खै के भएछ भूल ?!

यो कस्तो मौसम चलिरहेछ
कतै आकाश रिसाइरहेछ
कालो बादल बनी बर्सिरहेछ
थाहा छैन निर्दोष धर्तीलाई
खै के भएछ भूल ?!

थाहा छैन हिजो-आज
यो कस्तो मौसम चलिरहेछ
कतै  बादल रिसाईरहेछ
बेमौसम मै  झरी पारिरहेछ
बाढ़ी पहिरो बनी बगाइरहेछ
थाहा छैन कठै पशु-पन्छीलाई
खै के भएछ भूल ?!

थाहा छैन हिजो आज
यो कस्तो मौसम चलिरहेछ
कतै घाम रिसाइ रहेछ
तापक्रम आफ्नो बढाइरहेछ
बन जङ्गलहरु डढाइरहेछ
थाहा छैन कठै जिव-जन्तुलाई
खै के भएछ भूल ?!

थाहाछैन हिजो आज
यो कस्तो मौसम चलिरहेछ
कतै  पवन रिसाई रहेछ
सुनामी बनि बस्ती उडाइरहेछ
थाहा छैन गाउँबस्तीहरुलाई
खै के भएछ भूल ?!

थाहा छैन हिजो आज
यो कस्तो मौसम चलिरहेछ
डाँडाकाँडाहरु रिसाईरहेछन्
पहिरो बनि भत्किरहेछन्
थाहा छैन फूलका डालीहरुलाई
खै के भएछ भूल ?!

थाहा छैन फेरि आज भोली
यो कस्तो मौसम चलिरहेछ
वातावरण  किन धेरै रिसाइरहेछ
कोरोनाको भूत बनी घुमिरहेछ
बृद्ध रोगी बालक मारिरहेछ
थाहा छैन ति निर्दोष आत्माहरुलाई
खै के भएछ भूल ?!

थाहा छैन फेरि आज भोली
यो कस्तो मौसम चलिरहेछ
पशु-पन्छी आनन्दले घुमिरहेछन्
स्वतन्त्रताको गीत गाइरहेछन्
थाहा छैन अचानक कसरी
मानव  पिंजडामा परिरहेछन्
बिरहको गीत गाइरहेकाछन्
मानवदेखि मानव   डराइरहेछन्
खै के भएछ भूल ?!

Add a Comment

Your email address will not be published. Required fields are marked *