कोरोना भाइरस जन्मदा
|कोरोना भाइरस
चीनको वुहान प्रान्तमा जन्मिएको बेला
म एउटा पीडामा थिएँ
मान्छे त्यो बेला कमजोर हुँदो रहेछ ,
जुन बेला पीडाको भाइरसले मान्छेको मनमा आक्रमण गर्छ।
शायद मलाई त्यही भयो
एउटा परदेशीलाई जीवनमा
आउने जाने दु:खको छालहरुले त्यति प्रभाव पार्दैन
तर मन नै चिसो बनाउने
पीडाहरूले यति प्रभाव पार्छ की
मानौँ ओठको मुस्कानहरू लकडाउनमा परेको छ।
किन मान्छेको नजरहरू अनुहारमा नै ठोकिन्छन् ?
किन जीवनका परिभाषाहरू अनुहारमा नै खोजिन्छन् ?
अनि नयाँ नयाँ साइनो गाँस्ने गोरेटोहरु ।
शायद
ओठमा मुस्कानको फुलहरु फुलेर हो की ?
तिमी हाँसेको साह्रै मन पर्छ
शायद उसको मनले वसन्त ऋतु कल्पना गरेको हुनुपर्छ
अनि आँखाले फूलहरुको ‘बायोपिक’ हेरेको हुनुपर्छ
पीडाले ग्रसित मनलाई
ओठको मुस्कानले भिटामिनको काम गरेको हुनुपर्छ
ओठको मुस्कानहरुलाई
मनसम्म पुर्याउने कुलोहरु आँखाहरुले खनेको हुनुपर्छ
ओठको मुस्कानहरू कुलोको
बाटो भएर पीडाले ग्रस्त मनसम्म पुगेको हुनुपर्छ ।
यो मन भन्ने चीज जलि रहन्छ रे
तर किन खरानी हुँदैन
आँखाले मन जलिरहेको देख्छ होला
तर आँशु झारेर किन आँखाले दमकलको काम गदैन ?
यी र यस्तै पीडाहरुको बीचमा
शायद दुनियाँ अहिले एउटा पीडामा छ
अनुहारमा पीडाका तुवाँलोहरू मडारिरहेको छ
मानिसको दैनिकीहरु फेरिएको छ
दुनियाँको हरेक गतिविधीमा नकारात्मक प्रभाव परेको छ
त्यसको असर पिंधमा रहेका नागरिकमा छ ।
मान्छेले मान्छेलाई मान्छे देख्न छाडेको छ
हरेक मानिसले
हरेक मानिसलाई
कोरोना भाइरस देख्न थालेको छ
मानवता हराएको छ
व्यक्तिवाद हाबी हुन थालेको छ।