मञ्जुरनामा

लिखितम् …
बोलावट भएमा…
तोकिएको मिति र स्थानमा हाजिर हुनेछु
… शुभम् ।

तर,
बोलावट नभए पनि,
म आउने छु
अवश्य आउने छु |

जब,
राम्रो नतिजाको लागि कसैलाई गुहार्नुपर्ने छैन
विशेष नियुक्तिको लागि प्रभुकहाँ धाउनुपर्ने छैन
पदोन्नति सिफारिसको लागि नजराना चढाउनुपर्ने छैन
सरुवाको लागि उनको हो मा हो मिलाउनुपर्ने छैन |

जब,
व्यक्तिलाई होइन संस्थालाई केन्द्रमा राखी
नीति, ऐन, नियम र कानुन बन्नेछन्
जब,
ती नीति, ऐन, नियम र कानुनहरु
लागू हुने मिति पश्चात् अक्षरस: पालना हुनेछन्
परीक्षाहरु स्वयं परीक्षार्थी हुनेछन्
पारदर्शिताले स्वयं अस्मिता परीक्षण गर्नेछ
अनुशासन स्वयं अनुशासित बन्नेछ
नाता र कृपाहरुले मुक्ति पाउनेछन्
प्रतिवेदनहरु सत्यवादिताका प्रमाण हुनेछन्
व्यक्तिगत स्वार्थभन्दा पेशागत मान्यता प्रधान हुनेछ
तालिमहरुले आफ्नो स्तरमा गौरव गर्नेछन्
स्वार्थ अनुसारको व्याख्या गरिने छैन
वास्तविक मुल्याङ्कन हुनेछ
योग्यतामा मात्र भर पर्ने वातावरण बन्नेछ
र,
असल मात्रै सफल हुनेछन् |

र जब,
उपलब्ध सेवा सुविधाहरु हठात् काटिने छैनन्
साथै,हरेक देशभक्त नेपालीले ‘जय नेपाल’ भन्ने वातावरण बन्नेछ
तब,
म बोलावट नभए पनि फेरि आउनेछु
अनि देशभक्त,नेपाल आमाका सन्तानहरुको ओइरो लाग्नेछ
र,
विद्यमान …
खडेरी हट्ने छ
इति संवत् …रोज् … शुभम् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *