नभइदिए
|उकाली अनि ओरालीमा काँडा नभइदिए हुन्थ्यो
बिहानीले दिनलाई लखेट्ने रात नभईदिए हुन्थ्यो ।
एउटा घडीका तीन सन्तती सँधै दौडमा कुस्ती
कोही छोटा, मझ्यौला, लम्बा नभईदिए हुन्थ्यो ।
अनगिन्ति यात्राहरुमा अविष्मरणीय छन् यादहरु
जनम् जनम्का कसमहरु बेकार नभईदिए हुन्थ्यो ।
सज्जनहरु दुःख गर्छन् आखिर हात खाली किन ?
सोझालाई झुक्काइ रहने लुटेरा नभईदिए हुन्थ्यो ।
सलसली बग्ने खोला साह्रै मिठा धुनहरु दिन्छन्
उही पानी समुद्र बन्छन् बाढी नभइदिए हुन्थ्यो ।
आकाश, धर्ती कहिले पो एक साथ भा छ र ?
झरीको आँसुले धर्ती बिक्षप्त नभइदिए हुन्थ्यो ।