फेरि एउटा हाँगो भाँचियो
|आज फेरि गुलाफको हाँगो भाँचियो
फूल फुलिरहेको कल्कलाउँदो बोटबाट
हरेक फेब्रुअरीमा हाँगो भाँचिने गर्छ
अरु महिना पनि नभाँचिएको त कहाँ हो र ?
तर आज भाँचिएको हाँगो
सजिलै गरि भाँचिएको छैन
यसलाई सुनियोजित तवरले भाँचिएको छ ।
भाँच्न दुस्साहस गर्नेहरुलाई के थाहा
त्यो बोट हुर्काउन
कत्रो इतिहास खर्चेको छ ?
बोट परिपक्व हुन
कति विविधता पुरा भएका छन् ?
यी यावत प्रक्रिया वेवास्ता गरेर
एकदिने मायामा साट्नलाई
गुलाफहरु भाँचिन्छन्
हिजो पनि भाँच्यौं
आज पनि भाँचिरहेछौं
र,भोली पनि यसरी नै भाँचिरहनेछौं
जबसम्म समयले
वंश परम्परा बुझ्दैन
गुलाफहरु यसरी नै भाँचिई रहन्छन्।
हाम्रो फूलबारीमा त
भ्यालेन्टाइनमा मात्र गुलाफ भाँचिएनन्
भूइँचालोले
साझा फूलबारी तहस-नहस बनाइदियो
हाँगो भाँचिएको देखेर
मालीहरुमा नयाँ झट्का लागेको छ
रातोरात उनीहरुमा नयाँ चुनौती आइलागेको छ।
हुन त फूलवारी रक्षा गर्छौं भन्नेहरु
फूलका संरक्षक आँफैमात्रै ठान्नेहरु
बाहिर बाहिर जे सुकै भन्ने गरुन्
फूल फूल नै त हो ,
त्यो भाँच्नैका लागि सोच्दारहेछन् मालिकहरु ।
आजै बल्ल छर्लङ्ग भयो
सारा जगतमा खुल्नै पर्ने आँखा खुले
यहाँ एउटा फूलको मात्र होइन
सारा फूलबारीको कुरा छ
यहाँ एउटा माली
एउटा बगैंचेको मात्र कुरा होईन
फूलहरुको सन्ततिहरुका कुरा पनि छन्
फूल जगत र अस्तित्वको कुरा पनि छन्
किन मालिकहरू फूलका हाँगा भाँचिरहेछन्
किन हामीहरू तिनका तमासा हेरेर हाँसिरहेछौं ?
दिनहुँ निमोठिनुको पीडा त छँदैछ
तर चुँडिनु अगावै
हिजोका हरेक कोपिलाहरुले
आफू आँफै हतासिनु पनि परिरहेकै छ
किनकि उस्लाई यो थाहै दिईंदैन
भोलि बिहानै उस्ले भाँचिएर
मन्दिर जान पर्ने हो या आर्यघाट ?
बक्सामा गुम्सिनु पर्ने हो कि
सिसाको स्यानो गमलामा खुम्चिनु पर्ने हो ?
फूलहरुले जहाँ जहाँ गएपनि
आफ्नो गुण कहिल्यै बिर्संदैनन्
आँफू चुडिएर जगत हँसाई रहन्छन् ।
यहाँ फेरि आज
एउटा अस्तित्व गुमाएको छ बोटले
एउटा फूलको हाँगो फेरि भाँचिएको छ
चाहे त्यो
माली स्वयं ले भाँचेको होस्
चाहे त्यो मालिकले
चाहे गोठालाले
जोसुकैले भाँचेको होस्
मेरो देशको बगैंचाबाट
फेरि गुलाफको हाँगो भाँचिएको छ
एउटा विश्वास को हाँगो भाँचिएको छ।