कोरोनाभाइरसको त्रासबाट बच्ने बाटाहरु

सानो हुँदा कथामा सुनिन्थ्यो-‘पृथ्वी टक्क अडियो । हावा रोकियो । सबतिर सन्नाटा भो ।’ कल्पना हुन्थ्यो, कसरी रोकिन्छ होला पृथ्वी टक्क ? मानिसहरु घरमा थुनिएर बसेपछि, सडकमा बस र अरु सवारीका साधन नगुडेपछि सबतिर सुनसान हुने रहेछ । अझ आकाशमा हवाइजहाज नउड्ने, कुनै विपन्न मुलुकको एकलास बस्तीको घरमा जस्तै मानिसहरु चुपचाप घरमा बसेपछि माथि उल्लेख गरिएको कविताका अंश मानिसको जीवनमा साँच्चै घटित हुँदो रहेछ भन्ने प्रत्येक्ष आभास भइरहेको छ ।

एउटा बस्तीमा रोग लागेर दशौँ मानिसको ज्यान गएको कुरा सुनिएको हो । कुनै राज्यमा कुनै गर्मी वा जाडोका बेला हुने आकस्मिक वा अज्ञात रोगका कारण सयौँ मानिस प्रभावित भएको पनि सुनिएको हो । गर्मीमा हैजा वा झाडापखालाको प्रकोप विश्वका विपन्न मुलुकहरुमा हरेक वर्षजस्तो भोगिने समस्या हो । जाडामा शीत लहर, भाइरल रुघाखोकी पनि भइरहने रैथाने रोग हो । तर एकाएक अनौठो प्रकृतिको लक्षण लिएर विगत चार महिनादेखि देखिएको यो विश्वव्यापी महामारीका कारण अहिले रोगविरुद्ध लड्न मानिसहरुलाई निकै कठिन भएको छ ।

कोरोना भाइसका रुपमा चीनको उहान सहरबाट बाहिरिएको यो भाइरस अहिले विश्वका सबै देशहरुका हरेक क्षेत्रमा पुगिसकेको छ । मानिसको शरीरमा यस रोगको प्रवेश, यसको विस्तार काल र यसको लक्षणका कुरा सार्वजनिक भइरहँदा मानिसको शरीर भन्दा मानिसको मन कमजोर भइरहेको छ । शारीरिक रुपमा तन्दुरुस्त भए पनि मानसिक भयका कारण मानिसहरु बढी गलेका छन् । कोभिड १९ नाम दिइएको यो भाइरस ममा प्रवेश भइहाल्यो भने म बाँच्दिनँ भन्ने अज्ञात भयले मानिसको मनमा नकारात्मक उर्जाको विकास गरिरहेको छ । यो हुनु भनेको रोगका विरुद्ध लड्ने शारीरिक र मानसिक क्षमतामा मानिस स्वयंका कारण ह्रास ल्याउने अवस्था हो ।

यो सत्य हो चीनमा दश हजारको हाराहारीमा मानिसहरुको ज्यान गयो । त्यो पनि तीन महिनाका अवधिमा । यसले अमेरिकामा प्रवेश पायो । जनवरी २२ मा अमेरिकामा एक जनामा यो संक्रमण भएको फेला परेको थियो । अहिले ७८ दिनमा यो संख्या बढेर ६४४,३४८ पुगिसकेको छ । त्यो पनि रोगको लक्षणका आधारमा मलाई के भइरहेको छ भनेर जाँच्न चाहने र जाँच किट उपलब्ध भएका ठाउँमा पाइएका प्रभावितको संख्यामात्र हो यो । अमेरिकामा मात्रै यो रोग पसेको ७८ दिनमा निधन हुनेको सङ्ख्या २८ हजार नघिसकेको छ । जाँचको पहुँचमा पुगेका मध्येमा विश्वभरि आजसम्म २१ लाख मानिसमा यो देखिइसकेको छ । विश्वभरिबाट गएको डिसेम्बर यता कूल १२१,००० मानिसको ज्यान गइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसको उपचार के हो भन्नेमा विश्वभरिका प्रयोगशालाहरुमा उपयुक्त उपचार विधिको खोजी र परीक्षण भइरहेको छ । यसको उपयुक्त विधिको परिणाम आइसकेको छैन । प्रविधिमा दक्ष देशहरुमध्येको अमेरिकाले पनि अहिले दशकौँ अघिको मलेरियाको औषधि तथा तेस्रो विश्वमा प्रयोग भइरहेको प्यारासिटामोललाई अहिलेको उपचारविधिको पहिलो प्राथमिकतामा राखेको छ ।

कोरोना भाइरसबाट विकसित देशहरु अत्यन्तै प्रभावित भएका र विकासोन्मुख देशहरुमा यसको प्रभाव न्युन देखिएको वा नगण्य देखिएको अवस्थाले अर्को आश्चर्य सिर्जना गरेको छ । विशेष गरी युरोप र अमेरिका र अस्ट्रेलियामा यसको प्रकोप बढी देखिएको छ । नेपाल, भारत, थाइल्यान्ड, कोरिया, बंगलादेश, पाकिस्तान, श्रीलंका आदि देशमा यसको प्रकोप प्रारम्भिक अवस्थामा देखिएका छन् । तर पनि स्वास्थ्यविज्ञहरुले यी देशहरुमा पूर्वाधारको तयारी र जनचेतनाको कमीका कारण यसको प्रकोप भयावह हुन सक्ने भनेर चेतावनी दिइरहेको अवस्था छ ।

नेपालभित्र र नेपालबाहिरका मुलुकमा रहेको नेपाली समुदाय यस महामारीको प्रकोपबाट अछुतो रहन सकेको छैन । न्युयोर्कमा ७ जनाभन्दा बढी नेपालीले यसको शिकार हुनुपरेको छ । बेलायतमा पनि दर्जनभन्दा बढीको निधन भइसकेको समाचार आएको छ । अमेरिकाका विभिन्न राज्य र बेलायतमा यस महामारीसित लगाइँ गर्दै अस्पतालको विच्छौनामा छट्पटाइरहेको समाचार आइरहँदा कति नेपाली परिवार र तथा व्यक्तिहरुले घरमै सम्यक जीवन तथा यसको घरेलु उपचार र एकान्तवास बसी यो डरलाग्दो रोगलाई जीवनबाट पराजित गरिदिएको सुखद समाचार पनि आइरहेको छ । यस्ता समाचारले नेपाली समुदायलाई निराशा, चिन्ता तथा त्रासको अवस्थाबाट पक्कै आशाको उज्यालो र उर्जाशील जीवनतिर फर्काउँछ ।

खासगरी समाचारहरुमा आइरहेका उर्जाशील जीवनका उपायहरुलाई समाचारमा सुन्ने भन्दा पनि आफू रहेको स्थानमा आफूसित रहेका परिवारका सदस्यहरुसित मिलेर प्रयोग गर्नुमा बढी लाभप्रद हुन्छ । निको भएको समाचारभन्दा मृत्यु भएको समाचारले अहिले सिङ्गै विश्वलाई त्रसित पारेको छ । यस लेखमा मैले माथि पनि मृत्यु भएको संख्यालाई उल्लेख गरेको छु । तर यो रोग लागेर पनि यो रोग हो भन्ने थाहै नभएर मर्नेको संख्याभन्दा यससित लडेर तन्दुरुस्त हुनेको संख्या हजारौँ प्रतिशत बढी छ । हामी अस्पतालमा पुगेर पनि उपचार गराइरहेका र लाभ भइरहेका मानिसको संख्यालाई गनिरहेका छैनौँ । समाचार बनाउनेहरुले मर्ने बाहेक निको भएर फर्कनेको संख्या प्रस्तुत गरिरहेका छैनन् । यो सत्य हो, कोरोनाभाइरसले मानिसमा चाँडै सर्छ ।

सुरुमा कोरोनाभाइरस कसरी सर्छ भनेर पनि यसका दक्ष व्यक्तिले पनि मेसो पाउन सकेनन् । ढिलो गरी सबैले मास्क लाउनुपर्नै उर्दी अमेरिकामा पनि गरिएको छ । यो बेलैमा गरिदिएको भए वा अमेरिकाले यहाँका बासिन्दाका लागि समेत समयमै मास्क र पञ्जा उपलब्ध गराउन सकेको भए रोगको प्रकोप यति भयावह भएर विस्तार हुने थिएन । पहिले छ फिट पर बस्ने भनियो । स्पर्श भयो भने मात्र थुक, सिँगान र खकारका माध्यमबाट सर्छ भनियो तर अहिले पछिमात्र थुकको सानो कण उँडेर आएर पनि यो अर्कोमा प्रवेश गर्ने भनी नयाँ दायरा बनाइएको छ । दक्ष व्यक्तिमै पनि अझै यसको विस्तारबारेको चेतना प्रचूर भइसकेको छैन । कतिपय मानिस सास फेर्न अफ्ठ्यारो नहुँदैको अवस्थामा अस्पताल पुगेर पनि मरेको अभिलेख विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । रोगप्रतिरोध क्षमता बलियो व्यक्तिले भाइरसको लक्षण नदेखाउँदै पनि अर्कोलाई सारिसक्ने र यसरी सरेको व्यक्ति कमजोर क्षमताको भएमा पहिले विरामीका रुपमा देखिने अनि मर्न पनि सक्नेसम्मका घटनाहरुले यस भाइरसका प्रभाववारेका अनेकन अनुसन्धानहरुमा थप चुनौती दिइरहेका छन् ।

अहिले हरेक क्षेत्रमा प्रगति गरेर आधुनिक सुविधा सम्पन्न युगमा आइपुगेको जिकीर विश्वका सम्पन्न मुलुकहरुले गरिरहेको अवस्थामा यो प्रकोपले सबैलाई किंकर्तव्यबिमूढ बनाइदिएको छ । हरेक हप्ताजस्तो अमेरिकी सरकारले स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुको सल्लाहमा नयाँ मार्गनिर्देशिका जारी गरिरहेको छ । सर्वसाधारणले घरैमा बस्ने र सामाजिक दुरी बढाउने भनेर सरकारले अरु देशमा जस्तै अमेरिकामा पनि निर्देश जारी गरेको छ । तर अमेरिकी जनजीवन न्युयोर्क सहरबाहेक अन्यत्र कतै पनि पूर्णरुपमा आवागमन निशेष गरिएको अवस्था छैन । यस रोगको लक्षण बाहिर देखिन दुईदेखि तीन हप्ता लाग्ने भनिएको छ तर नेपालका केही घटनाले यो समय लम्बिएर चारहप्ता भन्दा बढी भएको पनि देखिएको छ ।

सचेतना र सजगता जरुर सबैका लागि आवश्यक छ । अत्यावश्यक काम नपरी सार्वजनिक स्थानमा नजाने, पाहुनका रुपमा अरुका घरमा नजाने, भेटिएका स्थानमा पनि छ फिटभन्दा बढी शारीरिक दुरी कायम गर्ने, मुखमा मास्कको प्रयोग अनिवार्य गर्ने जस्ता पछिल्ला स्वास्थ्य निर्देशिकालाई अमेरिकाजस्तो मुलुकमा पनि मानिसहरुले अनिवार्य रुपमा पालन गरेको देखिएको छैन । अरुले के गर्छन् भन्नेभन्दा हामीले के गर्ने भन्ने नेपाली समुदायले विश्वभरि जहाँ भए पनि व्यवहारमा प्रयोग गर्नु अतीव जरुरी छ । यही कुरा आफ्नो वा अर्को सबै समुदायलाई अपनाउन प्रेरत गर्नु पनि आवश्यक छ । हामीले गर्नै पर्ने र गर्न सक्ने केही आधारभूत तर अति नै आवश्यक कुरा मैले यसरी प्रस्तुत गरेको छु-

१) घरमै बसेका बेला बेलुका समयमै सुत्ने र नेपाली परम्पराअनुसार सबेरै उठेर शौचस्नानादि नित्य कर्म गरौँ ।

२) हामी जुन धर्ममा अभ्यासरत छौँ त्यही धर्मका ग्रन्थ पढ्ने, पुस्तक नभए युट्युबबाट प्रवचनहरु सुन्न सक्छौँ ।

३) हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, प्राकृत जो जुन धर्मसित आबद्ध छौँ, हामी सबैले योगाभ्यास, प्राणायाम, ध्यान गर्न सक्छौँ ।

४) बिहानको नित्यकर्मपछि माथिका पछिल्ला दुई कर्मको बीचमा वा दुवै सकेपछि तातो चिया, कफी, दूध वा अरु स्थानीय बस्तुहरु मिसाएर बनाएको तातोपानी एक गिलास पिउने गरौँ । स्थानीय बस्तुमा हामी नेपालीहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएको रुघाखोकी र ज्वरोको घरेलु औषधि जस्तै बेसार, अदुवा, लसुन, जिरा, टिम्मुर मिसाएर उमालेको पानी पिउन सक्छौँ । कोरोनाका रुपमा आएको भाइरसले हाम्रो स्वासप्रश्वास प्रणालीलाई आक्रमण गरी फोक्सोको क्षति गर्ने हुँदा यी परम्परागत औषधी कोरोनाजस्तै अरु भाइरल समस्याका लागि राम बाण हुँदै आएको हामी नेपाली र भारतीयबाहेक अरुलाई विरलै थाहा होला ।

५) अनेकन रोगको उपचारमा रामबाण बनेको तुलसीको सुकेको पात डाँठ आदिलाई पनि पानीमा उमालेर हामी पिउन सक्छौँ । अमेरिकाका धेरै नेपाली परिवारले घरमा तुलसी रोप्ने र यसलाई अर्को वर्षका लागि जोगाएर राख्ने गर्नुभएको मलाई थाहा छ । यस्तो विपत्तिका बेला यस्तो अक्कल नआउन पनि सक्छ । हामी तुलसीको यो गुणलाई यतिखेर उपयोग गर्न सक्नेछौँ ।

६) रक्सी चुरोटजस्ता कुरा नभईनहुने विकसित मुलुकका मानिसहरु पनि अहिले रक्सीचुरोट र मांसभोजन नगर्न सुझाव दिइरहेका छन् । हामी यसलाई प्रयोग गरिरहेका छौँ भने रोक्न सक्छौँ संकल्पका रुपमा सदाका लागि । यदि प्रयोग गर्दैनौं भने हामी एक स्तरमा रोग विरुद्ध लड्न योग्य छौँ भन्ने संकेत हो भनी थप उर्जावान हुन सक्छौँ ।

७) हाम्रा खानामा ताजापन छ कि छैन, यही बेला सोच्न र उपयोग गर्न हामीसित पर्याप्त समय छ । अरुबेला हामी काममा जाँदा खानेकुरा लैजानमा मात्र वा पाएको खाएर पेट भर्नमा मात्र बढी केन्द्रित थियौँ । अहिले हामी यस्ता कुरामा सुक्ष्म रुपमा ध्यान दिन सक्छौँ, समय लगाएर स्वस्थकर र फरक खाले परिकार बनाएर खान सक्छौँ ।

८) महामारीले ल्याएको विपत्तिका कारण विश्वको अर्थतन्त्र ध्वस्त हुँदै गएको छ । यो भनेको हामी हरेक व्यक्तिको आर्थिक सन्तुलन खल्बलिनु हो । भोलि के होला भन्ने चिन्ता हाम्रो मनमा आउनु स्वाभाविक हो । तर यसमै चिन्तित भएर समस्याको समाधान आउँदैन । हामीले हामीसँग भएको सञ्चित रुपैयाँलाई लामो समयसम्मका लागि सन्तुलित बनाएर राख्न खानेकुराको खरिद गर्ने र अन्य बस्तुको खरिद गर्ने विगतको हाम्रो नियमित बानीलाई पनि आकस्मिक रुपमा बदल्नुपर्छ । यसो गर्नुलाई बाध्यता नठानी बुद्धिमानी मान्नुपर्छ । यो पनि हाम्रो सकारात्मक सोचको एक पक्ष हो । भएको कुरालाई व्यवस्थित गर्नु, जोगाउनु र अत्यावश्यक पर्ने बेलामा त्यसको उपयोग गर्ने बानी गर्ने यसै बेला हो । यो सोच्ने र योजना बनाउने अत्युत्तम अवसर हो । यो अवसर धेरै पुस्ताका बीचमा विरलैलाई आउने अवसर हो भनेर मान्नुपर्छ, विपत्ति हो भनेर चिन्ता गर्नु हुँदैन ।

९) कोरोना कहाँकहाँ कतिलाई भयो र कति मानिस मरे भनेर हरेक घण्टा त्यसैमा केन्द्रित हुन छाडौँ । यसले हामीलाई विस्तारै डराउने बानी थप्दै जान्छ । डरले कसैलाई कहिल्यै पनि सकारात्मक उर्जा दिँदैन । हामीले नकारात्मक उर्जालाई हाम्रो मनबाट हटाउनै पर्छ । मनमा नकारात्मक उर्जा बढाउने विचारका बादलहरु रहेसम्म शरीरमा त्यसको नराम्रो असर परिरहन्छ ।

१०) घरमा छोराछोरी वा भाइबहिनीसित अभिभावकले धेरै समय बिताउन पाउनुलाई हामीले अन्योल र अनिश्चितताको परिणाम मान्नु हुँदैन । यो एक अत्यन्त महत्वपूर्ण अवसर हो पारिवारिक मिलनको । यस अवसरमा परिवारका सदस्यका बीचमा आपसी आत्मीय भाव बढाउने काम हुनु उपयुक्त हुन्छ । छोराछोरीलाई बाबुआमाले आफ्ना बाल्यकालका रमाइला कुराहरु सुनाउने, शिक्षाप्रद चलचित्रहरु सबै जना सँगै बसेर हेर्ने गर्नुपर्दछ । त्यसको सन्देशबारे कुरा गर्न सकिन्छ । पात्रहरुको अभिनयबारे कुरा गर्न सकिन्छ ।

११) घरमा भएका हरेक सदस्यले एकएक वटा सेलफोन वा आइप्याड लिएर एकएक कुनामा बसेर आ-आफ्नै संसारमा रमाउने हो भने सबैजना घरमा साथमा हुनुको के अर्थ ?
यस्तो बेलामा रमाइलारमाइला प्रसङ्गहरु बाबुआमाले सुनाउने, छोराछोरीलाई त्यस्ता प्रसङ्गहरु स्कुलका सन्दर्भमा वा अरु सन्दर्भमा के थिए भनी भन्न लगाउने गर्नुपर्छ । यसो गर्दा बाबुआमासित छोराछोरी जुन उमेरका भए पनि सहजै कुराकानी गर्न सक्ने हुन थाल्छन् ।

१२) बालबालिका वा किशोरकिशोरी वा युवायुवतीमा पनि एक प्रकारको निराशा वा चिन्ता यो अवस्थाले प्रस्टै ल्याएको छ । मानसिक तनाव र सम्भावित अवसाद (डिप्रेसन) हुनबाट उनीहरुलाई मुक्त गर्न उनीहरुलाई घरका काममा लगाउने गर्न सकिन्छ । जस्तै आमाले भान्साको काममा सहयोग माग्ने, बाबाले घरको सरसफाइमा सहयोग माग्ने गर्न सकिन्छ । उनीहरुलाई लेख्ने, पढ्ने र चित्र बनाउने काम दिन सकिन्छ ।

१३) प्रवासका छोराछोरीलाई नेपाली भाषा, नेपाली साहित्य र नेपाली नाच नाच्ने वा गाउने काममा बाबाआमाले सहयोग गर्दै प्रेरित गर्न सकिन्छ । जस्तै बाबुआमाले उनीहरुको समयको गीतका बारेमा थप कुरा गरी यस्ता गीतहरु गाउन लगाउने वा नचाउने गर्न सक्छन् ।

१४) संसारको सधैँको समस्या कोरोनाभाइरस होइन । यो हिजो थिएन, यो भोलि हुने छैन । संसारमा कोरोनामात्रै होइन कुनै पनि कुरा आएपछि जान्छ । हामी पनि जन्मेपछि मर्छौँ । यदि हाम्रै परिवारमा पनि यो कसैलाई भइहाल्यो भने वा हामीले रोगलाई जित्न सकेनौँ भने हामीमध्ये कोही मरौँला । यो डरको कुरा हुनुहुँदैन । संसारमा जन्मने मानिस र हरेक प्राणी मर्नै पर्छ । रोग लागेर वा नलागेर जो पनि मर्नुपर्छ । ढिलो वा चाँडो जसले पनि संसार त्याग्नुपर्छ भन्ने सत्यको बोध नयाँ पुस्तालाई यस्तो बेलामा गराइदिनुपर्छ । यसो गर्दा हामी सुतेजस्तै, हामीले खाएजस्तै मृत्यु पनि सत्य हो । मृत्य यो जीवनमा एक पटकमात्र हुने प्रक्रिया हो भनेर बोध गराउनुपर्छ ।

१५) घरमा बसेर सँगै भजनकीर्तन, लेखन, गायन, पठनजस्ता कुरामा समय लगाउनुपर्छ । विहान पूजा साँझको आरती गर्न र सुत्ने बेला कुनै रमाइलो प्रसङ्ग छोराछोरीलाई सुनाएर सुत्न पठाउन सकिन्छ ।

१६) टेलिफोनमा कुरा गर्दा धेरैजस्तो पारिवारिक नातेदारहरु, पारिवारिक सदस्यहरुसित धेरै कुरा गर्नुपर्छ । यसो हुँदा एकजनाले गरिरहेको कुराकानीमा परिवारका धेरैजनाको सँगै चासो हुन्छ र उनीहरु त्यही कुराकानीमा सामेल हुन सक्छन् ।

१७) धार्मिक पुस्तकहरु, नीतिकथाहरु छोराछोरीलाई पढ्न लगाउने, आफूले भनिदिने समय यही हो । हाम्रो संस्कृतिका कुरा, चालचलनका कुरा, नातेदारका प्रसंग परिवारका सदस्यसित बाँडेर आनन्द लिने बेला यही हो । यो विपत्तिलाई अवसरमा रुपान्तरण गरी समयको सदुपयोग गर्न सकिएमा हामी अरु बढी उर्जाशील हुनेछौँ । यसले हामीमा जीवनप्रति बढी आशावादी बनाउँछ ।

१८) यो महामारीको अन्त्य चाँडै होस् भनेर परिवारमा सामुहिक प्रार्थनाका लागि समय मिलाउन सकिन्छ । ब्रह्माण्डको शक्तिशाली ध्वनि र सबै शक्तिशाली मन्त्रहरुको पनि मन्त्र ॐ को सामुहिक उच्चारण गरी परिवारका सबै सदस्यका शरीरको कोष-कोषलाई उर्जाशील बनाउने अभ्यास दैनिक पाँच मिनेट गर्न सकिन्छ । वेदमा भनिएको छ–
ॐ खँ ब्रह्म । जसको अर्थ हुन्छ— ॐ अक्षर ब्रह्मका रुपमा आकासभरि व्याप्त भएर रहेको छ । (त्यो आकास बाहिरीमात्र होइन, हाम्रो हृदयाकाश पनि हो ।)

१९) यतिका सक्रिय कार्यको समय तालिकाभित्र आफ्ना नातेदार, साथीसंगति र चिनेजानेका व्यक्तिहरुसित शुभकामनाको आदानप्रदान गर्ने, सहयोग सल्लाह दिनमा उनीहरुसित सरिक हुने )शारीरिक दुरी र निजी सुरक्षालाई ध्यानमा राख्दै सरकारको मार्गनिर्देशको पालन गरी) उनीहलाई पनि यस्ता मानसिक स्वास्थ्य सुधार गरी मनोबल उच्च राख्ने बिचार बाँड्न सकिन्छ ।

अन्तमा, हामी जन्मेका हौँ, हामी मर्छौँ । एकपटक सबैले मर्नुपर्छ । जन्म र मृत्युको बीचको यो जीवनरुपी धागोलाई रंगीन र बलियो बनाएर यस्ता शारीरिक, मानसिक विपत्तिसित सहजै सामना गर्नुपर्छ । विपत्तिबाट यतिबेला भाग्ने ठाउँ भनेको घरमा बस्ने र परिवारसित रमाउने हो । यसले मात्र हामीलाई रोगसित लड्न थप उर्जा दिनेछ ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *