समय आउँछ

समय आउँछ
र मेरो मूर्दापनलाई ब्युँझाउँछ
समय आउँछ
र मेरो नास्तिकतालाई सम्झाउँछ
समय सँधै यसरी नै आउँछ/आइरहन्छ
र मलाई हदभन्दा बढी प्रश्न गरिरहन्छ ।

समय आउँछ
र एउटा विचार छोडेर जान्छ
जब म त्यसैलाई जीवनको मूलबाटो बनाएर हिंड्छु
फेरि अर्को समय आउँछ
र अर्कै गोरेटो विछ्याएर जान्छ
समाई नसक्दै एउटा दिन
उदाएर आउँछ अर्को रात
अर्कै दिनको गर्भिणी भएर ।

समय आउँछ
र यथार्थलाई भ्रम बनाउँछ
भ्रमलाई यथार्थ बनाउँछ
समय आउँछ
र आँसु झारेर जान्छ
समय आउँछ
र आँशु पुछेर जान्छ
कहिले हाँस्दै आएर रूँदै पनि जान्छ
कहिले रूँदै आएर हाँस्दै पनि जान्छ
समय आउँछ
र घरी घरी सिकारु चिकित्सक झैं
जीवनमाथि जथाभावि अप्रेशन गरेर जान्छ
समय आउँछ
र घरी घरी उछृँखल प्रेमीका झैं
जीवन माथि नानाभाँती गरेर जान्छ
म चुपचाप समय भोगिरहेछु ।

उस्तै छ जीवनको उदेश्य
सयौं चोटी लाछिएर पनि
पलाईरहेकै छन् उसरी नै आशाका मुजुराहरू
मैले सँधै हेरिरहने त्यो क्षितिज उस्तै छ
बस् समय आउँछ र त्यहाँ घाम उदाउँछ
बस् समय आऊँछ र त्यहाँ घाम अस्ताउँछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *