लोकतन्त्र, कम्युनिष्ट फेन्टासी र यसको दुरूपयोग
|खासमा सुन्नेले सुनिदिनु र बुझ्नेले बुझिदिनु हो भने
१. आमादिदी बैनी हो
२. गाऊँ गाऊँबाट उठ
३.भरियाको जीवन लगायतका गीतहरू नै काफी छन् प्रगतिको स्वर घन्काउन । तर कस्ले सुन्छ ? राजनीतिक क्रान्ति र आन्दोलनका वेला मात्र बज्छन् यी गीतहरू । जीवन भर प्रगतिशील गीत गाएर दारी फुलेका जीवन शर्माहरूको जीवनमा स्वयम् प्रगति हुन सकेको छैन । चाहिएको बेला सबैले प्रयोग गर्ने न हुन् । कस्ले सुन्छ यी गीतहरू रातसाँझ ? के कमी छ नेपालमा प्रगतिशील साहित्यको ? गीतको ? विचारको ? प्रगतिशील पार्टीहरूको ? कति छन् नेपालमा कम्युनिष्ट पार्टी ?
जातिय छुवाछुतको बारेमा यस कुमारले गाएका गीतहरू नै काफी छन् सुन्ने हो भने । नसुनेपछि जति गाए पनि के अर्थ ? गीत गाएर अधिकार आउने रहेछ त ? लडेर लिने हो । संसारमा नभएको जातिय विभेदको आतंकको विरूद्द के गर्नु पर्छ यो देशको शासन-प्रशासनले जान्ने कुरा हो । सदियौंदेखि मानब अधिकारको रूपमा यो देशमा काम गरिरहेका तर सिन्को नभाँचेर पैसा मात्र हसुर्ने लुटेराहरूले जान्ने कुरा हो । हरेकले निडर भएर ऊँचो आवाजमा ठाउँका ठाऊँ लड्ने हो । अब सबैको साथ रहन्छ । नयाँ पुस्तामा यो समस्या निक्कै कम छ । तर त्यतिविधी संख्यामा कम्युनिस्ट समर्थक भएको देशमा अझै पनि अन्धपराहरू कति छन् कति । यसको कारण विद्रोहको वेला मन्दिरमा गाइको आन्द्राको माला लगाउने हदसम्मको भौतिकबादी, क्रान्तिकारी र विद्रोही चरित्रका कम्रेडहरू द्वन्दको अवसान सँगै मन्दिरमा भेटीपाती लिएर पुग्ने हुनु हो ।
एक समय थियो । नारायण गोपालले प्रगतिशील गीत नगाएकाले उनलाई स्वर सम्राट भन्नु हुँदैन भन्ने कथित प्रगतिबादी पनि थिए । जो कम्युनिष्ट पार्टीको गुणगानलाई मात्र प्रगतिबाद मान्थे । अझ माओलाई मात्र । पछि बाबुरामले नेपालमा सही अर्थमा माओबादी युद्द थिएन, हामीले माओको लोगों मात्र प्रयोग गरेका हौ भनिदिए । त्यसपछि बाबुरामकै पछि लाग्ने कम्युनिष्टहरूले उनकै उछितो काटेर आत्मा सन्तुष्टि लिए । त्यो नकली होला हामी सकली भनेर आफ्नो चित्त आफैले बुझाए ।
ऐतिहासिक समालोचना नगर्नेहरूले भानुभक्तलाई पुरूषबादी र जातिवादी भनिदिए । केही निस्किए पृथ्वीनारायणको शालिक भत्काए । पुस्तकै लेखे । जस्ले शालिक भत्काए तिनैले पछि ठड्याएर एक हलको मेलो भाषण पनि ठोके ।
गज्जब रमाइलो त यो छ कि प्रगतिबादी लेखक हुन कम्युनिष्ट पार्टीको सदस्य हुनुपर्छ । तपाईको विचार र लेखन प्रगतिबादी हुँदैमा तपाई प्रगतिबादी हुन सक्नुहुन्न । प्रगतिबादीको लाइसेन्स कम्युनिष्ट पार्टीसँग मात्र पाइन्छ । नेपालमा कम्युनिष्ट नहुनु हो भने हामीसँग प्रगतिबादी साहित्य नै हुने थिएन । यो सब विचार गर्दा के लाग्छ भने नेपालमा प्रगतिबादी साहित्य लेखनको लागि मात्र पनि कुनै न कुनै कम्युनिष्ट पार्टि त हुनै पर्छ । तर आफूलाई कम्युनिष्ट भन्नेले लोकतन्त्रका हिमायतीलाई प्रजातन्त्रको परिभाषा सिकाइरहेको अबस्था हो अहिलेको अबस्था। नागरिकका लोकतान्त्रिक अधिकारहरू खोसिए भनेर कम्युनिष्टहरू मन्चमा कराई रहँदा खुसी, ईर्ष्या र रिस सबै एकै चोटी हुन्छ होला प्रजातन्त्रको एक मात्र पहरेदार ठान्ने कांग्रेसलाई । कि कसो ?
कम्युनिष्ट सिद्धान्त/दर्शन एउटा काल्पनिक घोडा मात्र प्रमाणित भएको छ । न त माओ स्वयम् नै कम्युनिष्ट हुन सके, न स्टैलिन, न लेलिन नै ।
संसारमा जहाँ जहाँ गरीबी छ त्यहाँ त्यहाँ कम्युनिस्ट नामको बल्छि थापेर सत्ताको बाजी मार्न पल्केका ऐरे गैरे कम्युनिष्टहरूले त झन् त्यो देश काल परिस्थितिसँग भन्दा पनि कम्युनिष्ट शब्दमाथि नै झन् नराम्रो ब्यभिचार गरेका दृष्य विश्व इतिहास र वर्तमानमा छर्लंग छ । धूर्त सामन्ती र अपराधी समूहहरूले नै सामन्तको विरूद्दमा र सर्बहाराको पक्षमा भन्दै संचालन गरेका कथित कम्युनिष्ट आन्दोलनहरूको भित्री रहस्य नबुझी पटक पटक उनीहरूको हतियार हुनु नै कुनै पनि देशका गरीबहरूको निम्ति अभिशाप बन्दै आइरहेको छ ।
नेपालमा केही कम्युनिष्ट शब्दको फेन्टासीमा हराएका र आफूले सोचे जस्तो छलांग मार्न नसकेका मान्छेहरू फेरी पनि नयाँ कम्युनिष्ट आन्दोलनको सपनामा अर्को युद्दको मैथुन खडा गर्ने सपना देख्न थालेका छन् । नागरिकहरू होसियार हुन आवस्यक छ । यिनीहरूको क्षणिक उत्तेजना र क्रिडाको सिकार कोही पनि नबन्नु होला । यिनीहरूको विगतले नागरिकलाई ‘युज एन्ड थ्रो’ गरिसकेको छ । बरू सबैले भ्रममा नपरी बेलैदेखि लोकतन्त्रकै अभ्यास र सुदृढिकरणमा जुट्नु राम्रो हुनेछ । बरू लोकतन्त्रका विकृतिहरूका विरूद्द लडेर यसलाई सुधार्न तिर लागौं । यो भन्दा उत्तम विकल्प अरू छैन ।
वास्तविकता । अति राम्रो विश्लेषण यार ।