यात्रा संस्मरण : बाइस वर्षपछि फेरि जापान पुग्दा

अहिलेभन्दा २२ वर्ष अघि जापान पुग्दा अलमल-अलमलमै रेलका डिब्बाहरुको भिडभाडमा म पनि मिसिएको थिएँ । भीडभाडबीच कि हातमा पत्रिका वा पुस्तक बोकेर एकोहोरिने भेटिएका थिए कि अलिकति होलो हुने बित्तिकै अनुहारमा श्रृंगार धस्नेहरु देखिएका थिए । विशेषगरी कार्यालय समय सुरु हुने र सकिने बेलाको हतारमा पनि धीर भएर एक-अर्काको सम्मानसाथ रेलका डन्डा समाएर सम्हालिएको हुल देख्दा कसरी यस्तो सम्भव भयो ठानेर म अचम्ममा परेको थिएँ । यात्रुबीचको आपसी सम्मानको अवस्था त उस्तै देखियो तर खास केही कुरा बदलिएको अनुभूति भयो यसपल्ट २२ वर्षपछि । पुस्तक र पत्रिका बोक्ने हातमा स्मार्ट फोन र विद्युतीय उपकरणहरु थिए । घोत्लिन त उनीहरु त्यसमा पनि उसैगरी शान्त भएर घोत्लिएका थिए तर सर्याक-सर्याक किताबका पानाहरु पल्टाएको एउटा संगीतमय आवाज भने रेलभित्र सुनिएको थिएन ।

एउटा बालक लक्का जवान हुन २२ वर्ष काफी छ । यही २२ वर्षमा कति जापानिज लक्का जवान भए होलान् ? २२ वर्ष कहाँ छोटो समय हो र ?
त्यतिखेर म पनि त २२ र २५ उमेरकै लक्का जवान थिएँ । जोशजोशमै अमेरिका आइपुगेको मलाई अनेक लोभले जापानसम्म पुर्याएको थियो । मनमा केही गर्ने लालसा थियो । त्यो लालसाभित्र पैसा कमाउने चाह सबैभन्दा धेरै थियो । त्यसपछि थिए घुमघाम, राम-रमाइलो र साथी-भाइ भेटघाट । सुदूर पूर्वको नेपालबाट सुदूर पश्चिमका अमेरिका आइपुगेको म फेरि गोलार्दको पूर्वतिरै जान मन गरिरहेको थिएँ । मान्छेको इच्छा त हो । बुढापाकाको उक्ति छ, इच्छाले तँ आँट म पुर्याउँछु भन्छ । मैले आँटेँ, मेरो इच्छाले १९९७ मा मलाई जापान पुर्यायो ।

संयोग कस्तो पर्यो भने त्यतिबेला रमझम र घुमघाम भन्दा पनि मलाई काम चाहिएको थियो । गाडीको पार्टपूर्जावाला कम्पनीमा काम पनि पाएँ । तर भीसा थियो जम्मा ९० दिनको । थप गरिपाउँ भनेर मैले गरेको अनुरोध जापानले इन्कारेपछि ८७ दिन जापान बसेर म नेपाल फर्केको थिएँ । त्यही तीन महिने बसाइको अन्तिम समयको हतारोमा धनकुटाका मेरा गाउँले दाइ रेख ब्लोनले एकसरो जापानको फराकिलो सडक घुमाइदिएका थिए मलाई । जापान हेर्ने आँखाको प्यास नमेटी म नेपाल फर्केको थिएँ अमेरिका जान । किनभने तिनताका मध्यमवर्गीय नेपालीका लागि अमेरिकाको अवसर भरभरखर जुर्दै थियो । पढ्न आउनेहरु अहिलेजस्तो छ्यासछ्यास्ती थिएनन् । डिभीको रौनक भरखरभरखर सुरु भएको थियो । मध्यमवर्गीय नेपालीलाई अमेरिकन दूतावास टेक्न पनि दकसनै थियो ।

गच्छेअनुसारको दु:ख गर्दा अनेक अवसरहरुको सम्भावना रहेको ठानिएको अमेरिका त्यतिबेला धेरैका सपना थियो । अहिले पनि छ ।
तर म यस्तो थिएँ, मलाई चाहिँ त्योबेला अमेरिकाभन्दा जापानमा रस बसेको थियो ।
शायद चिनारु धेरै जापानमै भएर त्यसो भएको थियो कि ?

२२ वर्षपछि पनि मैले त्यहाँ उस्तै देखेँ, सबै हतारमा छन् । कुदा-कुद चलेको छ । काम गर्नेहरुलाई कामको चटारो, घुमन्तेहरुलाई घुम्नको । सडक होस् वा सवारी मान्छेको घुइँचो उस्तै छ । यसपटकको एकसाता तिनै घुइँचोमा मिसिएर एकमेरो जापानको विकास नियाल्ने अवसर मिल्यो । जीवनसाथी सञ्जु र मैले कहिले पार्कमा पुगेर, कहिले अमेरिकाले बम खसालेर ध्वस्त बनाएको जमिन टेकेर त कहिले टोकियोको ४८ तले एउटा सरकारी भवनबाट लम्बेतान सडक हेर्यौं । दैनिकजसो गइरहने भुकम्पका धक्का थेग्ने गरी बनाएका दरिला भवन नियाल्यौँ । समुद्री आँधीको बेगसित जुध्न सक्ने मान्छेको साहसलाई अनुभव गर्यौं । समुद्रमुनी कुद्ने रेलमा बसेर सोच्यौँ, यस्तो कसरी बनाए होलान् ? यसरी सहर हेर्दा एउटै कुरा मनमा लागिरह्यो, यो मिहिनेतीहरुको सहर हो । जहाँ फुर्सदी कोही छैनन् । केटाकेटी वा बुढाबुढी सबैलाई सहज हुनेगरी विकास गरिएको सहरको सुन्दरताले हामीलाई एकनासले तानिरह्यो ।

दुई चारदिनको घुमन्ते पाहुना हामीलाई तान्ने कुरा अनेक थिए । जस्तो, टोकियोस्थिति मेजी जीगु पार्कमा रहेको बुद्ध प्रतिमा भएको मन्दिर । चिताएको कुरा माग्दा पूरा हुने विश्वास रहेको उक्त मन्दिरमा अंग्रेजी नयाँ वर्षको दिन लाखौं मान्छे पुग्ने रहेछन् । जहाँ दर्शनार्थीहरु बुद्ध प्रतिमामा प्रार्थना गर्दै रहेको देखिन्थे । हेर्दा स्वयंभूको चैत्यजस्तो लाग्थ्यो । तर त्यहाँ छिर्नु अघि हात धुनु पर्ने नियम थियो । कंक्रिटको जंगल जस्तो टोकियो शहरको बीचमा रहेको ठूलो यो पार्क स्थानीय र बाह्य पर्यटकहरुका लागि मनोरम स्थल लाग्यो ।

टोकियोबाट ५ सय १५ किलोमिटरको दूरीमा रहेको सिन ओसाका २ घन्टामा पुग्दा बुलेट ट्रेनको महत्व थाहा भयो । नेपालमा पनि त बुलेन ट्रेनको चर्चा चलिरहेको छ । यदि यस्तै हुँदो हो भने मेचीको मान्छे काठमाडौंमा दैनिक कामकाजका लागि आउन सक्थ्यो होला भन्ने कल्पना त्यही ट्रेनभित्र सीमित राख्न परेन किनभने त्यो बिरानो सहरमा बाल्यकाल सँगै बिताएका आफ्नै उमेरका काका किरण पोखरेल जो भेटिएका थिए ।

एकाबिहानै जापानको पुरानो राजधानी क्योतो घुम्दाको मजा त्यतिखेर लाग्यो जतिबेला हामी जापानको सबैभन्दा अग्लो बुद्ध मूर्ति रहेको नाराको रमणीय पार्कमा पुग्यौँ र सिंग काटिएका हरिणहरुसँग सेल्फी खिच्दै रमायौँ ।

जापान यात्रामा नोभेम्बर ९ तारिखको दिन हाम्रा लागि महत्वपूर्ण भएर रह्यो । मनमा अनेक कौतुहलता बोकेर ओसाकाबाट ४ घन्टाको रोलयात्रामा हामी हिरोसिमा पुगेका थियौँ । त्यही हिरोसिमा जहाँ अमेरिकाले सन् १९४५ अगस्ट ६ को एकाबिहानै ८:१५ मा एटोमिक बम हानेर लाखौंको जीवन धुवाँमा उडाइदिएको थियो । धुँवा हुनबाट बाँचेकाहरुलाई आजीवन पीडा दिएको थियो । अटोमिक आगोको लप्काले ध्वस्त पारेको एउटा खन्डहर ठाउँको कल्पनाले पनि मन अमिलो भयो । यहाँ वर्षेनी हजारौँ लाखौँ मान्छे अहिले यो ठाउँ हेर्न आउँछन् । हिजोको पीडा कस्तो थियो होला भनेर कल्पना गर्न पनि सकिनन्न । युद्ध कति क्रुर हुन्छ ? हिरोसिमा साक्षी छ । हामी त्यो दु:खदायी घटनाको साक्षी स्थलको साक्षी भएर एकतमासले टोलायौँ ।

अहिले त हिरोसिमा हिजोको बलमे ध्वस्त भएको हिरोसिमा छैन । जमीनमा लागेको घाउ पुरिएको छ । सहर हराभरा छ । तर त्यो बमका छर्राले बनाएको जापानीहरुको मनको घाउ जुगजुगसम्म पक्कै पुरिँदैन । बाहिरबाट दृश्य सुन्दर र हरियाली देखिएला तर लाखौँ जापानीको मन अहिले पनि पक्का खण्डहर नै छ भन्ने नमीठो अनुभव मनमा भरिएर आयो । टुरिष्ट बस चढेर हिरोसिमा रेल स्टेशन फर्किनेबेलासम्म पनि मेरो मनमा उही दृश्य नाचिरहेको थियो, मान्छेको बस्तीमा बम हानेर मान्छे मार्न मान्छेलाई कुन मनले आँट दिन्छ होला ? शायद युद्ध भनेको यस्तै होला ।

गह्रौँ मन बनाएर हामी हिरोसिमा रेल स्टेशनबाट डेढ घण्टाको ट्रेन यात्रापछि मियाजु मागाची भन्ने स्टेशन पुग्दासम्म आँखामा चाहिँ हिरोसिमा नै घुमिरहेको थियो । त्यसपछि क्रमश: मियाजी, क्योटोमा सजाइएका बुद्धमूर्तिहरुको अवलोकन गर्दा उपत्यकाका चैत्यहरुको अवलोकन गरेजस्तै भएको थियो ।

यही मेसोमा नेपालमा पत्रकारिता गरेर जापान आएका केही चिनारुहरु पवनवर्षा शाह, पूर्ण चलाउने, शान्त पहारी, इन्दिरा खनाल, अनन्त कोइराला, भुषण घिमिरेसितको भेट, प्रवासमा रहेर पनि आफूले विगतमा गरेको पत्रकारिता पेशालाई गर्न खोजिएको निरन्तरता र त्यसका चुनौतिबारे गन्थन गर्दा हामीले आफ्नै पेशाका कमजोरीहरुबारे पनि कुरा गर्यौँ ।

यसरी एकबाट अर्को ठाउँ पुग्दै घुम्दै, चिनारु भेट्दै गर्न सहज चाहिँ जापान सरकारले पर्यटकका लागि दिने जेआर अर्थात जापान रेल पासको व्यवस्थाले गरेको थियो । यो पास हामीले अमेरिकाबाट अनलाइन नै खरिद गरेका थियौँ । त्यही पासको सदुपयोग गर्न हामी फेरि यात्रामा लाग्यौँ । यात्राका लागि चाहिने मुख्य फोन र इन्टरनेट चाहिने सल्लाहा अच्युत पौडेल र पुजन पौडेलले जापान पुग्नासाथ दिनुभएको थियो । त्यसपछि त हामीलाई के चाहियो, टोक्योबाट सिन हाकुदातेसम्म बुलेट ट्रेनलाई ४ घण्टा २ मिनेट लाग्ने रहेछ । त्यही बीचमा पर्ने रहेछ ५३.८५ किलोमिटर समुन्द्र सहत । जापानी प्रविधि प्रयोग गरेर उनीहरुले समुद्री सतहमुनी टनेल बनाएर रेल कुदाएका रहेछन् । जसलाई संसारकै सबैभन्दा लामो टनेलको रुपमा पनि लिइने रहेछ । मित्र भुषण घिमिरेको सुझावले होक्काइडोको सपोरोसम्मको ८ घण्टाको रेल यात्रा स्मरणीय रह्यो । एकातिर समुन्द्र त अर्कोतिर ससाना पहाड पहाडकाबीचमा खेतीपाती गरिएका ससाना गाउँ बस्तीको चल्दो ट्रेनबाट हेर्दा ती आँखामै टाँसिएर आँफैसित हिंडेजस्तो अनुभूति पनि भयो । गर्नु के थियो बस् त्यसैलाई भिडियो र फोटोमा उतारियो सम्झनाका लागि ।

सिन हाकुदाते हुँदै समुद्रका ठूला-ठूला भंगालोका बीचबीचमा रहेको होक्काइडो राज्यको अर्को पर्यटकीय शहर हाकुदातेमा सार्बजनिक बस चढेर रोपवे चढ्न पनि पुग्यौं । पहाडको टुप्पोमा पुगेको रोपवेबाट देखिने झिलिमिली सहरको मनमोहक दृश्य लोभलाग्दो थियो । सामुद्रिक खानाको लागि समेत प्रख्यात यो ठाउँ पुगेपछि माछा, गंगटा, झिँगे माछा र चाउमिन नखाइ हिंड्नु कसरी ? साँझ यौटा रेस्टुरेन्टमा झिंगे माछाको परिकार अलि काँच-काँचैजस्तो ल्याएर राखिदिएपछि यस्तै त होला भन्दै दिगमिग मान्दै त्यसको स्वाद पनि लिइयो । हिंड्दा-बस्दाका यस्ता मसिना अनुभवको त पुलिन्दा नै बन्यो । र, त जापान छाड्नु अघि बालसखा अरुणा र उनका श्रीमान रामले चलाएको नमस्ते काठमाडौं रेस्टुरेन्टको स्वाद पनि जिब्रामा झुन्डिइरह्यो ।

र, २२ वर्षपछि पूर्ण पर्यटक भएर बतासिएर कुदिरहँदा देखियो सन् २०२० को ओलम्पिक आयोजक देश जापानको सडकमा फरफराइरहेका थिए रंगीचंगी झण्डा र स्वागत द्वार । जो पाहुनालाई स्वागत गर्न आतुर थिए । ती सब अब सम्झनामा रहे ।
यात्रा भन्नु आखिर यस्तै अनुभूति र सम्झनाहरुको संग्रह त हो ।

जापान यात्राका क्रममा भेटिएका र देखिएका केही तस्वीरहरु

 

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *