बोनसको जीवन
|
खै के भनौँ र ?!
कोरोनाको कहरमा
बाँचेका पलहरू पनि बोनसमा पाएझैँ लाग्छ
हरेक बिहान
नयाँ जीवन पाएझैँ लाग्छ ।
भित्र बस्दाबस्दै
हो साँच्चै
म आँफै डाक्टर भइ सकेंजस्तो लाग्छ
उठ्ने बित्तिकै टाउको छाम्छु
कतै तातो त बढेको छैन ?
घाँटी छाम्छु
थुक निल्दा कतै अप्ठयारो त परेको छैन ?
सबैकुरा ठीक भएकोमा म एक्लै हर्सोल्लास मनाउँछु
भएभरको स्फुर्ती बटुलेर झ्याउरे लयमा कम्मर भाँच्छु
नयाँ जीवन पाएकोमा एकछिन नाँच्छु
जब झ्यालबाट एम्बुलेन्सको नमिठो आवाज
कानको पर्दा छिचोलेर भित्र पस्छ
मेरो खुशीको पारो घटेर तल पुग्छ
अघिको स्फुर्ती सेलाएर चिसो भइसक्छ
सोच्छु कुनै दिन मैलेपनि यही आवाज अरूलाई छोड्दै
अस्पतालको ढोका ढक्ढक्याउनु पर्ने त होइन ?
तुरून्तै आँफैले बोलेको वाक्यको बिरोध गर्दै जुरूक्क उठछु र भन्छु-
अहँ म त्यो हुनै दिन्न !
म यो भाइरसलाई जितेरै छोडछु
राउण्डमा आएको डाक्टरले विरामीलाई छामेजस्तो
फेरि आफूले आफैँलाई छाम्छु
हिजो त सकिगयो आजको दिन सकुशल भएकोमा गर्व गर्छु ।
मन्दिर,मस्जिद र चर्च सबैमा ढोका लागे
मुर्तीहरू बोल्दैनन्
मात्र अस्पताल खुल्ला छ
जिउँदा देवी देवता त्यहाँ रहेछन
जस्ले मान्छेको अन्तिम पुकार सुनेर
जीवनको आशा दिइरहेछन्
यिनैका सफलताका कथा सुन्छु र सलाम गर्छु
र भित्रभित्रै आफूले दु:ख नदिने कामना गर्छु ।