी जस्तै सफासुघ्घर एराइभल-हल देख्दा मन प्रफुल्ल भयो । दिवंगत पर्यटनमन्त्री मित्र रवीन्द्र अधिकारीले जीवनको अन्तिम साता लेखेको टुइटर मेसेजको संझनाले तत्क्षण एकपल्ट मन एक तमासको भयो । विमानस्थलको सरसफाइको अवस्था देखेर लागेको खुसी रवीन्द्रलाई भन्न नपाएकोमा मन एकपटक क्याल्गरीको हिउँझै चिसो भयो ।

एअरपोर्टमा छोरी-ज्वाइ भेटेर मसँगै क्याल्गरीबाट काठमाण्डौ ओर्लिनु भएका साथीका बा-आमालाइ जिम्मा लगाउनु थियो पहिले । उहाँहरूलाई लिन आउने आफन्तलाई जानकारी दिन मसँग फोन थिएन । फोन कता छ ? मैले एअरपोर्टको कर्मचारीलाइ सोधेँ । उनले गोजीबाट ब्यक्तिगत फोन निकालेर अफिसको कामको फोन गरिदिए । मलाई कुरा गराए । उनलाइ धन्यवाद दिएर ब्यागेज कुर्न थालें । ती कर्मचारीले अरूलाई पनि त्यसैगरी धेरैलाइ फोन सम्पर्क गराए । मैले यथावत् धेरैबेरसम्म हेरेँ । सक्रियरुपले सहयोग गरिरहेको देख्दा मलाइ कर्मचारीको ब्यवहार बदलिएको आभाष भयो । एकदुइ चोटी कागताली पनि पर्छ, यत्तिले म तत्काल कर्मचारीको ब्यवहार सुध्रेको भन्ने कुरामा विस्वस्त भने भइनँ ।

कर्मचारी र सरकारी सेवा
काठमाण्डौ उत्रेको तेस्रो दिन म कर कार्यालय पुगेँ । लाहुर नजाँदै मैले इन्जिनियरिंग कन्सल्टेन्सी पनि चलाउँथे । हरेक वर्ष कर-फर्छ्यौट प्रमाणपत्र लिन जान्थेँ कर कार्यालय । मैले १० वर्ष कन्सल्टेन्सी चलाउँदा कहिले पनि कर-फर्स्योटको प्रमाणपत्र लिन पुग्ने कागजात कहिलै आफै जम्मा गर्न सक्दैनथेँ । कुन कागजमा के मिलेन भन्ने पनि मैले जानकारी पाउँदैनथेँ । कर-फर्स्योटको प्रमाणपत्र नभै मैले कुनै टेन्डर भर्न पाउँदैनथेँ परामर्श सेवा दिनका लागि । एकजना आचार्य थरका अडिटर मित्रलाई हजार, पध्रसय दिएर कागजात बुझाउन नपठाएसम्म मैले मेरा कागजात कहिलै पुग्दैनथे ।

हो, म त्यहि कर कार्यालय पुगेँ दशकपछि । मलाई चिन्ने र मैले चिन्ने कोही थिएन कार्यालयमा । म सिधै सोधपुछको टेबुलमा गएँ । त्यहाँ रहेका २ जना पुरूष र एक महिला मध्येका एकजना अधबैसे पुरूषलाइ नमस्कार गरेँ । तत्कालै परिचय लुकाउँदै कथा बनाएर भने- ‘हजूर पश्चिम गुल्मीको मान्छे, बैदेशिक रोजगारीमा गएको धेरै भो । म पढालेखा पनि छैन । यो PAN (पान) नम्वर हराएछ, अहिले चाहिने भयो । सो पाउन यहाँ आएको’ मैले छोटो बिन्ती बिसाएँ । कपाल चिन्डै पारेर काटेका अधवैसे कर्मचारीले मसँग नागरिकताको फोटोकपी मागे । मैले दिएँ । मसँग पासपोर्ट साइजको फोटो मागे । उनले टेवलको घर्राबाट फोटोकपी कागज निकाले र पट्याए । अनि पट्याएको कागत खोलेर छोटो निवेदन खरखरी लेखे । अन्तमा मेरो नाम पनि लेखिदिए । यहाँ सहि गर्नुस् भनेर सम्मानपूर्ण शैलीमै भने । मैले सहि गरेँ ।

मलाई लिएर उनी चियाखाजा खाने कुनाको पसल भएको ठाउँतिर सोझिए । मलाइ लाग्यो यिनले उता लगेर पैसा माग्ने होलान् । अहिले ‘भाउ’ पक्कै बढेको हुनुपर्छ । पहिले हजार-पन्ध्रसय दिन्थेँ । अहिले १०/१५ हजार माग्ने होलान् मैले सोँचे मात्र । केही भनिनँ । पर्सेको बोको झै पछि लागेँ । उनले मेरो निवेदनमा १० रूपैयाको टिकट टाँस गरे । चिया पसले नानीलाइ टिकटको १५ रूपैया मलाइ दिन भने । मैले १५ रूपैया दिएँ । जिल्ला प्रसासन कार्यालय होस् वा कर यस्ता कार्यालयहरुमा १० रुपैयाँको टिकटलाई १५ तिर्नुपर्छ उहिल्लै देखि ।

निवेदन दर्ता गर्ने डेस्कमा लगे । दर्ता तत्कालै भयो । दर्ता गरेको कागत लिएर मलाइ कम्प्यूटर भेरीफिकेसनकालागि लाइनमा बस्न लगाए । उनी आफ्नो टेवलमा फर्केर फेरी कम्प्युटरमा काम गर्न थाले । म तीन छक परेँ । मैले करका कर्मचारीको यस्तो प्रोफेसनल ब्यवहार कहिलै अनुभव गरेको थिइनँ । तर पनि कतै न कतै अड्को थाप्छन् कि भन्ने लागिरहेको थियो ।

कम्प्युटरमा निकै छिटो छिटो टाइप गर्ने छेउको झ्यालनेर बस्ने जुँगाको रेखी मात्र बसेका युवा कर्मचारीले आज हुँदैन भोलि आउनुहोस् भने । मैले फेरि बैदेशिक रोजगारीमा जानुछ हतार छ हजूर भने । जसरी भएपनि गरिदिन परो हजूर भनेर हात जोडेँ । १० बर्ष अघि भएको भए यसपछि विचौलिया आउँथ्यो । लिएर तल्लो तलामा जान्थ्यो । पैसाको मिलेमतो हुन्थ्यो । तर यहाँ कोही पनि म मिलाइदिन्छु भन्ने मान्छे मेरो हात समात्न आएन । म अलिकति निरास जस्तो पनि भएँ । म फेरी सोधपुछनेरको बाहिर जाने ढोकामा एकछिन उभिएँ । अनायास म मुख्य हाकिकको कोठामा सोध्दै नसोधी ‘नेपालीपारा’मा पसेँ । विनम्रतापूर्वक नमस्कार गरेँ । फेरी बैदेशिक रोजगारीमा जान हतार भएको कथा सुनाएँ । हाकिमले कर कार्यालयले प्रयोग गर्ने सफ्टवेयरको सर्भरले काम नगरेकोले भोलीसम्ममा काम हुनसक्ने कुरा दोहोर्याए । नेटवर्कले काम नगरेको मैले पनि देखे स्कृनमा, म केही नबोली बाहिरिएँ ।

अर्को दिन बिहान १० बज्न ५ मिनेट अघि नै फेरि पुगेँ । सबै कर्मचारी आइपुगेको देखेर फेरी छक्क परेँ । हिजो रिसिप्सनको सोधपुछ की कर्मचारीलाइ मेरो प्यान कार्ड बन्यो भनेर सोधेँ । उनले मेरो नामै नसोधीकन मेरो कार्ड हातमा हालिदिइन । म साँच्चै नै छक्क परेँ । यो स्तरको सरल र सहज सेवा मैले कल्पनै गरेको थिइनँ । मैले ‘चिया नख्वाएका’ कुनै कर्मचारीले मेरो नाम हुलिया विगतमा संझने कष्ट गर्दैनथे । मैले यसरी सहयोग गर्ने कर्मचारीलाइ धन्यवाद दिन फेरी सोधपुछमा पुगेँ । उनीहरूका लागी मेरो धन्यवाद अपेक्षित नभएको भाव अनुहारमा देखेँ । म मुख्य हाकिमको कोठामा पुगेँ काम भएकोमा धन्यवाद दिएँ । अनि मैले बास्तवविक परिचय दिएँ । बैदेशिक रोजगारीका लागि अरवमा पसिना बगाउनेलाई तपाइका कर्मचारीले कस्तो ब्यवहार गर्छन् भनेर मैले जाँचेर हिजो झुठ बोलेर परिचय लुकाएको थिएँ पनि भने । तपाइका कर्मचारीको सेवा मैले दशबर्ष अगाडि पाउने भन्दा कता हो कता सुधारिएको पाएँ । यसो भनिरहदा भुसाल थरका हाकीम मुस्कुराएर हात मिलाए । मैले नमस्कार गरेर बाटो लागेँ । म कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, यातायात ब्यबस्था कार्यालय, मालपोत कार्यालय र विद्युत प्राधिकरण पनि पुगे । दशबर्षमा सबैतिर अपेक्षा गरेभन्दा राम्रो सेवा र सुखद अनुभव लिएर फर्केँ ।

नीजिक्षेत्रको अनलाइन सेवा
नेपालयात्राको तेस्रो हप्ता मलाई जन्मस्थान गुल्मीतिर जानु थियो । पोखरा जाने हवाइटिकट पाउन मैले सबै अनलाइन चाहारेँ । ट्राभल एजेन्ट गुहारेँ । नीजि बिमानसेवाको टिकट बुक भैसकेको निरास जानकारी मात्र पाएँ । मैले पत्याएँ । टिकट पाउने आशा मारेको थिएँ । हवाइ विभागमा काम गर्ने क्लासमेट साथीसँग साँझ भेट भो । मैले ब्यथा सुनाएँ । उनले फोन गरेपछि टिकट पाइयो । यसले भने मलाई एउटा नमिठो झट्का लाग्यो । नीजिक्षेत्रमा भनसुन गर्न पर्ने तर सरकारी कार्यालयमा सजिलै काम हुने अबस्था कसरी भयो ? निजीकरण एकमात्र समाधान हो ग्राहकलाइ प्रतिस्पर्धी, सस्तो र राम्रो सेवा दिनकालागी भनेर दिनदिनै मन्त्रझै जप्ने पुल्चोक क्याम्पसमा इन्जिनिएरिंग-इकोनोमिक्स पढाउने मेरो गुरू प्राध्यापक अमृतमान नकर्मीलाइ २० बर्षपछि झलक्क सम्झेँ । र, फिस्स अस्वाभाविक हासेँ ।

हवाइ टिकट भएपछि मेरो २ दिन बच्यो । अर्को काम बैकमा खाता खोल्नु पर्ने थियो । म प्रतिष्ठित मल्टिनेसनल बैकमा पुगेँ । खाता खोल्न निवेदन दिएँ । सेयरसम्वन्धी कारोवारका लागी डिम्याट खाता खोल्न ३ दिन लाग्छ भने ब्रान्च मेनेजरले । मैले पत्याएँ र तिन दिन पछाडी फेरी बैक पुगेँ । ३ दिनसम्म उनले केही सिन्को पनि भाँचेका रहेनछन् मेरो डिम्याट खाता सम्वन्धमा । आफ्ना अन्तरगतका कर्मचारीले काम नगरेको भनेर निर्लज्ज उनीहरूलाइ दोषारोपण गरेर पानी माथि ओभानो बन्ने धृष्टता गरे । मैले ठूलै सोर्स लगाएर दबाव हालेँ । त्यो ३ दिन लाग्छ भनेको काम २ घन्टामा भयो । नीजीक्षेत्रको बैक त्यो पनि नाफामा रहेको कम्पनीको व्यवहार देखेर म छक्क परेँ । सरकारी भएको भए बरू जनप्रतिनिधिले राम्रो गर्न चाहे सुध्रने रहेछ प्राइभेटलाई त नियन्त्रण गर्ने कुनै उपाए देखिनँ ।

प्रहरी र सुरक्षा सेवा
दशैको छुट्टी भइसकेको भिडभाडको बेला थियो । म पोखराबाट बुटवल जाने बाटोमा ३ पल्ट पुलिसले बसमा चेकिंग गरे । अरू भन्दा पनि कसैलाई तोकेकोभन्दा बढी भाडा लिएको भए तत्काल मौखिक उजुरी गर्नुहोस् हामी कार्यवाही गर्छौ भने । म अचम्म परे । पुलिसले यात्रुलाई ठग्नेलाइ ठामकाठाम कारवाही गर्छौ भनेको सुनेको थिइनँ । पाल्पाको प्रबास चौकीका पुलिस फेरी बसमा चढे । १८ नम्वर सिटका एक बृद्दले भाडामा ५० रूपैया बढी लिएको उजुरी गरे । मलाइ १०० बढी लिएको थियो मैले पत्यार नलागेर उजुर गरिनँ । कन्डक्टरले चुपचाप पचास रूपैया फिर्ता दियो । पुलिस ओर्लिए । हामी बुटवलतिर लाग्यौ । पछि उजुर नगरेकोमा थक्क बेलामा भन्नुपर्ने भन्ने लाग्यो । हुन त बेलामा नबोलेर पछि पछुताउने मेरो पुरानो क्रोनिक रोग हो ।

काठमाण्डुको मात्र होइन बुटबल भैरहवाको बाटो पनि निकै सुन्दर बनेको रहेछ । त्यो सजाबट र डिजाइन/निर्माणले मेरो मन छोयो । यस्ता बाटो र त्यस्ता पुलिस देख्दा मन प्रसन्न भयो ।

यात्रा गुल्मीको अर्थात टाढैको हो । मैले टिकट बुक गरेको थिइनँ । म गुल्मी जानकालागि बुटवलबाट बस चढेँ । बसमा सिट खाली थिएन । उभिएर यात्रा गर्ने बानी पनि छुटेछ मेरो, ढाड निकै दुख्न थाल्यो । २०६२ सालको दोस्रो जनआन्दोलनमा सुरक्षाकर्मीको लठ्ठीले मेरो ढाड घाइते छ । कहिलेकाही त स्वासै फेर्न मुस्किल हुने गरी दुख्छ । क्यानडामा निशुल्क डाक्टर, अस्पताल, डाइगोनोसिस गर्ने उपचारको अबसर हुँदा पनि ठिक भएको छैन । मलाई लामो समय उभिन गाह्रो हुन्छ । बस्नुपर्छ । म बसमा यात्रा गर्न गाह्रो भो । म उत्रेँ । अनि अर्को बस आयो । अनकन्टारमा म स्थानिय जस्तो देखिइन होला । कहाँबाट आएको ? के कामले आएको ? जस्तो प्रश्न कन्डक्टरले सोधे पछि उनले मलाइ ड्राइभर छेउमा इन्जिन माथि बस्ने सिटको ब्यबस्था गरिदिए । तानसेन पुगियो ।

समस्या उस्तै थियो । दशैको भिड जताततै थियो । कोचाकोच गरेर गाडिमा उभिएर हार्थोकनेर आइपुग्दा फेरी पुलिस चेकिंग रहेछ । गाडीवालाले पहिलेनै हामीलाइ सबै लोकल हौ भन्नु नत्र पुलिसले उभिएर यात्रा गर्न दिँदैन, झारिदिन्छ भनेको थियो । हामी उभिएर यात्रा गर्नेले पुलिसलाइ लोकल हौँ भन्यौँ । तपाइहरूले नचढे त यी बसले दुख दिन सक्दैनन् तपाइले पुलिसलाइ सहयोग गर्नुपर्छ भनेर सम्झाए । हामी दसी समेत समातिएका चोर झै चुपचाप ओर्लियौँ सिट भन्दाबढीका मान्छे । गाडी गयो, पुलिसले सिटमा बसेका मान्छे मात्र हालेर गाडी पठाइदियो। पुलिसले अर्को गाडी बोलाइदियो। आधाघन्टा ४५ मिनेट पछि अर्को गाडी आयो सिटमा बसेर रिडी झरेँ । अनि अर्को गाडीमा बलेटक्सार निस्केँ । मलाइ यसरी गाडीमा यात्रुको सुविधा भएन की वा ठगी भयो कि भनेर पुलिसले चेक गरेको पूर्व अनुभव थिएन । सुरक्षाका कारण भनेर मात्र धेरै चोटि चेकिंगमा परेको थिएँ द्वन्दको बेला ।

गाउँमा पुर्वाधार र सेवा
दशैको छुट्टी भैसकेको थियो । गाउँमा जानेहरूको लर्को लामै थियो । बलेटक्सारमा म बसबाट उत्रेँ । भतिजो लिन आयो मोटरसाइकल लिएर । हिडेर जाँदा डेढ दुइ घन्टा लाग्थ्यो । मोटरसाइकलमा आधा घन्टामै घर पुगियो । फेसबुकमा डोजर आतंक भनेर निकै पढेको थिएँ । हो, डोजरको प्रयोग चाहि ब्यापक हुने रहेछ अचेल गाउँमा । दशैमा कोदालोले बाटो खनिन्थ्यो अचेल डोजरले खनिदो रहेछ । त्यो श्रमदानको परम्परा युवाको विदेश पलायनसँगै अन-फिजिवल भएछ । पहिले जहाँ जस्तो अबस्थामा बाटो थियो त्यसैलाइ फराकिलो बनाएर मोटरसाइकल चलाउने गरिएको देखेँ । सडक डिजाइनका हिसावले ती सडक गलत छन् । खत्तम छन् । कामै नलाग्ने भन्न मिल्छ । न स्लोप मिल्छ, न मोड मिल्छ, न एलाइङमेन्ट मिल्छ । प्राविधिक आँखामा बिझाउने तर ब्यवहारिक रूपमा हेर्दा त्यो भन्दा सामाजिक रूपमा विश्लेषण गर्दा अर्को विकल्प पनि रहेनछ बाटोको। सबैलाइ आफ्नै आँगनबाट जाने गरी बाटो चाहिने । प्राविधिक कुरा सुन्न/मान्न धेरै मान्छे तयार रहेनछन् । त्यसमाथि हुने राजनीति अर्को पाटो छ । तर पनि सबैजसोको घरमा मोटरसाइकल पुग्ने अबस्था बन्नु यातायात पुर्वाधारका हिसाबले ठुलो प्रगति भएछ। विरामी डोकामा बोकाएर अस्पताल लैजान नपर्ने, तत्कालै उद्दार गर्ने कुरा पनि ठुलो उपलब्धी हो गाउँका जनस्वास्थ्य मुद्दाका लागि ।

बाटोमा भाइको घर थियो, घर छेउमा केबुल-तार जडान गर्दै गरेका २ जना प्राविधिक पोलमा खटिरहेका थिए । मैले सोधेँ । उनीहरूले अप्टिकल फाइवरको लाइन जडान गर्दै गरेको कुरा बताए । रमाइलो कुरा निजीक्षेत्रको इन्टरनेट सेवा प्रदायक एनटिसीले तानेको तमघास जाने सडकबाट हाँगा बनाएर गाउँतिरको जडानको काम गरेका रहेछन् । १ हजार रूपैयामा ५ यमविपियसको डाटास्पीड दिन सकिने कुरा गरे । म फेरी छक्क परेँ गाउँमा इन्टरनेटको यो उच्च प्रविधी मैले कल्पना गरेको थिइन । विकासको लागि अर्को पूर्वाधार सुचनामा पहुच हो । ब्यवसाय गर्नेका लागि यो महँगो पनि होइन, जुन गाउँमा उपलब्ध छ ।

६६ वर्षीय मेरा दाइ सेवानिवृत्त शिक्षक हुनुहुन्छ । दुई छोरामध्ये एक सरकारी र अर्को वैदेशिक रोजगारीमा छन् । चाडपर्वमा मात्र घर पुग्छन् । दाइले व्यावसायिक माछा पालन र तरकारी खेती गर्नुहुन्छ । घरमै बाटो पुग्नु र इन्टरनेट/फोनको उपलब्धता भएकाले यो सम्भव भएको उहाँको बुझाइ छ । ‘खेतालालाई पनि मोवाइलमै सम्पर्क गर्छु । माछा किन्ने र तरकारी किन्नेसँग पनि मोवाइलमै सम्पर्क हुन्छ ।’ दाइ थप्नुहुन्छ – ‘व्यवसाय राम्रै चलेको छ । वर्षमा ४/५ लाखको माछा बेच्छु ।’ ‘यो बुढेसकालमा किन दुख बेसाउनु भएको त नि’ मैले सोधेँ । ‘सकृयता भएन भने मान्छे बिरामी हुन्छ । इच्छाशक्ति र सकृयताले मान्छेको आयु बढ्छ । हेर न हाम्रो प्रधानमन्त्रीजीको । सकृयता र इच्छाशक्तिले बचाएको छ उहाँलाइ । उहाँ त १५-१६ घन्टा काम गर्नुहुन्छ म भन्दा झण्डै दशबर्ष जेठो हुनुहुन्छ। काम गरिरहनु भएको छ ।’ घरमुनीको पोखरीमा माछालाइ चारो छर्दै दाइले भन्नुभयो । नेतालाइ गाली मात्र गरेर र त्यस्तै सूचना पढेर दिन काट्ने म जस्तो लाहुरेलाई आफ्ना प्रधानमन्त्रीसँग प्रेरणा लिँदै काम गरेको एउटा सचेत किसान देखेर नतमस्तक भएँ ।

अर्को दिन गाडीमा रिमुवा गएँ । महिद्रा जिपको सवारी निकै लोकप्रिय रहेछ । रिमुवामा पानीको कमी छ, तर पनि अमृत घर्तीले बर्षातको पानी र नुहाएको तथा भाँडा माझेको पानी संकलन गरेर माछा पालन गर्नु भएको रहेछ। धेरैले तरकारी खेतिका लागि ग्रिनहाउस बनाएका रहेछन् । त्यो निकै उत्साहित पार्ने खालको थियो। गाउँमा सरकारले सहुलियतमा दिएका हाते ट्याक्टर, थ्रेसर जस्ता मेसिन प्रसस्तै देखिए ।

अर्को प्रेरणादायी कुरा चाहीँ पैँचो पसल रहेछ । जतिसुकै अर्गानिक तरकारी उत्पादन गरेपनि पैँचो पसलले किनिदिदो रहेछ । र बुटवल लगेर बेच्दो रहेछ । तरकारीका बिचौलियाले हैरान पारेका बेलामा किसानहरूको सहकारीले ब्यापारको ब्यबस्थापन गर्दो रहेछ । साढे २ सय जनालाइ प्रत्यक्ष र अरू केही सयलाइ अप्रत्यक्ष रोजगारी दिएको रहेछ । पैचो पसलको नाममा गाउँमा रोजगारी श्रृजना गर्ने यो पवित्र अभियानमा लागेका रहेछन् त्यो क्षेत्रका किसानहरूनै । विचौलियाले मुल्य दिएन भनेर रूवाबासी गर्ने राजधानी छेउका किसानलाइ सुदुर गाउँका किसानहरूले प्रयोगसिद्द-समाधान दिएको देख्दा पनि रामायणको पङ्ति सम्झे ‘यो भानुभक्त धनी कन आज यस्तो…।‘ पढालेखा गरेको अनुभव र सीप भएको मान्छे विदेशमा आफ्नै कुण्ठा बोकेर बसेको छु । पढ्ने र सीप आर्जनको अबसर नपाएका किसानहरूले समृद्दिको गोरेटो कोर्दै गरेको देख्दा आफैसँग लज्जाबोध पनि भयो ।

मनोज गजुरेलको भाषा सापटी मागेर भन्दा, कुरा गर्यो कुराकै दुख, त्यसपछि फेरी क्यानडा फर्केँ । यति भन्न सकिन्छ, व्यवसाय गर्ने वातावरण छ, सामान्यतया पूर्वाधार बिजुली, पानी, टेलिफोन/इन्टरनेट, बाटो, बैक, राज्य (सुरक्षा र सहुलियत/सुविधा) अहिले उपलब्ध रहेछ गाउँमा । कुनै व्यक्तिगत बाध्यतालाई लुकाउन जे भने पनि हुन्छ तर गर्छु भन्नेका लागि अब अवसरका थुप्रै ढोका खुलेका रहेछन् । बजार प्रसस्त रहेछ, श्रृजनात्मक ढंगले सोचेको अवस्थामा । एक दशकपछिको झण्डै एक महिने नेपाल बसाइपछि मलाई लाग्यो – विश्वभर छरिएर रहेका लाखौँ प्रवासीले अब एक पटक सोच्ने बेला आएछ ।

twitter.com/thekusum@thekusum

30 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *