बुबाको पहिलो वार्षिक पुण्यतिथि र त्यो अँध्यारो दिन

(सन् २००९ को दशैंमा बुवा-आमाका साथमा लेखिका तनुजा पोख्रेल)

नेपालीपोष्टको नियमित लेखक तथा सहयोगी तनुजा पोख्रेल आफ्ना बुबा स्व. उपेन्द्र पोख्रेलको प्रथम पुण्यतिथिको अबसरमा आफ्नी आमालाई भेट्न नेपाल गएकी थिइन् । तर नियतीले उनको  बुबा बित्नु भएको बर्ष दिन पुग्न ४ दिन पहिले नै आमा दुर्गा पोख्रेललाई पनि यस धर्तीबाट लग्यो ।

लामो समयसम्म धनकुटा क्याम्पसमा प्राध्यपन गर्नुहुने स्व. उपेन्द्र पोख्रेल धनकुटा लगायत पूर्वाञ्चल क्षेत्रका परिचित शिक्षासेवी तथा लेखक पनि हुनुहुन्थ्यो । बिसं ३० को दशकमा उहाँको मिमी  उपन्यास प्रकाशित भएको थियो ।

त्यस्तै स्व दुर्गा पोख्रेल पनि लामो समयसम्म विभिन्न सामाजिक संघ-संस्थाहरूमा कार्यरत परिचित सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।
बिगत १०-१२ बर्षदेखि  संयुक्तराज्य अमेरिकाको भर्जिनिया निवासी तनुजाले एकसाता पहिले बुबाको प्रथम पुण्यतिथिका सन्दर्भमा नेपालीपोष्टका लागि काठमाडौंबाट पठाएको स्मरण यहाँ प्रस्तुत छ

जन्मभूमिमा बिमारी बुबालाई भेटेर फर्केको धेरै भएको थिएन । उपचारका लागि केही महिना बुबा आमासँग दिल्लीमा बसेर नेपाल फर्केपछि म कर्मभूमि फर्कें । फोनमा कुरा हुँदा त सबैले ठिकै छ, राम्रै छ भने पनि हरेक दिन बिहान मन धमिलो हुन थालेको निकै नै भईसकेको थियो । परदेशमा बसेर आफ्ना बुबा-आमालाई रोगले च्याप्दै लगेको र शारीरिक पीडा पनि भईरहेको सुन्नु अनि चाहना हुनासाथ गईहाल्न नपाऊनुको पीडा निकै कष्टकर हुँदोरहेछ ।

हरेक दिन मेरो फोनको आशामा पर्खनु हुने बुबाले बिस्तारै फोनमा बात मार्न पनि छोड्न भएको थियो  । केही बोलेपनि रोगले थलिएको पीडाको स्वर सुन्दा भक्कानो छुट्थ्यो । बुवालाई भेटेर आएको २ महिना मात्र भएको थियो । त्यो अन्तिम पटकको भेटघाटमा बुवा सुत्नुभएकै कोठामा दश दिन म सुतेकी थिएँ । त्यस्तो बिरामी मान्छे, म सुत्न जानुभन्दा पहिले मेरो खाटको ओछ्यानमा ओड्ने मिलाएर राखिदिनुहुन्थ्यो । यस्तो लाग्थ्यो – कति चैं माया होला त आफ्नो सन्तानको !

सदा झैं त्यो बिहान पनि आमासँग फोनमा कुरा गर्दै काममा गएँ । त्यो बेला आमाको आवाज अलि हरेस खाएकोजस्तो थियो । मन दुखाउँदै फोन राखें अनि आफ्नो ड्युटीतिर लागें । ड्युटीको बीच-बीचमा मन कस्तो कस्तो भएर दिदीलाई फोन गरें, मेसेज पठाएँ तर जवाफ आएन । एकछिनपछि अँध्यारो अनुहार लगाउँदै मसँगै काम गर्ने साथी बाहिर तँलाई भेट्न तेरो सानिमा आउनुभाको छ भन्दै आई ! म दौडिंदै बाहिर गएँ । आज त ‘surprise’ पो भयो त भनें, मनिषा सानिमा उभिएको उभिएकै हुनुभयो । उहाँ पनि खासै केही बोल्न  सक्नुभएन !

सानिमाले तँलाई लिन आको घर हिंड् भनेपछि भने झसंग भएँ ।  किन बुबालाई केही भईसक्योकि के हो भन्दै सोध्न पुगेछु । यसअघि सबैले ठिकै छ, राम्रै छ भन्ने गर्थे तर सानिमाले चैं झिनो स्वरमा अलिक सिरियस हुनुहुन्छ रे भन्नुभयो ।

मैले आफूलाई रोक्न नै सकिन, त्यसपछि मेरा आँशु  थामिएनन् । सारा संसार अँध्यारो भएको महसुस भयो । शरीर काम्यो, जीवनमा कहिले नभोगेको पीडा महसुस भयो । जगदीश सानोबुवा पनि आउनुभाको रहेछ  । यस्तो कठिन अवस्थामा परदेशमा आफूलाई माया गर्ने सानिमा सानोबुवा नजिक पाऊँदा धरै राहत भयो । सानिमाले मलाई गाड़ी चलाउन दिनु भएन । मलाई बाटोभरी सम्झाउँदै घरसम्म ल्याईदिनुभो ।

घरमा पुगेर कम्युटरमा फेसबुक खोल्दा बुबालाई श्रद्धान्जली दिन शुरू भइसकेको  रहेछ । त्यो देखेपछि अब मैले बुबालाई जीवनभर देख्न पाउने छैन भन्ने पीडाले पिरोल्न थाल्यो ।

घरमा सबै कुरा रित्तीएको र खाली भएको आभाष हुनथाल्यो । र, पनि साहस बटुलेर दिदीलाई फोन गरें ।  माईली दिदी, जसले नजिकबाट आमा बुबाको  सेवा गरिरहेकी थिई, बुवा उसकै काखमा परलोक हुनुभएकोले ऊसँग रुँदै रुँदै बुवाको अन्तिम दिनको बारेमा सोधें ।

मदन मामाले बुबाको सहज स्वार्गारोहण भएकोछ, हिम्मत नहार्नु, तिमीहरु सबै भएर अब आमालाई आँट दिनुपर्छ भनेर सम्झाउनुभयो। आमा एक्ली हुनुभाएको सम्झेर मुटु भक्कानियो । भरखर आफ्नो उपचार सकेर आऊनुभएकी आमालाई यो पीडा सहज रुपमा सहन सक्ने शक्ति मिलोस् भन्दै प्रार्थना गरिरहें  ।

भोलीपल्ट साहस बटुलेर आमासँग पनि कुरा गरें । आमाछोरी  एकैछिन सँग-सँगै रोयौं । आमाले एकैछिनपछि रुन छोडेर साहस बटुलेर भन्नुभयो- तिमी भर्खर यहाँबाट गएकी , घरीघरी त्यति टाढाबाट आउनुभन्दा गर्मी विदामा नातिनीहरु लिएर आऊ भन्नुभो ।

कस्तो बिडम्बना ?! मेरा छोरीहरु नेपाल नगएको सात वर्ष भईसकेको थियो । सन्  २०१९ को समर विदामा बुवा र आमासँग भेटाउन नेपाल ल्याउने  निधो गरेर एक महिना पहिले नै आमा छोरीको टिकट काटिसकेको थियो । बुवाले मेरी कान्छी छोरीलाई विशेष नै माया गर्नुहुन्थ्यो । सानी हुँदा आफूसँगै हुर्काएर होला । फोनमा कुरा हुँदा नानी ऊडेर आऊ है भन्न थाल्नुभाको थियो । तर नातिनीहरुलाई भेट्ने रहर नपुर्याई संसार छोडेर जानुभयो ।

आफूलाई जन्म दिने अभिभावक गुमाऊनुको पीडा  प्रत्यक्ष परेपछि मात्र थाहा हुने रहेछ । मुटुको कुनामा अमिट भएर बस्ने पीडा रहेछ यो । जन्मेपछि सबैले एकदिन जानुपर्छ भन्ने थाहा हुँदाहुँदै, जान लागेको मान्छेलाई पीडामा देख्दा हे भगवान कि पीडा हटाईदेऊ कि सहज रुपमा मुक्ति देऊ भन्ने स्थिती आऊँदा आउँदै प्राण त्यागेको दिनको अँध्यारोपन कुनै सहानुभुतिले पनि हटाउन नसक्ने रहेछ ।

अब बुबा बित्नु भएको बर्ष दिन हुँदैछ । आमाको स्वास्थ्य पनि सन्तोषजनक छैन । आमालाई पनि रोगले च्याप्दै लगेको छ । म अहिले बुबाको प्रथम बार्षिक पुण्यतिथिमा आमासँगै बसौं भनेर नेपाल आइपुगेकिछु । अहिले पनि मलाई बुबा हामी वरिपरि नै हुनुहुन्छ कि जस्तो लागिरहन्छ । मेरो स्मृतिमा बुबाको विगत वर्तमान बनेर घुमिरहेको छ ।

मेरो बुवा सरल, सबैको भलो चिताऊने, मायालु, सहयोगी र मिजासिलो ब्यक्तित्वको रुपमा समाजमा परिचित हुनुहुन्थ्यो । लगभग चार दशक क्याम्पसहरूमा पढाएर बुवाले देश विदेशमा हजारौं शुभ चिन्तकहरु कमाउनु भएको थियो ।  विभिन्न सामाजिक संस्थाहरुमा गरिमामय पदहरुमा रहेर समाज सेवा गर्नुहुन्थ्यो । छोरा, दाजु, भाइ, श्रीमान्, पिता, अभिभावक, शिक्षक सबै भुमीकामा सक्षम र सफल हुनुहुन्थ्यो।

महिलाले मात्र गर्ने भनेर समाजले छुट्टाएका कामहरु विशेष गरी आमालाई भान्सामा सघाउन हिच्किचाउनु हुन्न थियो । हजुरआमालाई सघाउन आफ्ना बहिनीहरुको कपाल कोरिदिने गर्नु हुन्थ्यो रे । मेरी आमालाई त्यो जमानामा घरबाट बाहिर निस्केर आई.एन्.जी.ओमा काम गर्न पुरै सहयोग र हौसला दिनुभएको थियो । म पाँच महिनाकी हुँदा आमाको पोखरामा तालिम परेको रहेछ । बुवाले दिनभरी होटलको कोठामा मेरो रेखदेख गरेर आमालाई तालिममा पठाउनु भएको थियो रे । त्यस्तै हामी स-साना छोरीहरु मनुजा, अनुजा, तनुजा र दिवालाई छोडेर ६ महिनाको लागि आमा नेदरल्यान्ड जाँदा बुवाले हाम्रो रेखदेख र स्याहार गर्नुभएको थियो ।

नेपालमा हामी हुर्किरहेको समयमा ‘बुबा’ भन्नासाथ डराउनुपर्ने व्यक्तित्वको रुपमा चिनिन्थ्यो । हाम्रा साथीहरुले आ-आफ्ना बुबाको व्यक्तित्व त्यस्तै डरलाग्दो भएको उदाहरण दिन्थे ।  तर हाम्रो बुवा सँधै हाम्रो नजिकको प्रिय साथीजस्तै हुनुहुन्थ्यो । आफ्ना बाल्यकालका रमाईला, दु:खका अनि संघर्षका कथा सुनाएर सँधै प्रेरणा दिनुहुन्थ्यो ।  बिहान ऊठ्नासाथ पहिलो कप चिया ओच्छ्यानमै ल्याईदिएर ‘alarm clock’ को रुपमा हामीलाई पढ्न उठाउनुहुन्थ्यो ।  त्योबेला पनि  छोरीहरुलाई पिकनिक जान, सिनेमा हेर्न छुट थिएन तर हाम्रो बुवाले हामीलाई केहीमा रोकटोक गर्नुभएन । जङ्गलको पल्लो छेउमा हाम्रो घर अनि त्यही जङ्गल दिनहुँ हिंडेर हामी स्कुल जानुपर्ने । हरेक दिन कि त हामीलाई स्कुलसम्म पुर्याऊने र ल्याऊने कि त भरपर्दो साथी खोजिदिने बुवाको काम हुन्थ्यो ।

तीन पटकसम्म धनकुटा क्याम्पसको प्रमुखको पदमा काम गरेर बुवा हजारौं विद्यार्थीहरु र प्राध्यापकहरुको मन जित्न सफल हुनुभएको थियो। वहाँ बिरामी हुनुहुँदा देशका कुनाकाप्चामा रहेका वहाँका विद्यार्थी तथा शुभ चिन्तकहरु भेट्न आएका थिए। बुवा एक स्पष्ठ बक्ता हुनुको साथै वहाँको गहकिलो रुपमा हँसाएर दिने मन्तब्यको सबैले प्रशंसा गर्थे । वहाँका कविताहरु निकै कर्णप्रिय हुने गर्थे । वहाँले लेख्नुभएको ‘मिमी’ नामक उपन्यास पनि त्यो जमानामा लोकप्रिय बनेको थियो रे ।

परिश्रमी र लगनशील बुबाले आफ्नो अवकास प्राप्त जीवनलाई ब्यस्त राखेर बिताऊनुभयो। गाईबस्तुको हेरचाह गर्ने, बारीमा तरकारी लगाऊने, बजारबाट घरमा चाहिने सामान किनेर ल्याउने ईत्यादि गरेर आफूलाई चुस्त-दुरुस्त र स्वस्थ राख्नुहुन्थ्यो । आजीवन साकाहारी बुवा आफूले  माछा-मासु नखाएपनि  परिवारका लागि पत्रिकाले छोप्न लगाएर मासु किनेर ल्याईदिनुहुन्थ्यो। स्वस्थ तन्दुरुस्त हाम्रो बुवा एक्कासी पछि आएर हामीलाई विश्वास नलाग्ने गरी बिरामी हुन थाल्नुभएको थियो ।

मेरो बुवा अब इतिहास हुनुभो ! वहाँले हामीलाई छोडेर जानुभएको एक वर्ष  यसै हप्ता पुग्दैछ । कति धेरै सम्झना अनि माया छोडेर जानुभो । तर परदेशमा र त्यसमा पनि सात समुद्रपार रहँदा आत्मियजनलाई देख्नै नपाइ गुमाउनुपर्दाको पीडा भने संधै नै खट्किरहनेछ । परिवारको, समाजको, सबैको प्यारो मेरो बुवाप्रति माया नै माया भरिएको श्रद्धान्जली अर्पण गर्छु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *